Saturday, March 15, 2025
Homeटुडे राउन्ड टेबलआशा र समीक्षा

आशा र समीक्षा

- Advertisement -spot_img

प्रदेश र प्रतिनिधि सभा निर्वाचन भएको एक वर्ष पूरा भएको छ । गएको वर्ष मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव भएको थियो । चुनाव भएको एक वर्ष बितिसक्दा पनि नागरिकले सरकारको अनुभूति गर्न पाएका छैनन् । नागरिकका स–साना समस्या पनि समाधान हुन नसक्दा पनि प्रदेश र संघ सरकारप्रतिको विश्वास बढ्न सकेको छैन् । निर्वाचनको एक वर्षलाई कसरी समीक्षा गर्न सकिन्छ ? प्रदेश टुडे राष्ट्रिय दैनिकको नियमित स्तम्भ टुडे राउण्ड टेबलमा सरोकारवालालाई समेटेका छौं । – सम्पादक


जीतसागर जी.एम.


कानुन निर्माणमै छौँ


नेपालमा गणतन्त्र आइसकेपछि संघीयता लागू भएको अवस्थामा अहिले हामी दोस्रो कार्यकालमा छौँ । निर्वाचित भएर आएको एक वर्ष पूरा भएको छ । मंसिर ४ गते एक वर्ष पूरा हुँदै गर्दा हामीले यो एक वर्षको अवधिमा विभिन्न कामहरू गरेका छौँ । एक वर्ष पूरा हुँदै गर्दा प्रदेशमा नियम, कानुन बनाउने कुरालाई प्राथमिकतामा राखेका छौँ । थुप्रै ऐन, कानुन निर्माणको क्रममा छन् ।

कतिपय निर्माण गरेर कार्यान्वयनको चरणमा छौँ । गतवर्ष मंसिरमा भएको निर्वाचनमा हामी निर्वाचित भएर आएपछि लुम्बिनी प्रदेशमा प्रदेश निजामति ऐन निर्माण गरेका छौँ । यसलाई महत्वपूर्ण उपलब्धिको रूपमा लिन सकिन्छ । प्रदेश निजामति ऐन नहुँदा थुप्रै समस्या थिए । तर अहिले हामी आइसकेपछि निजामति ऐन निर्माण गरिसकेका छौँ ।

यसैगरी प्रदेश प्रहरी ऐन बनाइरहेका छौँ । स्थानीय ऐन पनि बनाउने प्रक्रियामा छौँ । गणतन्त्रको देशमा संघीयताको अभ्यास भइरहेको छ । संघीयता शुरूको चरणमा भएकाले पनि प्रदेशले सबै अधिकार प्रयोग गर्न पाएको छैन् । कानुनतः धेरै विधिविधान नबनिसकेको अवस्थामा अलिकति प्रदेशले आफ्नो क्षेत्राधिकार भित्र रहेर काम गर्न पाइएको छैन् भन्ने गुनासो नआएको पनि होइन् । तर मेरो बुझाइ के हो भने प्रदेश सरकारले पनि संघीयताको मर्म र भावना अनुसार छिटोछिटो बनाउन नसकिएका ऐन नियमहरू बनाउन सकेपछि संघीयताको मर्मअनुसार अघि बढ्न सकिन्छ भन्ने हो ।

हामी संघीयताको पूर्ण अभ्यासमा जान जरूरी छ । संघीयताको परिकल्पना गरे अनुसार अझै पनि धेरै अधिकार स्थापित हुन सकेका छैनन् । संघीयता भनेको आफैमा सिंहदरबारको अधिकार गाउँ गाउँमा भन्ने छ । नागरिकलाई सहज ढंगले राज्यको पहुँच पु¥याउनु नै प्रमुख कुरा हो । विकासको दृष्टिकोणले, प्रशासनिक हिसावले हामी धेरै सफल भएको भन्ने लाग्छ ।
व्यावहारिक हिसाबले पनि धेरै कुरा देखिएको छ । हामी नागरिकसँग जोडिएका छौँ ।

जनतासँग नजिक रहेर काम गरिरहेका छौँ । अझ घर–घरमा पनि पुग्ने कोशिस गरिरहेका छौँ । त्यस हिसाबले संघीयता आफैमा राम्रो कुरा हो । यो आफैमा स्वायत्ततताको अभ्यासको कुरा हो । यसले आमनेपाली नागरिकलाई अधिकार सम्पन्न गराएकै छ । प्रयोगमा जाँदा खेरी कतिपय ऐन, कानुनको उल्झनका कारणले गर्दा केही अन्तरविरोध भएको कुरालाई हामीले गम्भीरता लिएका छौँ ।

कतिपय अवस्थामा प्रदेश सरकारको आवश्यकता र औचित्य छैन् भन्ने गुनासा पनि आउने गरेका छन् । यसलाई दुई तरिकाले बुझ्न सकिन्छ । एउटा पक्ष संघीयता बिरोधी नै छ । उसले आमनागरिकलाई अहिले पनि प्रदेश सरकारप्रतिको आलोचना गरिरहेको छ । नागरिकलाई भ्रम सिर्जना गर्ने काम गरिरहेको पनि छ ।

संघीयता विरोधीहरूले यो व्यवस्थाको काम छैन् भनिरहेका छन् । यसलाई जनताले तिरस्कार गर्नुपर्छ । तर संघीयता लागू भइसकेपछि प्रदेश सरकारले लागू गर्ने कर्मको विषयमा कुरा गर्ने हो भने प्रदेश सरकारले नागरिकसँग जोडिएका धेरै काम गरेको छ । एउटा आम नागरिकले सरकारको काम कारबाहीलाई सरकारको अनुभूत हुने गरी सरकारले आफ्नो कार्यलाई सुचारू गरेको छैन् भन्ने कुरा नै हुँदैन् ।

निर्वाचनमा आउँदा कुनै एउटा दलबाट निर्वाचित भएपनि हामीहरू जनताको साझा प्रतिनिधि हो । हामीले नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने काम गरिरहेका छौँ । हामीसँग नागरिकका धेरै आशा छन् । ति आशालाई पूरा गर्ने प्रयासमा हामी निरन्तर लागिरहेका छौँ । मलाई लाग्छ बितेको एक वर्षमा उल्लेख्य काम भएका छन् । तर यसैमा सन्तोष हुने कुरा हुँदैन् । अझ जतिसक्दो राम्रो पाँच वर्षमा प्रतिफल देखिने गरी कामलाई अघि बढाएका छौँ ।


भ्रष्टाचार नियन्त्रण र कानुन निर्माण


गतवर्ष मंसिरमा निर्वाचित भइसकेपछि अहिलेसम्म महत्वपूर्ण काम भएका छन् । विस २०५० सालदेखि निर्माणको प्रक्रियामा रहेका विधेयकहरू हामी त्यसलाई टेबुल गर्ने कुरा, संसदमा छलफल गर्ने कुरा र पास गर्ने कुरा गरेका छौँ । सबैभन्दा ठूलो कुरा त राणाकालिन शासन व्यवस्थादेखि मिटरब्याजीको व्यापक समस्या थियो । पैैसा लिने, मिटरब्याजमा लगाउने र जनतालाई घरबारबिहीन बनाइदिने समस्याबाट ग्रसित थियौँ । यसलाई नियमन गर्नका लागि कानुन थिएन ।

हामी आइसकेपछि मिटरब्याजी सम्बन्धी विधेयक अर्थात् कानुन बनाएका छौँ । कुनै पनि नेपाली दाजुभाइ, दिदीबहिनीहरू मिटरब्याजीको नाममा शोषणमा पर्नु पर्दैन । त्यसैगरी अर्को विधेयक पनि पेश गरेका छौँ । २०५२ सालदेखि युद्ध लडेर जसरी हामीले अहिलेको व्यवस्था प्राप्त गरेका छौँ । त्यसबेलामा धेरै जनधनको क्षति भएको छ । पीडितलाई न्यायका लागि हामीले उचित कानुन बनाउन सकिरहेका थिएनौँ । हामीले त्यसलाई टेबुल गर्ने कुरा, छलफलमा लैजाने काम गरेका छौँ ।

त्यो कानुन बनेपछि बिगत २०५२ सालपछिको द्वन्द्वमा घाइते भएका, अपांगता भएका व्यक्तिलाई न्याय दिलाउन सहज हुनेछ । यो विषयलाई टुंगोमा पु¥याएका छौँ । यसैगरी शिक्षा विधेयक पनि पारित गर्ने प्रक्रियामा छौँ । राणाकाल, पञ्चायतकालमा आएको शिक्षा विधेयक अहिलेसम्म थियो । करिब ६० वर्षसम्म पनि संशोधन गर्न सकेका थिएनौँ । त्यसलाई आज हामीले पारित गर्ने प्रक्रियामा छौँ ।

नेपालको आजको अवस्थालाई सम्बोधन गर्ने खालको शिक्षा नीति निर्माणको अन्तिम चरणमा छौँ । यसरी कानुनको क्षेत्रमा यस्ता काम गरेका छौँ भने भ्रष्टाचार नियन्त्रणको लागि अघि बढिरहेका छौँ । नेपालको इतिहासमा नेताहरूले अत्यन्त भ्रष्टाचार गर्ने, भ्रष्टाचार मौलाउने काम भएको थियो । यो बीचमा हामीले भ्रष्टाचारीहरूलाई कानुनी कठघरामा उभ्याउने काम गरेका छौँ । जतिसुकै ठूलो नेता भएपनि जेलमा गएका छन् । पूर्व उपप्रधानदेखि गृहमन्त्री, मन्त्रीसम्मलाई भ्रष्टाचारको अभियोगमा जेल गएका छन् । उनीहरूलाई कानुनी कारबाही भइरहेको छ । नेपालको राजनैतिक इतिहासमा यसलाई हामीले ठूलो उपलब्धिको रूपमा लिएका छौँ ।

अब कुनै पनि, कसैले पनि भ्रष्टाचार गर्ने, बदमासी गर्ने अर्थात् गलत काम गर्ने आँट गर्ने छैनन् । सोच्न नसक्ने गरी सरकारले एक्सन लिने काम गरेको छ । यसैगरी सरकारले विपत्का कारण अप्ठेरोमा परेका नागरिकलाई तत्काल उद्धार र सहयोग गर्ने काम गरिरहेको छ । पछिल्लो पटक जाजरकोट र रूकुम पश्चिममा भूकम्पले ठूलो क्षति गरेको छ । यस्तो अवस्थामा नागरिकलाई सरकार छ भन्ने अनुभूति गराएका छौँ । सरकारले २०७४ सालमा गरेका प्रतिवद्धता अहिले पूरा गर्ने प्रक्रियामा अघि बढेको छ ।

निर्वाचनको समयमा नागरिकसँग गरिएका प्रतिवद्धता पूरा गर्ने प्रक्रियामा छौँ । निर्वाचनको समयमा प्रतिवद्धता धेरै गरिएको हुन्छ । सोही बमोजिम पूरा गर्न त सकस नै हुन्छ । तर अधिकतम् प्रतिवद्धता पूरा गर्नेछौँ । सबै कुरा आर्थिकमै जोडिएको हुन्छ । बजेट अभावको कारणले धेरै कामहरू अपूरा हुने गरेका छन् । देशमा तीन तहका सरकार छन् । संघीय सरकारले बजेट छुट्याउँदा स्थानीय सरकारले नमान्ने स्थितिमा पनि काम पूरा हुन सकिरहेको छैन् । चुनौती छ । तर काम गरेपछि सम्भव छ भन्ने सोँचका साथ अघि बढेका छौँ ।


संघीयताको औचित्य झन कमजोर

संघ र प्रदेशको निर्वाचन भएको एक वर्षको अवधिमा ठूलो काम भएको छैन् । दोस्रो कार्यकालका लागि भएको निर्वाचनपछि पनि नेतृत्व सत्ता र कुर्सीकै लागि हिडेको देखिएको छ । संघ सरकारमा देखिएको सत्ता र कुर्सीको मोह प्रदेश सरकारमा पनि देखिएको छ । संघीयतामा केन्द्रको प्रत्यक्ष राजनीतिक असर प्रदेशमा हुन्न । कुनै प्रभाव नै नहुने भन्ने कुरा त भएन । तर हामीकहाँ केन्द्रले नै तल्लो तहका सरकारलाई निर्देशन दिने देखियो ।
केन्द्रले प्रदेश सरकारलाई अधिकार नदिँदा पनि संघीयता सफल हुन सकिरहेको छैन् । प्रदेश सरकारले स्वतन्त्र रूपले काम गर्न सकेको छैन् । भन्ने बेला संघीयता भनियो तर केन्द्रले प्रदेशलाई अधिकार सम्पन्न गराउन सकेन । अर्को कुरा ति अधिकारलाई लिन सक्ने सामथ्र्य र भएका अधिकारलाई प्रयोग गर्ने सामथ्र्य प्रदेश सरकारले गुमायो । प्रदेशले स्वतन्त्रको अनुभूत गर्न सकेन । पार्टी के छ माथिबाटै लगाव छ । गठबन्धन के छ माथिबाटै लगाव छ ।
मन्त्रीमण्डल के बनाउने माथिबाटै लगाव छ । स्वतन्त्ररूपले काम गर्ने खालको परिस्थिति भएन । तर परिस्थिति प्रतिकूलता हुँदाहुँदै पनि काम गर्नुपर्ने हो । तर काम हुन सकेन् । म कुनै राजनीतिक दल वा नेतालाई आरोप प्रत्यारोप गर्ने पक्षमा छैन् ।  बिगत एकवर्षको अवधिलाई समीक्षा गर्ने हो भने पनि प्रदेशले आफ्नो औचित्य पुष्टि गर्न सकेको छैन् ।
मैले लुम्बिनी प्रदेशलाई मात्र होइन्, सबै प्रदेशले औचित्य पुष्टि गर्न सकेका छैनन् । हरेक कुरा तत्काल परिवर्तन हुने त होइन् । जुनसुकै कुराको पनि समय लाग्छ नै । संघीयता एकदमै नौलो कुरा थियो । तत्कालै प्रतिफल आश गर्नु पनि त्यति उचित हुने थिएन । व्यवहारिक पनि हुने थिएन । तर यो अभ्यासपछि त कम्तिमा संघीयता समृद्ध हुँदै जाने, प्रदेश सरकारले औचित्य पुष्टी गर्नुपर्ने हो । जति समय बित्दै गएको छ । तर औचित्यता झन् झन् कमजोर बन्दै गएको छ ।
नागरिकले पनि अनुभूति गर्न सकेका छैनन् । खाली सरकार छ । मन्त्री मण्डल छ भन्ने खालको परिस्थिति सिर्जना भएको छ । यस्तो परिस्थिति अत्यन्त दुखद् हो । सन्तोष हुने अवस्था छैन् । तत्काल सुधार गर्न नसक्ने हो भने निराशाकै अवस्था छ । सरकार नागरिकका लागि हो । सरकारका लागि सरकार होइन् । जनताका लागि सरकारभन्दा पनि केही व्यक्ति र केही पार्टीका लागि अथवा सत्ताभोगका लागि सरकार बनेको जस्तो देखिएको छ । यसमा नागरिकले स्वभाविक रूपमा प्रश्न उठाएका छन् । नागरिकले अहिले प्रश्न उठाएका छन् । यो प्रश्नलाई सम्बोधन भएन भने नागरिकमा निराशा छाउने स्वभाविक छ ।

सरकारमा कसरी जाने भन्ने पहिलो प्राथमिकता छ । सरकारमा गइसकेपछि कसरी बिताउने भन्ने कुरा नै मुख्य कुरा छ । सरकारका प्रमुख व्यक्तिको कुरा सुनैकै त छौँ नि, मेरो सरकार यति वर्षसम्म चल्छ, यति वर्षसम्म ढुक्क चल्छ । यसले के मनोविज्ञान दिन्छ भने राजनीतिमा एकसूत्रले प्रभाव जमायो । जसले गर्दा अरू चिज ओझेलमा परेका छन् ।


नागरिकमा निराशा

प्रदेश र प्रतिनिधि सभा निर्वाचन भएको एक वर्ष पूरा भएको छ । दोस्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिले गरेको एक वर्षको काम पनि सन्तोषजनक छैन् । जनप्रतिनिधिले धेरै काम गरेको जस्तो लागेको छ होला तर सोहि बमोजिम काम भएको छैन् । नागरिकका अपेक्षा पनि गुणात्मक ढंगले बढिरहेका छन् । तर पनि प्राथमिकता केमा दिने भन्ने जननिर्वाचित प्रतिनिधिको ध्यान पुग्ने गरेको छैन् । जुन पार्टीबाट निर्वाचित हुनुभयो, त्यहि पार्टीमै केन्द्रित भएर काम गर्ने, पार्टीभित्रै पनि गुट–उपगुट भएर काम गर्ने परम्परा अहिले पनि छ । पार्टीले पनि सही निर्देशन दिन नसकेको देखिएको छ भने जनप्रतिनिधिले पनि विवेक पु¥याएर काम नगरेको देखिएको छ ।
देश नै लामो समय राजनीतिक अस्थिरताबाट गुज्रिरहेको छ । नेपालमा करिब सात दशकदेखि राजनीतिक स्थायीत्व छैन् । त्यसले पनि हाम्रो नेपाल असाध्यै पछाडी परेको छ । नेपालमा थुपैै्र सम्भावनाहरू छन् । नेपालकै मित्र राष्ट्रले सहयोग गर्दा पनि त्यो अनुसारको नेपाली जनताहरूले विकास पाउन सकिरहेका छैनन् । नागरिकको अपेक्षा अनुसार रोजगारी, स्वास्थ्य, शिक्षा, विकास निर्माणको काम हुन सकिरहेको छैन् । यसले गर्दा नागरिकमा निराशा छाएको छ ।
पार्टीका प्रमुखहरूले जनपक्षियभन्दा पार्टी पक्षीय काम गरेको हुँदा नागरिकमा राजनैतिक नेतृत्वप्रति वितृष्णा जाग्न थालेको छ । नेतृत्वले नागरिकका सानाभन्दा साना समस्या हल गर्न नसकिरहेको अवस्था छ । देशमा प्रशस्त सम्भावना छन् । तर उपभोग गर्न सकेका छैनौँ । नेताहरू सत्ता र कुर्सीमा लिफ्त छन् । यसकारण मुलुक तत्काल अघि बढ्ने अवस्थामा छैन् । अस्थिर राजनीतिकै कारण जनताहरू निराश भएका छन् । यसमा जनप्रतिनिहरू नै मुख्य दोषी छन् । आफू निर्वाचित क्षेत्रलाई चट्क्कै भुल्ने स्थिति बनेको छ ।
चुनावका समयमा थुप्रै आश्वासन नागरिकले पाए । सोहि बमोजिम नेतृत्वले काम गर्न सकिरहेको छैन् । दाङकै कुरा गर्दा तुलसीपुरको टरिगाउँ विमानस्थलको स्तरोन्तती गर्ने, नेपाल संस्कृत विश्वविद्यालयलाई स्थायीत्व दिएर अघि बढाउने, तुलसीपुरदेखि लमहीसम्मको सडकलाई फराकिलो बनाउने, तुलसीपुरको राप्ती प्रादेशिक अस्पताललाई अपगे्रड गर्ने, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नाम अनुसार व्यवस्थित गर्ने कुरामा नेतृत्वको अझै ध्यान पुग्न नसकेको देखिएको छ ।
यसैगरी औद्योगिक क्षेत्र घोराहीको धर्ना धारापानीमा स्थापना गर्नेलगायतका कुरा पूरा हुन सकेको छैन् ।
निर्वाचनका समयमा गरिएका प्रतिवद्धता धेरै अपूरा छन् । बरू भ्रष्टाचारका घटना मौलाएका छन् । गरिखाने वर्गको अवस्था झन् पछि झन् बर्बर बन्दै छ । केही व्यक्ति जो पार्टीमा लागेका व्यक्तिहरू मोटाउने खेल भइरहेको छ । यसले गर्दा जनप्रतिनिधिप्रति नागरिकको आक्रोश बढ्दै गएको छ । यस्तै चिन्ताको विषय के छ भने लामो संघर्ष र बलिदानपछि अहिलेको व्यवस्था ल्याउन सफल भएका हौँ । तर अहिले यसैप्रति नागरिकको वितृष्णा पैदा हुन थालेको छ । यो सबै कारण दल र दलका नेताहरूकै कारण हो ।
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here