Tuesday, November 28, 2023
Homebreaking-newsहराउँदै छ थारू (मातृ) भाषा ?

हराउँदै छ थारू (मातृ) भाषा ?

- Advertisement -spot_img


अञ्जना चौधरी
दाङ, ४ मंसिर ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ की १५ वर्षीया सृष्टि चौधरी आफ्नो मातृभाषा बोल्न जान्दिनन् । अभिभावकहरूले थारू भाषामा बोलेको बुझेपनि उनलाई फर्काउन भने आउँदैन । उनका बुबाआमा, हजुरबुबा हजुरआमाले थारू भाषामा कुरा गर्न खोजेपनि सृष्टिले नेपालीमै जवाफ फर्काउछिन् ।

बजार क्षेत्रमा बस्ने भएकाले छिमेकीहरू सबै गैर थारू भएको हुँदा छोरीले पनि बाल्यकालदेखि नै नेपाली भाषा बोल्न सिकेको सृष्टिकी आमा शारदा चौधरीले बताइन् । ‘घरमा छोराछोरीहरूसँग हामी नेपाली भाषामै कुरा गर्ने गर्छौं’ शारदाले भनिन् ‘सानैदेखि गैर थारूहरूको बसोबास रहेको क्षेत्रमा बस्ने भएकाले पनि आफ्ना सन्तानहरूलाई थारू भाषा सिकाउन तर्फ जोडबल गरेनौं ।’

पछिल्लो समय सहरी क्षेत्रमा मात्र नभएर ग्रामीण क्षेत्रमा बसोबास गर्ने थारू समुदायका अभिभावकहरूले आफ्ना सन्तानहरूलाई थारू मातृभाषा भन्दा पनि नेपाली भाषामा बोल्न सिकाउने गरेको पाइन्छ । शान्तिनगर गाउँपालिका वडा नं. ६ देवीपुरका प्रकाश चौधरीले पनि आफ्ना छोराहरूलाई नेपाली भाषा नै बोल्न सिकाएका छन् ।

प्रकाशका जेठा छोरा तेजन चौधरी फाट्टफुट्ट रूपमा थारू भाषा बोले पनि कान्छा छोरा मेघराज भने नेपाली भाषा बोल्ने र बुझ्ने गर्दछन् । खासगरी विद्यालयहरूमा नेपाली भाषा मात्रै पढाइ हुने र नेपाली भाषा नै बोलिने भएकाले छोराहरूलाई बुझ्न सहज होस् भनेर नेपाली भाषा बोल्न सिकाएको चौधरीले बताए ।

‘विद्यालयमा थारू भाषा बोल्ने, थारू भाषाको पढाइ हुने भए, हामी छोराहरूलाई थारू भाषा नै बोल्न सिकाउने थियौँ’ चौधरीले भने– ‘घरमा थारू भाषा सिकाएर विद्यालयमा नेपाली भाषाबाट बोल्न, पढ्न र बुझ्न समस्या हुने भएको हामीलाई महसुस भएर नेपाली भाषा सिकाउनमा जोड गरेका हौँ ।’ प्रकाश मात्रै नभएर धेरै अभिभावकहरूका अनुसार विद्यालयमा नेपालीबाट मात्रै पढाइ हुने र बोलिने गर्दा आफ्ना सन्तानहरूलाई मातृभाषा भन्दा अन्य भाषा सिकाउमा जोड गरेको बताउँछन् ।

तुलसीपुर–१२ का थारू अगुवा बुझौना थारूले पछिल्लो समय थारू मातृभाषा हराउँदै गएको बताउँछन् । बालबालिका तथा युवापुस्ताले थारू मातृभाषा बोल्नै छोडेको र वयस्कहरू पनि छोराछोरीहरूसँग नेपाली भाषा नै बोल्ने भएकाले पनि थारू समुदायको मातृभाषा हराउँदै गएको उनको भनाइ छ ।

थारू भाषा बोल्ने व्यक्ति पनि शुद्ध थारू भाषा बोल्न छोडेको उनको भनाइ छ । थारू मातृभाषा बोल्न छाडेको भन्दै चिन्ता व्यक्त गर्ने बुझौना आफू पनि नाति नातिनाहरूसँग नेपालीमै कुरा गरेको सुनिन्छ । आफ्ना नाति नातीनाहरू पनि थारू भाषा बोल्न नजान्ने भएकाले नाति नातीनाहरूसँग आफूले पनि नेपालीमा कुरा गर्ने गरेको बुझौनाले बताए । ‘मेरा नाती नातिनाहरू थारू भाषा बुझे पनि बोल्न जान्दैनन्, उनीहरूसँग मैले पनि नेपालीमा कुरा गर्छु बुझौनाले भने ।’ तर आफूले नाति नातीनाहरूलाई थारू मातृभाषा बोल्नु पर्छ भनेर सिकाउन तर्फ ध्यान नदिएको उनले स्वीकार गर्छन् ।

संस्कृतिविद् अशोक थारूले थारू मातृभाषा हराउँदै गएकोप्रति चिन्ता व्यक्त गर्छन् । थारू मातृभाषा हराउँदै जानुमा राज्य पक्षसँगै सबैभन्दा बढी कमजोरी थारू मातृभाषीहरूको रहेको उनको भनाइ छ । ‘राज्य पक्षले राष्ट्रिय भाषालाई अनिवार्य भाषाका रूपमा पठनपाठनको प्रयोग गर्ने नीति ल्यायो त्यो अनिवार्य शिक्षा भयो, त्यसकारण हाम्रा छोराछोरीहरू अनिवार्य नीतिले गर्दा उनीहरू नेपाली सिक्ने भए त्यो नराम्रो पक्ष होइन् तर मातृभाषा विकासको लागि वैकल्पिक शिक्षाको रूपमा समुदायले चाहेमा आफ्नो मातृभाषा पढ्न पाउने भन्ने नीति आएको छ’ संस्कृतिविद् थारूले भने– ‘कतिपय विद्यालयमा थारू मातृभाषा पढाइ सुरू गर्दा विद्यालयका प्रशासक थारू नै भएको विद्यालयमा पनि थारू मातृभाषा लागू गर्न चाहेनन् यो सबै भन्दा कमजोर पक्ष हो ।’

थारू समुदायका अध्यक्षहरू विद्यालयमा थारू भाषाको पढाइका लागि जिल्ला शिक्षा कार्यालयमा जाँदासमेत उनीहरूको मागलाई बेवास्ता गरि प्रतिकूल जवाफ दिने गरेको थारूले बताए । राज्य पक्ष र थारू पक्षको वैचारिक द्वन्द्वले पनि थारू मातृभाषा पछाडि परेको उनले बताए । अर्कोतर्फ स्वयम् समुदायमा अहिले पढे लेखेको शिक्षित परिवारदेखि सामान्य पढेको परिवारमा पनि आमाबुबाले आफ्ना साना छोराछोरीहरूसँग नेपाली भाषामा कुरा गर्ने लहर चलेको बताए । जसले गर्दा थारू समुदायका पछिल्लो पुस्ताका केटाकेटीहरू नेपालीमा कुरा गर्ने र आफ्नो मातृभाषा बोल्दा कसैले सुन्छ की भनेर डराइ–डराइ बोल्ने गरेको उनको भनाइ छ ।

‘मैले यात्राको क्रममा धेरै पटक देखेको छु थारू समुदायका केटाकेटीहरू नेपालीमै कुरा गर्छन, थारू भाषामा कुरा गरेपनि कसैले सुन्छ, देख्छ की भनेर सानो स्वरमा बोल्छ’ संस्कृतिविद् थारूले भने– ‘थारू भाषा बोलेको कसैले थाहा पाएमा हामी हेपिन्छौ की भन्ने उनीहरूको सोच छ, यो थारू मात्रै नभएर सबै मातृभाषीहरूको समस्या हो’ उनले भने– ‘अहिलेको अवस्थामा राज्यले हाम्रो शिक्षा नीतिमै समुदायले चाहेमा मातृभाषामा पढ्न पाउने अधिकार दिएको छ, तर दाङलगायत थारूहरूको बसोबास रहेको २२ जिल्लामा थारू भाषामा पढाइ हुन नसक्नु थारू समुदायकै समस्या हो ।’

कुनै विद्यालयमा थारू भाषा पढाए पनि मातृभाषा पढाउने शिक्षकहरूले छुट्टै तलब माग्ने अवस्था भएकाले पनि मातृभाषाको विकास हुन नसकेको उनको भनाइ छ । तर थारू मातृभाषा संरक्षण थारू समुदायकै अहम् भूमिका रहेको उनले बताए ।

‘हाम्रो थारू संस्कृतिको पाँचवटा डोमेन छ, मौखिक परम्परासहितको भाषा संरक्षण गर्नुपर्छ भन्छ तर नयाँ पुस्तामा थारू भाषामा हुँदै नभएको व्यञ्जनहरू, भोवेलहरू बोल्ने र लेख्ने डढेलो लागेका कारण यस्तो प्रकारको समस्याले हामीलाई घरको न घाटाको बनाइराखेको छ’ उनले भने ।

विद्यालयमा थारू भाषा पढ्नको लागि विद्यार्थी, अभिभावकहरूले चासो दिएमा पाठ्क्रम बनाउने, पाठ्यपुस्तकमा थारू विषयवस्तु समावेश तयार रहेको शिक्षा शाखा तुलसीपुरका प्रमुख चक्र भण्डारीले बताए । तर अहिलेसम्म तुलसीपुर–१५ मा रहेको एउटा विद्यालयबाट मात्रै थारू भाषा बढाउनको लागि माग भएको उनले बताए । ‘यो वर्ष मात्रै तुलसीपुर १५ को एउटा विद्यालयबाट थारू भाषा पढाउनको लागि माग भएको छ’ उनले भने– आधिकारिक रूपमा सहमति गरेर आउनुस् हामी अन्य सहयोग गर्छौ भनेका छौँ ।’

तुलसीपुरकै मावि हरीपौरीमा ८० प्रतिशत विद्यार्थी थारू समुदायका छन् तर उक्त विद्यालयमा थारू भाषाको पढाइ हुन सकेको छैन् । स्थानीय विषय ‘हाम्रो तुलसीपुर’ मा समग्र नगरको कुरासहित थारू गीत, थारूहरूको मौलिक संस्कृतिका कुरा मात्र समावेश भएको तर त्यसको व्याख्या नेपाली भाषामा रहेको छ र यहीँ विषय विद्यालयमा पढाउँदै आएको विद्यालयका प्रधानाध्यापक राधा चौधरीले बताइन् ।

‘उपमहानगरपालिकाले पालिकाभित्रका सबै विद्यालयमा थारू भाषाको पाठ्यक्रम लागू गरे पढाउन सकिन्छ तर एउटै विद्यालयले मात्र लागू गर्न सम्भव छैन’ प्रअ चौधरीले भनिन्– ‘पालिका भित्रका सबै विद्यालयहरूमा थारू मातृभाषा पाठ्यक्रम भयो भने प्रभावकारिता र सिकाइ उपलब्धिको मूल्याङ्कन गर्न सहज हुन्छ तर एउटै विद्यालयमा मात्र लागू गर्दा त्यसको प्रभावकारिता र सिकाइ उपलब्धिको मूल्याङ्कन गर्ने व्यवस्था नहुने भएकाले थारू मातृभाषा पढाउन सकेका छैनौं ।’ थारू मातृभाषाको विषय विज्ञ, पाठ्यक्रम बन्छ तर त्यसको मूल्याङ्कन गर्न असहज हुने भएकाले लागू हुन नसकेको चौधरीले बताइन् ।

दाङमा थारू समुदायको बढी बसोबास भएको क्षेत्रको विद्यालय तथा थारू समुदायको प्रअ भएको विद्यालयमा समेत थारू मातृभाषाको पढाइ हुन सकेको छैन् । थारू मातृभाषा पढाइ हुने कुनै–कुनै विद्यालयमा पनि थारू मातृभाषा निरन्तरता पाउन नसकेको अवस्था छ ।

शंकर माध्यमिक विद्यालय देउखुरीमा २०६० सालदेखि थारू भाषाको पढाइ हुँदै आएकोमा विगत दुई वर्षदेखि त्यसलाई नेपालीमा अनुवाद गरेर पढाउन थालिएको प्रधानाध्यापक सुवर्णमान चौधरीले जानकारी दिए । उक्त विद्यालयमा थारू भाषा बोल्ने ९० प्रतिशत विद्यार्थीहरूले अध्ययन गर्छन् । शिक्षा ऐनमा पनि ६० प्रतिशत विद्यार्थी एउटै भाषाको बोल्ने बाहुल्यता भएको खण्डमा उसकै भाषामा पढाइ हुने भनिएको छ ।

तर विद्यालयमा अन्य समुदायको विद्यार्थीहरू पनि अध्ययन गर्ने भएकाले त्यसलाई एकरूपता गराउन पालिका, वडा कार्यालयको समन्वयमा दुई वर्षदेखि थारू भाषाको पढाइ नेपालीमा पनि अनुवाद गरेर पढाउँदै आएको प्रअ चौधरीको भनाइ छ । दाङकै घोराही उपमहानगरपालिकाले पनि एउटा विद्यालयमा थारू मातृभाषामा पठनपाठन सुरू गरेको छ । पहिलो चरणमा घोराही उपमहानगरपालिका वडा नं. ३ बेलुवामा रहेको श्री रात्री प्राथमिक विद्यालयमा (हमार थारू भाषा) किताब पढाइन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here