जीतसागर जी.एम.
दाङ, ४ मंसिर ।
चाडपर्व सकिएसँगै सहरमा चहलपहल बढेको छ भने गाउँ सुनसान बन्दै गएका छन् । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व सकिएको छ । तिहार मनाउन आफ्नो घर तथा आफन्तकोमा पुगेकाहरू कर्मथलोमा फर्कन थालेका छन् । तिहारको मूख्य दिन भाइटीकाका लागि दाजुभाइ कहाँ पुगेका दिदीबहिनी घरमा र तिहार मनाउन जन्मथलो पुगेका दाजुभाइहरू कर्मथलोमा फर्कन थालेपछि सार्वजनिक सवारीमा पनि चाप बढेको छ ।
दाङ भित्रिने तथा बाहिरिने सवारीमा तिहार मनाएर फर्किनेको भिड बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख किरण प्रकाश मल्लले जानकारी दिए । ‘आइतबारदेखि छठ पर्व र तिहार सकिएसँगै कर्मथलो फर्किनेको चाप बढेको छ’ उनले भने– ‘सार्वजनिक सवारीमा यात्रुको चाप बढेकाले पनि मापदण्ड विपरीत सञ्चालन हुने सवारी साधनमाथि निगरानी बढाएका छौँ ।’
चाडपर्वको समयमा सवारीले सिट क्षमताभन्दा बढी यात्रु राख्ने गरेको उनले बताए । सिट नहुँदा पनि सवारी साधानमा यात्रा गर्दा दुर्घटनाको जोखिम चाडपर्वमा बढी हुने भएकाले सकेसम्म कोचाकोचमा यात्रा नगर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । जिल्ला टूाफिक प्रहरी प्रमुख मल्लले यात्रुलाई पनि सकेसम्म भिडभाड र कोचाकोचमा यात्रा नगर्न अनुरोध गरेका गरेका छन् । ‘सवारीको चाप बढी हुँदा दुर्घटनाको जोखिम हुन्छ’ उनले भने– ‘त्यसैले सकेसम्म सिट क्षमताभन्दा बढीमा यात्रा नगरिदिन हुन अनुरोध गरेका छौँ ।’
गाउँबाट फर्किने मानिसहरूले गर्दा ग्रामीण क्षेत्रबाट बजार क्षेत्रमा आउने सवारीका साधनहरूमा पनि मानिसहरूमा सवारीको चाप बढेको छ । तिहार मनाएर फर्किनेहरूले गर्दा बसपार्क तथा सवारी साधनहरूमा छुट्ने स्थानहरूमा भिड देख्न सकिन्छ । विद्यालयहरू तिहारपछि खुल्ने भएकाले पनि विद्यार्थी तथा शिक्षकहरू पनि फर्किन थालेका छन् । अधिकांश विद्यालय आजदेखि खुल्दैछन् ।
विद्यालय आज सोमबारदेखि खुल्न लागेकोले आफूहरू फर्किएको रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ४ का सीता घर्तीले बताइन् । ‘विद्यालय दशैँअघि नै बिदा भएको थियो’ उनले भनिन्– ‘तिहार र छठपर्वको विदा सकिएसँगै फेरि पढ्नका लागि फर्किएको छु ।’
चाडपर्वको बिदा सकिएसँगै कर्मथलोमा फर्किनेका कारण सवारी साधनमा चापसमेत बढ्दा सवारी पनि पाउन मुस्किल हुुने गरेको गुनासोसमेत बढेको छ । ‘गाडी पनि सहजरूपमा पाउन सकिदैन्, गाडी नपाएकाले हिजोआज यात्रा गर्न निकै कठिन छ’ सल्यानको त्रिवेणी–२ का कमला रेउलेले भनिन्– ‘समस्या भएपनि जसरी पनि कर्मथलोमा फर्किएका छौँ ।’