हिमाल शर्मा
सल्यान, ४ मंसिर ।
जाजरकोटलाई केन्द्रविन्दु बनाई कार्तिक १७ गते शुक्रबार रातिको भूकम्पले सल्यानको दार्मा गाउँपालिकाको तीन स्वास्थ्य चौकीमा क्षति पुगेपछि स्वास्थ्यकर्मी चर्किएको भवनको बरन्डा तथा खुला चौरमा बसेर सेवा दिइरहेका छन् ।
पक्की भवन चर्किएर बस्न नमिल्ने भएपछि स्वास्थ्यकर्मी बरन्डा र खुला चौरबाट सेवा दिन बाध्य भएका हुन् । भूकम्पले दार्मा पालिकाभरि पूर्ण र आंशिक गरी दुई हजारभन्दा बढी घर क्षति भएको थियो । पालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतका अनुसार सामुदायिक स्वास्थ्य इकाई केन्द्र र स्वास्थ्य चौकीसहित आठ स्वास्थ्य संस्था रहेको दार्मामा भूकम्पका कारण दार्माकोट, भल्चौर र ढाकाडामको कागुनोखोलामा रहेका स्वास्थ्य संस्थामा क्षति भएको थियो ।
भवन क्षति भएका कारण स्वास्थ्यकर्मीले बरन्डा तथा खुला चौरमा बसेर सेवा दिनुपर्दा स्वास्थ्यकर्मीले मात्र नभई बिरामीले समस्या झेल्नु परिरहेको छ । सुत्केरी सेवालगायत अन्य सेवा प्रभावित भएको दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बस्नेतले बताए । उनले चिसोले गर्दा त्रिपालमा बस्दै आएका पालिकाबासी बिरामी पर्दा एक स्वास्थ्य संस्थामा दैनिक १५ देखि २० जनासम्म बिरामी उपचारका लागि आउने गरेकाले स्रोत साधन र औषधि अभावमा सेवा दिन कठिनाइ भइरहेको छ ।
उनले भने, ‘हामीले स्वास्थ्य संस्था मर्मत तथा पुनर्निर्माणको लागि सम्बन्धित निकायमा माग गरेका छौं । सम्बन्धित निकायले तत्कालका लागि अस्थायी टहरा निर्माण गरेर सेवा नियमित सञ्चालन गर्न सुझाव दिएको छ । विकल्प केही छैन । त्यही भएर खुला चौर र चर्किएको भवनको बरन्डा प्रयोग गर्न बाध्य हुनु परेको छ ।’
सामुदायिक स्वास्थ्य इकाई केन्द्र कागुनोखोलाका प्रमुख तथा स्वास्थ्यकर्मी यज्ञ खड्काले भवन बस्नै नमिल्ने गरी क्षति भएपछि गत केही दिन सेवा प्रभावित भएको र स्थानीय समस्यामा नपरून् भनेर शुक्रबारदेखि खुला चौरबाट सेवा दिँदै आएको बताए ।
क्षतिग्रस्त भवनबाट अत्यावश्यक सामग्री तथा औषधि निकाल्न नसकेको उनले जनाए । ‘भवन चारैतिर चर्केको छ । कुनै पनि बेला भत्कन सक्ने भन्दै प्राविधिकले उक्त भवनमा नबस्न सल्लाह दिएपछि त्रासका कारण कोठामा बस्न सकेका छैनौं’ उनले भने, ‘स्वास्थ्य संस्थाबाट बेलुकीसम्म सेवा दिँदै आएका थियौं । अहिले खुला स्थानमा बसेर दिउँसो २ बजेसम्म सेवा दिन कठिनाइ भएको छ । उपचार गर्नेभन्दा चिसोले आफैं बिरामी हुने अवस्था देखिएको छ ।’
भल्चौर हेल्थपोष्टकी महिला स्वास्थ्यकर्मी गीता केसीले स्वास्थ्य चौकीको भवन चारैतिर चर्किएकाले सुत्केरी सेवाभन्दा ओपीडी सेवा दिन कठिनाइ भएको बताइन् । बिरामी धेरै आएका बेला बस्ने ठाउँ नहुने समस्या पनि रहेको उनले गुनासो गरिन् । ‘चारैतिरबाट चर्किएको भवन देख्दा भत्किने हो कि भन्ने डर लाग्ने गर्छ ।
तर के गर्नु विकल्प नभएकाले ज्यान जोखिममा पारेर त्यही भवनको बरन्डाबाट सेवा दिनु परेको छ’ उनले भनिन्, ‘हेल्थपोष्टमा सञ्चालित प्रसूति गृहको भवन छुट्टै छ । हुन त त्यो पनि चर्किएको छ । सुत्केरी गराउन खुला चौरमा नमिल्ने तथा परिवार नियोजनका सेवा दिन कठिनाइ हुने भएकाले चर्किएको भवनबाटै सेवा दिँदै आएका छौं ।’
उनले सुरक्षित सेवा प्रवाहका लागि छिट्टै भवन पुनर्निर्माण तथा मर्मतका लागि सम्बन्धित निकायलाई आग्रह गरिन् । दार्माकोटमा रहेको स्वास्थ्य चौकीको प्रसूति गृह पूरै भत्किएपछि अर्को स्थानमा सारिएको छ । तर, कोठा साँघुरो हुँदा सेवा दिन कठिनाइ भइरहेको पालिका स्वास्थ्य प्रमुख बस्नेतले बताए । उनका अनुसार प्रसूति गृह तथा सुत्केरी सेवा प्रभावित हुन नदिन टेन्ट हाउस व्यवस्था गर्न थालिएको छ ।