सामाजिक सञ्जाल टिकटक माथि सरकारले प्रतिबन्ध लगाएपछि पक्ष विपक्षमा प्रतिक्रिया आईरहेका छन् । कतिपयले टिकटक माथिको प्रतिबन्धले नागरिकको वाक स्वतन्त्रता हनन भएको प्रतिक्रिया दिएका छन् भने कतिपयले टिकटकले समाजमा द्वेष फैलाएको भन्दै प्रतिबन्धलाई सकारात्मक लिएका छन् । टिकटक माथिको प्रतिबन्ध फुकुवाको मागसहित अदालतमा सरकारविरूद्ध मुद्दा पनि परेको छ ।
अदालतमा १० वटा मुद्दा समेत परेको छ भने सामाजिक सञ्जालमा पनि सरकारको व्यापक आलोचना भएको छ । टिकटक माथिको प्रतिबन्ध सरकारकाके निरंकुशता भएको नागरिकको प्रतिक्रिया छ । सामाजिक सञ्जालको प्रतिबन्ध भन्दा पनि नियमन हुनुपर्ने भएपनि सरकारले बन्द नै गरेको छ । शाही शासनको झल्को दिने गरी सरकारले सामाजिक सञ्जाल टिकटक माथि प्रतिबन्ध लगाएको नागरिकको बुझाई छ ।
सरकारले कुनै पनि हालतमा टिकटक बन्द नै गर्ने योजना अनुरूप कडाइ गरेको छ । कार्तिक १७ गतेबाट सरकारले टिकटकमा प्रतिबन्ध लगाएपछि कतिपयले विभिन्न तरिका अपनाएर टिकटक चलाएपनि अधिकांशको मोबाइलमा टिकटक चल्न छोडेको छ । आइतबारबाट सरकारले डिएनएस प्रयोग गरेर पनि चल्न नमिल्ने बनाएको छ । छिमेकी देश भारत, अमेरिकालगायतका देशमा टिकटक प्रतिबन्ध भएपनि नेपालमा टिकटक माथिको प्रतिबन्धलाई नागरिकले सकारात्मक लिन सकेका छैनन् । टिकटकबाट गलत सन्देशमात्रै गएको छैन् । टिकटकबाट सकारात्मक काम पनि भएका छन् । कतिपयले टिकटकबाटै ठूलो रकम लाभ लिएर सामाजिक काम पनि गरिरहेका छन् ।
टिकटक माथिको प्रतिबन्ध सरकारको कदम ठिक होइन् । कुनै पनि सामाजिक सञ्जालमा गलत कुरा आउँछन् भने त्यस्तो अवस्थामा नियमन गर्नुपर्ने हो । तर बन्द नै गर्नु भनेको नागरिकको स्वतन्त्रता हनन हुनु हो । बन्द गर्दै जाने हो भने सामाजिक सञ्जाल थुप्रै छन् । सबै बन्द गर्नु सम्भव नहोला । सरकारले टिकटक बन्द गरिदिँदा कतिपयको रोजीरोटी समेत बन्द भएको छ । टिकटक बन्द भन्दा पनि टिकटकमा आउने गलत कुराको नियमन गर्नुपर्छ । नागरिकले मत राख्न पाउने माध्यमको बन्द गर्नुहुँदैन् । सभ्यरूपमा नागरिकले आफ्ना विचार राख्न पाउने उसको स्वतन्त्रता हो । टिकटकमा पनि नागरिकले स्वतन्त्ररूपमा विचार राख्न पाउँछन् । तर प्रतिबन्धले नागरिकको मुख थुनेको जस्तैभएको छ ।