निता चौधरी
तुलसीपुर २६, कार्तिक ।
तरकारी खेतीमा जैविक विषादीको प्रयोग बढिरहेको छ । विशेषगरी व्यावसायिक रूपमा तरकारी खेती गर्ने कृषकहरूले विषादीको प्रयोग बढी मात्रामा गर्ने गरेको पाइएको कृषि ज्ञान केन्द्र दाङको तथ्यांकले देखाएको छ । दाङमा वार्षिक रूपमा ६ हजार २ सय ३२ लिटर झोल र १५ हजार ५ सय ४० किलो धुलो विषादीकोे आयात भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
जुन विषादीलाई किटनाशक, रोगनाशक, झारनाशक र मुसानाशक विषादी भनेर चार प्रकारमा विभाजन गरी प्रयोग भइरहेको कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले बताए । उनका अनुसार यी विषादीहरू झोल र धुलोमा गरी दुई प्रकारका हुन्छन् ।
किटनाशक विषादी झोलमा ६ हजार २ सय ३२ लिटर, ७ सय ८१ किलोग्राम धुलोमा, रोगनाशक विषादी ४ हजार ७ सय १७ लिटर, ६ हजार १ सय २२ धुलोमा, झारनाशक ८ सय ८४ लिटर झोलमा, ७ सय १२ किलोग्राम धुलोमा र मुसानाशक विषादी १ हजार ९ सय ६५ किलोग्राम धुलोमा वार्षिक रूपमा आयात भइरहेको छ ।
आयातको तथ्यांकले नै तरकारीमा विषादीको प्रयोग अत्यधिक भइरहेको पुष्टि हुने उनले बताए । ‘जिल्लामा ५ सय ७५ जना व्यावसायिक रूपमा तरकारी खेती गर्ने कृषकहरूकोे तथ्यांक ज्ञान केन्द्रसँग छ’ उनले भने– ‘तर यो तथ्यांकको तुलनामा विषादी धेरै आयात भइरहेको छ ।’
तरकारीहरूमा विषादी छरेको १५ देखि २१ दिनपछि मात्रै खान योग्य भएपनि व्यावसायिक रूपमा तरकारी खेती गर्ने किसानहरूले विषादी छरेको दुई÷तीन दिनमा नै टिपेर बेच्ने गरेको पाइएको उनले बताए । ‘विषादी छरेको दुई÷तीन दिनमा नटिपेपछि बिग्रने खालका तरकारी हुन्छन्, नटिपेपछि तरकारी खेर गइहाल्छ’ उनले भने– ‘ ‘किसानलाई घाटा हुने डरले टिपेर बेच्न बाध्य हुन्छन् ।’
टमाटर, भिन्डी, बोडी काउली जस्ता बेमौसमी तरकारीमा छरेको विषादीले धेरै नै मानव स्वास्थ्यमा असर पुग्ने गरेको उनको भनाइ छ । तरकारी तथा खाद्य बालीहरूमा देखिने रोग नियन्त्रण गर्न र उब्जनी धेरै हुने उद्देश्यले विषादीको प्रयोग भइरहेको उनले बताए ।
‘केही किरा तथा रोगहरू सिजन, मौसम, माटो लगायत विभिन्न कारणले लाग्ने गर्छ’ उनले भने– ‘यस्ता किरा तथा रोगको समाधानका लागि किसानले खेतबारीमा नियमित अनुगमन गर्ने, खेतबारीमा सरसफाई गर्ने, झारहरू भए काट्ने, किराहरू देख्ने वित्तिकै मार्ने, पातहरूमा भएका अण्डाहरूलाई नष्ट गर्नुपर्छ ।’
किसानले पूर्व सावधानीहरू अपनाउन सकेमा खर्च पनि कम हुने र विषादीरहित तरकारी पनि खान पाइने उनले बताए । उनका अनुसार विषादी छर्नुभन्दा गाउँघरमा पाइने निम, बोकाइनोलगायत जडिबुटीजन्य रूखविरूवाका पातको झोल बनाएर छर्ने गर्नाले पनि किराहरूलाई मार्न सकिन्छ ।
‘तर हामीले सजिलो उपाय खोज्छौँ, बजारमा जाने विषादी किनेर ल्याउने छर्ने सजिलो तरिका’ उनले भने–‘घरमा बनाएपछि त आफैँ बनाउनु प¥यो, घरमा नभएका जटिबुटीजन्य रूखविरूवा खोजेर ल्याउनुपर्ने, समय लाग्ने भयो, त्यस कारण हामीले बानी व्यवहार सुधार्न आवश्यक छ ।’
अल्छी नमानेर कृषि प्रााविधिकहरूसँग सल्लाह लिएर आफैले मेहनत गरेमा पैसाको पनि बचत हुने र मानव स्वास्थ्यलाई पनि असर नगर्ने लामिछानेले बताए । यस्तै हरियो बेमौसमी तरकारी मात्रै नभएर धान, गहँु, मकै, तोरी लगायतका खाद्यबालीमा पनि विषादीको प्रयोग भइरहेको छ । तर तरकारीको तुलनामा खाद्यबालीमा प्रयोग गरिएको विषादीले केही कम मात्रामा मानव स्वास्थ्यमा असर पुग्ने गरेको अर्थविज्ञ लामिछानेले जानकारी दिए ।
‘तरकारीमा विषादी छरेर तत्काल खान्छौँ भने अन्य खाद्यबाली केही समयपछि खाने हुनाले त्यति धेरै असर पु¥याउँदैन’ उनले भने– ‘अधिकांश किसान अज्ञानता, धेरै लाभको आशा र लगानी उठाउन विषादी प्रयोग गरिरहेका छन् ।’ डाइटनिम ४५, साछ, साइपरमेथिन जस्ता औषधि किसानले प्रयोग गरिरहेको उनले बताए ।
किसानमा विषादी प्रयोग नगरे लगानी जोखिममा पर्छ भन्ने डरले प्रतिस्पर्धी र नाफा कमाउन विषादी प्रयोग गरेको पाइन्छ । केही किसान भने बजारमा बिक्रीका लागि उत्पादन गरिने तरकारी र कृषि उपजमा विषादी प्रयोग गर्ने र आफूले खानका लागि भने विषादीरहित खेती गर्ने गरेको देखिएको पनि लामिछानेले बताए ।
यसैबीच केन्द्रीय तथ्यांक कार्यालयले सार्वजनिक गरेको कृषि गणना २०७८ को प्रतिवेदन अनुसार ४१ लाख ३० हजार किसान परिवारमध्ये ५ लाख ८० हजारले तरकारी तथा कृषि उपजमा विषादी प्रयोग गरिरहेका छन् । तीमध्ये ३ लाख ५१ हजार किसानले गम्भीर प्रकृतिका विषादीहरू प्रयोग गरिरहेको भेटिएको छ ।
६९ हजार परिवारले नेपालमा प्रतिबन्ध लगाइएका र आयात गर्न नपाइने अत्यन्तै हानिकारक विषादी प्रयोग गरिरहेका छन् । ती विषादी हामीले दिनहुँ प्रयोग गर्ने तरकारी र प्रमुख खाद्यबालीमा प्रयोग भइरहेको गणनाका क्रममा खुलेको छ ।