दाङ, २६ कार्तिक ।
नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घर घरमा सुरक्षा गर्ने कुकुरलाई मिठा–मिठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मिठा–मिठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको प्राडा देवमणि भट्टराईले बताए ।
नरके चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताए । वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेको संख्यासमेत बढ्न थालेको छ ।
यसैबीच आजको दिन लक्ष्मीपूजा पनि परेको छ । आज राती अबेरसम्म धनधान्यकी देवी माता लक्ष्मी भगवानको पूजाअर्चना गरिन्छ । घरमा भएका सम्पूर्ण द्रव्य, गरगहना अनि श्री–सम्पत्तिलाई लक्ष्मी, गणेश र सरस्वतीको स्थापना गरेर पूजा गरिन्छ । केराका खाँबाहरू अर्थात् थम्बाहरूलाई वैदिक सनातन हिन्दु संस्कारमा अत्यन्त महत्वपूर्ण लिइन्छ ।
विशेषगरी विवाह, व्रतबन्ध, पुराण या अन्य शुभ कार्यमा अनिवार्य जसो केराका एक जोर खम्बाहरूलाई मुलद्वारमा राख्ने गरिन्छ । आजको साँझ विभिन्न रङ्गहरू प्रयोग गर्दै आँगनमा विभिन्न आकार प्रकारका रङ्गोली बनाउने चलन पनि छ । गोलो, थ्याप्चे, चारकुने, त्रिभुजाकार स्वरूपमा तयार पारिन्छ ।
अर्कोतर्फ आजको दिन राती लक्ष्मी भगवान् पृथ्वी लोकमा आउने र आशिष दिएर जाने जनउक्ति पनि छ, त्यसै कारणले आज घर अगाडिको तुलसी मोठ या आँगनको प्रवेशद्वारबाटै लक्ष्मीका पाइलारूपी रङ्गिन डोबहरूका छाप घरका सम्पूर्ण कोठाहरूमा लगिन्छ, यी नै पाइलाका छाप अनुरूप लक्ष्मीको घरमा प्रवेश हुन्छ भन्ने जनविश्वास पनि छ । रङ्गहरू, बत्तीहरू अनि पर्वमय उल्लासले गर्दा आजको दिन सम्पूर्ण ताराहरू आकाशबाट पृथ्वी लोकमा झरेजस्तो सबैका आँगनमा बत्तिका रूपमा बलिरहेका हुन्छन् ।
यस्तै सोमबार गाई तिहार र मंगलबार गोवद्र्धन पूजा परेको छ । तिहारको भाइटीका यसवर्ष कार्तिक २९ गते परेको छ । कार्तिक २९ गते बुधबार भाइटीकाको साइत बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यद्यपि भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले बताए ।