घोराही, २६ कार्तिक ।
धर्नाली उपभोक्ता सहकारी संस्था लिमिटेड घोराही–५ धर्नाको १३औं वार्षिक साधारणसभा शनिबार धारापानीमा भएको छ । जिल्ला सहकारी संघ लिमिटेड दाङका महासचिव शुक्रराज भण्डारीले सहकारी संस्थाले सीप, उत्पादन र बजार प्रवद्र्धनका क्षेत्रमा काम गर्नुपर्ने बताए ।
नेपालको अर्थतन्त्रमा सुधार ल्याउनका लागि सहकारीको विकल्प नभएको भन्दै यसका लागि सहकारी संस्थाहरूले आन्तरिक अवस्था सुदृढ गर्दै उत्पादन र बजारीकरणका लागि काम गर्नुपर्ने बताए । उनले सानो सुन्दर हुने तर सानो र सुन्दरताले मात्र हाम्रो आवश्यकता पूरा नहुने भएकाले विकसित, ठूला र सशक्त सहकारी संस्थाको आवश्यकता रहेको भन्दै सहकारी संस्थाहरू एकीकरण अभियानमा जानुपर्ने बताए ।
सहकारी संस्था मात्रै दुनियाँको एकमात्र शोषणरहित निकाय रहेकोले सहकारीको माध्यमबाट समाजवादको आधार तयार हुने उनको भनाइ छ । सहकारीका माध्यमबाट उद्योग र उत्पादनका काम गर्न राज्य र कानून बाधक रहे पनि समुदायस्तरबाट नागरिकलाई धनी र देशलाई समृद्ध बनाउनु सहकारीको दायित्व रहेको बताए ।
त्यस अवसरमा घोराही उपमहानगरपालिका वडा नम्बर ५ का सदस्य विष्णु प्रसाद विश्वकर्मा, शेयर सदस्यहरू पूर्ण बहादुर चौधरी, बालिका खड्का, टोप बहादुर खड्का, माधव खड्कालगायतले शुभकामना सहकारीले आर्थिक पाटो उकास्नुका साथै बचत गर्न सिकाएको बताए ।
संस्थाका अध्यक्ष मदन बहादुर डाँगीको अध्यक्षतामा कार्यक्रम भएको हो । शेयर सदस्य मंगल प्रसाद थापाको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण संस्थाका सचिव आशाराम चौधरीले गरेका थिए ।