दाङ, २६ कार्तिक ।
पतञ्जलि योग राप्ती हल दाङले शनिबार घोराहीमा २०८० सालको तिहारको अवसर पारेर ‘तिहार मिलन एवं शुभकामना आदान–प्रदान’ कार्यक्रम गरेको छ । पतञ्जलि योग राप्ती हल व्यवस्थापन समितिका अध्यक्ष युवराज आचार्यको अध्यक्षता तथा पतञ्जलि योग दाङ जिल्ला प्रभारी उदयबहादुर डाँगीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा तिहारको यमपञ्चकको पहिलो दिन एक–आपसमा शुभकामना साटासाटसँगै योगसाधिका दिदीबहिनीहरूले योगसाधक दाजुभाइहरूलाई संयुक्तरूपमा टीका लगाई आशीर्वचन ग्रहण गरेका थिए । कार्यक्रममा बोल्दै जिल्ला प्रभारी उदयबहादुर डाँगीले योग साधनाको निरन्तरताले शारीरिक तथा मानसिक रूपमा स्वास्थ्य लाभ हुनुको साथै यस प्रकारको संयुक्त टीकासहितको तिहार मिलन कार्यक्रमले हाम्रो सांस्कृतिक वैभवता झल्किने बताए ।
साथै दाजुभाइ तथा दिदीबहिनीहरूबीच आपसी सद्भाव बढ्ने र समाजमा सकारात्मक सन्देश जाने आशा व्यक्त गरे । पतञ्जलि योग दाङका युवा प्रभारी केतनारायण आचार्य, सल्लाहकार गोविन्दप्रसाद न्यौपाने, जिल्ला स्वागत प्रभारी शान्ता आचार्य, कोषाध्यक्ष कोमा रावत, योगसाधक ज्योतिष डमरूप्रसाद निरौला, कमलमणि देवकोटालगायतले आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए भने पतञ्जलि योग राप्ती हल व्यवस्थापन समितिका अध्यक्ष युवराज आचार्यले सबैलाई धन्यवाद दिएका थिए ।
योगसाधिकाहरू मिरा शर्मा र कमला रावतले योगाभ्यास गराएको कार्यक्रममा योगसाधिकाहरू कोमा रावत, शान्ता आचार्य, तुलसा न्यौपाने लगायतका सम्पूर्ण दिदी बहिनीहरूबाट टीकासँगै संयुक्त भैलो गायन एवं नृत्यसमेत प्रस्तुत गरेका थिए ।