नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार सुरूवात भएको छ । तिहार पर्वको पाँच दिनलाई यमपञ्चक भनिन्छ । तिहार पर्व लक्ष्मीको मात्र होइन । तिहारमा यमराजका दूत कुकुरको पनि पूजा गरिन्छ । यमपञ्चकले पृथ्वीमा रहेका सबै जीव जनावरहरूलाई माया र संरक्षण गर्नुपर्छ भन्ने कुरा सिकाउँछ । मानव सभ्यताको सुरूवातदेखि नै मानवहरूलाई साथ दिँदै आएको कुकुरलाई विशेष महत्व दिएर पूजाआजा गरिन्छ ।
यमपञ्चकको पहिलो दिन कागको, दोस्रो दिन कुकुरको, तेस्रो दिन गाईको, चौथो दिन गोरूको र म्हपूजा पूजा हुन्छ भने अन्तिम दिन भाइटीका गरिन्छ । भाइटीकालाई पर्वको सबैभन्दा विशेष दिन मानिन्छ । तिहार पर्व यमराज र बहिनी यमुनासँग जोडिएको छ । तिहार पर्वमा दीपावली गर्ने, देउसी–भैलो खेल्दै रमाइलो गरी मनाउने गरिन्छ ।
यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार मनाइन्छ । यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यमराजको दूत मात्र होइन कुकुर ! कुकुर आज्ञापालक एवं रक्षक पनि हो । कुकुरले विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन अनुसन्धान गर्ने कार्य पनि गर्दछ । कुकुरले घरको रेखदेख चोर, डाँकाबाट बचाउने कार्य गरी मानिसलाई सुरक्षा प्रदान गर्दछ ।
कुकुरलाई भैरवको बाहन पनि भनिन्छ । विशेषगरी कुकुरले जतिसुकै दुःख कष्ट आइपरे पनि आफ्नो मालिकको साथ छोड्दैन । त्यसैले मानिसले कुकुरलाई आफ्नो भरपर्दो साथीको रूपमा लिने गर्छन् । कुकुरको सुँघ्न सक्ने क्षमता असाधारण हुन्छ । तालिम प्राप्त कुकुरले बम–बारूद र लागूपदार्थ पनि सुँघेर पत्ता लगाउन सक्दछ । मानिसले आँखाले हेरेर आफू वरपरको कुरा थाहा पाउँछ भने कुकुरले सुँघेर थाहा पाउँछ ।
त्यसैले सेना, प्रहरीहरूले अपराधी पत्ता लगाउन पनि तालिम प्राप्त कुकुरको सहायता लिने गर्छन् । कुकुरमा प्राकृतिक प्रकोप आउनु पूर्वनै कुकुरले आफ्नो फरक गतिविधि तथा अस्वभाविक ब्यवहारमार्फत मानिसहरूलाई पूर्व सूचनासमेत दिने गर्दछ । यमराजको द्वारपालका रूपमा स्वर्ग र नर्कको ढोकामा कुकुर रहने गरेको भन्ने पौराणिक कथन रहेको छ । त्यसैले कुकुरलाई तिहारमा पूजा गर्ने प्रचलन छ ।
कुकरलाई पूजा गरी मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास छ । वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्गको यात्रामा समेत साथ दिएको मान्यता पनि छ । मृत्युपर्यन्त पनि मोक्षको द्वारमा कुकुरले नै पहरा दिएको धर्मशास्त्रमा उल्लेख छ । कुकुर तिहारको दिन कुकुरको पूजाआजा गरी खाना खान दिने मानिसहरूलाई पूण्य प्राप्त हुन्छ भन्ने मान्यता छ । त्यसैले कुकुर तिहारको दिनमा आफ्नो घरमा पालेका मात्रै नभई सडकका कुकुरहरूलाई पनि माला र टिका लगाइदिएर खाना खान दिइन्छ ।
कुकर तिहारको दिन कुकुरलाई खान नदिईकन भोजन गर्ने मानिसले यमराजबाट दण्ड पाउँछन् भन्ने विश्वास रहिआएको छ । त्यसैले यस दिन बिहान सबेरै उठेर नित्यकर्म र स्नान गरिसकेपछि कुकरको पूजाआजा गर्ने चलन छ । तन्त्र साधनामा कुकुरलाई भयरहित भैरवका रूपमा पूजा गर्ने गरिन्छ । ऋगवेद अनुसार समरा अर्थात् कुकुरहरूकी आमाले स्वर्गका राजा इन्द्रलाई उनको हराएको वस्तु भेटाउन सहयोग गरेको उल्लेख छ ।
कुकुरलाई धर्मको अवधारणागत उदारण र सत्मार्गको प्रतिनिधिका रूपमा लिइन्छ । तन्त्रसाधक निडर भगवान भैरवको वाहन पनि कुकुर नै हो भने चाणक्य नीतिमा कुकुरलाई पातलो निन्द्रा भएको बफादार, चनाखो अनि थोरै खाएर पनि सन्तुष्ट हुने प्राणीका रूपमा उल्लेख गरिएको छ ।
कुकुर र मानिसको सम्बन्ध परापूर्वकाल देखिकै हो । सुरक्षाका लागि होस् वा सोखकै रूपमा कुकुर पाल्ने चलन पुरानै हो । नेपाली समाजमा कुकुरलाई चाहे त्यो लेकमा गाईवस्तु र भेडाच्याङ्ग्रा चराउने भोटे कुकुर होस् या खाना खाएर चुठन निस्कँदा पुच्छर हल्लाउदै आउने स्थानीय जातका कुकुरहरू हुन् । घर गोठ अनि बालीनालीको सुरक्षा अहिले पनि धेरै कृषकहरूले कुकुरबाट लिने गरेका छन् । आधुनिक युगको इतिहासमा पनि सर्वप्रथम पृथ्वीको कक्ष बाहिर परिक्रमा गर्दै अन्तरिक्षमा सन् १९५७ मा लाईका नामक कुकर पुगेको हो ।
त्यसैगरी सन् १९२३ मा जापानको ओडाटेमा जन्मिएको हाछिको नामक कुकुर र उसको मालिक प्रतिको बफादारीताको चलचित्र ‘हाछिको’ आजपनि विश्वभरि उत्तिकै लोकप्रिय छ । संसारमा आजभोलि कुकुरकै सहयोगमा ठूला अपराधहरू पत्ता लगाउने गरिएको छ । नेपालमा प्रथमपटक २०३६ सालमा मलेसियाले उपहार स्वरूप चारवटा कुकुर सरकारलाई सुरक्षा एवं अपराध अनुसन्धान गर्नका लागि प्रदान गरेको थियो । हाल ती कुकुरहरूको संख्या ६० को हाराहारीमा पुगेको छ । ती कुकुरलाई केन्द्रीय प्रहरी तालिम स्कुल रानीबारी काठमाडौंमा प्रशिक्षण दिने काम भैरहन्छ । प्रहरीले ति तालिमप्राप्त कुकुरहरूलाई भिआईपीहरूको सुरक्षाको लागि प्रयोग गर्दछ भने अपराध खोजी अनुसन्धानमा प्रयोग गरि रहेका छन् ।
कुकुर पाल्ने परम्परा संस्कृतिकै रूपमा विकास भए पनि मानव सभ्यतासँगै कुकुर पाल्ने प्रयोजन भने केही बदलिँदै आएको छ । संसारलाई हेर्ने हो भने अहिले कुकुरलाई अन्तरिक्षमा पठाउने, जासुसी कार्यमा लगाउने र तालिमप्राप्त कुकुरलाई खेलकुदमा समेत सहभागी गर्ने काम धेरै देशमा हुँदै आएको छ । कुकुरमा सुँघ्ने शक्ति मात्र होइन अल्टासाउन्डसमेत पनि सुन्न सक्ने क्षमता हुन्छ । कुकुरको स्मरण शक्तिसमेत तिक्ष्ण हुन्छ । एकपटक देखेको मानिस वा अन्य चिजलाई कुकुरले भुल्दैन । कुकुरको निन्द्रा पनि पातलो हुन्छ ।
यसकारण रातको समयमा सबै घटनाहरू पत्ता लगाई भुकेर मानिसलाई थाहा दिन्छ । आजभोलि कुकुर सुरक्षा र ब्यक्तिगत सोखका रूपमा पनि पाल्न थालिएको छ । नेपालमा अहिलेसम्म ४५ जातिका कुकुरहरू विदेशबाट पाल्न ल्याइएका छन् । यसरी विदेशबाट ल्याइएका ठूला जातका कुकुरमा एल्सेसियन, ग्रेटडेन, जर्मन सेफर्ड, डोरम्यान, ल्याब्राडर, बक्सर, डयाल्मेसियन, बुलडग प्रजातिका छन् । यसैगरी, घरमा पालिने साना जातका कुकुरहरूमा जापानी स्पिटस, ल्हासा आम्लो जस्ता कुकुरका प्रजातिको माग बढिरहेको छ ।
यसरी कुकुर काठमाडौं, पोखरा, बिराटनगरजस्ता ठूला सहरमा पालिएको छ । अहिले नेपालमा कुकुर झिकाउने केनल क्लव व्यवसायी रूपमा अगाडि बढेको । घरमा पालिने उन्नत जातका कुकुरहरू केनल क्लवबाट नै भारतलगायत तेस्रो देशबाट आयात गरिन्छ भने कतिपयले आफैं विदेशबाट आउँदा पनि ल्याउने गरेका छन् ।
संसारमा कुकुरका जातिअनुसार मानिसले पकेटमा राख्न सकिने देखि लिएर ठूला साइजमा समेत कुकुर पाइएको छ । अहिलेसम्म गिनिज बुकमा नाम लेख्न सफल भएको कुकुर अमेरिकामा छ । अमेरिकाको मिचिगनास्थित डेनिज डुर्गालले पालेको गे्रडडेन जियस नामको त्यो कुकुर ७ फिट ४ इन्च अग्लो छ । ३ वर्ष उमेरको त्यो कुकुर विश्वकै हालसम्म अग्लो कुकुर मानिन्छ । यसको लम्बाई २.२ मिटर छ ।
कुकुरका सौखिनहरूले बजारमा विभिन्न जातका कुकुरहरू पाउन थालेपछि कुकुरको मूल्य पनि आकासिएको छ । चीनको सान्सी प्रान्तकी एक महिलाले तिब्बती प्रजातिको याङजेनदी नम्बर दुई नामको कुकुरलाई उनले ४ करोड ५१ लखमा किनेर विश्वकै हालसम्मको महँगो कुकुरलाई मूल्य कायम राख्न सफल भएकी छिन । कुकुर पाल्ने मात्र होइन कुकुर पाल्नेहरूमा कुकुरप्रति माया पनि बढ्न थालेको छ ।
अमेरिकामा एक जोडीले आफूले पालेको कुकुरको मुत्युको पीडा सहन नसकी २ करोड रकम खर्च गरेर कुकुरको क्लोन गराएका छन् । क्लोन गराउनु भनेको नयाँ कुकुर जन्माएर सबै गुण एवं हाउभाउ मृत्यु भएको कुकुर बनाउनु हो । यस्तो चिकित्सा प्रविधिलाई क्लोन प्रविधि भनिन्छ । यसरी तयार पारिको कुकुरको नाम लालसेन इनकोर राखिएको छ । यो कुकुर संसारकै व्यावसायिक क्लोन प्रविधिको कुकुर मानिन्छ ।
नेपालको उत्तरी भूभाग, भारतको उत्तरी भूभाग, तिब्बत र मंगोलियामा पाइने कुकुरको जातिमा ठूलो टाउको र अजङको जीउ हुने यो रिसाहा र आक्रामक स्वभावको कुकुर हो । कुकुर अति इमानदार र बफादार स्वभावको हुने भएकाले भोटे कुकुर विश्वमै विशिष्ट ठहरिएको छ । युरोप र अमेरिकामा यो कुकुरको माग अत्यधिक रहेको छ । तर माग अनुसार पूर्ति भने हुन सकिरहेको छैन ।
नेपाल बाहिर एउटै छाउरा–छाउरीको कम्तीमा पनि १ हजार २ सय अमेरिकी डलरमा किनबेच हुने यो कुकुरको विश्व बजारमा उच्चतम् मूल्य १५ लाख अमेरिकी डलरसम्म रहेको छ । शौख र सुरक्षा दुबै उद्देश्यले पालिने कुकुरको व्यापार पनि अब सानो अंकमा सीमित रहेन । कुकुर र यसले खाने दानाका लागि विदेशी बजारमा निर्भर रहनु परे पनि शौखका कारण बजार निकै बढेको छ ।
कुकुरलाई परिवारका सदस्य जस्तै ठानेर पाल्ने पश्चिमा संस्कृतिले हुने खाने वर्गमा निकै खर्च बढ्न थालेको छ । एक वर्षको अवधिमा काठमाडौंमा मात्रै २५ करोड रूपैयाँ बराबरको कुकुर तथा कुकुरसँग सम्बन्धित सामानको व्यापार हुने गरेको छ । यो तथ्यांक हरेक वर्ष तीब्रगतिमा उकालो लाग्दै छ । राजधानीमा खुलेका केनल क्लव संख्याले पनि कुकुरको व्यापार बढाएको छ । अहिले काठमाडौंमा रहेका ४० भन्दा धेरै केनल क्लवमार्फत कुकुरको व्यापार हुँदै आएको छ । यी केनल क्लवमार्फत करिब ५० जातका स्वदेशी तथा विदेशी कुकुरको व्यापार हुने गरेको छ ।
अहिले एउटा केनल क्लवले मात्रै वार्षिक एकसयवटा भन्दा धेरै कुकुरको व्यापार गर्न थालेका छन् । अहिलेसम्म कुकुरको किनबेच राजधानी केन्द्रित छ । नेपालमा व्यापार हुने मध्ये सबैभन्दा महँगो कुकुर एक लाख ५० हजार रूपैयाँसम्मको रहेको छ । बुल डग जातको कुकुर नेपालमा व्यापार हुने मध्येको अहिलेसम्मकै महँगो मानिन्छ ।
कुकुरलाई घरपालुवा जनावरको रूपमा १२ हजार वर्ष अघिदेखि मानिसले पाल्न थालिएको अनुमान छ । आजभोलि मानिसले कुकुरलाई विभिन्न प्रशिक्षण दिन थालेका छन् । गाईवस्तु चराउन, घर हेरचाह गर्न प्रयोग गरिदै जाँदा पछि शिकार गर्न र मित्रता बढाउनका लागि मानिसहरूले विभिन्न नस्लका कुकुरहरू पाल्न थालेका हुन् । १९औं शताब्दी पछि मानिसले विभिन्न जातको कुकुर पाल्न थालेका हुन् । कुकुर समूह विश्वमा प्राचीन इजिप्ट र पश्चिम एसियाका मानिसहरूले फरक–फरक कामका लागि फरक जातको कुकुर पाल्ने गर्दछन् ।
कुकुर्नीले नौ हप्ताको गर्भिणी भएपछि छाउरा छाउरी जन्माउँछ । भर्खर जन्मिएका छाउरा छाउरीले आँखा देख्दैनन् र बहिरा हुन्छन् । १० देखि १२ दिनपछि कुकुरका छाउराले आँखा खोल्छन् भने १३ देखि १७ दिनपछि मात्र छाउराले सुन्न थाल्दछन् । जन्मिएको ३ देखि ५ हप्तापछि मात्र कुकुरको दाँत आउन थाल्दछ । कुकुरको नाक जहिले पनि भिजेको हुन्छ किनभने यसले हावामा भएका सुगन्धहरू लिन मद्दत गर्दछ ।
घरपालुवा जनावरमध्ये कुकुर धेरैको प्रिय बनेको छ । घर पुग्दा पुच्छर हल्लाउँदै ढोकासम्म आउने र पछ्याउने विशेषताले पनि धेरैले कुकुरलाई घरमा राख्न मन पराउँछन् । यदि तपाईंको घरमा कुकुर छ वा कुकुर राख्ने विचार गर्दै हुनुहुन्छ भने तपाईं जहिले पनि सचेत भने हुनै पर्दछ । कुकुर जतिको उपयोगी हुन्छ, उतिनै खतरनाक पनि हुन्छ । रेबिज रोग लागेको कुकुरले मानिसलाई टोक्यो भने मानिसलाई पनि रेबिज रोग सर्दछ । तसर्थ कुकुर पाल्ने मानिसहरूले कुकुरलाई नियमित भ्याक्सिन लगाउन पर्दछ ।