दाङ, २६ कार्तिक ।
राजकुमार नेपालीले मादल बनाएरै दैनिकी चलाउँछन् । उनले एक वर्षमा करिब डेढ सय मादल बनाउँछन् । करिब १० वर्षदेखि मादल बनाउने पेशामा रहेका राजकुमारले बिगतका वर्षमा तिहारमा मादलबाट राम्रै आम्दानी गर्थे । तर पछिल्ला वर्षमा तिहारमा भनेजस्तो व्यापार नभएको उनले बताए ।
‘बिगतका वर्षहरूमा तिहारमा २५/३० वटा मादल बिक्री हुन्थ्यो’ उनले भने– ‘पछिल्लो समय तिहारमा भनेजस्तो व्यापार भएको छैन् ।’ प्रविधिको विकाससँगै ठूला–ठूला साउण्ड सिस्टम भित्रिएका कारणले मादलको व्यापार घट्दो रहेको उनको भनाइ छ । ‘ठूला–ठूला साउण्ड सिस्टम भित्रिएको छ, यसले गर्दा मादलको व्यापारमा कमी आएको छ’ उनले भने–‘मादलको व्यापार हुन छाडेपछि कतिपयले यो पेशा नै छोडेका छन् ।’
तिहार नजिकिँदै जाँदा देउसी–भैलो खेल्ने योजना धेरैले बनाएका छन् । तर देउसी–भैलोका लागि चाहिने मादलको माग यसपालि पनि बढ्न सकेको छैन् । मादल बेचेर राम्रो आम्दानी लिने बादी समुदाय मादलको बिक्री नहुँदा उनीहरू भने चिन्तामा छन् । ‘देउसी–भैलोका लागि कतिपयले पुराना मादल बनाउन ल्याउँथे भने कतिपयले नयाँ मादल किन्थे ।’
५० वर्षिय दिपक बादीले भने–‘पछिल्लो समय मादलको बिक्री उत्साहजनक छैन्, तैपनि गुजारा चलाउन मादल बनाउने पेशा छोडेको छैन् ।’ उनले पाँच वर्षअघि तिहारको समयमा ५० वटासम्म मादल बिक्री गर्ने गरेका थिए । तर पछिल्लो समय तिहारमा मुस्किलले चार÷पाँचवटा मादल बिक्री हुने गरेको उनले बताए । ‘चार÷पाँच वर्षअघि जस्तो मादलको बिक्री उत्साहजनक छैन्’ उनले भने–‘यसवर्ष केही भएपनि मादलको व्यापार बढ्ला भन्ने आशा थियो, अहिले पनि उस्तै छ ।’
मादल बनाउनका लागि आवश्यक कच्चापदार्थ पाउनै मुस्किल छ । मादल बनाएपछि बिक्री गर्न समस्या हुने गरेको छ । पछिल्लो समयमा मादल बनाउने कच्चापदार्थ पाउन पनि मुस्किल भएको तुलसीपुर–७ नयाँबस्तीका खेलराज नेपालीले बताए । ‘मादल बनाउनका लागि कच्चापदार्थ पाउनै मुस्किल भएको छ’ उनले भने–‘गोरूको छालाहरू समेत पाउन छोडेको छ, घारको वनले दिन छोडेको छ ।’
मादल बनाएर जीविकोपार्जन गर्न समस्या हुने गरेको उनले बताए । ‘पहिलेदेखि गरिआएको पेशा छोड्न सकेको छैन्, कतिपय साथीहरूले व्यवसाय परिवर्तन गर्नु पनि भएको छ’ उनले भने– ‘तिहारको समयमा २० देखि ९० हजारसम्मको आम्दानी हुने गरे पनि पछिल्लो समय त्यस्तो छैन् ।’
मादलको व्यापार हुन छोडेपछि यो पेशामा निर्भरहरूलाई समस्या भएको छ भने मादल बनाउने परम्परागत पेशा परिवर्तन गर्नेहरू बढेका छन् । प्रेम बहादुर बादी पछिल्लो समय अटो चलाउने गरेका छन् । ‘मादलको माग घटेपछि दैनिकी कसरी चलाउन पेशा परिवर्तन गरेको छु’ उनले भने–‘पेशा नै परिवर्तन गर्न बाध्य हुनुपर्ने अवस्था छ ।’ मादलको व्यापार नहुँदा तिहार कसरी धकेल्ने हो भन्ने चिन्ताले सताएको छ ।
दिपावली पर्व नजिकै गर्दा मादलबाट राम्रै आम्दानी हुने गरेपनि यसवर्ष त्यस्तो अवस्था नदेखिएको सोहि ठाउँकै दुर्गाबहादुर नेपालीले बताए । यसवर्षको तिहार नजिकिए पनि अहिलेसम्म उनलाई मादलको माग आउन सकेको छैन् । मादल नेपाली गीतसंगीतका लागि मात्रै नभएर तिहारमा खेलिने देउसी–भैलोको लागि महत्वपूर्ण मनिने बाजा हो तर पछिल्लो समयमा मादलको माग कम हुँदा बादी समुदायको पेशा नै संकटमा परेको हो ।
पछिल्लो समयमा भने बजारमा भित्रिएको प्रविधिले पनि मादलको मागमा कमी आएको उनीहरूको गुनासो छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ बायखोलाका गेहेन्द्र बादीलाई कुनै समय तिहारको समयमा मादल बनाउन भ्याई नभ्याई हुने गरेको थियो । तिहारमा खेलिने देउसी–भैलोका लागि मादलको माग अत्याधिक हुँदा उनले वर्ष दिनको आम्दानी तिहारमा मात्रै गर्थे तर करिब पाँच वर्षदेखि उनले मादलबाट मनग्य आम्दानी गर्न सकेका छैनन् ।
तिहारको समयमा ४०/५० वटा मादलको व्यापार गर्ने गरेका उनले पछिल्लो समय तिहारको समयमा पाँच/सातवटा मात्रै पनि मुस्किलले बिक्री गर्ने गरेका छन् । ‘मादलको खोजी पनि कम हुन थालेको छ, मादल नै कम बजाएपछि व्यापार धेरै कम हुन थालेको छ’ उनले भने– ‘अहिले त हामीहरू धेरै समस्यामा परेका छौँ ।’ मादल बनाएरै आफू र आफ्नो परिवारको दैनिकी चलाउन सहज बनेको अवस्थामा पछिल्लो समय मादलको माग कम हुँदा समस्या हुन थालेको उनले बताए ।