
जीतसागर जी.एम.
दाङ, २५ कार्तिक ।
तिहार नजिकिदै गर्दा दाङ उपत्यकाका किसानलाई धान काट्ने र भित्र्याउने चटारो छ । धान बेचेर तिहारको खर्च जोहो गर्नुपर्ने भएकाले पनि अधिकांश किसानले तिहारअघि नै धान भित्र्याउँदै छन् । असार र साउनमा रोपेको धान अहिले पाकेर पहेँलपुर भएको छ । कतिपय ठाउँमा किसानले धान काटेर पनि भित्र्याइसकेका छन् भने कतिपय ठाउँमा अहिले धान काट्ने र भित्र्याउने चटारो छ ।
तुलसीपुर उपमहानगर–पालिका वडा नम्बर ४ माथिल्लो हलवारका सिर्जना पौडेलले शनिबार नै धान भित्र्याइसकेको बताइन् । ‘गतवर्ष वर्षात्का कारण धान खेतीमा क्षति पुगेको थियो, अहिले पनि पानी परेर क्षति हुने डरका कारण धान काटेर भित्र्याइसकेका छौँ’ उनले भनिन्–‘असारमा रोपको धान असोज कार्तिकमा पाक्ने गरेको छ ।’
तिहारअघि धान काटेर भित्र्याउँदा तिहार ढुक्कले मनाउने वातावरण बनेको उनले बताइन् । ‘धान काट्ने काम सकिएको छ’ उनले भनिन्– ‘अब मुख्य काम सकिएकाले तिहार ढुक्कले मनाउने तयारी छ ।’ तुलसीपुर–१५ का किसान जितबहादुर चौधरीलाई पनि धान काट्ने चटारो छ । उनले करिब आठ कट्ठा क्षेत्रफलमा धान खेती गरेका छन् । तिहारअघि नै धान भित्र्याउने तयारीमा रहेको उनले बताए ।
‘तिहार नजिक आइसकेको छ, यसकारण पनि धान काट्ने र भित्र्याउने मारामार छ’ उनले भने–‘गतवर्ष असोजमा परेको वर्षाले ठूलो क्षति गरेको थियो, यसवर्ष ढुक्कले धान खेती भित्र्याउँदै छौँ ।’ तुलसीपुर–२ का गणेश पुनलाई पनि धानखेती भित्र्याउन भ्याई नभ्याई छ । बिहीबार दिउँसो धान काट्दै गरेका भेटिएका गणेशले यसवर्ष गतवर्षको तुलनामा धान राम्रो फलेको बताए ।
‘यसवर्ष गत वर्षभन्दा राम्रो धान फलेको छ’ उनले भने–‘गतवर्षमा त वर्षाले पनि क्षति गरेको हो, तर वर्षाले सास्ती दिएन ।’ देउखुरी उपत्यकामा भने किसानले असोज र कार्तिकको पहिलो हप्तासम्म धान काटेर भित्र्याइसकेका छन् । ‘दशैँ अघि नै धान काटिसकेका हौँ’ किसान महेश यादवले भने–‘हामीले धान काटेर पनि खेतमा गहुँ बाली लगाइसकेका छौँ ।’
दाङमा ३९ हजार ४ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेपनि यसवर्ष ३५ हजार ५ सय ४० हेक्टर क्षेत्रफलमा धान खेती भएको कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी पृथ्वीराज लामिछानेले बताए । ‘यसवर्ष ३५ हजार ५ सय ४० हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो’ उनले भने– ‘यसवर्ष वर्षात् पनि समयमै भएका कारण धानखेती उत्पादन राम्रो भएको अनुमान गरिएको छ ।’
जिल्लामा यसवर्ष १ लाख ५९ हजार ९ सय ३० मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको उनले बताए । ‘सबै ठाउँमा धान काटेर भित्र्याइसकेको छैन्’ उनले भने–‘धान रोपिएको क्षेत्रफलको अनुमान गर्दा १ लाख ५९ हजार ९ सय ३० मेट्रिक टन धन उत्पादन हुने अनुमान छ ।’ उनका अनुसार धान उत्पादनमा दाङ आत्मनिर्भर मात्रै छैन् । दाङमा उत्पादन भएको धानले छिमेकी जिल्ला सल्यान, रोल्पा लगायतका जिल्लालाई पनि माग धानिरहेको छ ।
मेसिनको प्रयोग बढ्दै
धान भित्र्याउन पछिल्लो समय मेसिनको प्रयोगले निकै सहज बनाएको छ । थ्रेसर मेसिनबाट धान दाउन थालेपछि जनशक्ति पनि कम लाग्ने गरेको छ भने काम पनि छिटोछरितो हुने गरेको छ । थे्रसरले धान दाउँदा छिटो हुने गरेको तुलसीपुर–७ का प्रेम कुमालले बताए ।
‘धान झाट्न धेरै मान्छे चाहिन्थ्यो, भनेको समयमा पनि काम हुँदैन थियो, तर पछिल्लो समय थ्रेसर मेसिनले सजिलो बनाएको छ’ उनले भने– ‘थ्रेसर मेसिनबाट छिटोछरितो समेत हुन थालेको छ ।’ धान दाउन दाङमा अधिकांश किसानले थ्रेसर मेसिनको प्रयोग गर्ने गरेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी लामिछानेले बताए । ‘धान दाउन किसानले थ्रेसर प्रयोग गर्न थालेका छन्’ उनले भने– ‘मेसिनले किसानलाई काम गर्न सहज भएको छ ।’