मनोज कुमार आचार्य
दाङ, २३ कार्तिक । सँगै बाँच्ने र सँगै मर्ने कसम खाएर साइनो गाँसेका जोडीहरू बीच एकआपसमा समझदारी हुन नसक्दा सम्बन्ध बिच्छेदसम्म पुग्न थालेका छन् । स्वतन्त्रता खोज्ने नाममा श्रीमान् र श्रीमतीबीच मनमुटाव हुँदा सम्बन्ध बिच्छेदका लागि अदालतसम्म पुग्ने जोडीको संख्या बढ्दै गएको छ ।
दाङमा पाँच वर्षको अवधिमा तीन हजार चार सय बढी व्यक्तिले अदालतमा सम्बन्ध बिच्छेदका लागि मुद्दा दर्ता गरेका छन् । आर्थिक बर्ष २०७६/०७७ देखि चालु आर्थिक बर्षसम्म कुल ३ हजार ४ सय ७६ सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएको दाङ देउखुरी जिल्ला अदालतले जनाएको छ । सम्बन्ध बिच्छेद सम्बन्धी मुद्दा दर्ता गर्नेमा पुरूषभन्दा महिलाको संख्या धेरै रहेको दाङ देउखुरी जिल्ला अदालतका श्रेष्तेदार श्रीधर सुवेदीले बताए ।
‘सरासर हेर्दा पुरूषको तुलनामा महिला अदालतमा सम्बन्ध बिच्छेदका लागि आउने गरेका छन्’ उनले भने– ‘मुद्दा दर्ता गराउने महिलाले अंशसहितको मुद्दा दर्ता गराएको देखिएको छ ।’ सामाजिक सञ्जालको बढ्दो प्रयोग, वैदेशिक रोजागार, बालविवाह, बहुविवाह, आधुनिक, जीवनशैलीको नक्कललगायतका कारणले सम्बन्ध बिच्छेद हुने गरेका छन् । आमाबुबा अलग हुँदा बालबालिकाको भविष्यसमेत अन्यौलमा पर्ने गरेको छ ।
आर्थिक बर्ष २०७६/०७७ देखि चालु आर्थिक वर्षसम्म कुल ३ हजार ४ सय ७६ सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएको हो । त्यसैगरी गत आर्थिक वर्षको सरि आएका र नयाँ दर्ता भएका गरेर हालसम्म ४ हजार ९ सय ४८ विवाद अदालतमा आएको दाङ देउखुरी जिल्ला अदालतले जनाएको छ ।
आर्थिक वर्ष ०७६/०७७ मा अघिल्लो आर्थिक वर्षमा जिम्मेवारी सरी आएका २ सय ५ र दर्ता भएका मुद्दा ४ सय ५१ गरी जम्मा ६ सय ५६ मुद्दा रहेको देखिएको हो । सोही आर्थिक वर्षमा ३ सय ८८ मुद्धा फछ्र्यौट भएका थिए भने २ सय ६८ मुद्धा हेर्नेमा रहेको थियो ।
त्यस्तै आर्थिक वर्ष ०७७/०७८ मा सम्बन्ध बिच्छेद सम्बन्धी मुद्दाको संख्या बढेर ७ सय ८५ मुद्दा दर्ता भएका हुन् । उक्त आर्थिक वर्षमा सरी आएको मुद्दाको संख्यामा समेत बृद्धि भएको देखिएको हो । जसमा बितेको आर्थिक वर्षमा २ सय ५ मुद्दा सरी आएको रहेकोमा उक्त वर्ष बढेर २ सय ६८ मुद्दा रहेको अदालतका श्रेष्तेदार श्रीधर सुवेदीले बताए ।
त्यस्तै गत आर्थिक वर्षको सरी आएको गरेर कुल १ हजार ५३ मुद्दा रहेका थिए । ति मुद्दामध्ये ७ सय १२ फछ्र्यौट भएका छन् भने ३ सय ४१ मुद्दा उक्त आर्थिक वर्षमा बाँकी रहेको देखिाएको उनले बताए । त्यसैगरी आर्थिक वर्ष ०७८/०७९ मा यस्ता किसिमका मुद्दा दर्ता हुने संख्या बढ्दो रहेको देखिएको छ । जसमा गत आर्थिक वर्षमा जिम्मेवारी सरेर आएका ३ सय ४१ मुद्दा रहेको थियो ।
सोही वर्षमा नयाँ सम्बन्ध बिच्छेदका मुद्दा दर्ता संख्यासमेत बढेको देखिएको छ । अघिल्लो वर्ष ७ सय ८५ नयाँ मुद्दा दर्ता भएकोमा उक्त आर्थिक वर्षमा बढेर १ हजार ३८ मुद्दा दर्ता भएर कुल मुद्दा संख्या १ हजार ३ सय ७९ पुगेको थियो । सोही आर्थिक वर्षमा कुल मुद्दामध्ये १ हजार ३१ मुद्दा किनारा लागेका थिए भने ३ सय ४८ मुद्दा किनारा लाग्न बाँकी रहेको देखिएको हो ।
त्यसैगरी गत आर्थिक वर्ष ०७९/०८० मा कुल १ हजार ३ सय ५६ मुद्दा रहेका थिए । जसमा ३ सय ४८ मुद्दा गत आर्थिक वर्षबाट सरी आएको रहेका छन् भने १ हजार ८ नयाँ मुद्दा दर्ता भएका छन् । दर्ता भएका कुल मुद्दामा गत आर्थिक वर्षमा १ हजार ४६ मुद्दा किनारा लागेका छन् भने ३ सय १० मुद्दा फछ्र्यौट हुन बाँकी रहेको श्रेष्तेदार सुवेदीले बताए ।
त्यसैगरी चालु आर्थिक वर्षको हालसम्म सम्बन्ध बिच्छेदका ५ सय ४ मुद्दा रहेका छन् । जसमा गत वर्षको सरी आएका ३ सय १० रहेको छ । त्यसैगरी १ सय ९४ नयाँ मुद्दा दर्ता भएका छन् । चालु वर्षमा कुल दर्ता मुद्दाको संख्यामध्ये २ सय २४ मुद्दा फछ्र्यौट भएका छन् भने २ सय ८० मुद्दाको किनारा लाग्न बाँकी रहेको उनले बताए ।