बजार व्यवस्थापनको अधिकार स्थानीय सरकारलाई छ । दाङमा पनि मुख्य बजार तुलसीपुर, घोराही, लमही, हापुरेलगायतका बजारमा व्यवस्थापन नै मुख्य चुनौती छ । अखाद्य वस्तुको बिक्री वितरणदेखि महँगी नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकिरहेको गुनासो छ । अहिले नेपालीको महान् पर्व तिहार नजिकिदै गर्दा पनि बजारमा अस्वभाविक मूल्यबृद्धि देखिएको छ भने अस्तव्यस्त बिक्री वितरण बढ्दै गएको छ । स्थानीय तहमा आएका जनप्रतिनिधिले बजार व्यवस्थापनलाई कसरी चुस्तदुरूस्त बनाउँदै छन् ? पालिका सरकारका उपउप्रमुख तथा बजार व्यवस्थापन समितिका संयोजकलाई प्रदेश टुडे राष्ट्रिय दैनिकको नियमित स्तम्भ टुडे राउण्ड टेबलमा समेटेका छौँ । – सम्पादक
जीतसागर जी.एम.
फोहोर व्यवस्थापनदेखि महँगी नियन्त्रण
दाङकै प्रमुख व्यापारिक केन्द्र घोराही हो । दिनप्रतिदिन जनघनत्व बढ्दै गएको छ । बजारलाई सुन्दर र व्यवस्थित बनाउने हामी सबैको जिम्मेवारी हो । यद्यपि सरकारका हिसावले हामी अझ बढी जिम्मेवार छौँ । घोराही बजारमा आउने उपभोक्ताले सुरक्षित र सुलभमा किनमेल गर्न सकोस भनेर नै घोराही उपमहानगरपालिकाले बजारको व्यवस्थापनलाई व्यवस्थित बनाइरहेको छ । चाडपर्व भित्रिएको छ । बजारमा अब झन्पछि झन् भिडभाड बढ्दै गएको छ ।
घोराहीमा बजारमा पछिल्लो समय फोहोरको व्यवस्थापन हुन थालेको छ । गल्ने र नगल्ने फोहोरको व्यवस्थापन हुन थालेको छ । हामीले पनि डस्टबिन दिन थालेका छौँ । फोहोर व्यवस्थापन व्यवस्थित हुन सकेपछि बजारको सुन्दरता थपिने मात्रै होइन्, फोहोरबाट मोहोरमा परिवर्तन गर्न पनि सकिन्छ । ‘मैले सरसफाई गर्दिन, तर फोहोर पनि गर्दिन’ भन्ने चेतनाको विकास आमनागरिकमा हुन आवश्यक छ । नगरमा गल्ने र नगल्ने फोहोर छुट्टाछुट्टै व्यवस्थापन गरिरहेका छौँ ।
बजारमा दैनिकरूपमा निस्कने फोहोरबाट ग्याँस पनि उत्पादन भइरहेको छ । नगल्ने फोहोरको पनि व्यवस्थापन भइरहेको छ । २०७४ सालमा पालिकामा जनप्रतिनिधि आइसकेपछि बजार व्यवस्थापनसम्बन्धी कार्यविधि २०७५ बनेको छ । त्यसको कार्यान्वयन विगतमा पनि भएको थियो, अहिले पनि भइरहेको छ । तीनपाङ्ग्रे सवारी साधनलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने विषयमा हामीले गरेको निर्णय कार्यान्वयन नभएको पाएका छौँ । विषेशगरी कहाँदेखि कहाँसम्म कति भाडा लाग्ने ? भन्ने विषयसहित व्यवस्थित पार्किङका लागि उपमहानगरपालिकाले अटो व्यवसायीलाई सचेत गराएको छ तर तीनपाङ्ग्रे सवारी सञ्चालनमा विभिन्न गुनासा आएका छन् ।
कतिपयले तोकेको भन्दा धेरै भाडा लिने गरेको पनि देखिएको छ । यसको नियमन गर्नतर्फ पनि लागेका छौँ । पर्किङमा पनि केही समस्या छ । घोराहीको सहिद गेट, बंैंक रोडलगायतका ठाउँमा पार्किङको समस्या छ । ति क्षेत्रमा बढी भिडभाड हुन्छ । त्यसैमा सडक साँघुरो छ । त्यसमै चारपाङ्ग्रे सवारी पार्किङ गरी किनमेल गर्ने गरिएको हुँदा यसमा पनि गम्भीररूपमा लगेका छौँ । यस्तै चाडपर्वको मुखैमा बजारमा हुन सक्ने कालोबजारी र महँगी नियन्त्रणका लागि घोराही उपमहानगरपालिका हामी सचेत छौँ । महँगी बढिरहेको हुन्छ । त्यसमा पनि कतिपय ठाउँमा अस्वभाविकरूपमा वृद्धि गरिएको हुन्छ भने कतिपय ठाउँमा चाडपर्वको समयमा अखाद्य वस्तु बिक्री वितरण हुने गरेको हुँदा यसलाई रोक्नका लागि अनुगमनलाई बढाउँदैछौँ ।
अहिलेसम्म अनुगमन पनि गरिरहेका छौँ । सकेसम्म कारबाही गर्ने अवस्था नआओस् भनेर नै बेला–बेलामा सचेत बनाउने काम भइरहेको छ । छिटफुटरूपमा हुने कालोबजारी हुन्न भन्न सकिन । तर सकेसम्म अस्वभाविक महँगी नियन्त्रण र कालोबजारी रोक्नका लागि हामीले अनुगमनको पाटोलाई तिब्र बनाएका छौँ । अहिले दूध डेरीमा पनि सुधार आएको छ । दूध राख्न प्लाष्टिकका भाँडा प्रयोग गर्ने कम हुँदैछ । अहिले प्राय ठाउँमा क्यानको प्रयोग गर्न थालिएको छ । यस्तै मासु बजारमा पनि सरसफाईमा सुधार गर्नका लागि निरन्तर अनुगमन गरिएको छ ।
घोराही उपमहानगरपालिकामात्रै नभएर रोल्पा, सल्यान, प्यूठानका नागरिकको व्यापारिक केन्द्रको रूपमा रहेको घोराही बजारमा सरसफाई, सडकआश्रित मानवको उद्धारलगायतका काम बढी चुनौतीको रूपमा छन् । घोराहीको हरेक ठाउँमा सडकआश्रित मानवको उद्धार गरिरहेका छौँ भने सरसफाईको लागि पनि काम गरिरहेका छौँ । सरसफाईको सवालमा त विषेशगरी सबै नागरिकलाई कसरी जिम्मेवार बनाउन सकिन्छ भन्ने कुरा सचेतना दिइरहेका छौँ ।
अव्यस्थितरूपमा सञ्चालन भएका कलकारखानालाई व्यवस्थितरूपमा सञ्चालन गर्नेदेखि फुटपाथको व्यापारलाई व्यवस्थित बनाउन निरन्तर लागिरहेका छौँ । बजारलाई सभ्य र व्यवस्थित बनाउनका लागि विभिन्न समयमा अनुगमनको पाटोलाई पनि निरन्तरता दिइरहेका छौँ । अनुगमनको क्रममा केही त्रुटी पनि भेटिएका छन् तर ति त्रुटी फेरि पनि नदोहोरिने गरि सचेत बनाएका छौँ । परिवर्तन एकैचोटी हुने होइन् तर सबैको सहयोग भएपनि परिवर्तन हुन समय पनि लाग्दैन् ।
व्यवस्थित व्यवसाय प्राथमिकता
तुलसीपुर बजारलाई व्यवस्थित बनाउन हामी निरन्तर लागिरहेको छौ । हामी निर्वाचित भएर आएको १८ महिना बढी भएको छ । यस अवधिमा बजार व्यवस्थापनमा धेरै उल्लेख्यरूपमा काम भएको छ भन्दैन् तर धेरै सुधारका काम भएका छन् । तुलसीपुर बजार ठूलो छ । विषेशगरी साविक राप्तीकै प्रमुख बजारको रूपमा रहेको तुलसीपुर नेपालकै प्रमुख सहरमध्येको एक हो । यसको विकासका लागि स्थानीय सरकारलाई आएको जिम्मेवारी पुरा गर्दैछौँ ।
तुुलसीपुर बजारमा वर्षौँदेखि भएका समस्यादेखि विभिन्न समयमा हुने कालोबजारी रोक्नका लागि पालिका सरकारले आवश्यक नीति नियम बनाएर अघि बढेको छ । तुलसीपुरलाई सुन्दर सहरका रूपमा विकास गर्नका लागि हामीमा आएको जिम्मेवारीलाई जतिसक्दो छिटो पूरा गर्ने प्रयासमा छौँ । अहिले नै देखिने गरी परिवर्तन भएको छ त भन्दिन तर धेरै सुधारका काम भएका छन् । बजारको महँगी नियन्त्रणदेखि फुटपाथको व्यवसायलाई व्यवस्थित गरी सुन्दर बजार निर्माणको चरणमा छौँ ।
उपमहानगरपालिकाले महँगी नियन्त्रण र अखाद्य बिक्री वितरण रोक्नका लागि चाडपर्वको समयमा मात्रै होइन् । हामीले विभिन्न समयमा बजार अनुगमनलाई तिब्रता दिएका छौँ । विभिन्न व्यवसाय तथा उद्योगमा अनुगमन गरिएको छ । त्यसक्रममा केही उद्योगमा समस्या पनि देखिएका छन् । तिहारमा बिक्री हुने मिठाई उद्योगको अनुगमन गरेका छौँ । त्यसले पनि बजार सुधारमा धेरै राम्रो भएको छ ।
तुलसीपुर बजारलाई सुन्दर बनाउनका लागि आवश्यक ऐन, कानुन, कार्यविधि बनाएका छौँ । ऐन, कानुन बनेरमात्रै हुँदैन् । नागरिकमा परिवर्तनको अनुभूति हुनेगरी काम हुनुपर्छ भन्ने सोचका साथ हामी लागिररहेको छौं । बजारमात्रै होइन्, हरेक कुराको सुधारको लागि सबैको साथ र सहयोग आवश्यक छ । बजारलाई व्यवस्थित बनाउनका लागि पनि झनै सबैको सहयोग आवश्यक छ । मैले वा उपमहानगरपालिकालेमात्रै सुधार गर्न खोजेर समग्र बजारको अवस्था सुध्रने होइन् । यसका लागि व्यवसायी, उपभोक्ता लगायत आम सरोकारवाला निकाय लाग्नुपर्छ ।
तुलसीपुरमा अव्यवस्थित बिक्री वितरण पनि प्रमुख समस्या छ । अब तिहारमा झनै यस्तो किसिमको प्रवृत्ति झनै बढ्ने देखिन्छ । पछिल्लो समय मुख्य सडकमा फुटपाथको व्यवसाय पूर्णतया निषेध गरेको अवस्था छ । तर लुकिछिपी फुटपाथमा हुने व्यवसायलाई अझै रोक्न सकिएको छैन् । यसका लागि अझै अनुगमनको आवश्यकता छ । फुटपाथ व्यवसायमात्रै होइन्, ठूला व्यवसायी भवन जहाँ पार्किङको व्यवस्था गरिएको हुन्छ ति भवनहरूमा पनि पार्किङको साटो अन्य प्रयोजनमा प्रयोग भइरहको छ । यस्तो अवस्थामा हामीले सचेत पनि गराएका छौँ ।
हाम्रो नियत कसैलाई दुःख दिने होइन् । अहिले केही सुधार भएको छ । तुलसीपुरमा अहिले उपमहानगरको निर्देशनलाई नविल बैंक, राष्ट्रिय वाणिज्य बैंकले पालना गर्न थालेका छन् । ति बैंकका पार्किङ स्थल भएपनि प्रयोगमा नआउँदा बाहिर फुटपाथमा पार्किङ बढेको थियो । जसका कारण दुर्घटनाको जोखिम बढेको र बजार पनि कुरूप बनेकोले पार्किङस्थलको कडाईका साथ लागू गर्दैछौँ । समस्या थुप्रै छन्, एकैपटक परिवर्तन हुने कुरा होइन्, तर धेरै समय नलगाउने गरी काम गरिरहेका छौँ ।
ऐन नियमलाई टेकेर काम गरिरहेका छौँ । अहिलेको तिहार पर्व नजिकिदैँ गर्दा बजारमा अस्वभाविक हुने मूल्यवृद्धि नियन्त्रणका लागि अनुगमनको पाटोलाई बढाउँदै छौँ । यसका लागि म उपभोक्तालाई सचेत रहन पनि आग्रह गर्दछु । कुनै पनि सामान किन्दा बजार मूल्य, बनेको मितिलगायतमा विषेश ख्याल गर्नुस् । हामीले गर्ने कामलाई पनि अझ सशक्त बनाएर उपभोक्ता नठगिने किसिमले काम गरिरहेका छौँ ।
नियमित अनुगमन
राप्ती गाउँपालिकाकामा सिसहनियादेखि भालुवाङसम्म प्रमुख व्यापारिक केन्द्र हुन् । गाउँपालिका भित्र भएका बजारलाई व्यवस्थित बनाउनका लागि काम गरिरहेका छौँ । अहिले तत्कालको अवस्थामा बजारक्षेत्रमा सरसफाईको अभियानलाई तिब्र बनाएका छौँ । स्वास्थ्य र प्रतिष्ठासँग जोडिएको सरसफाई आमनागरिकमा चेतना पुग्नुपर्छ भन्ने सोंचका साथ गाउँपालिकाले अहिले सरसरफाई अभियानलाई तिब्र बनाएको छ ।
यसमा व्यावसायिक संस्था उद्योग वाणिज्य संघलगायतका आम सरोकारवालाको साथ र सहयोग रहेको छ । भालुवाङ प्रदेशकै प्रमुख सहरको रूपमा विकास हुँदै गरेको सहर हो । अहिले पनि देउखुरीसहित अर्घाखाँची, प्यूठानलगायतका नागरिकको प्रमुख व्यापारिक केन्द्रको रूपमा रहेको छ । यसकारण पनि भालुवाङ बजारलाई व्यवस्थित र सुन्दर बनाउनुपर्ने प्रमुख आवश्यकता हो । भालुवाङलाई विकास गर्नका लागि यहाँका आम सरोकारवाला जागरूक हुनैपर्छ ।
बजारमा व्यवस्थित पार्किङ, व्यवस्थित व्यापार व्यवसाय, व्यवस्थित खानेपानी, व्यवस्थित उद्योग भएमात्रै सुन्दर बजार हुन सक्छ । तर अहिलेको अवस्थामा ति कुराहरू क्रमश कार्यान्वयनको चरणमा छ ।
लामो समयसम्म विकास हुन नसकेको सहरलाई प्रदेशको राजधानी घोषणासँगै यसलाई सुन्दर व्यवस्थित बनाउन सरकारको प्रमुख दायित्व हो । अहिले प्रदेश सरकारले पनि भालुवाङ सहरलाई नमुना सहरको रूपमा विकास गर्ने सोचका साथ ठूलो रकम विनियोजन गरेको छ । त्यसको कार्यान्वयनका लागि हामीहरू लागिरहेका छौँ । जतिसक्दो छिटो सुन्दर र सबैको गन्तव्यको रूपमा भालुवाङ सहर विकास हुनुपर्छ भन्ने सोँचका साथ गाउँपालिकाले काम गरिरहेको छ ।
चाडपर्व आउँदै गर्दा बजारमा हुनसक्ने कालोबजारी र अस्वभाविक मूल्यवृद्धि नियन्त्रणका लागि अब लगत्तै अनुगमनको कामलाई अघि बढाएका छौँ । गतवर्ष बैशाख ३० को स्थानीय तहको निर्वाचनपछि हामीहरू निर्वाचित भएर आएपछि हामीहरूले अहिलेसम्म विभिन्न समयमा काम गरेका छौँ । व्यवसायी जिम्मेवार भएर उपभोक्तालाई सामान बिक्री गर्नुपर्छ । जहाँ अनुगमनको जरूरत नपरोस् भन्ने हामी सबैको चाहना हो । उपभोक्ता पनि सचेत हुन आवश्यक छ । कम्तिमा पनि मैले किन्दै गरेको वस्तुको बजार मूल्य के हो ?, कुन मितिमा बनेको हो ?, कहिलेसम्म उपभोग गर्न मिल्छ ? आदि कुरामा उपभोक्ता सचेत भएपछि बजारमा हुने कालोबजारी नियन्त्रणमा धेरै सहयोग पुग्छ ।
तिहारजस्ता पर्वमा हुने अखाद्य मिसावट, महँगी नियन्त्रणका लागि अनुगमनको कार्यलाई तिब्ररूपमा बढाएका छौँ । व्यवसायीलाई एक पटकमा सचेत गराउँछौँ । यदि एउटै समस्या पटक–पटक दोहोरिएमा कारबाही पनि गछौँ । बजारलाई व्यवस्थित बनाउन सवालमा फुटपाथको व्यवसाय पनि व्यवस्थित गराउँदैछौँ । अव्यस्थित हुने पार्किङलाई पनि व्यवस्थित गराउनका लागि पालिका लागिरहेको छ । हामीहरू आएको १८ महिना भएको छ । यसअवधिमा बजारका सवालमा निकै गम्भीरताका साथ काम गरेका छौँ । यसमा आमनागरिकको साथ र सहयोग आवश्यक छ ।
सरसफाई र व्यवस्थित व्यवसाय
तिहार पर्व नजिकिदै गर्दा बबई गाउँपालिकाले पनि उपभोक्ता हितका लागि बजार महँगी नियन्त्रणदेखि बजारक्षेत्रमा चाडपर्वको समयमा हुने सक्ने अवान्छित गतिविधि रोक्न आवश्यक तयारी गरिरहेको छ । चाडपर्वको समयमा मात्रै भन्दा पनि बजारलाई व्यवस्थित बनाउनका लागि पालिकाले नियमित काम गरिरहेको छ । बबई गाउँपालिकामा ठूलो बजार भनेको हापुरे हो । त्यस बाहेकका ठाउँमा साना–साना व्यापार, व्यवसाय सञ्चालन हुने गरेका छन् ।
तर ति बजारमा पनि महँगी, कालोबजारी हुँदैन् भन्ने होइन् । किनभने महँगी र कालोबजारी जहाँ, जतिबेलामा पनि हुन सक्छ । त्यसकारण पनि हामी सचेत छौँ । अहिले चाडपर्व लक्षित योजनामा विषेशगरी महँगी नियन्त्रण र बजारमा शान्ति सुरक्षाको विषय प्राथमिकता बनेको छ । चाडपर्वको समयमा रातीसम्म हुने मदिरा बिक्री वितरण हुँदा केही समस्या हुन सक्छ । यसकारण पनि मदिराको बिक्री वितरणमा पनि समय सीमा निर्धारण गर्नुपर्छ । राती अबेरसम्म होटल व्यवसाय सञ्चालन हुँदा मापसेका कारण हुने विभिन्न घटनाको चुनौती हुन्छ । त्यसकारण पनि रातीको समयमा मादकपदार्थ बिक्री वितरणलाई कडाई गरेका छौँ । व्यवसायीलाई पनि चाडपर्वको समयमा जतिसक्दो सहुलियत हरेक सामान बिक्री वितरण गर्नका लागि अनुरोध गरेका छौँ ।
तिहारको मौकामा पनि बजारमा हुन सक्ने कालोबजारी रोक्नका लागि बेला–बेलामा अनुगमनको कामलाई तिब्रता पनि दिएका छौँ । अहिलेको अवस्थामा मासिक करिब एक÷दुई पटक बजार हुने गरेको छ । काम गर्न भनेजस्तो सजिलो छैन् तर सकेसम्म जिम्मेवारीलाई पूर्णतया बहन गरी काम गरिरहेको छौँ । हापुरे बजार प्रमुख व्यापारिक केन्द्र हो । यसको दीर्घकालिनरूपमा विकास गर्नका लागि पनि गाउँपालिकाले आवश्यक योजना बनाउँदै छ । बजार व्यवस्थापनका लागि केही ऐन कानुन पनि बनिसकेका छन् । बनेका ऐन कानुनको पूर्णतया कार्यान्वयनका लागि हामीहरू निरन्तर लागिरहेका छौँ । हापुरे बजार तुलसीपुरबाट करिब ३० किलोमिटरको दुरीमा टाढा छ तर तुलसीपुरको भन्दा हापुरे बजारमा सूपथ मूल्यमा हरेक सामान पाइन्छ ।
पालिकाभित्रको उत्पादनको बजारीकरणलाई सहज बनाउनका लागि पनि सडकको विकास भइरहेको छ । पालिकालाई आर्थिकरूपमा अघि बढाउन वा सक्षम बनाउनका लागि बजार नै व्यवस्थित हुनुपर्छ । यसका लागि पालिकाको केन्द्र रहेको हापुरे बजार दिनप्रतिदिन जनघनत्व बढ्दै गरेको हुँदा यसलाई दीर्घकालिनरूपमा सुन्दर बजारका रूपमा विकास गर्न निरन्तर लागेका छौँ । हापुरे बजारमा अहिले तत्कालको अवस्थामा पार्किङको समस्या छैन् तर दीर्घकालिनरूपमा यसको आवश्यक स्तरोन्नतीका लागि पहल थालेका छौँ । आजको भोलि नै परिवर्तन त हुँदैन् । तर सकेसम्म कार्यकालमा उदाहरणीय काम गरेर बिदाई हुनेछौँ ।
अहिले कार्यकालको १८ महिना पूरा हुँदै गर्दा पनि केही सकारात्मक कामहरू पनि गरेका छौँ । बबईको प्रमुख व्यापारिक केन्द्र हापुरमा अहिले सबै निजी बैंकहरू सञ्चालित छन् । जतिसक्दो छिटो पालिकामा सरकारी वा अर्ध सरकारी बैंकको आवश्यकता देखिएको छ । यसका लागि पनि आवश्यक पहल गरिरहेका छौँ । हापुरे बजारमा सरकारी बंैकमा बैंकिङ कारोबारसहित अन्य बजार व्यवस्थापनको काम हामी जतिजक्दो छिटो गर्दैछौँ । यसैगरी जनघनत्व बढ्दै गएको अवस्थामा फोहोर व्यवस्थापनको कामलाई पनि चुस्तदुरूस्त बनाएका छौँ । अहिले गल्ने र नगल्ने फोहोर व्यवस्थापन छुट्टाछुट्टै गरिरहेका छौँ । यसलाई दीर्घकालिनरूपमा लैजाने योजनामा पनि छौँ ।