देउखुरी, २१ कार्तिक । लुम्बिनी प्रदेशका कार्यबाहक मुख्यमन्त्री धनबहादुर मास्कीले स्वास्थ्य क्षेत्र संघीयताको सफलतासँग जोडिएको विषय भएको बताएका छन् । आर्थिक वर्ष ०७९/०८० मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय वार्षिक समीक्षा कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै मन्त्री मास्कीले स्वास्थ्यकर्मीहरूले गरेको कामले दिने परिणामले नै संघीयताको सफलता र असफलतासँग जोडिने बताएका हुन् ।
‘स्वास्थ्यकर्मीले गरेको कामले दिने परिणामले नै संघीयताको सफलता र असफलतासँग जोडिएको हुन्छ’ उनले भने– ‘यसलाई स्वास्थ्यकर्मीले ध्यान दिनुपर्छ ।’ मन्त्री मास्कीले स्वास्थ्यकर्मीहरू आफ्नो जागिरका लागि मात्रै स्वास्थ्य सेवामा आएको नभई सेवाका लागि आएको समेत बताए । ‘सुविधा लिन मात्रै यो क्षेत्रमा कार्यरत हुनुहुन्न, सेवा दिन पनि यो पेशामा आउनु भएको छ’ उनले भने– ‘त्यसैले पनि स्वास्थ्यकर्मीलाई जनताले भगवानसरह मान्ने गर्छन् ।’
साथै उनले बजेट विनियोजन भएपनि कार्यविधि निर्माणमा ढिलाइ गर्दा कार्यान्वयनमा समस्या हुने गरेको बताए । मन्त्री मास्कीले पछिल्लो समय मानसिक बिरामीहरू बढिरहेकाले यसतर्फ पनि ध्यान दिनुपर्ने अवस्था रहेको बताए । कार्यक्रममा प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले भर्चुअलबाट सम्बोधन गर्दै प्रदेशको स्वास्थ्य अवस्था सुधार गर्नेतर्फ सरकार केन्द्रित भएको बताए ।