सम्पादकीय
नेपालले फेरी भूकम्पका कारण मानविय एवं भौतिक क्षति बेहोर्नुपरेको छ । शुक्रबार राती ११ बजेर ४७ मिनेटमा आएको भूकम्पले जाजरकोट र रूकुम पश्चिममा ठूलोमात्रामा जनधनको क्षति भएको छ । २०७२ सालको भूकम्पपछि नेपालले पहिलो पटक फेरि ठूलो क्षति बेहोरेको छ ।
ठीक एक महिनाअघि बझाङलाई केन्द्रबिन्दु बनाएर ६.३ म्याग्निच्युडको भूकम्प जाँदा एक जना र गत वर्ष कार्तिक २२ मा डोटीमा केन्द्रबिन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो । यस पटक घरभित्र सुतिरहेको बेला मध्यरातमा भूकम्प गएकाले धेरै क्षति भएको देखिन्छ । भूकम्पका कारण नागरिकले अकालमा मृत्युवरण गर्नुपरेको छ, ढुंगा–माटाले बनेका कच्ची घरले भूकम्प थेग्न नसक्दा चेपिएर, पुरिएर धेरैले ज्यान गुमाए । शोकमा परेका परिवारजन बासस्थान र खानपिनको समेत पिरलोमा छन् ।
भूकम्पबाट भएको क्षतिले नेपालीमात्रै होइन, विश्व समुदायलाई पनि स्तब्ध पारेको छ । भूकम्पका कारण घर भत्किदा बस्ने बास छैन् । खाने गास छैन् । चिसो बढ्दै गएका कारण प्रभावित नागरिकलाई रात कटाउन थप गाह्रो छ । भूकम्प प्रभावितले त्रिपालमूनि कार्तिक महिनाको चिसो रात कटाउनुपर्ने बाध्यता भएको छ । क्षतबिच्छेद भएका घरमा कुनै पनि सामान काम नलाग्ने अवस्था छ । राहत पुग्ने क्रम सुरू भएको छ ।
तर सबै प्रभावितले रात पाउन सकेका छैन् । भूकम्पले निम्त्याएको परिस्थितीलाई सहज बनाउन सबै समुदाय एक भएर लाग्नुपर्ने देखिएको छ । भूकम्पले घर भत्किदा घाइते भएका नागरिकको केहीको काठमाण्डौंमा उपचार भइरहेको छ भने केहीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । घाइतेहरूको उपचारलाई उच्च प्राथमिकता दिनुपर्छ ।
चिसो बढिरहेकाले समेत उनीहरूको जनजीवन थप कष्टकर नहोस् भनेर सरकारले तत्काल अस्थायी बसोबास तथा खानपिनको व्यवस्था गर्न जरूरी छ । यसमा स्थानीय सरकारहरूको प्रभावकारी भूमिकाको खाँचो छ । उनीहरूसँग प्रदेश र संघ सरकारले हातेमालो गर्नुपर्छ । भूकम्पबाट आगामी दिनमा हुन सक्ने क्षतिको कम गर्न पनि सोच्न जरूरी छ । भूकम्पबारे पूर्व सूचना दिने प्रणालीको विकास नभएपनि आउने भूकम्पबाट बच्न चाल्नुपर्ने कदमहरू चाल्नुपर्छ । प्रभावित नागरिकलाई कुनै कुराको कमी हुन नदिने गरी काम गर्न आवश्यक छ ।