तुलसीपुर, १६ कार्तिक । प्रथम लुम्बिनी प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता तुलसीपुरमा हुन लागेको छ । यही कार्तिक १७ र १८ गते गरि दुईदिन तुलसीपुरमा प्रतियोगिता आयोजना गरिएको लुम्बिनी प्रदेश तेक्वान्दो संघका अध्यक्ष बिमल रिजालले जानकारी दिए ।
मंगलबार संघका अध्यक्ष बिमल रिजाल र कोषाध्यक्ष मोहन सुनारले विज्ञप्ति जारी गरी प्रथम लुम्बिनी प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिताबारे जानकारी दिएका हुन् । तुलसीपुरमा आयोजना गरिएको हुँदा त्यसलाई सफल पार्न सबैको सकारात्मक सहयोगको अपेक्षा गरिएको अध्यक्ष रिजालले बताए ।
प्रदेश राजधानी दाङको तुलसीपुरमा पहिलो पटक हुन थालेको प्रथम तेक्वान्दो प्रतियोगितामा प्रदेशका १२ वटै जिल्लाका खेलाडीलाई निम्त्याइएको छ । प्रदेश भरका खेलाडीको तुलसीपुरमा आउने हुँदा यस क्षेत्रका होटलमा खेलाडी तथा पाहुनाहरूले रूम बुक गर्न थालेको एक होटल व्यवसायीले जानकारी दिए ।
अध्यक्ष रिजालले तुलसीपुरमा हुने प्रतियोगिताले प्रदेशलाई भावनात्मक रूपमा एकै ठाउँमा उभ्याउने र त्यसले तुलसीपुरका प्रचार प्रसारमा थप मद्दत पुग्ने आशा व्यक्त गरे । रिजाल अध्यक्ष भएपछि तुलसीपुरको दुधेनामा झन्डै एक करोड बढी खर्चिएर कभर्डहल निर्माण गरिएको छ । जसको गतवर्ष मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गरेका थिए । कभर्डहल निर्माणपछि भविष्यमा तुलसीपुर क्षेत्रको खेलकुदको विकासमा थप टेवा पुग्ने आशा गरिएको छ ।