Friday, January 24, 2025
Homebreaking-newsसडक मानवमुक्त बनाउने अभियान

सडक मानवमुक्त बनाउने अभियान

- Advertisement -spot_img


जीतसागर जी.एम.


मानव सेवा आश्रम कोही नहुनेको सारथी बनेको छ । सडकलाई आश्रयथलो बनाएर बसेकाहरूको उद्धार गरी छाना, नाना र खाना प्रदान गरिरहेको मानव सेवा आश्रम हजारौँ मानिसको उद्धार गरिसकेको छ । मुठी दानको भरमा सञ्चालित मानव सेवा आश्रमले सडक मानवको उद्धार गरेर मानवीय सेवामात्रै गरेको छैन्, राज्यलाई पनि सहयोग गरिरहेको छ । सडक आश्रित मानवको उद्धार, राज्यको दृष्टिकोण र मेची–महाकाली राष्ट्रिय उद्धार अभियानमा केन्द्रित रहेर प्रदेश टुडे राष्ट्रिय दैनिकको नियमित स्तम्भ टुडे राउण्ड टेबलमा सरोवालालाई समेटेका छौं । – सम्पादक


आश्रमलाई सधैं साथ

कोहि नहुनेको सहारा बनेको मानव सेवा आश्रमले राज्यलाई नै सहयोग गरिरहेको छ । सरकारले गर्ने काम मानव सेवा आश्रमले गर्दा हामी स्थानीय सरकारले पनि आश्रमलाई हरेक समयमा सहयोग गर्न तयार छौँ । मानव सेवा आश्रमको दाङ शाखा नै तुलसीपुरमा छ । यसले तुलसीपुरको गरिमा मात्र बढाएको छैन् । तुलसीपुरमा रहेका सहाराबिहीन नागरिकको समयमै उद्धार हुन पाएको छ । तुलसीपुरलाई नै सडक मानवमुक्त बनाउने अभियानलाई उपमहानगरपालिकाले सहयोग गर्न तयार छ ।

बिगतका वर्षदेखि नै स्थानीय सरकार मानव सेवा आश्रमको साथमा छ । आगामी दिनमा पनि हुनेछ । अहिले तुलसीपुरमा भाडाको घरमा सञ्चालित मानव सेवा आश्रमले आफ्नै संरचना बनाउने तयारी गर्दै गर्दा पनि उपमहानगरपालिकाले साथ र सहयोग गरेको कुरा जानकारी गराउँदछु । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ र ४ मा करिब दुई बिघा जग्गा उपलब्ध गराएका छौँ । जग्गामा आवश्यक संरचना निर्माणका लागि यसलाई पूर्णता दिनका लागि स्थानीय सधैँ साथमा छ ।

सडक आश्रित मानवको उद्धार अभियान पनि चलिरहेको हुँदा सम्पूर्ण टिमप्रति आभारी छु । विभिन्न परिस्थितिबाट सडकमा आउन बाध्य सडक आश्रित मानवको उद्धारको काम निकै सह्रानीय छ । कठ्याङ्ग्रिदो जाडो होस् या जेठ बैशाखको गर्मी होस् सडकमा जीवन बिताउन बाध्य भएका सडक आश्रित मानवलाई उद्धार गरेर आश्रममा पालनपोषण गर्नु सानो कुरा छैन् । उनीहरूलाई सडकबाट उठाएर लाने मात्रै होइन, उनीहरूको जीवनस्तरमा सकारात्मक परिवर्तनका लागि हराएको र गुमेको खुशी फर्काउने कोसिस पनि भएको छ ।

उद्धार गरिएकाहरू पुनः सडकमा आउने अवस्था आउन नदिने पूर्वतयारी गरेर उनीहरूको शारीरिक र मानसिक अवस्थाका बारेमा समेत हामी सबै गम्भीर हुनुपर्छ । हामी यस विषयमा गम्भीर छाँै, सरकार अभिभावक हो, मानव सेवा आश्रमको तर्फबाट भएका प्रयास निकै राम्रो छ, स्थानीय सरकारले पनि आफ्नो दायित्व पूरा गर्दछ ।

तुलसीपुर उपमहानगरपालिकालाई नै सडक मानवमुक्त बनाउने अभियानमा हामीहरू छौँ । यस अभियानमा सबैको साथ र सहयोग हुन आवश्यक छ । सडकमा मानव बस्नु सभ्य समाजका लागि अशोभनीय हो, यसको व्यवस्थापन गर्न उपमहानगर तयार छ यस क्षेत्रमा सक्रिय संस्थासँग हातेमालो गरेर तुलसीपुरलाई सडक आश्रित मानवमुक्त बनाउन उपमहानगर तयार छ ।

सडकमा आउनुको कारणको खोजीसँगै समाधान खोजिनुपर्छ । पारिवारिक विखण्डन, कुलत, आर्थिक अभाव, अपहेलनाजस्ता विविध कारण सडकमा आएका पाइएको छ । यसकारण पनि सडकमा आउनै नदिने संस्कारको विकास गर्न आवश्यक छ । मानवता हराउँदै गएको अवस्थामा असल संस्कार र संस्कृतिको विकास हुनुपर्छ । कोहि पनि मानव सडकमा आउन नदिनका लागि मानव सेवा आश्रमले गरेको अभियान निकै महत्वपूर्ण छ ।

तुलसीपुरलाई सभ्य, सुसंस्कृत बनाउनका लागि मानव सेवा आश्रमको अभियानमा हामी पनि सँगसँगै छौँ । स्थानीय सरकारले गर्नुपर्ने सहयोग कुनै पनि कमी हुने छैन् । हामीले यसलाई निकै गम्भीरताका साथ लिएका छौँ । अरू विकास निर्माणको काम हुँदै गर्छ । कोहि पनि मानव सडकमा बस्न नपरोस् । उपमहानगरपालिकालाई नमुना नगरको रूपमा विकास गर्नका लागि सडक आश्रित मानवमुक्त हुनुपर्छ भन्ने नै हो । यसलाई स्थानीय सरकारले हरेक प्रकारका साथ सहयोग गरिरहेको छ, गरिरहने छ ।


निरन्तर अगाडि बढ्छौं

सडक मानवको उद्धारका लागि अहिले देशव्यापी अभियान चलिरहेको छ । २०६९ सालमा स्थापना भएको मानव सेवा आश्रमले असहायको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवम् पारिवारिक पुनर्मिलनको माध्यमबाट नेपाललाई नै सडकमुक्त नेपाल निर्माण गर्ने उद्देश्यले काम गरिरहेको छ । संस्थाले अहिलेसम्म असहाय बालबालिका र हजारौँ घरबारविहीन मानिसको उद्धार गरिसकेको छ ।

मानव सेवा आश्रमबाट नै मेरो परिचय बनेको हो । यस सस्ंथाको स्थापनादेखि नै म अभियन्ताको रूपमा आबद्ध रहदैँ आएको छु । सुरूमा आश्रम सुरू गर्ने सोच नै थिएन् । अभियन्ताका रूपमा हामी लागिरहेका थियौँ । सोही क्रममा भावनाको रूपमा सुरूवात गरेका हौँ । बाटोमा देख्ने आमाबुबा मानिसलाई खानेकुरा दियो, भोलि त्यही अवस्थामा देख्दा मन नराम्ररी कुँडिन्थ्यो । जसका कारण दीर्घकालीन रूपमा उहाँहरूको उद्धार गर्नुपर्छ भन्ने सोच आयो । जसबाट सुरूमा पाँचजना आमाबुबालाई राखेर मानव आश्रमको स्थापना ग¥यौँ । सुरूवाती चरणमा आमाबुबालाई खुवाउन कत्तिको लात पनि खाइयो, कत्तिले मुठ्ठी माग्दा बोरा भरिने गरी पनि दिनुभयो ।

जो मान्छेको परिचय थिएन उनीहरूलाई राख्नका लागि पनि मानव सेवा आश्रमको स्थापना भएको हो । आमाबुबाका लागि उचित बास राख्न दिने अवस्था थिएन् । तर पनि हामीले कहिल्यै हार खाएनौँ । हाम्रो यात्राका क्रममा सुख दुःखको दुबैको मिश्रित समायोजनको अनुभूति गर्न पाइयो । राज्यका तीनै तहका सरकारलाई उहाँहरूको अभिभावक तपाईहरू हो भनेर सरकारका तर्फबाट पनि प्रयास सहयोग लिइरहेका छौँ ।

थोरै सरकारको सहयोग र परोपकारी मानवताप्रेमी मनबाट हामीले आर्थिक रूपमा जुटाउँदै आएका छौँ । हरेक नेपालीले खाना बस्न पाउनु भनेको संविधानको मौलिक हक हो । हामी त सरकारको सहयोगी बनेर यो अभियान चलाएका हौँ । सधैँ सरकारले गरेन भनेर बस्नुभन्दा पनि एउटा जिम्मेवार नागरिक भएर हामीले पनि आफ्नो तर्फबाट गर्नुपर्छ । हामी सोही अनुरूप लाग्यौँ । तीनै तहको सरकार संघीय सरकार प्रदेश सरकार र स्थानीय सरकारले नि सहयोग अपेक्षित मानवमुक्त समाजको हाम्रो अनुरोधलाई नेपाल सरकारले आफ्नो नीति तथा कार्यक्रममा समायोजन गरेको छ ।

विशेषगरी हामी सडक पेटी र सार्वजनिकस्थलमा रहनुभएका बेसहारा मानिसहरूलाई आश्रम ल्याएर उद्धार गर्ने गछौँ । अहिले त मानव आश्रमको आफ्नै परिचय बनेको छ । जसका कारण कुनै बेसहारा व्यक्तिलाई सडकमा देखियो भने मानव आश्रमलाई खबर गर्नुपर्छ भन्ने प्रहरी स्थानीय जनप्रतिनिधि र स्थानीय व्यक्तिमा त्यो भावना जागृत भइसकेको अवस्था छ । अन्य दिनमा पनि हामी अभियान्ताहरू दिउँसोको समयमा बाटोमा हिड्दै गर्दा आफ्नो काम विशेषले हिड्दा पनि कोही व्यक्ति सडक पेटी र सार्वजनिक स्थलमा छ कि भनेर हाम्रो निगरानी निरन्तर रहन्छ । उहाँहरूलाई देखेको खण्डमा प्रहरी स्थानीय जनप्रतिनिधिसँग समन्वय गरेर आश्रममा ल्याउँछौँ ।

प्रक्रिया पूरा गरेर आश्रममा उद्धार गर्ने व्यवस्था गछौँ । उहाँहरूलाई उद्धार गरेर आश्रममा ल्याइसकेपछि सबैभन्दा पहिलो हामीले गर्ने काम भनेको प्रेमको अँगालोमा बाँध्ने काम गछौँ । हामीले जुन मानव भएपछि सेवाभावका साथ इज्जत दिनुपर्छ सेवाभावका साथ त्यो पट्टी हाम्रो ध्येय रहन्छ । उहाँहरू विस्तारै घुलमिल हुन थालेपछि हामीहरू उहाँहरूलाई परामर्श दिन्छौँ । त्यसपछि परिवार पत्ता लागेको अवस्थामा पुनर्मिलन गराउँछौँ । यसरी हाम्रो सेवाहरू अगाडि बढिरहेको छ ।

सेवामा कुनै अपेक्षा हुनुहुँदैन । सेवालाई व्यापारिक दृष्टिकोणले हेरिनुहुँदैन् । यदि तपाई सेवालाई क्यारियर बनाउन चाहनुहुन्छ आनन्द लिन चाहन्छौँ भने तपाईले आफ्नो व्यक्तिगत इच्छा आकाङ्क्षा त्याग्नुपर्ने हुन्छ । खुशी लाग्छ । तर अझ गर्न धेरै बाँकी लाग्छ । सहयोग अपेक्षित सडक आश्रित अभियान राष्ट्रव्यपापी रूपमा लाने संकल्पअनुरूप लागिरहेका छौँ । भोकै नाङ्गा भएर सडकमा रहेका दिदी, बहिनी दाजुभाइको उद्धार नभएसम्म हाम्रा पाइलाहरू रोकिने छैनन् । हामी निरन्तर रूपमा अगाडि बढिरहने छौँ ।


सार्थक बन्दै अभियान

सडक मानवको उद्धार गर्नका लागि अहिले मेची महाकाली राष्ट्रिय उद्धार अभियान चलिरहेको छ । सोमबार तुलसीपुरमा आइपुग्यौँ । यो अभियान असोज २६ गतेदेखि औपचारिक रूपमा शुरू भएको हो । अभियान २६ गते शुभारम्भ भएपनि हामीले असोज २८ गतेदेखि मेची पुलदेखि यात्रा शुरू गरेका हौँ । १६औँ दिनमा तुलसीपुरमा आइपुग्यौँ । अभियानको क्रममा अहिलेसम्म १३२ जना सडक आश्रित मानवको उद्धार गरेका छौँ । हाम्रो अभियान आगामी मंसिरको ४ गतेसम्म सञ्चालन हुनेछ । अहिलेसम्म आउँदा हामीले सोचेजस्तै भएको छ ।

हामीले विषेशगरी यो चाडपर्वमा कोही पनि नागरिक सडकमा बस्न नपरोस् भनेर अभियान सञ्चालन गरेका छौँ । यो यात्राका क्रममा भेटिनुभएका आमाबुबाको पुनर्मिलन पनि गराउन सफल भएका छौँ । हाम्रो चाहना के भने कोही पनि व्यक्ति परिवारबाट टाढा नहोस् भन्ने हो । कोही नहुनेको लागि मात्रै मानव सेवा आश्रम हो । कोही पनि व्यक्ति परिवारबाट टाढा भएर बस्न नपरोस् ।

‘यस वर्षको चाडपर्वमा कसैले बस्न नपरोस् सडकमा’ भन्ने मूल नारासहित पूर्व मेची पूलबाट सुरू अभियानअन्तर्गत १३२ जना सडक आश्रित मानवको उद्धार गरिएको छ । मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा सुरू भएको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८०’ निरन्तर चलिरहेको छ ।

पूर्वको मेची पुलबाट एक बालकसहित तीनजनाको उद्धार गरी सुरू भएको अभियान महाकालीमा पुगेर समापन गरिनेछ । मानव सेवा आश्रमका सदस्यहरूसहित अभियानमा रहेका टोलीमा सडकमा बेसहारा, अशक्त, असहाय, अभिभावकविहीन, मानसिक तथा सामाजिक रूपमा कमजोर सडक आश्रित मानवलाई उद्धार गरिरहेका छौँ । मुलुकलाई सडक आश्रित मानवमुक्त बनाउने अभियानअन्तर्गत मानव सेवा आश्रमको सहकार्यमा अभियान चलिहेको छ ।

हामी कार्तिक २० गतेभित्र महाकाली पुग्दैछौँ । महाकाली पुगीसकेपछि पनि हामी पहाडका जिल्लाहरूमा पनि पुग्ने छौँ । अहिले हामी तराई तथा भित्री मधेशका जिल्लाहरूमा मात्रै पुगेका छौँ । लुम्बिनी प्रदेशका गुल्मी, अर्घाखाँची, पाल्पालगायतका जिल्लामा पनि पुग्ने छौँ । अहिले हाम्रो खर्च व्यवस्थापन आनी छोइङ डोल्मा फाउण्डेसनले सहयोग गरेको छ भने स्थानीय पालिका र सहयोगीदाताहरूको पनि सहयोग पाइराखेका छौँ ।

हाम्रो अभियानलाई निकै सकारात्मक रूपले सहयोग गर्नुहुने प्रति निकै आभारी छौँ । अब यात्राको क्रममा सबै ठाउँमा सहज त छैन् । तैपनि हामीले मानवीय सेवालाई शिरमा राखेर अभियानमा छौँ । यो अभियानमा सहयोग गर्ने सहयोगीदाताप्रति हार्दिक नमन छ । अहिले हामी ४० जनाको टोली छ । यस अभियानमा हामीसँगै हिड्ने टोलीको स्वयम्सेवा नै हो । यो यात्रामा कसले के गर्ने भन्ने विभागहरू छुट्याएका छौँ ।

महिला र पुरूष लगभगजसो बराबरी नै छौँ । सडक आश्रित मानवमुक्त नेपाल’ बनाउने अभियानमा छौँ । यसमा तीनै तहका सरकारको साथ र सहयोग रहेको छ । यसलाई निरन्तरता दिन र अझ उचाईमा पु¥याउने काममा पनि सरकारले पनि सक्दो सहयोग गर्नुपर्छ । मानवीय सेवाको काममा सबैले साथ, सहयोग गर्नुहुन्छ भन्ने विश्वास सङ्गालेर अभियानमा छौँ ।


स्थायी संरचनाको प्रक्रियामा छौँ

सडक आश्रित मानवको सेवामा निरन्तर छौँ । दाङ शाखामार्फत सडक आश्रित मानवको निरन्तर उद्धार तथा पुनस्र्थापनामा छौँ । कोही पनि नहुने, केही नहुने सडकमा बस्नु नपरोस् भनेर नै यो अभियान चलिरहेको छ । यो अभियानमा आम सहयोग हातहरूको साथ र सहयोग रहेको छ । दाङलाई नै सडक मानवमुक्त बनाउने अभियानमा छौँ । यसका लागि स्थानीय सरकारको मात्रै होइन्, तीनै तहका सरकारको साथ र सहयोग आवश्यक छ ।

हाम्रो दाङ शाखा तुलसीपुरमा भएकाले तुलसीपुर उपमहानगरपालिकाको साथ र सहयोग अझ महत्वपूर्ण छ । तुलसीपुर–६ स्थित गाइडहरमा अहिले भाडाको घरमा मानव सेवा गरिरहेका छौँ । हामी दुई वर्षभित्रै आफ्नै भवनबाट सेवा दिने योजनामा छौँ । किनभने भाडाको घरमा सञ्चालन हुँदा मासिक भाडा पनि ठूलो रकम खर्च हुने गरेको छ भने पर्याप्त ठाउँ नहुँदा केही असहजता छ । तैपनि हामीले सेवालाई कुनै पनि किसिमले कमी हुन दिएका छैनौँ । अहिले मासिक भाडामात्रै करिब ८० हजार खर्च हुने गरेको छ । यसले हामीलाई केही असहजता छ । सहयोगी हातहरूले चलेको संस्थालाई मासिक रूपमा भाडा बुझाउन सहज छैन् । त्यसैले पनि यसलाई सहजता बनाउनका लागि आफ्नै संरचना बनाउने गरी प्रक्रिया अघि बढाएका छौँ । अहिलेसम्म हामी जग्गा प्राप्तिको प्रक्रिया पूरा गरेका छौँ ।

तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर ७ र ४ को सिमानामा करिब डेढ बिघा जग्गा प्राप्त गरेका छौँ । त्यस जग्गामा मानव सेवा आश्रमका लागि आवश्यक संरचना बनाउन रकम छैन् । हामीहरूको अभियानमा तीनै तहका सरकारको साथ र सहयोग हुन्छ भन्ने पूर्ण विश्वासमा छौँ । तर अहिले तत्काल भवनका लागि पनि आवश्यक बजेट बिनियोजन गरी नसकेको अवस्थामा हामीले भवन निर्माणका लागि आवश्यक बजेटका लागि महायज्ञ सञ्चालन गर्न लागेका छौँ ।

माघ महिनातिर भवन निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गर्नका लागि महायज्ञ सञ्चालन गर्नेछौँ । त्यसबाट पनि केही आर्थिक संकलन हुनेछ । त्यसबाट शुरू गरेर भवन निर्माणलाई पूर्णता दिन अरू सहयोगी हातहरूको साथ र सहयोग पनि अवश्यक पर्ने छ । आश्रममा अहिले ७१ जना सहयोगापेक्षी नागरिक हुनुहुन्छ । सडक मानवको उद्धारको अभियानमै छौँ । अहिले विषेशगरी दशैँ, तिहारजस्ता चाडपर्वमा कोहि पनि नागरिक सडकमा बस्न नपरोस् भनेर मेची महाकालि अभियानको क्रममा छौँ ।

यस अभियानको क्रममा हामीले १५औँ र १६औँ दिनमा गरेर दाङमा सातजना नागरिकको उद्धार गरेका छौँ । यसप्रकारको अभियान राष्ट्रव्यापी रूपमा हरेक वर्ष हुने गरेको छ । यो अभियानले केही न केही भएपनि जागरण थपेको छ । यो अभियानमा आम सहयोगी हातहरूको ठूलो साथ र सहयोग आवश्यक रहेको छ । अहिले पनि साथ र सहयोग पाइरहेका छौँ । हामी विषेशगरी दाङ अझ सडक मानवमुक्त बनाउनका लागि सबैको सहयोगको अपेक्षामा छौँ ।

मुठीदानले नै हामीले संस्था सञ्चालन गरिरहेका छौँ । हामीलाई तुलसीपुर उपमहानगरपालिकाले पनि आवश्यक साथ र सहयोग गरिरहेको छ । आगामी दिनमा पनि निरन्तरताको लागि अपेक्षामा छौँ । हामी स्थायी संरचना बनाउने काममा पनि सहयोगको अपेक्षा राखेका छौँ । राष्ट्रव्यापी अभियान सोमबार तुलसीपुरमा आइपुगेको थियो । आज नेपालगञ्जमा छौँ । असोज २७ गतेदेखि चलेको अभियान निरन्तर चलिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here