Thursday, February 13, 2025
Homeसमाजबडादशैँ, पारिवारिक पुनर्मिलन र सामाजिक सन्देश

बडादशैँ, पारिवारिक पुनर्मिलन र सामाजिक सन्देश

- Advertisement -spot_img

हिन्दू नेपालीहरूको महान चाडपर्वहरू मध्ये विजयादशमी एउटा महान एवम् महत्वपूर्ण पर्व हो । यो महान् चाड दशैँका विभिन्न नामहरू छन् । कसैले दशहरा, कसैले विजयादशमी र कसैले बडादशैँ भनेर नामाकरण गरेको पाइन्छ । असोज महिनाको शुक्लपक्षको दशमी तिथिको दिन यस पर्वको प्रमुख दिन भएता पनि यसपालि वि.स.२०८० सालको दशैँ नेपाल पञ्चाङ्ग निर्णय समिति अनुसार कार्तिक ७ गते मंगलबारका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत रहेको छ ।

देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः०२ बजे टिका ग्रहणको साइत दिइएको समितिले जनाएको छ । हामीलाई पनि के कुरा थाहा छ, भने गत साउन महिनामा अधिकमास परेको कारण यस वर्ष असोज अन्तिमदेखि नेपालीको महान् पर्व बडादशैँ सुरू हुँदैछ । कार्तिक पहिलो साता बडादशैँको मुख्य दिन अर्थात् विजयादशमी परेको छ । कार्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो बडादशैँ पर्व–२०८० यो वर्षको लागि समाप्त हुनेछ । जेहोस दशैँ नेपालीहरूको सबैभन्दा ठूलो राष्ट्रिय चाड, महान् उत्सव र पारिवारिक पुनर्मिलनको चाड पनि हो ।

हिन्दूधर्म शास्त्रअनुसार त्रेता युगमा यहि दिनमा श्रीरामले सीताको हरण गर्ने रावणको बध गरेको सम्झनामा यस चाडलाई विशेषगरी मनाइन्छ । भगवान् श्री रामले दशैँ दिनमा रावणमाथि विजयी हाँसिल गरेको भएर दशैँलाई वडादशैँ एवम् विजयादशमीको नामले पनि चिनिन्छ । विशेषत दशैँलाई असत्यमाथि सत्यको जीत भएको दिनको रूपमा पनि सम्झना गर्ने गरिन्छ ।


सोह्रश्राद्ध चलिरहेको बेला र पितृ विसर्जन गर्ने दिनमा रातो टीका हिन्दूशास्त्रमा राम्रो मानिदैन । हामीले चाडपर्वलाई रमाइलो गराउने बहानामा बिकृति फैलाउनु हुँदैन् । चाडपर्वको आफ्नै मौलिक इतिहास र जीवन्त कथा छ । हरेक चाडपर्वलाई सामाजिक सद्भावसँग जोड्नु पर्दछ ।


सामान्यता विजयादशमी भगवान श्रीरामको विजयको रूपमा मनाइयोस् वा दुर्गा पूजाको रूपमा, दुबैको रूपमा मनाउँदा यो शक्ति पूजाको पर्व हो । हर्ष, खुशी र उमङ्ग तथा विजयको पर्व हो । त्यसैले दशैँले आफ्नो छुट्टै गरिमा र पहिचान बनाएको छ । प्राचिन कालमा राजाहरूले यो दिन विजयको प्रार्थना गरेर रथयात्राको लागि प्रार्थना गर्दथे । उक्त दिनमा ठाउँ–ठाउँमा मेलाहरू लाग्थ्यो । अहिले पनि भारतमा रामलीलाको आयोजना हुन्छ र रावणको विशाल पुतला बनाएर जलाइन्छ ।

हिन्दू नेपालीहरूको सबैभन्दा ठूलो चाड भनेको नै दशँै हो । दशैँ आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरू हुन्छ र यो पहिलो दिनलाई घटस्थापना भनिन्छ । दशैँ प्रतिपदा घटस्थापनादेखि पुर्णिमा (कोजाग्रत) सम्म १५ दिनको हुने भएतापनि पहिलो ९ दिललाई नवरात्री र दशौँ दिनलाई दशमी वा बडादशँै भनिन्छ । यो तिथिमा माता दुर्गाले महिषसुर नामक दैत्यलाई तथा भगवान श्री रामचन्द्रले रावणलाई वध गरेर मानवजातिको कल्याण गरेको भन्ने किंवदन्ती छ । प्रतिपदा (घटस्थापना), सप्तमी (फूलपाती), महाअष्टमी (कालरात्री), महानवमी, विजयादशमी र पूर्णिमा (कोजाग्रत) दशैँका प्रमुख तिथिहरू हुन् ।

बडादशैँको पर्वमा शहर बजारमा मालश्री धुन बजाएर र गीत गाएर पनि रमाइलो गर्ने गरिन्छ । देश विदेश तथा टाढा–टाढा भएका आफन्त र साथीभाइसँग भेटघाट हुने वातावरण यसै समयमा सुरू हुन्छ । दशैँमा दक्षिणा, टिका, जमरा, नयाँ कपडा, पिङ, मिठा–मिठा खानाका परिकार र मान्यजनको आशीर्वादले भरिपूर्ण हुन्छ । त्यसैले अरू चाडभन्दा दशैँलाई विशेष महत्वका साथ हेर्ने र मनाउने गरिन्छ ।

वास्तवमा, दशैँ दश दिन मनाउने भएकोले पनि यो हिन्दूहरूको महान पर्वलाई दशैँ भनेको हुनुपर्छ । दशैँमा नवदुर्गाको नौवटा रूप शैलीपुत्री, ब्रह्माचारणी, चन्द्रघण्टा, कुशमन्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिधात्रीको विशेष पूजा तथा आराधना गरिन्छ । नवदुर्गा भवानीका यी नव रूपको आश्विन शुक्लपक्ष प्रतिपदाका दिनदेखि महानवमीका दिनसम्म क्रमशः एक÷एक दिन गरी नौ दिनसम्म पूजा गर्ने गरिन्छ ।

दशौँ दिन विजयादशमीमा भगवतीले दानवी शक्तिमाथि र श्रीरामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्य र खुशीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरूप मान्यजनवाट रातो टीका र पहेँलो जमरा लगाउने गरिन्छ । नेपालमा वर्षको दुई पटक दशैँ मनाउँदै आइरहेका छौं । नेपाली समाजमा परम्परागत रूपमा मनाइने दशैँका दुई पक्षहरू छन् । आश्विन शुक्ल पक्षमा मनाइने दशैँलाई बडादशैँ भनिन्छ भने चैत्रशुक्ल पक्षमा मनाइने दशैँलाई सानो दशैँ अथवा चैते दशैँ भनेर भनिन्छ ।

बडादशैँको अघिल्लो दिनहरूमा कोटघर गई पशुहरूको बली दिई पूजाआजा गर्ने चलन छ । जसलाई पञ्चपल भनिन्छ । हाम्रो प्यूठानमा अष्टमीका दिन भिंगृकोट, सारीकोट र बेल्बासमा धुमधामका साथ सराय नाच नाच्ने र कोटघरमा पूजाआजा गर्ने गरिन्छ । संस्कृत शब्द दशमीबाट प्राकुत हुँदै नेपाली भाषमा आएको तत्भव शब्द हो– दशैँ । संस्कृतिविद् पुण्यरत्न बज्राचार्यका अनुसार दशैँ किन भनियो भन्ने प्रश्नमा आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल दशमीसम्म दश दिन धुमधामका साथ मनाउने भएकोले दशैँ भनिएको हो ।

अर्थात् यो चाड मनाउने बेलामा गर्नुपर्ने दश संयम हो । यही संयम नै दशैँ भएको हुनुपर्छ भन्ने धारणा राख्नु हुन्छ । दशैँ कहिलेदेखि आरम्भ भयो भन्ने विषयमा ठ्याक्कै एकमत छैन् । पहिले चैत्र, आषाढ, आश्विन र पौष महिनामा पनि दशैँ मनाउने चलन थियो भन्ने कुरा विभिन्न इतिहास तथा ग्रन्थहरूमा उल्लेख भएको पाइन्छ ।

दशैका महत्वपूर्ण दिनहरू

घटस्थापना

प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि दशैँको नवरात्र आरम्भ हुन्छ । क्रमशः दशमीका दिन प्रातः कालमा मात्र यो व्रत समापन हुन्छ । यसै दिन जमरा राखिन्छ । उक्त दिन घट अर्थात् कलशको स्थापना गरी देवीदेवतालाई घर–घरमा निमन्त्रणा गरिन्छ । घटस्थापनाको दिन बिहानै नदी, खोला वा तलाउमा गएर चोखो बालुवा अथवा पञ्चमाटो ल्याई दशैँ घर र सबैको आ–आफ्ना घरको पूजा कोठामा सूर्यको प्रकाश नपर्ने गरी अध्याँरो कोठामा जौ र मकैका गेडा पनि उमार्ने चलन छ । जसलाई हामी जमरा भन्छौँ । माता भगवतीलाई मनपर्ने वनस्पति पनि जमरा नै हो । जमरा औषधीमय जडीबुटीको लागि प्रयोग गरिन्छ ।

महासप्तमी (फूलपाती)

नवरात्रीको सातौं दिनलाई फूलपाती भनिन्छ । नवरात्रको सप्तमीका दिन बेलपत्र, धानको बाला, अनार अदुवाको बोट, कचु, उखु, केरा आदि नौ प्रकारका पालुवाहरू दशैँ घरमा भित्राउने कार्यलाई फूलपाती भित्राउने भनिन्छ । वर्षा ऋतु सकिएर शरद ऋतुको स्वागतका लागि नयाँ पालुवाहरू घरमा भित्राउँदा औषधीको काम गर्ने र विभिन्न रोगका किटाणु तथा जिवाणुहरू नास भएर जान्छन् भन्ने शास्त्रीय मान्यता छ ।

फूलपातीका दिन काठमाडौँको टुँडिखेलमा सेनाको बढाइ भएपछि फूलपाती स्वरूप दारिम, केरा, धान, हलेदो, कचु, बेल, अशोक र जयन्ती गरी नौ प्रकारका पातहरूलाई पूजा गरी दुर्गापूजा गरेको स्थानमा राखिन्छ । यसै दिन गोरखा दरबारको दशैँ घरबाट ल्याइएको फूलपाती काठमाडौँको जमलमा ल्याई नेपाली सेनाले परेड र बढाइका साथ हनुमानढोका दरबारमा भित्राउँछन् ।

महाष्टमी

नवरात्रीको आठौ दिनलाई महाष्टमी भनिन्छ । महाष्टमीमा महाकाली भद्रकालीको विशेष पूजाआजा गरिन्छ । देवी भागवत् अनुसार प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकालीका साथ अष्टमीका दिन उत्पन्न भएकोले पूजा गर्ने चलन रहिआएको छ । पूजापश्यात् मानिसहरू नवदुर्गा र आ–आपना कुलदेवताहरूलाई पूजी बोका, कुखुरा, हाँस, पाडाको बली दिन्छन् । शाकाहारीले भने नरिवल, कुभिण्डो, केरा आदि फल अर्पण गर्छन् ।

महानवमी

नवरात्रीको नवौं दिन महानवमीमा विशेषगरी महालक्ष्मी देवीको पूजाआजा गरिन्छ । यसै दिन हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई बली दिई विश्वकर्माको पूजा गर्ने प्रचलन छ । यस दिन अरू पूजाको साथै दुई वर्षदेखि दश वर्षसम्मका नवकन्याको पनि पूजाआजा गर्ने गरिन्छ ।

विजयादशमी

नवरात्रीको दशौँ दिनलाई विजयादशमी भनिन्छ । यस दिनमा भगवान् रामचन्द्रले रावणमाथि विजयी प्राप्त गरेकोले यस दिनलाई विजयादशमी भनिएको हो भन्ने भनाइ छ । यस दिन आफूभन्दा ठूला र मान्यजनका हातबाट टीका, जमरा र दक्षिणा ग्रहण गरिन्छ । धर्मशास्त्र अनुसार जौलाई समृद्धिको प्रतिक मानिन्छ । दशैँको बेला हामीहरू सुख, शान्ति, शक्ति र समृद्धिको कामना गर्दै टीका लगाउनको लागि आफन्त छिमेक हुँदै मामाघर र ससुरालीसम्म पुग्ने गर्दछौं । सामान्यत दशैँको टीका लगाउने चलन एक दिन रहेता पनि कतै–कतै कोजाग्रत पूर्णिमासम्म टीका लगाउने प्रचलन छ ।

टीका लगाउँदा पुरूषहरूलाई दिइने आशीर्वाद यस्तो छः–

“आयू द्रोणसुते श्रीयो खशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्य नहुषे गतिश्व पवने मानञ्च दुर्योधने ।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते ।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्व नारायणे ।।”
टीका लगाउ“दा महिलाहरूलाई दिइने आशीर्वाद यस्तो छः–
“जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा शिवा क्षमा धात्री स्वाहा स्वधा नमोस्तुते ।।”

वास्तवमा वैदिककाल साधना, सिद्धि, सामथ्र्य, शक्ति र सौर्यताको संगमको काल थियो । त्यहिबाट दशैँको सुरूवात भो । बडादशैँ सनातन परम्परा, संस्कार, संस्कृति, धर्म, आस्था र विश्वाससँग जोडिएको विषयमात्र नभएर अब यसको वैज्ञानिक महत्वको विषय पनि रहेको पुष्टि भएको छ । यो सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिक र व्यवहार विज्ञानसँग पनि निकट रहेको छ ।

दशैँ पुर्खाको धरोहर हो र दशैँ हाम्रो संस्कृति पनि हो । यो चाड पुर्खौदेखि चल्दै आएको छ । हामीलाई एकअर्कामा अनुशासित राख्न, सामाजिक मर्यादा सिकाउन, सामाजिक सदाचारको जीवनयापन गर्नको लागि चाडपर्वको उल्लेखनीय भूमिका हुन्छ । दशैँजस्तो महान् चाडको पनि केही कमजोरीहरू नभएका होइनन् । सबैको क्षमता र हैसियत समान नभएकोले पनि सबैको घरमा दशैँ सोचे जस्तो हँुदैन् ।

गरिवहरूको घरमा चाडवाडहरू पीडा बनेर आउँछन् । एक जोर नयाँ कपडा र मिठो गुलियो खान नपाउँदा गरिबलाई के को दशैँ ? त्यसैले दशैँमा धेरै तडक–भडक देखाउनु राम्रो पक्ष होइन् । घाँटी हेरेर हाड निल्नुपर्दछ । आफ्नो क्षमता अनुसार चाडपर्व मनाउन जान्नु पर्दछ । दशैँका नराम्रा पक्षहरूलाई हटाउँदै चाडपर्वको संरक्षणमा लाग्नु आजको अनिवार्य आवश्यकता हो । संस्कृतिलाई कहिल्यै पनि मास्नु हुँदैन । संस्कृति हराए सबैको विनाश हुन्छ । चाडपर्व र संस्कृतिमा हाम्रो मौलिक जीवन बाँचेको छ ।

सदाको वर्षझैँ यस वर्ष पनि बडादशैँ हामी सबैको घरआँगनमा आइसकेको छ  । तर, विगतको दुई वर्ष कोरोना कालको दशैँ बढो नमिठो भएर गयो । पोहोर सालको दशैँ पनि हिले दशैँ भयो । बिहानैदेखि साँझसम्म बर्षात् हुँदा मान्यजनबाट टीका तथा आशीर्वाद ग्रहण गर्न पाएनन् । यसपालि आम नेपालीहरूको महान् चाड विजयादशमी उल्लासमय तरिकाले भित्रिएको छ । घर–घरमा, गाउँटोलमा दशैँको बेग्लै रौनक छ ।

मानिसहरू यसपालिको दशैँ के कसरी मनाउने भन्ने बारे तयारी गर्दैछन् । परदेशमा रहेका आफन्तहरू पनि जहाज तथा रेल चढेर घर फर्कदै छन् । दिदीबहिनीहरू घर पोत्न रातो माटो तथा सेतो कमेरो लिन सरसल्लाह हुँदैछ । गाउँघरमा दाजुभाइहरू लठारे तथा चर्के पिङ हाल्दै छन् । जेहोस् चाडपर्वले हाम्रो मूल्य र मान्यताको एउटा इतिहास बोकेको हुनुपर्दछ । चाडपर्वको नाममा फजुल खर्च गर्नु हुँदैन् । ऋणका भार र बोझ बोक्ने गरी कुनै चाडपर्व मनाउनु हुँदैन् ।

हुनतः पछिल्लो समयमा हाम्रा चाडपर्व कुन तिथि र मितिमा मनाउनु पर्छ भन्ने कुराको जानकारी हुँदाहुँदै पनि चाडपर्वको नाममा केही विकृतिहरू भित्रिएको कुरा सबैलाई सर्वबिदितै छ । जस्तो कि तीज आउन एक महिना पहिलेदेखि दर खाने बहानामा होटल तथा रेष्टुरेन्टमा गएर रक्सी तथा अन्य पेयपदार्थहरू खाएर रमाइलो गरेका तस्वीरहरू सामाजिक सञ्जालमा छरपष्ट भएका छन् । त्यसैगरीे दशैँमा पनि दशैँ सुरू नहुँदै दुई महिना पहिले शुभकामना आदान प्रदान गर्ने नाममा विभिन्न संघसंस्था तथा विद्यालयहरूले रातो टीका तथा पहेँलो जमराहरू लगाएर सामाजिक सञ्जालमा फोटाहरू पोष्ट गरेका छन् ।

यसो गर्नु भनेको चाडपर्व र संस्कृतिको अपहेलना गर्नु हो । सोह्रश्राद्ध चलिरहेको बेला र पितृ विसर्जन गर्ने दिनमा रातो टीका हिन्दूशास्त्रमा राम्रो मानिदैन । हामीले चाडपर्वलाई रमाइलो गराउने बहानामा बिकृति फैलाउनु हुँदैन् । चाडपर्वको आफ्नै मौलिक इतिहास र जीवन्त कथा छ । हरेक चाडपर्वलाई सामाजिक सद्भावसँग जोड्नु पर्दछ । चाडपर्वको नाममा गलत सामाजिक सन्देश प्रवाह गर्नुहुँदैन् । हरेक चाडपर्व पारिवारिक पुनर्मिलन तथा भेटघाटसँग नै सम्बन्धित छन् । सबैलाई हिन्दू नेपालीहरूको महान् चाड बडादशँै २०८० को शुभकामना ! सबैको जीवन सुखमय रहोस् ।।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here