सम्पादकीय
तुलसीपुर विकासोन्मुख सहर हो । साविक राप्ती अञ्चलको सदरमुकामको रूपमा परिचित तुलसीपुर सहर अपेक्षितरूपमा विकास हुन सकेको छैन् । कुनै समय घोराहीभन्दा तुलसीपुर बजार निकै व्यवस्थित थियो । तर पछिल्लो समय घोराही विकास हुँदै जाँदा तुलसीपुर सोहि अनुरूपले विकास हुन सकेको छैन् । जनसंख्या वृद्धिदर निरन्तर उकालो लागिरहेको छ । भौतिक सुख सुविधाको लागि तुलसीपुर बजार झर्ने क्रम बढ्दै गएको छ ।
पश्चिम दाङसहित रोल्पा, रूकुम पश्चिम, रूकुम पूर्व लगायतको लागि तुलसीपुर केन्द्रजस्तै छ । बजारमा जनघनत्व बढ्दै जाँदा भौतिक संरचनाको अभाव हुन थालेको छ । तुलसीपुर बजार विकास हुँदै जाँदा खानेपानीको सहज व्यवस्थापनदेखि वस्ती विकासको काम चुनौतीको रूपमा देखिन थालेको छ ।
दैनिक हजारौँ मानिसको चहलपहल हुने तुलसीपुरलाई समृद्ध बनाउन शिक्षा,स्वास्थ्य, खेलकुद आदि संरचनाको विकास हुने क्रम निरन्तर चलिरहेको छ । ठूला–ठूला व्यवसायदेखि उद्योग खुल्ने क्रम बढिरहेको छ । पढ्नेदेखि रोजगारी गर्नेहरू पनि तुलसीपुर खोजिखोजि आउने क्रम निरन्तर चलिरहेको छ । बेला बेलामा हुने सुरक्षासँग सम्बन्धित घटनाले तुलसीपुरलाई केही तर्साउने काम भएपनि विकासोन्मुख सहरको रूपमा तुलसीपुर देखिन थालेको छ ।
स्वास्थ्य उपचार गराउनेदेखि विद्यार्थी अध्ययनका लागि तुलसीपुरसम्म आउने गरेका छन् । यसले पनि तुलसीपुरको विकासलाई थप टेवा पु¥याएको छ । यसकारण पनि तुलसीपुर समृद्धिको यात्रामा छ । संघीय व्यवस्था लागू भएसँगै तुलसीपुरको भूगोल बढेपनि सबैतिर समानरूपमा विकास भने हुन सकेको छैन् ।
तुलसीपुर उपमहानगरपालिकाकाभित्र पनि थुप्रै विकट बस्ती छन् । तुलसीपुरलाई समृद्ध बनाउन अझै पनि थुप्रै प्रकारका संरचनाको विकास हुन सकेको छैन् ।
टरिगाउँ विमानस्थलको स्तरान्नोन्नतीदेखि घोराही तुलसीपुर सडक, राप्ती राजमार्गको विकास अपेक्षितरूपमा नहुँदा तुलसीपुरको विकासमा अबरोध भएको छ । तुलसीपुरको विकास अहिलेको गतिले छिटो हुने देखिदैन् । तुलसीपुरलाई अझ चलायमान बनाउनका लागि सडकदेखि हवाई यातायातको सहजता बनाउनुपर्ने हुन्छ । तुलसीपुरलाई सुरक्षित सहरको रूपमा विकास गर्नु पनि अर्को मुख्य चुनौतीको रूपमा देखिन थालेको छ । यसका लागि पनि नेतृत्वतह जिम्मेवार बन्नुपर्छ । यस क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिले अहिलेको विकासभन्दा अझै तिब्रगतिमा लैजानुको विकल्प छैन् ।