सम्पादकीय
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैँ तिहारका लागि आवश्यक खसीबोका खरिद गरिरहेको छ । दशैँ तिहारलाई लक्षित गरेर खाद्यले दाङबाट मात्रै करिब सात सय खसीबोका खरिद गरेर काठमाडाँै पठाउने भएको छ । खाद्यले किसानका खसीबोका खरिद गर्न शुरू गरेपछि किसानले खसीबोका बिक्री गरिरहेका छन् ।
सरकारले चाडपर्वको मुखैमा खसीबोका खरिद गरेपछि किसान खुशी भएका छन् । चाडपर्वमा खाद्यले खसीबोका खरिद गर्ने गरेपछि किसानले उचित मूल्य पाउने गरेका छन् । खसीबोकाले बजार पाउन नसकेको अवस्थामा चाडपर्वमा सरकारले खरिद गर्न थालेपछि किसानलाई थोरै भएपनि राहत पनि मिलेको छ । बाख्रापालनमा लागेका किसानलाई हौसला मिलेको छ । खाद्यले हरेक वर्ष दशैँमा यसरी नै किसानका खसीबोका खरिद गर्ने गरेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मूख्य शाखा कार्यालय तुलसीपुरले गत वर्षमात्रै १ करोड १२ लाखको खसीबोका खरिद गरेको थियो । यसवर्ष पनि करिब १ करोड २० लाखको खसीबोका खरिद गर्ने भएको छ ।
काठमाडांैबाट माग भएमा खाद्यले ७ सयभन्दा बढी पनि खसीबोका पठाउन सक्नेछ । किसानसँग खसीबोका खरिद गरेर लैजान थालेपछि किसानलाई खसीबोका बाहिर बजारमा बिक्री गर्नुपर्ने झन्झटको अन्त्य भएको छ । यसले पनि किसानले प्रत्यक्षरूपमा फाइदा लिएको देखिएको छ ।
किसानले पालेका खसीबोकाले बजार नपाउने स्थितिमा खाद्यले खसीबोका खरिद गर्ने कामलाई किसानले पनि साथ दिएका छन् । बरू किसानले भने जति खसीबोका बिक्री गर्न भने पाएका छन् । सानो मात्रामा खसीबोका खाद्यले खरिद गर्दा सबै किसानले खसीबोका खाद्यमा बिक्री गर्न सकेका छैनन् ।
मूल्यमा नठगिने भएकाले पनि खाद्यमा खसीबोका बिक्री गर्न किसान तयार छन् । अब राज्यले धेरैभन्दा धेरै किसानका खसीबोका खरिद गर्ने योजना अघि सार्नुपर्छ । अहिले खाद्यले दशैँ तिहारमा मात्रै खाद्यले खसीबोका खरिद गर्ने गरेको छ । किसानले पालेका खसीबोकाले बाह्रै महिना बजार पाउने वातावरण राज्यले बनाउनुपर्छ ।
कृषि तथा पशुपालनबाट आर्थिक समृद्धिको सपना पूरा गर्न राज्यले खसीबोकाको बजारीकरणमा सहजीकरण गर्नुपर्छ । कुनै पनि उत्पादनले बजार भाउ राम्रो नपाउँदा किसान पेशाबाट पलायन भइरहेका छन् । किसान पेशाबाट पलायन हुने अवस्थालाई अन्त्य गर्नका लागि उत्पादनदेखि बजारीकरणसम्ममा राज्यको ठोस नीति बन्नुपर्छ ।