Friday, September 6, 2024
Homebreaking-newsकसले कहाँ मनाउँदै छन् दशैँ

कसले कहाँ मनाउँदै छन् दशैँ

- Advertisement -spot_img
दशैँ पर्व भित्रिसकेको छ । आज दशैँको तेस्रो दिन पनि हो । टाढा–टाढा गएका आफन्तहरू एक ठाउँमा जम्मा भएर मनाउने पर्व दशैँ नजिकिदै जाँदा रौनकता बढ्दै गएको छ । बजारमा किनमेल गर्नेको भिडभाड बढेको छ भने दशैँ मनाउनका लागि प्रदेशबाट घरदेश फर्किने क्रम पनि बढेको छ । दशैँ, तिहार पर्वलाई आवसी सद्भावको रूपमा लिने गरिएको छ । दशैँ पर्वको महत्व र कसको कहाँ हुँदै छ दशैँ ? प्रदेश टुडे राष्टिूय दैनिकको नियमित स्तम्भ टुडे राउण्ड टेबलमा सरोकारवालालाई समेटका छौँ । –सम्पादक


 

जीतसागर जी.एम.


कार्यक्षेत्रमा  दशैँ

दशैँ मेरो यसपटक कार्यक्षेत्रमै छ । अरू समयमा भन्दा चाडपर्वको समयमा झन् बढी सुरक्षामा खटिनुपर्ने भएकाले पनि मेरो प्रायः दशैँ कार्यक्षेत्रमा हुने गरेको छ । म २०५९ तिर यो सेवामा प्रवेश गरेको हुँ । देश र नागरिकको सुरक्षाका लागि खटिदा नै हामी खुशी छौँ । मेरो घर पाल्पा हो । यसपालि पनि म पाल्पामा जाँदैन् । दाङमै रहेर दशैँ पर्व मनाउने तयारी छ । चाडपर्व आपसी सद्भाव बाँड्ने पर्व हुन् ।
साथीभाइ, आफन्त एक ठाउँमा भएर मिठो मसिनो खाँदै रमाउने पर्व भएपनि हामीहरूलाई त्यो भनेजस्तो हुँदैन् । घर परिवारसँग बसेर दशैँ पर्व मनाउने रहर त हुन्छ । तर पेशामा प्रतिवद्ध पनि हुनुपर्छ । यसकारण पनि मेरा प्राय दशैँ कार्यक्षेत्रमा हुने गरेको छ । संक्रमणकालमा सेवामा प्रवेश गर्दा सुरक्षाका चुनौतीहरू त्यतिकै थिए । दशैँ ढुक्कले मनाउने अवस्था हुँदैन थियो । तर त्यो समयबाट धेरै अघि आइसकेका छौँ ।
अहिले कार्यक्षेत्रमै भएपनि ढुक्कले दशैँ मनाउने वातावरण छ । चाडपर्वको समयमा सुरक्षा चुनौती बढी हुने भएकाले पनि म यसपटक पनि दशैँमा घर नजाने निर्णय गरेको हुँ । कार्यक्षेत्रमै साथीभाइ, सहकर्मी साथीहरूसँग बसेर दशैँ मनाउने छौँ । चाडपर्व भनेको हामीलाई अनुशासनमा लैजाने आधारस्तम्भहरू हुन् । चाडपर्व बिनाको मानव जीवन परिकल्पना गर्न सकिदैन् ।
तर पछिल्लो समय चाडपर्व मनाउने शैली फेरिन थालेको पनि छ । संस्कृति र संस्कार जोगाउन हामीहरू नै सचेत हुनुपर्छ । चाडपर्वको नाममा हुने गलत कुराहरू हटाउनुपर्छ । दशैँमा विषेशगरी जुवातास खेल्ने, मादकपदार्थ सेवन गर्ने प्रचलन हुँदा पनि यसले समाजलाई सहि गन्तव्यमा लग्न सकिरहेको छैन् । जुवातास नियन्त्रणका लागि हाम्रो अभियान पनि छ ।
यसपटकको दशैँ, तिहारका लागि सुरक्षा योजना बनाएर अघि बढेका छौँ । चाडपर्वलाई व्यवस्थित बनाउनका लागि दाङमा करिब आठ ठाउँमा नागरिक सहायता कक्ष स्थापना गरेका छौँ भने एक हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । नागरिकले शान्ति सुरक्षा महसुस गर्ने गरी सेवा दिने हाम्रो प्रतिवद्धता छ । यसका लागि नागरिकको सहयोग पनि आवश्यक छ । नागरिकले कुनै पनि अवान्छित घटनाको तत्काल जानकारी दिन सकेपछि समस्या आउने छैन् । त्यसकारण पनि नागरिकको सहयोग प्रहरीलाई आवश्यक छ ।
म यो सेवामा प्रवेश गरेदेखि म कार्यरत भएको ठाउँमा चाडपर्वको समयमा अहिलेसम्म कुनै ठूला घटना भएका छैनन् । यसवर्ष दाङमा पनि नागरिक शान्तिपूर्ण वातावरणमा दशैँ, तिहार मनाउने वातावरण बनाउनेछौँ  । सुरक्षा योजना लागु गरेर अघि बढेका छौँ । चाडपर्वलाई सभ्य र सुरक्षितरूपमा मनाउनुपर्छ । मादक पदार्थ सेवन गरेर रमाइलो गर्ने नाममा विभिन्न किसिमका अपराधका घटना हुने गरेका छन् । यसबारेमा पनि सबै नागरिकलाई सचेत बनाउन चाहन्छु । चाडपर्वमा मादकपदार्थ सेवन गर्नेदेखि जुवातास खेल्न काम नगर्न अनुरोध गर्दछु ।
यसैगरी चाडपर्वको समयमा चोरीका घटना हुने भएकाले सावधानी अपनाउन आग्रह गर्दछु । म घर लागे भन्दै सामाजिक सञ्जालमा फोटो पोष्ट गर्दा चोरीका घटना हुने गरेका छन् । यसकारणले यसबारेमा पनि सचेत हुनुपर्छ । चाडपर्वलाई सभ्य र सुरक्षित बनाउने कोसिस गरौँ । अनि मादकपदार्थ सेवन गरेर सवारी चलाउने गर्दा पनि दुर्घटनाको जोखिम हुन्छ । यस्तो कार्य पनि नगर्न हुन हार्दिक अनुरोध गर्दछु । सवारी दुर्घटना अरू समयभन्दा चाडपर्वको समयमा बढी हुने भएकाले सवारी जाँचलाई पनि कडाइ गरेका छौँ । सुरक्षित र सभ्य चाडपर्व बनाउनका लागि हामीलाई सबैको साथ र सहयोगको आवश्यकता छ ।


घरमा दशैँ

मेरो यसपटक दशैँ घरमै छ । बिगतका वर्षमा पनि घरमै मनाउने गरेको थिएँ । यसपाली पनि घर काठमाडौंमै मनाउनेछु । तर गत वर्षभन्दा यसवर्ष अलि बढी दिन ढुक्कले दशैँ मनाउँदै छु । बिगतको वर्षहरूमा दशैँ मनाउनका लागि थोरै समय हुन्थ्यो । यसपटक त्यस्तो छैन् ।
यसपटक घटस्थापनादेखि नै म घरमै छु । गतवर्ष अस्पताल प्रमुख हुँदा फूलपातिको दिनमा मात्रै घरमा आउने अवस्था थियो । तर यसपटक दशैँ बिदा हुनु अगावै बिदा लिएर घरमा आएको छ । यसपालि पनि मेरो घुम्ने योजना छैन् ।
घर परिवारसँगै बसेर दशैँ मनाउने योजना बनाएको छु । घरमा सबै परिवारको जमघट हुँदैछ । यसपटक हामीमात्रै होइन्, धेरैजना घर परिवारसँग भेटेर दशैँ मनाउँदै हुनुहुन्छ भन्ने लाग्छ । दशैँ, तिहारजस्ता चाडपर्व ढुक्कले मनाउने वातावरण बन्दैछ । दुई वर्षअघिसम्म कोरोना महामारीले पनि दशैँ, तिहारजस्ता पर्वलाई उल्लासपूर्ण बनाउन सकेन् । अहिले परिवारसँगै ढुक्कले दशैँ पर्व मनाउने वातावरण बनेको छ ।
हामीहरूलाई घर परिवारसँग बसेर दशैँ मनाउने अवसर निकै कम प्राप्त हुन्छ । तर मेरो हकमा भने अलि त्यस्तो छ । शुरूको वर्षमा भरी दशैँकै बेलामा जाजरकोटमा हैंजाजस्तो महामारीले सताएपछि हेलिकप्टरमार्फत पुगेर औषधि उपचार गरिएको थियो । म २०६३ सालदेखि यो सेवामा प्रवेश गरेको हुँ । शुरूमा कालिकोटबाट सेवा शुरू भएको हो । कालिकोटमै भएको समयमा दशैँ पर्व मनाउन पाएको थिएन् । किनकी दशैँभन्दा महत्वपूर्ण मानिसको जीवन थियो ।
हैंजाबाट नागरिकलाई बचाउनका लागि जाजरकोटमा पुग्दा दशैँ मनाउन पाएको थिएन् । म त्यो बेलामा पनि निराश थिएन् । बरू नागरिकको जीवन कसरी बचाउने भन्नेमा ध्यान थियो । त्यसपछिका दिनमा घर परिवारबाट छुटिएर दशैँ मनाउनुपर्ने अवस्था आएको छैन् । तर परिस्थिति जतिबेला जे पनि हुन सक्छ । त्यो बेलामा दशैँभन्दा महत्वपूर्ण नागरिकको जीवन बचाउने कुरालाई प्राथमिकतामा राखिन्छ ।
यसपटक काठमाडांैमा मेरो घर यतै दशैँ मनाउँदै छु । यसपटकको दशैँमा फरक भन्ने छैन् । बिगतजस्तै मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिने छ । वास्तवमा चाडपर्व भनेको नै सुखदुःख बिसाउने चौतारी हो । काम गरेर जीवन निर्वाह गरिरहेको अवस्थामा चाडपर्वले केही भएपनि विश्राम दिने गरेको छ । यसले गर्दा पनि चाडपर्वलाई दुःख भुल्ने माध्यमको रूपमा लिन सकिन्छ । यतिमात्रै होइन् हाम्रो परम्परा र संस्कृतिसँग जोडिएको हुँदा चाडपर्वले संस्कारी बनाउन ठूलो भूमिका खेलेको छ । मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्नकै लागि टाढा–टाढाबाट घरमा आउने गरिन्छ ।
काममा जतिसुकै व्यस्त भएपनि सकेसम्म समयको व्यवस्थापन गर्ने गरिन्छ । त्यसैले पनि दशैँलाई मिलनको पर्वको रूपमा लिने गरिएको छ । हाम्रो दशैँ तडकभडक भने हुँदैन् । मान्यजनसँग भेटघाट, आशीर्वाद लिने नै विषेश हो । चाडपर्व भनेकै पारिवारिक भेटघाट हो । त्यसैले यसपटक स्पेशल भेटघाटमै दशैँ पर्वलाई घरबाट बिदा गर्ने योजना बनाएको छु ।


फेरिएको छैन दशैँ मनाउने शैली

दशैँ यसपाली घरमै हुन्छ । गतवर्षभन्दा फरक छैन् । यसपालि पनि अहिले हामी घरमै बसेर सबै परिवारसँग दशैँ मनाउने योजना बनाएका छौँ । मैले बिगत १२ वर्षदेखि घरपरिवारसँगै बसेर दशैँ मनाउन पाएको छ । व्यवसायमा आवद्ध भएको कारणले म परिवारसँग बसेर दशैँ मनाउन पाएको छु । १२ वर्षअघि रोजगारीको सिलसिलामा बाहिर थिएँ । बाहिर बस्दा दशैँ, तिहार आउँदा निकै नरमाइलो अनुभव हुन्थ्यो । विदेशमा हुँदा दुईवटा दशैँ परिवारसाग बसेर मनाउन पाएन् ।
तर पछिल्लो समय लगातार १२ वर्षदेखि दशैँ, तिहार घरमै बसेर मनाउन पाएको छु । म निकै खुशी छु । घरपरिवारसँग बसेर दशैँ मनाउन पाउँदा खुशी लाग्छ । सकेसम्म बाहिर जान हुँदैन् । रोजगारीको अवसर नेपालमै खोज्नुपर्छ भन्ने सोंचका साथ अहिले व्यवसायमा जोडिएको छ । व्यवसायमा लाग्दा अहिले निरन्तर परिवारसँग बसेर चाडपर्व मनाउन पाएको छ ।
गतवर्षको दशैँ र यसवर्षको दशैँमा मेरो खासै अन्तर हुँदैन् । पोहोर सालमा जसरी मनाएँ, अहिले पनि त्यसैगरी दशैँ मनाउने तयारी गरेको छु । दशैँ आपसी सद्भावको पर्व हो । यसलाई भड्किलो बनाउनुहुँदैन् । देखावटी प्रवृत्तिले समस्या बनाउँछ । दशैँ कसैका लागि पनि दशा बन्नु हुँदैन भन्ने लाग्छ । आपसी सद्भाव कायम हुन सक्ने गरी दशैँ पर्व मनाउनुपर्छ ।
पछिल्लो समय प्रविधिका कारण देखासिकीको प्रचलन बढ्दै गएको छ ।
सामाजिक सञ्जालले धेरै कुराहरू सकारात्मक दिएपनि केही कुराहरूमा नकारात्मक प्रभाव पनि पारेको छ । चाडपर्व मनाएका तस्बिर, भिडियो राख्दा कतिपय अवस्थामा नकारात्मक प्रभाव पनि परेको छ । तड्कभड्क गरी दशैँ मनाएका तस्बिर, भिडियोले समाजमा आमनागरिक जो हुँदा खाने वर्ग हुनुहुन्छ । उहाँहरूमा राम्रो सन्देश जाने गरेको छैन् । यसकारण पनि हामीले सामाजिक सञ्जालमा के कुरा राख्ने, नराख्ने बढी ध्यान दिनुपर्छ ।
दशैँ पर्वलाई बचाउनका लागि चलिएका रिति र परम्पराअनुसार नै मनाउनुपर्छ । आफन्त भेटघाट हुने पर्वको रूपमा चाडपर्वलाई लिन सकिन्छ । चाडपर्व बिनाको जीवन परिकल्पना गर्न नै सकिदैन् । सायद चाडपर्व, रितिरिवाज र संस्कार नभएको भए आज हामी यसरी मिलेर बसेको देख्न सकिदैन थियो होला । चाडपर्व र संस्कार संस्कृतिले हामीलाई अनुशासनमा बाँध्ने काम गरेका छन् । त्यसैले पनि यि पर्वहरूलाई हामीले भड्किले बनाउनु हुँदैन् । घरमा जे छ, त्यसमै रमाउन सिक्नुपर्छ ।
अरूले गरेको देखेर मनाउने कुराले आर्थिक रूपमा हामी कमजोर हुन सक्छौँ । त्यसै कारणले पनि दशैँलाई भव्य बनाउन सभ्यरूपमा मनाउनुपर्छ । म पनि बिगतमा जस्तो थियो, सोहि बमोजिम मनाउने गरेको छु । अहिले फरक, अर्को साल फरक भन्ने हुँदैन् । सधैँ एकनासले दशैँ मनाउने गरेको छु । दशैँमा धेरैजना आफन्त एक ठाउँमा हुने भएकाले पनि दशैँलाई मिलनको पर्व भनिन्छ ।


घरपरिवारसँगै हुन्छ मेरो दशैँ

दशैँ हामीहरूको महान चाड हो । यसलाई हामीले संस्कार र संस्कृति अनुसार मनाउनुपर्छ । अरूको देखासिकीको नाममा दशैँ मनाउने प्रवृत्तिका कारण दशैँ पर्वमा पछिल्लो समय केही भड्किलो देखिएको छ ।
तर हामीले त्यसरी होइन् । दशैँको मर्म अनुसार भड्किलो नहुने गरी मनाउनुपर्छ । मैले यसपालि घर परिवारसँगै बसेर दशैँ मनाउँदै छु । घरमा बिगतका वर्षमा सासूआमाबाट टीका आशीर्वाद ग्रहण गरेको थिए ।
तर अहिले उहाँ हुनुहुन्न । उहाँ नहुँदाको दशैँ पर्वमा केही न केहीको कमी अवश्य हुनेछ । जे जस्तो भएपनि वर्तमानमा खुशी हुनुपर्ने मानव जीवन हो । यसकारण यसवर्ष अभिभावक गुमाएपछिको दशैँ हो । बिहे गरेको १२ वर्ष भयो । यस अवधिमा अहिलको दशैँ भनेको ज्येष्ठ सदस्य गुमाएपछिको दशैँ हो । १२ वर्षसम्मको अवधिमा सधैँ सासूको हातबाट टीका थाप्ने गरिएको थियो । तर यसवर्षदेखि उहाँको अभाव सधैँ भइरहने देखिएको छ ।
पेशा व्यवसायको नाममा हामीहरू घोराहीमा बस्छौँ । तर दशैँ मनाउनका लागि घरमा जान्छौँ । घर तुलसीपुर–१४ मा पर्छ । केही वर्षअघि कोरोनाका कारण दशैँ उल्लासमय हुन सकेन् ।
तर यसवर्ष सबै आफन्तहरू एक ठाउँमा भएर दशैँ मनाउने तयारी गरेका छौँ । हिन्दू नेपालीहरूको महान चाड दशैँलाई निकै महत्वका साथ हेर्ने गरिएको छ । यसकारण आफन्त पनि महत्वपूर्ण कामलाई थाति राखेर दशैँमा एक ठाउँमा जम्मा हुने गरेका छौँ । चाडपर्व भनेको रमाइलो गर्ने दिन मात्रै होइन ।
मानिसलाई असल संस्कारमा लैजान पनि चाडपर्वको भूमिका निकै महत्वपूर्ण छ । सायद चाडपर्व नभइदिएको भए । हामीहरू संस्कार, अनुशासनमा हुने थिएनौँ कि । चाडपर्वले नै संस्कार, संस्कृतिको जगेर्ना गरेको छ । त्यहि संस्कारका कारण आज हामी मानव समुदाय मिलेर बसेका छौँ । टाढा(टाढा विभिन्न पेशा व्यवसायमा भएकाहरू पनि चाडपर्वकै कारण घरमा आउनुपर्ने हुन्छ । त्यो बाध्यता होइन्, बरू त्यो संस्कार हो ।
घरको अभिभावकबाट टीका आशीर्वाद ग्रहण गर्दा ठूलै परिवर्तन आउँदैन त भन्नेहरू पनि छन् । तर चाडपर्वले मानिसलाई असल बाटोमा लैजान महत्वपूर्ण भूमिका खेलेको छ । चाडपर्व रहेन भने हामी मानव पनि अस्तित्व नै रहँदैन् । दशैँ, तिहारमात्रै होइन्, हरके जातजातिका फरक(फरक चाडपर्वले पनि मानव समुदायलाई मिलेर बस्नुपर्छ भन्ने कुरा सिकाएको छ । संस्कार बिनाको मानिसको परिकल्पना गर्न सकिदैन् । संस्कारयुक्त मानिसको लागि एकले अर्कोलाई सम्मान गर्ने वातावरण निर्माण गर्नुपर्छ । त्यो सबै वातावरण चाडपर्वले बनाएको छ । जस्तै कि दशैँ पर्वमा ।
ठूला मान्यजनको हातबाट टीका ग्रहण गर्नुपर्छ भन्ने मान्यता छ । यसले आफूभन्दा ठूलाको आदर सम्मान गर्नुपर्छ । उनीहरूले सिकाएको असल बाटोमा हामी हिड्नुपर्छ भन्ने कुराहरू महत्वपूर्ण छ । त्यसकारण पनि विभिन्न पेशा व्यवसायमा घरदेखि टाढा रहेका मानिसहरू घरमा आउने, मिठो मसिनो सँगै मिलेर खाने भन्ने परम्परा छ ।
तर दशैँ पर्व पछिल्लो समय केही भड्किलो पनि बन्न थालेको छ । आशीर्वादको नाममा दक्षिणा लिने दिने परम्पराले केही अप्ठेराहरू अवश्य आएका छन् । हामीहरू मिठो मसिनो खाएर दशैँ मनाएको बाल्यकालको याद निकै छ । तर अहिले त्यस्तो अवस्था छैन् । कसले कति दक्षिणा दिने भन्ने प्रतिस्पर्धा छ । यसले विपन्न वर्गलाई समस्या बनाएको छ ।
साँझ बिहानको छाक कसरी टार्ने भन्ने चिन्ता भएकालाई दशैँ आउँदा दशा लागेजस्तो हुन थालेको छ । यसकारण पनि दशैँलाई उल्लासमय बनाउने नाममा दक्षिणाबाट भड्किलो नबनाऔँ । दशैँको महत्वभन्दा बाहिर नगएर मनाउने बानीको विकास गरौँ ।
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here