Tuesday, April 30, 2024
Homebreaking-newsदुर्घटनाको कारण र यसको न्यूनीकरण

दुर्घटनाको कारण र यसको न्यूनीकरण

- Advertisement -spot_img

जीतसागर जी.एम.

सवारी दुर्घटनाको खबर नआएको दिन नै हुँदैन् । चालकको लापरबाही, साँघुरो सडकलगायतका कारण सवारी दुर्घटना बढिरहेका छन् । दुर्घटना न्यूनीकरणका लागि विभिन्न प्रयासहरू पनि हुन्छन् तर दुर्घटनामा नागरिकले अनाहकमा मृत्युवरण गरिरहनुपर्ने अवस्था पनि छ । दुर्घटना रोकेर रोकिने त होइन् तर सावधानी अपाउन सके धेरैभन्दा धेरै कम गर्न सकिन्छ । बढ्दो दुर्घटनाको कारण र न्यूनीकरणका विषयमा विषयमा प्रदेश टुडेको नियमित स्तम्भ टुड राउण्ड टेबलमा सरोकारवालालाई समेटेका छौँ । – सम्पादक


टाइम कार्ड लागू सकारात्मक

सवारी दुर्घटनाका धेरै कारणहरू छन् । सवारी दुर्घटना हुनेमा प्रमुख कारण मानवीय कारण नै हो भने सडकको दुरावस्था, यान्त्रिक गडबडीलगायतका कारण पनि सवारी दुर्घटना हुने गरेका छन् । मानवीय कारण भनेको सवारी चलाउँदा लापरबाही, मोबाइल फोनको प्रयोग, भौगोलिक अवस्था, चालकको अदक्षता, मादकपदार्थ सेवन लगायतका कारण दुर्घटना हुन्छ । त्यसैगरी यान्त्रिक कारण पनि सवारी दुर्घटना हुने गरेको छ ।

सवारी साधन पुरानो हुँदा, टायर पन्चट, बे्रक फेललगायतका कारण पनि दुर्घटना हुने गरेको छ । त्यसैगरी सडकको अवस्थाका कारण पनि दुर्घटना भइरहेका छन् । अहिलेको सडक संरचना भनेको टु लेनमात्रै हो । दुईवटा गाडी पनि कुनै–कुनै ठाउँमा राम्रोसँग ओहोरदोहोर गर्न नसक्ने सडकमा पैदलयात्री, पशुचौपायासमेत हिड्ने गरेका छन् । तर सवारीको साधन गुणात्मक रूपमा बढेको छ । सडकको क्षमताभन्दा बढी सवारी साधन सञ्चालन हुँदा पनि सवारी दुर्घटना हुने गरेको देखिएको छ ।

त्यतिमात्रै होइन्, सडक जीर्ण बन्दै छन् । त्यसकारण पनि सवारी दुर्घटना हुने गरेका छन् । अनि वातावरणीय कारण पनि दुर्घटना हुन्छन् । कतै बाढी पहिरो, कतै हिउँ परेका कारण दुर्घटना हुने गरेका छन् । दुर्घटना न्यूनीकरणका लागि अहिले ट्राफिक सप्ताह अभियान पनि चलिरहेको छ । सप्ताहअन्तर्गत सोमबार छैटौँ दिन विभिन्न ठाउँमा सचेतना बोर्डहरू राखिएको छ । दुर्घटना कम गर्नका लागि बजारमा जेब्रा क्रसिङ कोरेका छौँ । ट्राफिक नियमबारे जानकारी दिने पर्चा पम्लेट पनि टाँस गरिएको छ ।

चाडपर्वको समयमा अझ बढी दुर्घटनाको जोखिम हुने भएकाले चाडपर्व लक्षित विषेश योजना पनि पनि सञ्चालन गर्ने गरेका छौँ । दुर्घटनाको अर्को कारण चालकको आँखा कमजोर पनि हो । यसकारण पनि चालकको आँखा जाँच गर्ने अभियान पनि सञ्चालन गरिरहेका छौँ । दुर्घटना न्यूनीकरणका लागि भएका प्रयासले केही भएपनि कम गर्न कोशिस गरेका छौँ ।

दुर्घटना बढ्दै गएको अवस्थामा ट्राफिक प्रहरीले विभिन्न समयमा चालकमात्रै होइन्, यात्रुलाई समेत ट्राफिक नियमको बारेमा सचेत गर्ने काम गरिरहेका छौँ । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतनाका पर्चा पम्पलेटदेखि विद्यालयमा विद्यार्थी तथा शिक्षकलाई पनि सचेतना दिने गरेका छौँ । त्यतिमात्रै होइन चोक–चोकमा सचेतमूलक कार्यक्रम गरेका छौँ ।

त्यसैगरी नियमित छड्के चेकिङ र नियमविपरीत सवारी चलाउनेलाई कारबाही गर्दै आएका छौँ । यसले गर्दा पनि ट्राफिक नियमबारे केही सचेतना भएको छ । चाडपर्वमा दुर्घटना हुन नदिनका लागि यात्रु सहायता कक्ष राखेर दुर्घटनाबारे सचेतना दिने गरेका छौँ । त्यसैगरी बढी दुर्घटना हुने क्षेत्रमा सचेतना बोर्ड राख्ने काम गरिरहेका छौँ ।

ठूला सवारी साधनभन्दा साना सवारी साधन बढी दुर्घटना गरेका छन् । साना दुर्घटना बढी हुनुको कारण भनेको युवा जगत्ले भोलिको बारेमा कम सोच्ने र तिब्रगतिमा चलाउने, केहीले सीपबिनै जबरजस्ती चलाउने गरेका कारण साना सवारी साधन बढी दुर्घटना हुने गरेको छ । सडकको गुणस्तरियता बढाउने र चालक जिम्मेवार बन्ने हो भने दुर्घटना कम गराउन सकिन्छ । टाइम कार्ड लागू गर्ने सन्दर्भमा हामीलाई जानकारी छैन् । हामीसम्म कुरा आएमा यसबारेमा हामी सकारात्मक छौँ । यसले पनि दुर्घटना न्यूनीकरणमा त भूमिका खेल्छ नै । टाइम कार्ड लागू गर्नका लागि सरोकारावासँग समन्वय हुन आवश्यक छ ।


टाइम कार्ड लागू गर्न पहल

दुर्घटनाका खबरहरू दिनदिनै आउने हामी विक्षिप्त छौँ । दुर्घटना सानो होस् या ठुलो होस् दुर्घटना नै हो । यसबाट कतिपयले मृत्युवरण गर्नुपरेको छ भने कतिपयले अंगभंगको जीवन जिउनुपर्ने अवस्था छ । सवारी दुर्घटना न्यूनीकरणका प्रयास भएका छन् तर सोचे अनुरूप अझै पनि कम हुन नसकेको हो कि भन्ने अनुभूति भएको छ । अब दुर्घटनाका कारण खोज्दै जाँदा त थुप्रै कारण भेटिन सक्छन् तर मलाई लागेको त सवारी चालकको लापरबाही बढी देखिएको छ ।

पछिल्लो पटक शनिबार दिउँसो कपुरकोट–३ मुलपानीमा भएको बस दुर्घटनालाई हेर्दा पनि त्यहाँ सडकभन्दा पनि चालकको लापरबाही वा यान्त्रिक गडबढी देखिन्छ । केही दिन अघिमात्रै भएको जीप दुर्घटनास्थल पनि सडक फराकिलो नै देखिन्छ । यि दुई घटनालाई हेर्दा दुर्घटनाको कारण सडकभन्दा पनि अरू कारण देखिन्छ । यद्यपि सडक राम्रा छन् भन्न खोजिएको होइन । सडक पनि राम्रा छैनन् । तर दुर्घटनाको कारण सडकभन्दा पनि सवारी चालकको लापरबाही देखिन्छ । सवारी चालक अझ बढी जिम्मेवार बन्ने हो कि भन्ने पछिल्लो घटनाले सिकएको छ ।

यसकारण पनि अब राप्ती राजमार्गमा टाइम कार्ड लागू गर्नुपर्छ  । यसबारेमा आइतबार गाउँपालिकाको बैठक पनि बसेको छ । सडकको अवस्था सुधार गर्नेदेखि टाइम कार्ड लागू गर्नेबारे निर्णय पनि गरिएको छ । टाइम कार्ड लागू भएमा थोरै भएपनि दुर्घटना न्यूनीकरण गर्न सकिन्छ कि भन्ने हो । यसका लागि सम्बन्धित निकायमा तत्काल पहल गर्ने निर्णय गरेका छौँ । दाङको गोठीखोलादेखि सल्यानको लुहामसम्म टाइम कार्ड लागू गर्ने तयारी गरिएको छ । चालकलाई जिम्मेवार बनाउन पनि टाइम कार्ड लागू गर्न लागेका छौँ ।

चालक जिम्मेवार बन्ने हो भने दुर्घटना न्यूनीकरण गर्न सकिन्छ । अहिले चालक जिम्मेवार छैनन् भन्ने होइन्, तर अलिकति बढी कन्फीडेन्स भयो कि भन्ने लागेको छ । यसकारण अब हामीले दशैँतिहारको शुभकामना कार्डमै चालकलाई अनुशासित बन्ने कुराको पनि जानकारी गराउँछौँ । यसैगरी सडक छेउमा रेलिङ, लाइनिङ गराउनेदेखि ठाउँ–ठाउँमा सचेतना बोर्ड राख्ने प्रक्रियामा अघि बढेका छौँ ।

सडकको क्षमता अनुसार सवारीको संख्या बढेको हो । सवारीको संख्या दिनप्रतिदिन बढेको छ । सडकको गुणस्तर पुरानै छ । जसले गर्दा सवारी दुर्घटनाको जोखिम बढ्दै गएको छ । मुख्य राजमार्गमै नागरिकले सवारी दुर्घटनामा ज्यान दिनुपरेको छ । सडकको अवस्थामा सुधार नहुँदा दुर्घटना बढिरहेका छन् । अझ त्यसैमाथि तिब्रगतिमा सवारी चलाउने क्रम बढ्को छ । एकले अर्कोलाई उछिन्दै तिब्रगतिमा सवारी चलाउँदा पनि दुर्घटनाको जोखिम हुने गरेको छ ।

कम्तिमा पनि ‘टाइम कार्ड’ लागू हुनसक्यो भने तिब्रगतिमा सवारी चलाउने क्रम रोकिन सक्थ्यो भन्ने नै हो । चाडपर्वको समयमा झन बढी दुर्घटना हुने गरेका छन् । यस्तो बेलामा सवारी अनुसार यात्रुको चाप बढी हुने गरेको छ । सवारीमा सिट क्षमताभन्दा बढी बोक्ने प्रवृत्ति निकै हुन्छ । यस्तो अवस्थामा यात्रु पनि सचेत बन्नुपर्छ । यातायात व्यवसायीले सिट क्षमताभन्दा बढी यात्रु राख्नु भएन् । यात्रु पनि यसबारेमा सचेत बन्नुपर्छ । जसलाई ट्राफिक नियमको पालना गर्ने भन्ने नै थाहा हुँदैन् । त्यस्तो व्यक्तिले सवारी चलाउँदा दुर्घटना हुने गरेको छ । सानो लापरबाहीले ठूलो क्षति बेहोर्नुभन्दा दुर्घटना हुन नदिनका लागि उपाय खोज्न आवश्यक छ ।


यात्रु सचेत हुनुपर्छ

मुख्य कुरा त चालक, सडक र सवारी साधनको सन्तुलन भयो भने दुर्घटना हुँदैन् । यि तीन कुराको असन्तुलनले सवारी दुर्घटना हुने गरेको छ । सडकको अवस्था ठिक नहुँदा सवारी दुर्घटनाको तथ्यांक बढिरहेको छ । विषेशगरी पछिल्लो समय सडक विस्तार हुँदै गएको छ, सवारीको संख्या पनि बढेको छ तर गुणस्तरिय सडक छैन् । गाउँ–गाउँमा अहिले पनि मापदण्डभन्दा बाहिर गएर सडकका ट्रयाक खोलिएका छन् । कालोपत्रे सडक पनि नामका मात्रै छन् । मुख्य राजमार्ग नै भताभुंग अवस्थामा छ ।

ठाउँ–ठाउँमा भएका खाल्डाले दुर्घटना भइरहेका छन् । पहाडी क्षेत्रहरू साविक राप्तीकै विभिन्न जिल्लामा सडकको अवस्था सुधार हुन सकेको छैन् । सडकको सुधार हुन नसक्ने तर सवारी साधन बढिरहेको छ । जसका कारण सवारी दुर्घटना हुने क्रम अपेक्षितरूपमा कम हुन सकेको छैन् । सवारी दुर्घटना भवितव्य घटना हुन तर सावधानी अपनाउन सक्यो भने दुर्घटना धेरै कम गर्न सकिन्छ ।

अझ विषेशगरी सडकको विस्तार भएपनि पुलको निर्माण हुन सकेको छैन् । उदाहरण हेर्न टाढा जानुपर्दैन्, तुलसीपुर–लमही सडकको ठाउँ ठाउँमा खोला पर्छन् । तर ति खोलामा वर्षौँदेखि पुल बन्न सकिरहेको छैन् । मुख्य राजमार्गको अवस्था यस्तो हुँदा अन्य सडकको अवस्थाको बारे आफै मूल्यांकन गर्न सकिन्छ । सवारी दुर्घटना रोक्न सडक नै चुनौतीको रूपमा खडा भएको छ । चालकको लापरबाही, अदक्षता, सवारी साधनको अवस्था भनेको अर्को पाटा हुन् । दुर्घटनाको कारण भनेको पुराना सवारी साधन सञ्चालन भइरहनु पनि हो ।

नेपाल सरकारसँग कति पुराना सवारी चल्न पाउने स्पष्ट नीति नै छैन् । २० वर्ष पुराना गाडी चलाउन नपाउने नीति छ, तर त्यो नीति कार्यान्वयन हुन सकेको छैन् । कसले नियमन गर्ने भन्ने अन्यौल नै छ । यसकारण पनि सवारी दुर्घटना न्यूनीकरण हुन नसकेको देखिन्छ । दुर्घटना न्यूनीकरणका लागि सवारी चालक र यात्रुलाई पनि ट्राफिक नियमको बारेमा जानकारी हुन आवश्यक छ । तर ट्राफिक सचेतना हुन सकिरहेको छैन् । त्यतिमात्रै होइन्, सवारी दुर्घटना हुन्छन्, समाचार बन्छन् । अनि केही दिनपछि त्यो विस्तारै हराउँदै जान्छ । यसमा दुर्घटनाको कारण खोज्ने कोशिस नै गरिदैन । सरकारले यस्ता विषयमा गम्भिरतापूर्वक ध्यान दिने गरेको छैन् ।

केही दिनअघि शनिबारमात्रै सल्यानमा भएको दुर्घटनाले हामी सबैलाई स्तब्ध बनायो । तर त्यस घटनाको पनि विस्तृत अध्ययन बाहिर आउन सकेको छैन् । दुर्घटना भइरहन्छन् । एक÷दुई दिन मिडियामा आउँछन्, तर त्यो विषय विस्तारै सेलाएर जान्छ । यस्तो प्रवृत्तिका कारण दुर्घटना रोकिन सकेको छैन् । दुर्घटनाको विषयमा गम्भिरता हुन नसकेका कारण नै फेरि एकपछि अर्को घटना दोहोरिरहने गरेको छ । अब अहिले चाडपर्व नजिकिएको छ । चाडपर्वको समयमा पनि बढी दुर्घटना हुने गरेका छन् । दुर्घटना भइसकेपछि त्यसको कारण सोधिखोजी गर्नुपर्छ र देखिएका समस्यालाई रोक्ने कोशिस हुनुपर्छ तबमात्रै दुर्घटना केही भएपनि कमि गर्न सकिन्छ ।

दुर्घटनाबाट बच्न नागरिक पनि सचेत हुन जरूरी छ । कतिपय अवस्थामा बसमा कोचाकोच गरेर भएपनि यात्रा गरिरहेको देखिन्छ । हुन त बाध्यात्मक स्थितिमा नै कोचाकोचको यात्रा गनुपर्ने होला तर पनि यात्रुले आफू म कहाँ जाँदैछु, जानका लागि सवारी साधनको पर्याप्तता छ कि छैन् भन्ने सोच अलि पहिले नै बनाउनुपर्छ । हाम्रो समाजमा एकाध व्यक्तिले बाहेक अरू व्यक्तिले यस्तो किसिमको सोच बनाएको देखिदैन् । यसका लागि ठाउँ–ठाउँमा गाडी छुट्ने समयको होडिङ बोर्ड राख्ने हो भने पनि नागरिकलाई सहज हुन्छ । नागरिकको सुरक्षाको लागि स्थानीय तह, सुरक्षा र प्रशासनले पनि ध्यान दिनु आवश्यक छ ।


चालक अनुशासित भए दुर्घटना कम

सवारी दुर्घटना अहिलेको प्रमुख चुनौतीको रूपमा रहेको छ । दुर्घटना न्यूनीकरणका लागि प्रयासहरू भएपनि अझैसम्म सोचेअनुरूप दुर्घटना रोक्न सकिएको छैन् । दुर्घटना रोकिन नसक्नुका विभिन्न कारण छन् । मैले देखेको कुरा चालक अनुशासित भएपछि धेरै दुर्घटना न्यूनीकरण हुन सक्छ । सडकले अनुशासन भन्छ । त्यसकारण चालक अनुशासित ढंगले प्रस्तुत हुनुुपर्छ । सवारी दुर्घटना रोकिन नसक्नुको अर्को कारण नेपालको सडकको अवस्था नै हो । सडकको अवस्था दयनीय छ । सवारी साधनको संख्या बढ्दै गएको छ । तर सडकको क्षमता बढ्न नसकिरहेको अवस्थामा दुर्घटना चुनौतीको रूपमा खडा भएको छ ।

गाउँमा सडक खुले तर साँघुरा छन् । अनि बिना इन्जिनियरिङका सडकमा सवारी चलाउन पनि समस्या छ । मुख्य राजमार्गमा फेरि सडक खाल्डाखुल्डी छन् । ति सडक वर्षौँदेखि पुरानै अवस्थामा छन् । सडकमा सवारीको संख्या बढेपनि ति सडक फराकिला हुन सकेका छैन् । यसकारण पनि सवारी दुर्घटना हुने गरेको छ । भौगोलिक विकटताका सडकहरूमा मोटरबाटो नै निकै साँघुरा हुन्छन् । ति सडकमा बढी दुर्घटना हुने गरको देखिन्छ ।

ट्राफिक सचेतनाबारे चालकलाई बेला–बेलामा जानकारी गराउने गरिएको छ । तर दुर्घटना चालकको कारणले मात्रै हुँदैन । सबैकुराको सन्तुलन हुन सकेपछि दुर्घटना न्यूनीकरण गर्न सकिन्छ । तर सवारी चलाउन सडकको अवस्था निकै दयनीय अवस्थाको छ । अहिलेको अवस्थामा हामीहरूले सिटभन्दा बढी सवारी बोक्ने गरेका छैनौँ । कहिकतै कोहि व्यवसायीले छिटफुट रूपमा बसको सिट क्षमताभन्दा बढी यात्रु बोक्नुभएको छ भने पनि तत्काल सुधार गर्न अनुरोध गर्दछु । अनि कतिपय साना सवारी साधन चलाउनेसँग चालक अनुमतिपत्र छैन् ।

दुर्घटना सबैको साझा समस्या हो । यसलाई न्यूनीकरण गर्नका लागि हामीले प्रयास गरिरहेका छौँ । ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सप्ताह सञ्चालन गरिरहेको छ । यसबाट पनि दुर्घटना न्यूनीकरणका प्रयास भएका छन् । मत के भन्छु भने दुर्घटना न्यूनीकरणका लागि पाठ्यपुस्तकमा पनि त्यसबारे राख्न सकिन्छ । विद्यार्थीले पनि दुर्घटनाको कारणबारे जान्न पाएपछि बजारमा बाटो काट्दा हुने दुर्घटना न्यूनीकरण गर्न सकिन्छ ।

सवारी दुर्घटना हुनै नदिनका लागि चालक पनि जिम्मेवार हुनुपर्छ । त्यतिमात्रै होइन स्थानीय सरकार, नागरिकले पनि सवारी दुर्घटना न्यूनीकरण गराउन सहयोग गर्न सक्नुहुन्छ । चालक जिम्मेवार बन्ने, सडकको गुणस्तर बढाउने, सवारी साधन ठीक अवस्थामा राख्ने, सिट क्षमताभन्दा बढी यात्रु नराख्ने हो भने केही हदसम्म भएपनि दुर्घटना न्यूनीकरण गर्न सकिन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here