देउखुरी, २१ असोज ।
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले परिणाम देखिने गरी काम गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएका छन् । मन्त्रालयमा भएको कर्मचारीसहितको बैठकमा मन्त्री खनालले जिम्मेवारी बाँडफाँड गरी समयसीमा तोकेर काम गर्न आग्रह गरेका हुन् ।
चालु आर्थिक वर्षदेखि सुरू हुने गरी मन्त्रालयले ल्याएका कार्यक्रम कार्यान्वयनका लागि आवश्यक केही कार्यविधि अझैसम्म नबनेको प्रति असन्तुष्टी व्यक्त गर्दै स्वास्थ्य मन्त्री खनालले सबै कार्यविधि तीन दिनभित्र बनाइसक्न निर्देशन दिए । ‘जिम्मेवारीमा रहेका काम समयमै सम्पन्न गर्नुस्, कुनै पनि काम पेन्डिङमा नराख्नुस्, यहाँ काम गर्ने मन छैन भने भन्नुस् अन्यत्र जाने व्यवस्था म गरिदिन्छु’ स्वास्थ्य मन्त्री खनालले भने ।
जनशक्ति कमीका कारण काम नभएको रेडिमेट जवाफ आफूलाई नचाहिएको भन्दै मन्त्री खनालले कामको प्रगति देखिनका लागि नभई नहुने जनशक्ति व्यवस्थापन छिट्टै गरिने बताए । खाली दरबन्दीमा करारमा जनशक्ति नियुक्त गर्ने बाटो खुलिसकेको भन्दै स्वास्थ्य मन्त्री खनालले खाली रहेका पदमा तत्काल दर्खास्त खोल्न निर्देशन दिए ।
प्रदेशमा रहेका सबै मन्त्रालयमध्ये सबैभन्दा उत्कृष्ट काम गर्ने मन्त्रालयको रूपमा स्वास्थ्य मन्त्रालय बन्नुपर्ने भन्दै मन्त्री खनालले स्वास्थ्य संस्था स्थापना सञ्चालन नविकरण तथा स्तरोन्नतिको प्रक्रिया सुरू गर्न पनि निर्देशन दिए । स्वास्थ्य सचिव डा. जनार्दन पन्थीले जिम्मेवारी अनुसारको काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए ।