सांस्कृतिक पर्वको रूपमा मनाइने दशँै पर्व घटस्थापना, फूलपाती, अष्टमी, नवमी हँुदै दशमीको दिन नजिकिदै छ । दशैँको लागि आवश्यक सरसामान किनमेल गर्नेहरूको बजारमा देखिन थालेका छन् । छिमेकी मुलुक चीन र भारतबाट भित्रिने खसी र बोका हास, कुखुरा एवम् राँगोको मूल्य आकाशिएको छ । कमाइ गर्न देश, विदेश गएका युवायुवतीहरू दशँै पर्वको लागि भनेर घर फर्किने क्रम बढ्दै छ । कतिपय घरपरिवारले गएको सालका दशैँको ऋण तिर्न नसकेर घरखेत बेच्ने तर्खरमा लागेका छन् । यस्तो अवस्थामा आएको दशैँ पर्व मनाउन सबै बाध्य छाँै । दशैँ हाम्रो सांस्कृतिक पर्व हो । यसलाई तडक– भडक साथ मनाउनुभन्दा पनि दशैँको संस्कृतिको बारेमा हामीलाई थाहा हुन जरूरी छ ।
दशैँ मातृ शक्तिका रूपमा रहेका देवीहरूको पूजा आराधना गरिने पर्व पनि हो । त्यसैले घटस्थापनादेखि नै सुरू हुने नवरात्रका नौ दिनसम्म विभिन्न शक्तिपीठमा गई श्रद्धाभक्तिपूर्वक नवदुर्गा तथा अष्टमातृकाको आराधना गर्ने गरिन्छ । नवरात्रमा पुजिने नवदुर्गाका रूपमा शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्दिदात्री रहेका छन् । त्यस्तै घर–घरमा दुर्गा सप्तसति चण्डी पाठ गर्ने प्रचलनसमेत रहिआएको छ ।
दशैँको अवसरमा प्रसिद्ध शक्तिपीठमा गई दर्शनार्थीले नवदुर्गा भवानी र अष्टमातृकाको पूजाअर्चना गर्ने गर्दछन् । दशैँ विजय र आनन्दको उत्सव हो । असत्यमाथि सत्यको विजय दानवीय स्वभावमाथि मानवीय स्वभावको विजय, कु–शासनमाथि सु–शासनको विजय, अन्यायमाथि न्यायको विजय, हिंसामाथि अहिंसाको विजय, असुरी शक्तिमाथि दैवीय शक्तिको विजय नै विजयादशमी मनाउनुको मुख्य उद्देश्य हो ।
दशैँ मनाउने परम्पराको सुरूवातबारे नेपालका समाजशास्त्री, संस्कृतिविद् र इतिहासकारहरूका भिन्न–भिन्न दृष्टिकोणहरू छन् । कसैले यसको विशुद्ध धार्मिक कोणबाट व्याख्या–विश्लेषण गर्ने गरेका छन् भने कसैले शासक वर्गको वीरता, सौर्य आदिको प्रशंसा गर्ने उद्देश्यले यसको थालनी भएको हो भन्दै आएका छन् । अझै कसैले त यो मातृसत्ताको अवशेषका रूपमा रहेको पर्व हो भन्ने पनि गरेका छन् ।
यो मूलतः किसान जनसमुदायसित सम्बन्धित सबैभन्दा पुरानो चाडपर्व हो । असार–साउनको खेतीपाती सकिएपछि प्राकृतिक मौसमको अनुकूलतामा यो चाड मनाइन्छ । किसानले खेतीपाती गरिसकेपछि फुर्सदको समयमा आमोद–प्रमोद गर्ने चलन चलेको हुनुपर्छ र त्यसले नै पछि दशैँको रूप लिएको हुनुपर्दछ भन्ने तर्क पनि छ ।
त्रेता युगमा दिनमा श्रीरामले सीताको हरण गर्ने रावणको बध गरेको सम्झनामा यस चाडलाई विशेष गरी मनाइन्छ । श्रीरामले विजयादशमीका दिनमा रावणमाथि विजय हासिल गरेको भएर दशैँलाई बडादशैँ एवम् विजयादशमी भन्ने गरिन्छ । दशैँलाई असत्यमाथि सत्यको विजयको रूपमा हेरिन्छ । विजयादशमी भगवान् रामको विजयको रूपमा मनाइयोस् अथवा दुर्गा पूजाको रूपमा, दुवै रूपमा यो शक्ति पूजाको पर्व हो । शस्त्र पूजनको तिथि हो । हर्ष एवम् उल्लास तथा विजयको पर्व हो ।
हिन्दू संस्कृति वीरताको पूजक अनि सौर्यको उपासक हो । व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने ध्येयले दशैँको उत्सव अर्थात् पर्व सुरू भएको हो । चाडपर्वहरूले एउटा छुट्टै आनन्दको अनुभूति दिलाउँछन् । हर्ष, उल्लासका साथ आउने र मनाउने चाडपर्वले बेग्लै रौनकता ल्याइदिन्छ । भिन्न खुसी र सुख प्रदान गर्दछ । यसले पूरै वातावरणको परिवेशलाई उल्लास र रौनकतर्फ परिवर्तन गरिदिन्छ । त्यसैले त दशैँ पर्वलाई विशेष महत्वका साथ मनाइने गरिन्छ ।
आश्विन शुक्ल पक्ष प्रतिपदाका दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ । यसै दिन जमरा राखिन्छ र घट कलशको स्थापना गरी देवीदेवताको आह्वान गरिन्छ । यस दिन बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या पञ्चमाटो ल्याई दशैँ घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छरिन्छ । जौको आकुरा मात्र जमरा हो । भाषा बोल्ने क्रममा यमङ्कुर–जवङकुर–जम्कुर–जवर हुँदै जमरा भएको हो । भाषा परिस्कृत हुँदै जमरा शब्द बनेको मानिन्छ । त्यसैले जमराको महत्व भाषीक रूपले पनि पौराणिक मानिन्छ ।
जौलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तुको रूपमा मानिन्छ । माता भगवतीलाई मनपर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो । जमरा राख्ने स्थान नजिकै माटोको विशुद्ध जलपूर्ण घडा अर्थात् कलशको वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि छरिन्छ । अनि जलपूर्ण कलशमा पञ्चपल्लवको पात चढाइ अनन्त शक्ति स्वरूपकी महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजाआजा गरिन्छ ।
दशैँको जमरा राख्ने चलन भने ठाउँ अनुसारको फरक–फरक छ । कतै सामूहिक रूपमा दशैँघर स्थापना गरेर, गुठीमा या शक्तिपीठ अनि मठमन्दिरमा जमरा राखिन्छ । धेरैले आफ्नै घरको पूजाकक्षमा वा घरको अन्य कुनै सफा ठाउँमा जमरा राख्ने गर्दछन् । जमरा राख्दा त्यस्तो कोठा छनौट गरिन्छ जसमा प्रकाश राम्ररी छिर्न नपाओस्, यसरी प्रकाश नपरेका जमरा पहेँला हुन्छन् । मानव सभ्यताको इतिहासलाई हेदा जंगली युगको समाप्तीसँगै व्यवस्थित रूपमा कृषि गर्न थालेको पहिलो अन्न नै जौ हो ।
मानव सभ्यता प्रक्रियाको उत्खनन र अन्वेषण गर्दा मिश्रदेशहरू अनि चीनमा पनि हजारौं वर्ष पुराना जौको अवशेष भेटिएका छन् । संसारभरि नै जौलाई धेरै पुरानो अन्नका रूपमा विशेष महत्वका रूपमा हेरिन्छ । जमरा जौको अकुरण भएता पनि दशैँको जमरामा जौलगायत धान, मकै र गहुँका पहेँला, हरिया अकुुंरित वालाहरू समावेश हुन्छ । माटो, पानी, हावा, फूल, आँकुरासँग जुटेको यो संस्कारले वनस्पतिसँग हामी अत्यन्तै नजिक छौं ।
घटस्थापनादेखि नै हिन्दूहरूले विभिन्न शक्ति पीठहरूमा दुर्गा सप्त शनि, चण्डी र भगवतीको स्त्रोत पाठ गरी विशेषगरी दुर्गा भवानीको आराधना गरिन्छ । घटस्थापनाको दिनबाट घट कलश स्थापना गरी त्यसमै सम्पूर्ण देवीदेवता, तीर्थ, पावनतम नदी नाला, सप्त सागर, सप्तद्वीप आदि सबैलाई समाहित गरी दशैँ पूजाको थालनी गर्ने हाम्रो संस्कृति रहेको छ । घटस्थापनाको दिनदेखि नवमीसम्म प्रत्येक नेपालीहरूका घर–घरमा र देवीका मन्दिरहरूमा भगवती दुर्गाको पूजा, आराधना र प्रार्थना गरिन्छ र शङ्ख, डमरू घण्टी आदि बजाई दुर्गा सप्तशती चण्डी, स्त्रोत्ररत्नावली, कालिकास्तोत्र, दुर्गाकवच, श्रीमददेवीभागवत आदि पाठ पनि पढिन्छ ।
पूजा गरि सकिएपछि प्रत्येक दिन बली चाहिँ अनिवार्य दिनुपर्ने कुरा शास्त्रीय विधानमा उल्लेख गरिएको छ । बली शब्दको अर्थ हो अर्पण गर्नु अथवा चढाउनु वा उपहार दिनु । राँगो रूपी–क्रोध, भेडा रूपी–मोह, बोका रूपी–कामवासना अर्थात् काम, क्रोध र वासनालाई अर्पण गर्नु, चढाउनु पर्दछ भन्ने हाम्रो शास्त्रको भाव हो । तर हामीहरूले बली भने पछि पशुहरूलाई काटेर बली दिने गरिन्छ । धार्मिक संस्कृतिसँग जोडेर देवीलाई बली दिने प्रचलन बढ्न थालेको छ । पासविकताको ताण्डव नृत्य मञ्चन हुने वली प्रथाको समाजलाई अन्ध विश्वासमा धकेलेको छ ।
बली प्रथाको बारेमा अध्ययन गर्दा नेपालमा भुरेटाकुरे शासकहरूकै पालामा लडाई लड्दा होस् वा विजयप्राप्त गर्दा होस् देवीकै शक्तिले जीत भएको मानी, कोट, मौला, हतियार र देवीको मूर्तिमा बली चढाउने परम्पराको थालनी भएको थियो । शाह वंशको इतिहास हेर्ने हो भने लमजुङका घलेराजालाई अपदस्त गराएर राजा कुलमण्डनसँग उनको छोरा यशोब्रह्म शाहलाई मागी लमजुङको राजा बनाउँदा वि.सं.१५५० मा कालिकाको मन्दिर बनाई राँगा, बोका, भेडा, कुखुरा, हास, परेवा गरी १९ वटा पशुपंक्षीको बली चढाएर राजाले देवीसँग शक्ति मागेको इतिहास छ ।
शाह राजाहरूले पछिका दिनमा पनि ठाउँ–ठाउँमा देवीदेवताका मन्दिर बनाउन लगाएर राज्यकै तर्फबाट पूजाआजा चलाउँदै आएका थिए । अहिले समाजमा अहिंसावादीहरूले पशुबलीको विरोध गर्दै आए पनि राज्यले समेत यो बली प्रथालाई रोक्नेतर्फ लागेको छैन । दशैँ पर्वमा बली प्रथा रोक्नको सट्टा झन मौलाउँदै गएको छ । हाम्रा हरेक संस्कृति र पर्वहरू आर्थिक पक्षमा जोडिएको हुन्छ । आर्थिक हैसियत भएका वर्ग र विपन्न वर्गसमेत समाजमा रहेका छौं ।
खर्च गरेर तडक–भडक गरेर पर्व मनाउने र नसक्ने वर्गले पनि ऋण धन जुटाएर यस्ता सांस्कृतिक पर्वहरू मनाउँदा एउटा वर्ग जहिले पनि समाजमा ऋणको भारी बोक्नुपर्ने अवस्थामा रहेको हुन्छ । अबका दिनहरूमा देखासिकी र आडम्वरयुक्त दशैँ मनाउने मानसिकतालाई हामीले परिवर्तन गर्न जान्नु पर्दछ । अब पनि यस्ता खर्चिला पर्वहरूलाई परिवर्तन गर्र्न सकिएन भने समाजमा रहने विपन्न वर्गका मानिसहरूको अवस्था झनै दयनीय हुन जान्छ ।
असत्यमाथि सत्यको विजयका रूपमा मनाउन सुरू गरिएको दशैँ केही वर्षयता आफ्नो आर्थिक हैसियत बिर्सेर अरू घोडा चढे भनेर आफू धुरी चढने प्रवृत्तिले गर्दा उल्लास र उमंगको पर्व हुन सकेको छैन । जसले गर्दा दशैँ दशा भएर आउने गरेको छ । तसर्थ यसलाई एउटा सांस्कृतिक महत्वको चाडका रूपमा स्वीकार गरी दशैँको गरिमा वृद्धि हुने गरी विशुद्ध मनोरञ्जनात्मक रूपमा ‘घाँटी हेरी हाड निल्नु’ भन्ने उखानलाई हृदयंगम् गरी मनाउन सकियोस् । अनि मात्रै दशैँ साँच्चिकै दशैँ बन्न सक्छ ।
हामी नेपाली प्रकृतिप्रेमी हौं । नेपालका विविध जातजातिका किसानको चाडका रूपमा प्रचलित दशैँलाई हिन्दूधर्मबाट अभिप्रेरित शासक वर्गले आफ्नो संस्कृति बनाएर सामन्ती संस्कार एवम् पर्वको रूप दिएको हुनुपर्दछ । कृषिप्रधान क्षेत्रका जनताले विश्रामको आवश्यकता अनुभव गरेर यसको चलन चलाएका हुन् भन्ने तर्क धार्मिक र सामन्ती तर्कभन्दा धेरै गहन र दरिलो तर्क हो । यो नितान्त वर्ष दिनको कामकाज र खेतीपाती सकेर थकाइ मार्ने किसानको आवश्यकताबाट विकसित पर्व हो ।
शासक वर्गले यस पर्वलाई पछि रूपान्तरित गरेर आफ्नो स्वार्थअनुकूल धार्मिक रूप दिने प्रयत्न गरेपछि मात्र सत्यमाथि असत्यको वा आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा दशैँको उत्पत्ति भएको हो भन्ने दृष्टिकोण विकसित गरिएको हो । यसमा शासक वर्गको वर्गीय स्वार्थ र चालबाजी नै प्रतिविम्बित भएको छ । त्यसलाई हटाएर हेर्दा यो विशुद्ध लोकसंस्कृतिसित सम्बन्धित पर्व हो ।
नेपाल सानो देश भएता पनि धार्मिक, सांस्कृतिक एवम् प्राकृतिक विविधताले भरिएको छ । प्रकृतिले जति सुन्दर छ, यहाँ भित्र त्यति नै सुन्दर र जीवन्त संस्कृति पनि छ । मौसम र ऋतु परिवर्तनसँगै यहाँ विभिन्न चाडपर्व तथा जात्रा मनाउने गरिन्छ । त्यसैमध्येको पर्व हो दशैँ । दशैँलाई राष्ट्रिय पर्वका रूपमा प्राचीनकालदेखि देशभर मनाउने गरिएको छ । दशैँ धार्मिक, सांस्कृतिक तथा सामाजिक दृष्टिले निकै महत्वपुर्ण पर्व हो ।
पारिवारिक जमघट तथा टाढा–टाढा पुगेका आफन्तसँग मेलमिलाप हुने भएकाले समेत दशैँ पर्व बच्चादेखि बृद्धासम्म सबैका लागि समानरूपले महत्वपूर्ण र उल्लासमय बन्दछ । नयाँ लुगा लगाउने, पिङ खेल्ने, चङ्गा उडाउनेजस्ता अवसरका कारण खासगरी केटाकेटीहरूका निम्ति दशैँ निकै नै मनोरञ्जक पर्व हुन्छ । देवीदेवताको पूजाआजा, एक अर्काबीच शुभकामना आदानप्रदान, मान्यजनबाट टीका थाप्नु, मीठा–मीठा परिकार खानु दशैँको थप विशेषता बन्दछ ।
अहिले खाद्य, लत्ता कपडा, मासु आदि वस्तुहरूमा छाएको महँगी त्यसमाथि मिसावटयुक्त पदार्थ उपभोग गर्न बाध्य नेपालीहरूले अभावका बाबजुद पनि दशैँलाई आफ्नो हैसियत अनुसार मनाउनेतर्फ सबैले सोच्न पर्दछ । आफन्तबाट टाढा–टाढा रहेका परिवारका सदस्यहरू पनि दशैँ पर्वमा आफ्नो जन्मस्थलो र आफन्त भेट्ने तथा मान्यजनबाट टीका र जमराको साथ आशीर्वाद लिने परम्परा रहेको दशैँ पर्वले ऐतिहासिक महत्व बोकेको छ ।
त्यसैले आर्थिक मन्दीले सबैलाई सताइ रहेको अबस्थामा आएको दशैँ पर्वलाई ऋण सापट गरेरै भएपनि धुमधामका साथ मनाउने तयारीमा आमनेपालीहरू जुटिरहेको अवस्था छ । विगत वर्षको तुलनामा झण्डै १०० प्रतिशत वृद्धि भएको महँगीको मारमा मनाउन लागिएको यो वर्षको दशैँले झन सबैलाई कष्टकर बनाउन थालेको छ । हाम्रो परमपरा र संस्कृतिलाई बचाउनु पर्दछ तर यसलाई पर्वको रूपमा मनाउँदा आफ्नो आर्थिक अवस्थालाई ख्याल गर्न सकेनौं भने यसले हामीलाई दशैँ नभए र दशाको रूपमा परिणत गरिदिन्छ ।