Saturday, September 7, 2024
Homebreaking-newsबजार सुध्रिने कहिले ?

बजार सुध्रिने कहिले ?

- Advertisement -spot_img

अखाद्य वस्तुको बिक्री वितरण, मनपरी मूल्य बजारका साझा समस्या हुन् । दाङको ठूला बजार तुलसीपुर, घोराही, लमही, भालुवाङ, हापुरे, रगैँचालगायतका बजारमा पनि अखाद्य वस्तुको बिक्री वितरण र मूल्यमा आफूखुसी गर्ने व्यवसायीको प्रवृत्ति अहिले छैन् भन्न सकिने अवस्थाको अन्त्य हुन सकेको छैन् । अझ विषेशगरी चाडपर्वको समयमा त अन्य समयको तुलनामा बजारमा खाद्यवस्तुलगायत अन्य वस्तुको पनि खपत हुन्छ । बढी बिक्री हुने मौका छोपेर व्यवसायीले पनि कालोबजारी गर्ने गरेको देखिन्छ । बजार सुधार गर्नका लागि चाडपर्वको समयमा हरेक वर्ष अनुगमन पनि हुन्छन् तर प्रभावकारी निकै कम भएको देखिन्छ । चाडपर्वमा हुने मौसम अनुगमनले बजार सुध्रिएको छ ? प्रदेश टुडे राष्ट्रिय दैनिककोे नियमित स्तम्भ टुडे राउण्ड टेबलमा सरोकारवालाको विचारलाई समेटेका छौँ । – सम्पादक


जीतसागर जी.एम.


बजार सुधारको प्रयास निरन्तर

निर्वाचन जितेर आएदेखि नै बजारलाई सुधार गर्न निरन्तर लागिरहेका छौँ । अहिले बजारमा देखिएका समस्या हामी सबैका साझा समस्या हुन् । उचित मूल्यमा उपभोक्ताले गुणस्तरिय वस्तु पाउने अधिकार छ । उपभोक्ता भनेको हामी सबै हौँ । चाडपर्वमा उपभोक्ताले बढी सामान खरिद गर्ने हुँदा पनि यो समयमा बढी निगरानी बढाएका हौँ । हामीले चाडपर्वको समयमा गर्ने अनुगमनलाई मौसमी अनुगमन भन्न मिल्दैन् । फरक के मात्रै हो भने अन्य समयको तुलनामा चाडपर्वको समयमा बढी अनुगमन गरिन्छ ।

उचित मूल्यमा गुणस्तरयुक्त वस्तु प्राप्त गर्ने उपभोक्ताको अधिकारलाई व्यवसायीले गम्भिरताका साथ लिनुपर्छ । पछिल्लो समय बजारमा महँगी बढेको, गुणस्तरहीन वस्तु बिक्री वितरण हुने गरेको, नियमन हुन नसकेको भन्ने गुनासाहरू नआएका होइनन् । हामीले त्यसको नियमनका लागि प्रयास पनि गरेका छौँ । घोराहीमा अनुगमनको क्रममा भेटिएका अखाद्य वस्तु जफत गर्ने गरेका छौँ । अनुगमन हुँदा उपभोक्ता पनि सचेत हुन्छन्, व्यवसायी पनि सचेत हुन्छन् । बजारमा समस्या त धेरै होलान्, तैपनि सुधारको प्रयास गरिरहेका छौँ ।

चाडपर्वको समयमा महँगी, अखाद्य वस्तुको बिक्री वितरणजस्ता समस्या आउँछन् । अझ विषेशगरी उपभोक्ता सचेत हुनुपर्छ । हामीले पनि व्यवसायी र उपभोक्ता सबैलाई सचेत बनाउने काम गरेका छौँ । यस्तै महँगी नियन्त्रणको कुरा छ । अहिले बजारमा चिनीको भाउ ५० प्रतिशतले बढेको छ । यसलाई नियन्त्रण गर्न सकिएको छैन् । व्यवसायीले निश्चित प्रतिशतमात्रै मुनाफा राखेर वस्तुको बिक्री गर्ने अधिकार पाउनुभएको छ भने उपभोक्ताले पनि मूल्य अनुसारको वस्तु पाउने अधिकार पाउनुभएको छ । यसमा म आफै पनि उपभोक्ता हुँ ।

बजारमा हुने कालोबजारी रोक्नका लागि विभिन्न किसिमका ऐन पनि बनेका छन् । उपभोक्ता संरक्षण ऐन, कालोजबजारी नियन्त्रण ऐनमा व्यावसायीले उपभोक्तालाई मूल्य अनुसारको वस्तु उपलब्ध गराउने व्यवस्था छ । तर केही समस्या छन्, अहिले पनि बजारमा त्यसैको सुधारका लागि हामीले प्रयास पनि गरिरहेका छौँ । हामी हाम्रो कर्तव्यबाट पछि हटेका छैनौँ । धेरै त व्यवसायी सचेत पनि हुनुभएको छ । ऐन कानुन भएपनि व्यवहारिक कार्यान्वयनमा निकै चुनौती अवश्य छन् । कतिपय व्यवसायी चेतना अभावका कारण पनि गल्ती कमी कमजोरी गरिरहेका हुन्छन् ।

देशमा तीन तहका सरकारमध्य तल्लो तहको सरकार स्थानीय सरकारले यसको अनुगमन गर्ने अधिकार हामीलाई छ । स्थानीय सरकारले बजार अनुगमन बढाए पनि अझै प्रभावकारी भएको छैन् भन्ने गुनासो तपाईको होला । तर हामीले धेरै सुधार गरेको पनि म यहाँलाई जानकारी गराउन चाहन्छु । हाम्रो मनसाय भनेको सचेतनाले नै बजार सुध्रियोस् भन्ने हो तर त्यसरी सुधार्न निकै समयम लाग्दो रहेछ । केहीलाई कारबाहीको दायरमा न ल्याउँदासम्म बजारमा व्यवसायीको मनपरी चल्ने हुन सक्छ ।

मूल्यमा एकरूपता आउन नसक्नु भनेको प्रतिस्पर्धात्मक बजार बढ्दै गएको छ । एउटै वस्तुमा कसैले धेरै नाफा राखेर बिक्री वितरण गर्छ भने कतिपयले धेरै नाफा लिन खोजेको देखिन्छ, यसले गर्दा बजारमा मूल्य एकरूपता आउन सकेको देखिदैन् । यसबारेमा बुझ्न खोज्दा व्यवसायीले सबै वस्तुको महँगी अनुसार दैनिक उपभोग्य वस्तुको पनि मूल्य बढेको प्रतिक्रिया दिने गर्नुभएको छ । तर पनि हामीले अनुगमन र अनुसन्धानको पाटोलाई गम्भीर रूपमा लिएका छौँ । बजारको अवस्था पहिलेको तुलनामा धेरै सुधार भएको छ तर जति हुनुपर्ने हो त्यति सुधार नभएको हो कि भन्ने चाहिँ छ । बजारमा फुटपाथ व्यवसायलाई पनि व्यवस्थित गराएका छौँ ।


सुधारात्मक छ बजार

चाडपर्वमा मात्रै होइन् । अन्य समयमा पनि हामीले बजार नियमित रूपमा अनुगमन गरिरहेका छौँ । चाडपर्वको समयमा अन्य समयमा भन्दा बढी अनुगमन पनि हुन्छ । यो समयमा उपभोक्ताको चाप बढ्ने भएकोले पनि बजारमा कालोबजारी हुन सक्छ भनेर चाडपर्वको समयमा अन्य समयमा भन्दा बढी अनुगमन हुन्छ । नेपालीका ठूला चाडपर्व दशैँ, तिहार नजिकिदै गएको समयमा बजारमा चहलपहल बढेको छ ।

अहिलेको समयमा बजारमा प्रायजसो बढी बिक्री हुने दैनिक उपभोग्य सामान बिक्री हुने पसलको अनुगमन गरेका छौँ । विभिन्न समयमा भएकोे बजार अनुगमनको क्रममा अधिकांश पसलमा देखिने समस्या भनेको मूल्यमा मनपरी, सरसफाईको कमी, दर्ताबिनै व्यवसाय सञ्चालनलगायतका समस्या देखिने गरेको छ । हामीले अनुगमनको क्रममा भेटिएका त्रुटी सच्याउन व्यवसायीलाई अनुरोध पनि गरिरहेका छौँ ।

उपमहानगरपालिकाभित्र रहेको बजारमा हुने कालोबजारी रोक्न हामीहरू निरन्तर लागिरहेका छौँ । बजारमा समस्या छन् । सबै एकैपटक समाधान हुँदैन् । तैपनि सुधारको कोशिस गरिरहेका छौँ । हामीले सकेसम्म व्यवसायीलाई कारबाही गर्नेभन्दा सचेत गराउने काम गरेका छौँ । निरन्तरको बजार अनुगमनले बजार बिगतको तुलनामा सुधार भएको छ । अहिलेको चाडपर्वमा बिगतको जस्तो मूल्य फरक–फरक, अखाद्य वस्तुको बिक्री वितरण कम देखिएको छ ।

उपभोक्ता पनि सचेत बन्दै जानुभएको छ । उपभोक्ता सचेत हुन सकेपछि बजार सुध्रने अवस्था सहज नै हुन्छ । मूल्यको कुरा गर्दा अहिले बजारमा चिनीको मूल्य अत्याधिक वृद्धि भएको छ । यसले उपभोक्तालाई समस्या बनाएको छ । यसको बारेमा गुनासो पनि आउने गरेका छन् । तर अहिले बढेको महँगीलाई नियन्त्रण गर्न सकिने अवस्था पनि छैन् । बजार अनुगमनको क्रममा देखिएको समस्या फेरि–फेरि दोहोरिने अवस्था छैन् । समस्या नै छैनन् भन्ने होइन् तर बिगतको तुलनामा सुधार हुँदै गएको छ ।

अखाद्य वस्तुको बिक्री वितरण रोक लगाउनका लागि सूचना पनि जारी गरिरहेका छौँ । उपभोक्तालाई सचेत बनाउने काम भएकोे छ । उपभोक्ता सचेत भएमा यसको बिक्री वितरण पनि धेरै कम हुन्छ । म्याद गएका सामानहरू बिक्री गर्ने क्रम बजार क्षेत्रमा केही कम हुँदै गएको देखिन्छ । बजारक्षेत्रमा अनुगमन निरन्तर हुन थालेका कारण पनि म्याद गएका सामान बिक्री गर्ने क्रम केही कम थालेको हो ।

तर ग्रामीण भेगमा अनुगमन नै कम हुने भएकाले त्यतातिर अलि बढी समस्या छ कि भन्ने लाग्छ । गाउँका उपभोक्ता आफै पनि सचेत हुनुपर्ने छ । यस्तो किसिमको समस्याबाट उपभोक्ता स्वयम् आफै सचेत हुनुपर्ने देखिन्छ । म्याद गुज्रिएको वस्तु बिक्री वितरण गर्नेलाई ठूलो कारबाही गर्ने गरिएको त छैन् तर म्याद ग्रज्रिएको वस्तु जफत गरेर सचेतना दिने काम भइरहेको छ ।


सबैलाई सचेत बनाएका छौँ


बजार सुध्रेको छैन् भन्ने पक्षमा म छैन् । लमही बजार ठूलो छ । पूर्व–पश्चिम राजमार्गमा पर्ने लमही दाङकै प्रमुख बजार भएकाले पनि यसमा धेरै प्रकारका व्यवसाय छन् । बजारमा हुने कालोबजारी नियन्त्रण, दर्ता प्रक्रियामा ल्याएर करको दायरा बढाउने काम पनि गरिरहेका छौँ । विगतका वर्षको तुलनामा केही सुधार आएको छ । विभिन्न बहानामा उपभोक्ता ठगिनबाट बचाउनका लागि हामीले अनुगमन गरिरहेका छौँ ।

अहिले चाडपर्वको समयमा झनै बढी सचेत छौँ । बजारमा कुनै पनि किसिमले समस्या नदेखिएको भन्ने होइन् । चाडपर्वको समयमा हुने अखाद्य वस्तुको बिक्री वितरण र मूल्यवृद्धिबाट उपभोक्तालाई बचाउनका लागि हामी सचेत छौँ । नगरपालिकाको क्षेत्राधिकारभित्र पर्ने व्यवसायीलाई करको दायरामा ल्याउनका लागि विभिन्न समयमा हामीले व्यवसाय दर्ता तथा नविकरण शिविर सञ्चालन गर्ने गरेका छौँ । यसवर्ष पनि विभिन्न समयमा अनुगमन गरिरहेका छौँ ।

देउखुरी उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्शको समन्वयमा कार्यक्रम सञ्चालन गर्ने गरेका छौँ । यस्तो किसिमको काम निरन्तर रूपमा अघि लैजान्छौँ । यसले व्यवसायीलाई सहज पनि बनाएको छ । व्यवसायी जिम्मेवार हुनुपर्छ । हामीले व्यवसाय सञ्चालनका लागि कानुनी प्रक्रियामा सहजता बनाउने काम गरिरहेका छौँ । व्यवसायीले दर्ता प्रक्रियामा आएर जिम्मेवार भएर व्यवसाय सञ्चालन गर्नुहुन्छ भन्नेमा हामी आशावादी छौँ । समस्या छन्, समस्या नभएको बजार हुन्छ भन्ने कल्पना गर्न सकिदैन् । त्यसमा पनि चाडपर्वको समयमा अझ बढी समस्या हुन्छन् । यसका लागि हामी सचेत छौँ ।

बजारमा म्याद गुज्रिएका वस्तुको बिक्री वितरण हुनु पनि व्यवसायीको लापरबाही हो । व्यवसाय गर्नेले कुन वस्तुको म्याद सकिएको छ, भन्ने कुराको जानकारी राख्न नसक्नु नै ठूलो कमजोरी हो । उपभोक्ताले मूल्यअनुसारको गुणस्तरिय वस्तु पाउनुपर्छ । पछिल्लो समय बजार सुधार पनि भएको छ । यसअघि पनि जिल्ला प्रशासन कार्यालय दाङले केही ठाउँमा अनुगमन गरेको थियो ।

लमही बजार देउखुरी क्षेत्रकै केन्द्रबिन्दु भएका कारण पनि जिल्ला प्रशासन कार्यालयले पनि निगरानी अझ बढी गरेको हुन्छ । हामीले पनि बजारको अवस्था सुधार गर्नका लागि चाडपर्वको समयमा भन्दा पनि विभिन्न समयमा अनुगमनलाई निरन्तर बढाई रहेका हुन्छौँ । उपभोक्ता पनि सचेत हुनुपर्छ । तर अहिले पनि धेरै उपभोक्ताले म्याद गुज्रिएको अखाद्य वस्तु खरिद गर्ने अवस्था छ । व्यवसायीको चलाखीबाट बच्न उपभोक्तालाई सचेतना बनाउने काम हामीले पनि विभिन्न समयमा गरिरहेका छौँ । तर उपभोक्तामा मैले सामान किन्दा कस्तो समान किन्दै छु भनेर निगरानी बढाउन आवश्यक छ ।

पहिलेको तुलनामा उपभोक्ता पनि सचेत बन्नुभएको छ । अपेक्षाकृत सुधार हुन नसकेपनि सुधारको अवस्थामा पुगेको छ । लमहीमा अहिले कुनै पनि किसिमको गुनासो आएको छैन् । गुनासो आएमा हामीले त्यसको समाधान तत्काल गरिहाल्छौँ । समस्या देखिएमा उपभोक्ताले हामीलाई जानकारी पनि गराउन सक्छन् । व्यवसायी पनि धेरै जिम्मेवार बन्नुपर्छ । विगतको जसरी व्यवसाय सञ्चालन गरेर उपभोक्ताको मन जित्न सकिदैन् भनेर व्यवसायीले बुझ्न सकेपछि उपभोक्ताले ताजा, गुणस्तरयुक्त र उचित मूल्यमा सामान पाउन सक्छन् ।


अनुगमनले सुधार भएको छ  

उपभोक्ता कुनै पनि बहानामा नठगिउन् भनेर हामीले चाडपर्वको समयमा मात्रै होइन् । अन्य समयमा पनि बजार अनुगमनलाई तिब्रता दिन्छौँ । तर अन्य समयको तुलनामा चाडपर्वको समयमा केही बढी पक्कै हुन्छ । शान्तिनगर गाउँपालिका अन्तर्गतका व्यवसायलाई दशैँ, तिहारको मुखैमा पनि अनुगमन गरेका छौँ । अनुगमनको क्रममा बजारमा अखाद्य वस्तु बिक्री वितरण वा बढी मूल्यमा बिक्री विरतण भएको कम पाएका छौँ ।
बजारको अवस्था बुझ्नका लागि हामी आफै ग्राहक बनेर पनि केही सामान किनेर पनि बजारको मूल्य बुझ्ने कोशिस पनि गरेका थियौँ । यो भनेको के हो भने हाम्रो अनुगमन एउटा औपचारिकता मात्रै भन्दा पनि उपभोक्ताले साँच्चै बजार अनुगमनको अनुभूति गर्न सकून् भन्ने नै हो । यसो भन्दैमा शान्तिनगर गाउँपालिकाअन्तर्गतका बजारमा समस्या नै छैन् भन्न मिल्दैन् । बजारमा केही समस्या पक्कै पनि छन् । तर उपभोक्तालाई नै समस्या हुने गरी त्यस्तो किसिमको ठूलो समस्या छैन् ।
  बजार अनुगमनको क्रममा दुईवटा कुरा मुख्यरूपमा देखिएको छ । जो स्थानीय सरकारसँग बढी सम्बन्धित छ । बजार अनुगमनमा देखिएको एउटा कुरा के हो भने धेरै व्यवसायीले दर्ताबिनै व्यवसाय सञ्चालन गर्नुभएको  रहेछ । यसले उपभोक्तालाई भन्दा पनि सरकारलाई बढी प्रभावित बनाएको छ । किनभने व्यवसाय नै दर्ता नभएका कारण सरकारले लिनुपर्ने कर लिन सकेन्  । यसकारण पनि हामीले उहाँहरूलाई व्यवसाय दर्तामा आउन आग्रह गरेका छौँ ।
धेरैजसो व्यवसायीले स्थायी लेखा नम्बर लिएपछि हामीले वैधानिक रूपमै व्यवसाय सञ्चालन गरेका छौँ भन्ने सोच्नुभएको रहेछ । तर हामी बजारमा पुग्दा उहाँहरूलाई बुझाएका छौँ । व्यवसायीहरू पनि दर्ता प्रक्रियामा आउने कुरा प्रतिवद्धता गर्नुभएको छ । अनुगमनको क्रममा कतिपय ठाउँबाट म्याद गुज्रिएका सामान पनि फेला पारेर जफत पनि गरिएको छ । त्यस्ता वस्तुको डिस्पोज गर्ने गरिन्छ । अब व्यवसायीले पनि म्याद गुज्रिएका वस्तु बिक्री वितरण नगर्ने प्रतिवद्धता गर्नुभएको छ ।
यदि अर्को पटक त्यस्ता वस्तु बिक्री वितरण गरेको भेटिएमा हामीले पक्कै पनि उपभोक्ता हित संरक्षण ऐनबमोजिम कारबाही गर्ने पनि छौँ । यस्तो किसमको समस्या ग्रामीण तथा सहरोन्मुख क्षेत्र सबैमा देखिएको छ । शान्तिनगर गाउँपालिकाको विषेश गरी सहरोन्मुख क्षेत्र भनेको रगैँचा, पातेटाकुरा, खिलतपुर, बाघमारे लगायतका बजार हुन् । ति ठाउँसहित अन्य बजारमा पनि म्याद गुज्रिएका वस्तु ठूलोमात्रामा नभए पनि केही सामान म्याद गुज्रिएका भेटिएको छ ।
विषेश गरी पेयपदार्थ (कोक, पेप्सी) लगायतका वस्तुमा म्याद गुज्रिएको भेटिने गरेका छन् । यस्तो किसिमको कमजोरी अर्को पटक पनि नदोहोरिने गरी व्यवसायीलाई सचेत गराएका छौँ । केही नापतौलका सामग्रीमा खिया लागेको समस्या पनि देखिएको थियो । त्यस्तो किसिमको समस्या पनि समाधान गर्नका लागि अनुरोध गरिसकेका छौँ । उपभोक्ता, व्यवसायी दुवै सचेत भएपछि बजारको अवस्था सुधार गर्नका लागि अनुगमन गरिरहनुपर्दैन तर त्यस्तो अवस्था अझै पनि छैन् ।
म उपभोक्तालाई सचेत रहन पनि आग्रह गर्छु र विभिन्न समयमा उभोक्ता सचेतीकरण गर्नुपर्ने कामहरू हामीबाट हुन्छन् । त्यस्तो बेलामा सहभागी भएर जानकारी बोध हुनका लागि अनुरोध गर्दछु । उपभोक्ता सचेत भएपछि बजार आफै सुध्रन्छ । तर यसो भनेर जिम्मेवार निकायले केही नगर्ने होइन् । हामीले पनि बजारको अवस्था सुधार गर्नका लागि निरन्तर अनुगमन, सचेतना लगायतका कामलाई तिब्रता दिएका छौँ । बजारको अवस्था सुधार गरी उपभोक्तालाई सुपथ मूल्यमा गुणस्तरयुक्त सामान दिन व्यवसायी पनि जिम्मेवार हुनुपर्छ ।
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here