तुलसीपुर, १६ असोज । मावि तुलसीपुर सेन्टर ईन्ट्रा स्कुल खसीकप सेभेन ए साइट फुटबल प्रतियोगिता इलेक्ट्रिकल कक्षा ११ ले जितेको छ । ईलेक्ट्रिकल ११ ले आयोजना गरेको प्रतियोगिताको फाइनलमा इलेक्ट्रिकल कक्षा १२ लाई पेनाल्टी सुट आउटमा २ का विरूद्ध ३ गोलले पराजित गर्दै इलेक्ट्रिकल ११ ले खसी कप फुटबल जितेको हो । उसले २० हजार बराबरको खसी हात पा¥यो ।
मावि सेन्टरको खेल मैदानमा भएको कडा प्रतिस्पर्धा अनि रोमाञ्चक खेलको निर्धारित समयसम्म गोलरहित बराबरी भएपछि नतिजा पेनाल्टी सुट आउटबाट निकालिएको विद्यालयका खेलकुद शिक्षक दुर्गाराज लवटले जानकारी दिए । दुई दिनसम्म चलेको प्रतियोगितामा विद्यालयका जनरल, आईटी, म्यानेजमेन्ट, जियोम्याटिक्स, इलेक्ट्रिकललगायतका दश टिमको सहभागिता रहेको थियो ।
यसैबीच मावि तुलसीपुर सेन्टरले असोज १२ र १३ बुटवलमा सम्पन्न प्रथम लुम्बिनी प्रदेशस्तरीय खुला कराँते प्रतियोगितामा कास्य पदक बिजेता खेलाडी विशाल जिसीलाई सम्मान गरेको छ । मावि तुलसीपुर सेन्टरमा अध्ययनरत विशालले ५५ केजी तौल समूह कुमुतेतर्फ तेस्रो स्थान हात पारेका थिए ।
पछिल्लो समय विद्यालयलाई खेलमैत्री बनाउन चासो र चिन्तनका साथ सशक्त लागि परेको मावि सेन्टरले खेलाडीलाई थप हौसला प्रदान गर्न बधाई तथा सम्मानका कार्यक्रम गर्ने गरेको विद्यालयले जानकारी दिएको छ ।