सल्यान, १५ असोज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज नरेश भण्डारीले वर्तमान प्रचण्ड सरकारको पहिलो प्राथमिकता नै भ्रष्टाचाररहित सुशासन स्थापित गर्नु रहेको बताएका छन् ।
भ्रष्टाचारको प्रभावकारी नियन्त्रण नगरी सुशासन कायम हुन नसक्ने र सुशासन कायम नभई समृद्ध देश बन्न नसक्ने भएकाले प्रचण्ड नेतृत्वको पहिलो प्राथमिकता सदियौं वर्षदेखि भ्रष्टाचारले झगडिएको कुशासनलाई सुशासनमा परिणत गरेको बताए । शनिबार सल्यान श्रीनगरमा आयोजित नेपाल राष्ट्रिय कर्मचारी महासंघ, निजामती र स्वास्थ्यकर्मीको संयुक्त बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेता भण्डारीले २००७ सालपछिको वर्तमान सरकारनै सुशासनको लडाईमा दौडिएको बताए ।
उनले भने– ‘विगतका सरकारहरूले भ्रष्टाचारीलाई संरक्षण गर्नमै व्यस्त हुँदा वर्तमान प्रचण्ड सरकारले त्यसका विरूद्ध जेहाड छेडेको छ ।’ विगतमा सामान्य टोले गुण्डालाई नियन्त्रणमा लिदा सुरक्षा निकायले सय पटक सोच्नुपर्ने अवस्था थियो भने अहिले देशको महत्वपूर्ण पदमा पुगेका व्यक्तिहरू पनि जेलभित्र बस्न बाध्य भएको उनको भनाइ छ ।
केन्द्रमा प्रचण्डले सुशासनको नेतृत्व लिएजस्तै आ–आफ्नो क्षेत्रमा सुशासनको पहलकदमी र नेतृत्व लिन कर्मचारी तथा स्वास्थ्यकर्मीलाई आग्रह गरे । सुशासन भनेको के हो ? त्यो तपाईहरूलाई राम्रोसँग थाहा छ, त्यसलाई अक्षरस पालना गर्दै त्यसको नेतृत्व पनि तपाईहरूले नै गर्नुहोस् उनले भने ।
अर्को एक प्रसंगमा नेता भण्डारीले पछिल्लो समय देशलाई साम्प्रदायिक द्वन्द्वतिर धकेल्न एकथरी पश्चगामी तत्व सलबलाई रहेको बताए । नेपाली समाजलाई विभाजनतिर धकेलेर गणतन्त्र संघीयतालाई असफल बनाउन प्रतिगामी शक्तिहरू लागि परेकाले त्यसका विरूद्ध पनि आवाज उठाउनुपर्ने समय आएको उनले बताए ।