काठमाडौं, १५ असोज । एसियन गेम्सको पुरूष क्रिकेटमा नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान माल्दिभ्सलाई १ सय ३८ रनले हराउँदै नेपाल अन्तिम आठमा प्रवेश गरेको हो । पहिलो खेलमा नेपालले मंगोलियालाई २ सय ७३ रनले हराएको थियो ।
नेपालले प्रस्तुत गरेको २ सय १३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स ७४ रनमा अलआउट भएको थियो । मुआवियाथ गनीले सर्वाधिक ३६ रन बनाएको माल्दिभ्सको इनिङ्समा रसिद रसमले नटआउट १२ रन बनाए । फरिद शियसले १० रन जोडे । माल्दिभ्सका ६ खेलाडी शुन्य रनमा पोविलियन फर्किएका थिए ।
नेपालका अभिनाष बोहराले सर्वाधिक ६ विकेट हात पारे । सोमपाल कामी, गल्सन झा, सन्दीप लामिछाने र कुशल भुर्तेलले समान एक विकेट हात पारे ।
सुरूआती ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १२ रन बनाएको थियो । कप्तान रोहित पौडेलले ५२ रन बनाएको इनिङ्समा कुशल मल्लले नटआउट ४७ रन बनाएका थिए । गुल्सन झा र कुशल भुर्तेलले समान ३५ रन बनाएका थिए । आरिफ शेख ६ रनमा आउट हुदाँ सन्दीप जोराले ५, दिपेन्द्र सिंह ऐरीले ६ रन बनाए । सोमपाल एक रनमा अविजित रहे । माल्दिभ्सका नजवान इस्माइलले सर्वाधिक ३ विकेट लिए । नासिर इस्माइल, मोहमद मिभान र थालाल रोयले समान एक विकेट हात पारे ।
पहिलो खेलमा मंगोलियाविरूद्ध कीर्तिमानी जित निकालेको नेपाल समूह चरणको अन्तिम खेलमा शानदार जितसहित अन्तिम ८ को यात्रा तय गरेको छ । नेपाल समूह ए को विजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो ।
को खेल्छन् क्वाटरफाइनलमा ?
समूह चरणबाट क्वाटरफाइनलमा चार टोली जानेछन् । अफगानिस्तान नखेली सोझै समूह विजेता बनेको थियो । यसअघि चार समूहमा विभाजन गरिएको थियो । तर अफगानिस्तानले नमानेपछि तीन समूहमा विभाजन गरिएको थियो । त्यसैले समूह चरणबाट अफगानिस्तान, नेपालसहित चार टोली जानेछन् । बाँकी दुई टोलीमा हङकङ र मलेसिया क्वाटरफाइनलमा स्थान बनाउन औपचारितकता बाँकी छ ।
समूह चरणबाट जाने चार टोली क्वाटरफाइनलमा भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका मध्य एकसँग खेल्नुपर्ने हुन्छ । अर्थात् नेपालले क्वाटरफाइनलमा बंगलादेश, श्रीलंका, भारत र पाकिस्तान मध्य एक टोलीसँग खेल्ने छ । कोसँग खेल्ने आज सोमबार मात्रै टुङ्गो लाग्नेछ । क्वाटरफाइनलको टुङ्गो ड्रबाट सार्वजनिक हुनेछ । भारत र पाकिस्तान पर्ने टोलीले क्वाटरफाइनलमा मंगलबार खेल्ने छन् । श्रीलंका र बंगलादेशसँग पर्ने टोलीले बुधबार क्वाटरफाइनल खेल्ने छन् । सेमिफाइनलका दुबै खेल शुक्रबार हुनेछन् । फाइनल र कास्य पदका लागि शनिबार प्रतिस्पर्धा हुनेछ ।