Monday, May 19, 2025
Homeविचारकृषि पर्यटन र गाउँघरको अवस्था

कृषि पर्यटन र गाउँघरको अवस्था

- Advertisement -spot_img


कृषि र पर्यटनको आ–आफ्नै महत्व छ । दुबैलाई एकै ठाउँमा समन्वय गरेर विकास गर्ने हो भने गाउँघरमा कृषि र पर्यटन दुबैको विकास हुन्छ । तर यस्तो योजना पर्यटनको क्षेत्रमा हालसम्म बनेको छैनभन्दा पनि हुन्छ । कृषि र पर्यटन दुबैलाई समन्वय गरेर विकासको योजना बनाउँदा ग्रामीण क्षेत्रमा पर्यटनको विकास हुन्छ । तर गाउँघरको अवस्था भने फरक छ ।

पर्यटनको क्षेत्रको एउटा भनाइ लिने हो भने जुन ठाउँमा पर्यटकहरू पुग्दछन् त्यहाँ पर्यटकहरूले केही न केही खर्च गर्नु पर्दछ । खर्चै नगरी फर्कन्छ भने त्यो पर्यटक नभई केवल अवलोकनकर्ता मात्र मानिन्छ । घुमफिर गर्ने जो कोही पर्यटकहरूसँग केही न केही पैसा हुन्छ । पर्यटकहरू कुनै पनि पर्यटकीयस्थलमा पुगेपछि उसलाई आवश्यक पर्ने कुनै पनि वस्तु किन्न सकोस् । तर, दाङ जिल्लाका ग्रामीण पर्यटक पुग्ने ठाउँमा खर्च गर्ने ठाउँ छैन ।

बंगलाचुली र छिल्लीकोटमा भ्यूटावर निर्माण भएको छ तर पर्यटकहरूले आवश्यक वस्तु खरिद गर्ने त परैका कुरा चिया चमेना खाने ठाउँ पनि छैन । यो उदाहरण मात्र हो । गाउँमा पुग्ने पर्यटकहरूलाई खर्च गर्ने ठाउँ हुनुपर्दछ । यो भनेको गाउँघरमा उत्पादन बढाउनु हो । गाउँमा कृषिलाई पर्यटनसँग जोडेर उत्पादन गर्ने हो भने आयआर्जन बढ्छ । गाउँमै रोजगारीका अवसरहरू सिर्जना हुन्छन् र गाउँमा पनि पर्यटनको विकास हुन्छ ।

तर गाउँघरमा कस्तो छ त कृषिको अवस्था ? कृषि पेशामा लागेका कृषकहरूले आजभोलि कृषि पेशामा रूचि राख्दैनन् । कृषि पेशालाई बाध्यात्मक पेशा मान्दछन् । जमिनमा स्वामित्व हुनेहरू खेती गरेर लगानी नउठने देखेर खेती गर्न छोडेका छन् भने जमिन नहुनेहरूले पनि खेती गर्नुभन्दा अरू कामको खोजीमा हुन्छन् । कृषि पेशामा लागेका युवाहरूले पनि आफूलाई कृषक भन्न रूचाउँदैनन् । कसैले पेशा सोधि हाल्यो भने आफूलाई बेरोजगार छु भन्न रूचाउँछन् ।

कृषि औजारको नाममा कृषकसँग हलो, कोदालो र हँसिया मात्र छ । उन्नत बीउ, मल छैन । गाउँघरमा पशुपालन व्यवसायलाई दुःखको पेशा भन्ने गरिन्छ । गाईवस्तु पालेर मल उत्पादन गर्ने प्रचलन हराएको छ । कृषकलाई प्रविधि सिकाउने प्राविधिक गाउँमा पुग्दैनन् । गाउँघरमा बेच्ने बजार छैन तर किन्ने बजार छ । कृषि ज्ञानकेन्द्र अथवा पालिकामा रहेका कृषि शाखामा सीमित किसानको मात्र पहुँच छ । कृषिले दिने अनुदान खेती किसान नगर्ने मानिसको हातमा पर्ने गरेको छ ।

कृषिको अनुदान सबै पहुँचमा वितरण हुने गरेको छ । कस्तोसम्म पनि देखिएको छ भने जसको जमिन छ तर उ खेती गर्दैन शहर बजारमा बस्दछ । कृषिले किसानलाई अनुदानमा टेक्टर अथवा अन्य केही औजार दिने कार्यक्रम भयो भने पहुँचको भरमा उसले टेक्टर अथवा औजार पाउँछ र अरूलाई बेच्दछ । अनि कसरी कृषिमा पर्यटनको विकास हुन्छ ? कृषिको अनुदान रकम कस्ता मानिसले पाएका छन् ?

वर्षौदेखि दिनरात खटेर कृषि व्यवसाय सञ्चालन गर्ने कृषकहरूले किन अनुदानको रकम पाउन सकेनन् ? यसको तथ्यांक लिने हो भने सबै निरास बन्नुपर्ने अवस्था आउँछ । त्यसैले पनि बेरोजगार युवाहरू कृषि पेशामा रूचि राख्दैनन् । के अब सरकारको नीति तथा कार्यक्रमले विदेशबाट फर्किएका युवा र स्वदेशभित्र रहेका बेरोजगार युवाहरूले रोजगारीका लागि कृषि, साना तथा मझौला उद्योग र निर्माण क्षेत्रमा रूचि देखाउलान् ? यो अध्ययनको विषय भएको छ ।

अहिले गाउँको अवस्था हेर्ने हो भने छोराछोरी पढाउन तिनका आमाहरू नजिकका शहर बजारमा आएका छन् । वैदेशिक रोजगारमा गएका युवा र छोराछोरी पढाउन सहर पसेका तिनका पत्नीहरू के अब गाउँ फर्केलान् ? जवानीको शिखर विदेशमा पसिना बगाएर थाकेकाहरू स्वदेश फर्केपछि फेरि त्यही दुःख गर्न उनीहरू गाउँमा फर्केलान् ? फर्कन मन गर्नेलाई पनि तिनका पत्नी र छोराछोरीले गाउँमा फर्कन देलान् ? सम्पूर्ण ग्रामीण जनजीवनका लागि यो अहम् प्रश्न भएको छ । वैदेशिक रोजगारमा गएका पुरूष र छोराछोरी पढाउन सहर झरेका तिनका पत्नीहरूले गाउँघरका दुःख भोग्नसम्म भोगेका छन् ।

लेक–बेंसी, उकाली–ओराली, घाँस–दाउरा, ढिकी–जाँतो, टाढाको पँधेराको पानी, झरी–बादल, डोको–नाम्लो, कुटो–कोदालो, हलो–जुवा, खेताला–बाउसे, वस्तुभाउको स्याहार, असिना–पसिनाको जीवनचक्रमा पिसिएर, पिल्सिएर र थिचिएर जीवन चलाइरहेकाहरू ती सबै दुःखबाट मुक्त भएर केही वर्ष सहरको सुविधायुक्त जीवनको स्वाद चाखेर बानी बिग्रिसकेको छ । अब के उनीहरू फेरि त्यही दुःख भोग्न गाउँ फर्कन तयार होलान् ?

नेपाल कृषि प्रधान देश हो तर हामीले केरा कहाँको खाएका छौँ ? अरू त के कुरा खुर्सानी, कागती पनि हामीले भारतबाट आयत गरेका छौँ । खेतीयोग्य जमिन बाँझो छ खाद्यान्न परनिर्भर छ तर गाउँघरमा युवा वेरोजगारी छन् । जमिन बाँझो राखेर हामी खाद्यान्नमा समेत परनिरभतामा गएका छौँ । आज हामी तरकारी, फलफूल, खाद्यान्नलगायत जीविकोपार्जनका अधिकांश वस्तुको लागि छिमेकी देशमा निर्भर भएका छौ । हाम्रो वास्तविक अवस्था यहि हो । यस्तो अवस्थामा हामी कृषि पर्यटन भनि राखेका छाँै । जबसम्म कृषिमा उत्पादन बढाउन सक्दैनौँ, कृषि पर्यटनको विकास हुँदैन ।

दाङमा कृषि पर्यटनको विकास गर्न सबै स्थानिय तहले अब कृषि पर्यटनको विकास गर्न निर्वाहमुखी कृषिलाई आधुनिक करण गर्दै लानुपर्दछ । अहिले नगरपालिका क्षेत्रभित्र मात्र होइन गाउँमा सडक निर्माण एवं विस्तार भइसकेकाले मानव बस्ती विकासको क्रम बढेको छ । शहर र गाउँलाई सडक सञ्जालले जोडने क्रममा खेतीयोग्य जमिन मासिदै गएको छ । परम्परागत रूपमा रहेको बाटोघाटो, कुवा, प्राकृतिक हरियाली नष्ट गरी जथाभावी रूपमा खन्ने, डोजर चलाउने, भूमिगत पानीको मुहान थुन्ने, भत्काउनेजस्ता कार्य भएको छ । हरियाली डाँडापाखा डोजरकै कारण सुक्खा भएका छन् । पानीका स्रोत पनि सुक्दै जान थालेका छन् ।

कृषि पर्यटनको विकास बोल्दैमा हुने होइन । कृषि पर्यटनका लागि आवश्यक नीति, योजना, कार्यक्रम, रणनीति र भौतिक एवं मानवीय पुँजीको प्रवद्र्धन गर्नुपर्दछ । त्यसैले अब सबै स्थानीय तहले आफ्नो ठाउँमा के खेती गर्दा राम्रो उत्पादन हुन्छ । त्यसको पकेट एरिया बनाउनु पर्दछ । धान, मकै, तोरी, गहँु, मात्र होइन आयआर्जन हुन सक्ने सिउँडी प्रजातिको डूागन फ्रुट, एभोकार्डो, आँप, लिच्ची, केवा, केरा, कटहर, अब्बा, कागती, अमिलोजस्ता फलफूलको पकेट एरिया कहाँ बनाउने ? भन्ने योजना हुनुपर्दछ । पकेट एरिया बनाएर खेती गर्न सकियो भने गाउँमा पर्यटकहरू पुग्दछन ।

कृषकले लगाएको खेती पर्यटकहरूले अवलोकन गर्ने मात्र होइन पर्यटकहरूले आवश्यक परेको वस्तु खरिद गर्दछन् । गाउँघरमा पर्यटकहरूलाई आकर्षण गराउने माध्यम भनेको कृषि पर्यटन हो । ग्रामीण विकासको आधार पनि कृषि पर्यटन हो । कृषि पर्यटनले एकातिर कृषकलाई खाद्यान्न उत्पादन र पशुपालनमा आकर्षित गर्दछ भने अर्कोतर्फ ग्रामीण पर्यटकलाई कृषि प्रणाली र ग्रामीण जीवनशैलीको बारेमा पर्यटकहरूलाई अध्ययन अनुसन्धानमा सहयोग पु¥याउँछ ।

कृषि पर्यटनको बजारको खासै समस्या पनि छैन । उत्पादित वस्तुले सहज रूपमा बजार पाउन सक्दछ । कृषि पर्यटनको पकेट एरिया विकासले कृषि उत्पादनमा बृद्धि मात्र नभएर बजारसमेत प्रभाव पार्दछ । कृषिको लागि प्राविधिक विषय र सूचनाको समेत आदान प्रदान हुन्छ । कृषि पर्यटनको विकासले पर्यटन क्षेत्र विस्तार भई मौलिक संस्कृति र सामाजिक सद्भाव बढ्न सक्छ । कृषि पर्यटन बिकासले गाउँमै होमस्टेको विकास हुन्छ । ग्रामीण पर्यटकहरूलाई गाउँमा बस्न खान होमस्टेको सुविधा भएपछि पर्यटकको आकर्षण बढ्न जान्छ ।

पर्यटकको माग हुन थालेपछि मौलिक घरेलु वस्तुहरूको उत्पादन बढ्छ । चिनारी एवं चिनोको रूपमा प्रदान गरिने स्थानीय उत्पादनको उपहारले बजार विस्तार हुन्छ । यसबाट व्यक्ति र समुदायले फाइदा उठाउँछन् । अहिले दिन प्रतिदिन जीवनशैली रूपान्तरित भइरहेको छ । हप्ताको एकचोटी बिदा मनाउन घर बाहिर जाने संस्कारको विकास भइरहेको छ । हाम्रा स्कुल तथा कलेजले समेत आफ्ना विद्यार्थीलाई विविध भ्रमणका कार्यक्रम तयार गरेको पाइन्छ । सरकारी, गैरसरकारी संघ संस्थामा कार्यरत कर्मचारी विविध कार्यक्रम बनाएर घुमफिरमा निस्कने अहिले फेशनजस्तै बनेको छ जुन पर्यटनको क्षेत्रमा सकारात्मक पक्ष हो ।

अहिले शहर बजारमा जन्मे हुर्केका बालबालिकाहरू कृषिका कुरा थाहा हुन छाडेको छ । दूध कहाँ पाइन्छ भन्ने हो डेरीमा भन्ने अवस्थामा पुगेका छन् । सुन्तला, काफल खान्छन् तर त्यसको बोट कस्तो हुन्छ भन्ने कुरा धेरैलाई थाहा हुन्न । यो उदाहरण मात्र हो । कृषि पर्यटनले यस्ता कुराहरूलाई अवलोकनका माध्यमले थाहा दिलाउँछ । कृषि पर्यटनको क्षेत्रमा आफ्ना बालबालिकासँग गाउँमा स्थानीय ताजा र अर्गानिक खानेकुरा खादै एकरात बिताउँदाको अनुभव छुट्टै हुन्छ ।

अबको हाम्रो पहल भनेको घुमफिरमा निस्कने यी प्रत्येक पाइलालाई गाउँ–गाउँ र बस्ती– बस्तीमा पु¥याउन सक्नुपर्दछ । कलम र कम्प्युटरको किप्याडमा रमाउने शहरिया जीवन बिताउनेहरूलाई कृषि पर्यटनको गाउँमा जाँदा कृषकले हलो, कुटो, कोदालोले खेतबारीमा काम गरेको देख्न पाउछ । जुन कारणले उसलाई पनि आफ्नो करेसाबारीमा तरकारी फलाउने उत्सुकता जगाउछ ।

कृषकसँगै प्रत्यक्ष रूपमा कृषि कार्यमा संलग्न भएर गाउँघरको घुमघाम सबैलाई रमाइलो हुन्छ । शहरिया बालबालिकाका लागि आफ्नै आँखाकै अगाडि भैँसीको दुहेको, काठको ठेकीमा दही मोथेको, दहीबाट मही, नौनी उत्पादन प्रक्रिया हेर्दा रमाउँछन् । यो मात्र होइन कृषि पर्यटनले गाउँमा धेरै कुराको अध्ययन र अवलोकन गराउँछ । कृषि पर्यटक समाजमा प्रत्यक्ष सहभागी हुनाले सामाजिक सद्भाव बढ्छ । फर्म–स्टे, होम–स्टेले पर्यटकको आकर्षण बढ्दै गाउँमा जाने पर्यटनको संख्या बढ्छ । कृषिलाई पर्यटनसँग जोड्न सके कृषिप्रतिको नैराश्यता हराउँदै रूचि बढ्छ । ग्रामीण पर्यटकको संख्या बढ्दै कृषि उपजको बजारीकरणमा टेवा पुग्छ ।

अब प्रत्येक स्थानीय तहमा ठूला कृषि फार्महरूको सम्भाव्यता अध्ययन र माटोकोे गुणस्तर परीक्षण गरी नमूना सामूहिक कृषि फार्महरूको विकास गर्नुपर्दछ । यस्तो फार्ममा एउटा मात्र बाली वा तरकारी खेती गर्नुपर्दछ । यस्तै, जग्गाधनीले खेती नगर्दासम्म बाँझो जग्गामा सँधियारले स्वाभाविक रूपमा नगदे बाली, खेती गर्न सक्ने अधिकारको कानुन ल्याउन पर्दछ । बाँझो जग्गा आधुनिक कृषि गर्न चाहने उद्यमी, व्यवसायीलाई निश्चित अवधिका लागि लिजमा दिन सकिने कानुनी व्यवस्था पनि हुनुपर्दछ ।

अब गर्ने व्यवसायी कृषिमा अर्गानिक वस्तुको उत्पादन गर्न पर्दछ । कृषि पेसालाई मर्यादित र सम्मानित बनाउने र कृषिका लगानीकर्तालाई प्रोत्साहन तथा सम्मानको व्यवस्था स्थानीय सरकारबाट हुनुपर्दछ । आफ्नो जन्मस्थानमा कृषि पेसामा सम्मान प्रोत्साहन नपाएका कारण दिन प्रतिदिन युवा विदेश पलायन हुने विषयलाई रोक्न पनि कृषिमा आकर्षण र सम्मान दिन सक्नु पर्दछ । सहजरूपमा मल, बीउ, अनुदान, सुलभ ऋण प्राप्त हुने अवस्था भए कृषिमा लगानीकर्ता सुरक्षित र आकर्षित हुन्छन् । कृषि क्षेत्रलाई हरेक तहबाट अनिवार्य प्राथमिकतामा राख्नुपर्ने व्यवस्था सरकारले गर्नुपर्दछ ।

कृषि क्षेत्रको समस्या भूमि सरोकारसँग धेरै जोडिएको छ । भूउपयोग नीति र जग्गाको वैज्ञानिक वर्गीकरण गरी कृषियोग्य जमिनको खण्डीकरण रोकी जग्गा एकीकरण र क्षेत्रगत कृषि कार्यक्रम लागू गर्नुपर्दछ । कृषियोग्य जमिनमा रहेको सामन्ती भूस्वामित्वको अन्त्य गर्न जरूरी छ । अहिलेको अवस्थामा रहेको निजी स्वामित्वका जग्गाको अतिरिक्त सार्वजनिक जग्गा तथा सामुदायिक वन क्षेत्रमा समेत कृषि उपयोगिताका आधार खोज्नु पर्दछ ।

वैदेशिक रोजगारीबाट फर्किएका दक्ष युवाहरूको जमातलाई आफ्नो गाउँमा नै रोजगारीको अवसर सिर्जना गर्न, बसाइँसराई गरी सहर जानेहरूको जमातलाई पुनः फिर्ता गरी खेतीयोग्य जमिन पुनःस्थापित गरी गाउँघरमा नै अर्थतन्त्रको विकास गर्नको लागि सरकारले कृषि क्षेत्रमा नीतिगत उपायहरू अबलम्बन गर्नुपर्दछ ।

अर्को महत्वपूर्ण कुरा कृषिमा भएको लगानीको सुरक्षा हो । अहिले बेला बखत खडेरी, असिनाजस्ता मौसममा आएको प्रतिकूलता, रोगव्याधी, बाँदर, किरा आदिबाट हुने जोखिम तथा न्यून गुणस्तरको बीउबिजनका कारण खाद्यान्न, फलफूल तथा तरकारीको उत्पादनमा नोक्सानी पु¥याइरहेको छ । यसबाट कतिपय किसानको लगानी बर्सेनि खेर गएको छ ।

प्राकृतिक विपत्ति वा रोगजन्य कारणबाट हुने क्षतिबाट जोगाउन बाली तथा पशु बिमाको व्यवस्था गरिनुपर्दछ । औद्योगिक बिमाको व्यवस्था गर्ने हो भने व्यवसायी कृषि सुरक्षित बन्न सक्दछ । दाङमा कृषि पर्यटनको सम्भावना धेरै छ । कृषिलाई आधुनिकीकरण गर्न सक्ने हो भने कृषि पर्यटनको विकास हुन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here