तुलसीपुर, १२ असोज । तुलसीपुर–घोराही फोरलेन सडकखण्ड मर्मत सुरू गरिएको छ । साविक जस्तै गरी दुई लेनमा मात्रै सडक मर्मत हुने भएको छ । असार १८ गते सडक मर्मतको लागि ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो । असोज मसान्तसम्म साबिक दुई लेनमा सडक मर्मत तथा कालोपत्रेकबो काम सक्ने ठेकेदारसँग सम्झौता छ । त्यही अनुरूप पहिलो चरणमा तुलसीपुरको हात्तीखौवादेखि सेवार खोलासम्मको काम सुरू भएको हो ।
तुलसीपुरको हात्तीखौवादेखि सेवार खोलासम्मको १३ किलोमिटर सडक मर्मतको कामको जिम्मा रोल्पा स्वच्छन्द निर्माण सेवाले एक करोड १६ लाखमा लिएको छ । सडक डिभिजनले २४ किलोमिटर सडक मर्मत गर्न दुई खण्डमा विभाजन गरेको छ ।
सेवार खोलादेखि पूर्व कुइरेपानीसम्मको ११ किलोमिटर सडक मर्मतको जिम्मा रोल्पा निर्माण सेवाले एक करोड ४२ लाखमा काम सकारेको छ । उसले पनि काम सुरू गरिसकेको छ । कुल दुई करोड ५८ लाखमा सडक मर्मतको काम भइरहेको सडक डिभिजन कार्यालय दाङका डिभिजन प्रमुख गुरूप्रसाद अधिकारीले जानकारी दिए ।
यअसघि २०७५ पुस १३ गते तुलसीपुरको हात्तीखौवा चोकदेखि घोराही बबईको पुलसम्मको करिब २८ किलोमिटर सडक विस्तार गर्ने गरी भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रालि मुम्बईले कामको जिम्मा लिएको थियो । भारतीय एक्जिम बैंकको एक करोड २१ लाख ८२ हजार तीन सय अमेरिकी डलरमा सडक निर्माणको जिम्मा लिएको थियो ।
तर, त्यो भारतीय कम्पनी आफै काम गर्न भनेर कहिलै नेपाल आएन । उसले पेटी ठेकेदारका रूपमा अगाडि सारेका आठजना ठेकेदार कसैले काम गर्न सकेनन् । चारलेन सडक बनाउने नाममा सडक भत्काउन आठ करोड खर्च भइ सकेको थियो । आज त्यही सडक पाँच वर्ष पहिले जस्तै दुई लेनको रूपमा मर्मत गर्न थालिएको हो ।