दाङ, ११ असोज । दाङमा मोटरसाइकलमा आगो लगाउने एक महिला पक्राउ परेकी छन् । मोटरसाइकलमा आगो लगाएको आरोपमा घोराही उपमहानगर–पालिका वडा नम्बर १० सौडिकुलाकी ३२ वर्षीया मीना चौधरी पक्राउ परेकी हुन् ।
चौधरीलाई घोराही–१८ पुष्पाञ्जली टोलका विराज चौधरीको रा २ प १५९३ नम्बरको मोटरसाइकलमा आगो लगाएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले बताए । लेनदेनका विषयलाई लिएर चौधरीले मोटरसाइकलमा आगो लगाएको उनले बताए । आगो लगाए लगत्तै प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिए पनि मोटरसाइकल पूर्णरूपमा जलेर नष्ट भएको छ । घटनाको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।