कानुनले २० वर्ष नपुगी गरेको विवाहलाई अपराधको रूपमा लिने गरेको छ । तर समाजमा २० वर्षभन्दा कम उमेरमै बालविवाह हुने गरेको छ । बालविवाह रोक्नका लागि धेरै प्रयास भएका छन् । त्यसले केही कमी पनि भएका छन् । तर अझैपनि ग्रामीण भेगमा २० वर्ष नपुग्दै विवाह गर्ने गरेको देखिएको छ । बालविवाह गर्दा स्वास्थ्यमा जटिलादेखि सम्बन्ध विच्छेदका घटना हुने गरेका छन् । बालविवाह न्यूनीकरणमा परिवार, समाज र राज्यकै भूमिका अझै प्रभावकारी हुनुपर्ने हो, तर बालविवाहका घटना भइरहेका छन् । अस्पतालमा गर्भ जाँच गर्न आउनेमा २० वर्ष मुनिका पनि छन् । यसले पनि समाजमा बालविवाह भइरहेका छन् भन्ने देखाएको छ । बालविवाह रोक्नका लागि भएका प्रयास र यसका असरका बारेमा प्रदेश टुडे राष्ट्रिय दैनिकको नियमित स्तम्भ टुडे राउण्ड टेबलमा सरोकारवालाको विचारलाई समेटेका छौँ । – सम्पादक
जीत सागर जि.एम.
बालमैत्री नगरमा छैन बालविवाह
घोराही उपहानगरपालिका बालमैत्री उपमहानगरपालिका हो । विस २०७४ सालमा हामीहरू निर्वाचित भएर आएपछि घोराहीलाई बालमैत्री नगर बनाउन प्रक्रिया अघि बढाएका थियौँ । करिब चार वर्षपछि २०७८ सालमा नै घोराही उपमहानगरपालिका बालमैत्री उपमहानगरपालिका घोषणा भएको छ । बौलमैत्री उपमहानगरपालिका घोषणामा घोराही उपमहानगरपालिका देशभरीका ११ उपमहानगरपालिकामध्ये पहिलो उपमहानगरपालिका हो ।
बालमैत्री नगर घोषणा हुनका लागि पूरा गर्नुपर्ने सूचकहरू पूरा गरेका छौँ । अब त्यसलाई दिगोपन दिनका लागि हामीले प्रत्येक वर्ष गर्ने गरेका छौँ । यसवर्ष पनि हामीले बाल क्लवलगायतका विभिन्न गठन गरिएका संयन्त्रहरूलाई सक्रिय गराउने गरेका छौँ । ति संयन्त्रहरू नै बालविवाह न्यूनीकरण र रोकथामका लागि सक्रिय भएका छन् । परिवर्तन विस्तारै देखिने कुरा हो । हाम्रो समाजमा चुनौतीपूर्ण अवस्थामा छ । तर घोराहीमा उपमहानगरमा बालविवाह घोराहीमा लगभग छैन् । ग्रामीण बस्तीतिर कहिँ बालविवाह हुन लाग्यो भने पनि रोकिएको छ।
समाजमा कहिँकतै बालविवाह हुन थाले पनि तत्काल सूचना प्राप्त हुन्छ र आवश्यक कानुनी प्रक्रिया अघि बढ्ने गरेको छ । बालविवाह भएपछि बालमैत्री नगर हुन सक्दैन् । बालमैत्री नगरका लागि एउटा सूचक भनेको बालविवाह नहुने हो । बालमैत्री नगर घोषणा मात्र भएर हुँदैन । यसलाई निरन्तरता पनि दिनुपर्छ । यसका लागि हामी निरन्तर काम गरिरहेका छौँ । यसमा आम नागरिकमा चेतनाको स्तर बढ्न सकेपछि बालविवाहलाई शून्यमा झार्न सकिन्छ ।
बालविवाह हुन नदिनका लागि आवश्यक सचेतना फैलाउनेदेखि बाल क्लवलाई सक्रिय गराउन उपमहानगरपालिकाले बालबालिकाको सवालमा बजेटलाई पनि प्राथमिकतामा पार्ने गरेको छ । लगानी नगर्ने तर प्रतिफल खोज्ने हाम्रो बानी छ । यसकारण लगानी गरेपछि मात्रै प्रतिफल प्राप्त गर्न सकिन्छ भन्ने सोचका साथ बालबालिकाको सवालमा आवश्यक कार्यक्रम गर्न हरेक वर्ष बजेट विनियोजन हुने गरेको छ । सम्बन्धित शाखालाई सक्रिय बनाउने गरेका छौँ ।
सबै बालबालिका विद्यालय जाने अवस्थाको सिर्जना गर्न घोराही उपमहानगरपालिकाले प्रमुख भूमिका खेलिरेहको छ । ति बालबालिकालाई असल संस्कारको विकास गराउन अभिभावकमात्रै नभएर विद्यालय परिवारले पनि महत्वपूर्ण भूमिका खेल्दछ । बालविवाहले पार्ने असरबारे विद्यालयस्तरमै सचेतनाका कार्यक्रम हुने गरेका छन् ।
उपमहानगरपालिकाले पनि विभिन्न समयमा त्यस्ता सचेतनामूलक कार्यक्रम गर्ने गरेको छ । सचेतनामूलक कार्यक्रमले बालबालिकामा सकारात्मक परिवर्तन ल्याएको छ । बालविवाह हुनै नदिनका लागि परिवार र समाजको पनि महत्वपूर्ण भूमिका हुन्छ ।
समाजमा हुन लागेका बालविवाहलाई निरूत्साहित गर्नका लागि राज्यको निकायले मात्रै भन्दा पनि सम्बन्धित समाजले पनि भूमिका खेल्नुपर्दछ । यसका लागि हामीले विभिन्न समयमा हुने सचेतनामूलक कार्यक्रमबाट पनि स्पष्ट पारेका छौँ । कानुनले २० वर्ष नपुगी गरिने विवाहलाई अपराध मानेको छ । यसकारण पनि हामीले हाम्रा बालबालिकालाई यसबारेमा घरपरिवारदेखि विद्यालयस्तरमा आवश्यक सचेतना दिन सकेपछि परिवर्तनको लागि धेरै समय पर्खर्नुपदैन ।
सानै उमेरमा गरिने विवाहकै कारण समाजमा विभिन्न समस्या आउँछन् । समाजमा समस्या आउनु भनेकै समग्र देशकै उन्नती प्रगतिमा असर गर्ने हो । यसकारण पनि आम नागरिकमाझ बालविवाहका नकारात्मक असरहरू बुझाउन आवश्यक छ । यसमा जनप्रतिनिधिको भूमिका पनि महत्वपूर्ण हुन्छ । जनप्रतिनिधिले आ–आफ्नो वडामा बालविवाहका असरबारे सचेतना फैलाउँदा पनि बालविवाह हुँदैन् ।
घोराही उपमहानगरपालिका बालमैत्री नगर भएका कारण कुनै पनि ठाउँमा बालविवाह हुनु भनेको बालमैत्री नगरलाई चुनौती दिनु हो । यसकारण पनि बालविवाह रोक्नका लागि परिवार, समाज र सरोकारवाला सबैको भूमिका महत्वपूर्ण हुन्छ । समस्या आइसकेपछि भन्दा पनि आउनै नदिनका लागि सचेतना पुग्न आवश्यक छ ।
किशोरावस्थामा पाउने शिक्षाको कमी
बालविवाहलाई कानुनले नै अपराध मानेको छ । तर समाजमा बालविवाहका घटना कहिँकतै भएपनि हुने गरेका छन् । बालविवाहका असरहरू धेरै छन् । यसले समग्र देशलाई विकासको गतिमा असर गरिरहेको हुन्छ । २० वर्ष नपुग्दै गरिने विवाह नै बालविवाह भएकाले यसका नकारात्मक असरहरू परिरहेका छन् । सानो उमेरमा विवाह गर्दा आज समाजमा सम्बन्ध विच्छेदका घटना बढेका छन् । बालविवाहकै कारण स्वास्थ्यमा गम्भीर असर गरेको छ । छोरीबाट बुहारी हुनु र छोरोबाट श्रीमान् हुनुमा धेरै फरक छ ।
छोरी होस्, छोरा । जसले पनि सानै उमेरमा विवाह गर्दा पढाइमा समेत असर पर्छ । विहे गरेर पढ्ने भन्ने कुरा निकै परको हो । असम्भव नै भन्ने त होइन्, तर छोरीमात्रै भएर पढ्नु र बुहारी भइसकेपछि पढ्नुमा धेरै फरक छ । पढ्न नसकेपछि अघि बढ्न पनि सकिदैन् । अनि शिक्षा हासिल नगर्दा स्वयम् व्यक्तिलाई जीवन अगाडि बढाउन निकै समस्या पर्छ । यसले व्यक्तिलाई मात्रै नभएर देशलाई पनि क्षति पु¥याउँछ । पछिल्लो समय बाजा नै बजाएर गरिने बालविवाह धेरै नै कम भइसकेको छ ।
बुबाआमाले सानै उमेरमा विवाह गरिदिने चलन निकै कम भएको छ । कुनै समयमा छोरीलाई इज्जतसँग जोड्ने र सानै उमेरमा कसैसँग विवाह गरिदिएपछि मेरो इज्जत जोगिन्छ भन्ने सोच थियो । तर आज त्यो अवस्थाबाट हामी धेरै माथि उठिसकेका छौँ । भागी विवाहमा अलि बढी बालविवाह हुने गरेका छन् । बालविवाहले धेरै जोडीलाई अघि बढ्न दिएको छैन् । समाजलाई पढ्दा खेरी बालविवाहका असरहरू धेरै देखिएका छन् । बालविवाह रोक्नकै लागि सरकारले आवश्यक कानुन निर्माण गरेको छ । २० वर्ष नपुगेर विवाह गर्न पाइदैन । यदि विवाह गरेमा अपराध हुन्छ भन्ने कानुनमै व्यवस्था छ ।
तर यसको बुझाइ आम अभिभावक र बालबालिकामा पुग्न अलि बढी संघर्ष छ । सचेतना टोल–टोलसम्म पुग्न नसक्दा समाजमा बालविवाहका घटना भइरहने गरेका छन् । बालविवाहका घटना रोक्नका लागि धेरै प्रयास भएका छन् । यसका लागि तुलसीपुर उपमहानगरपालिकाले पनि थुप्रै काम गरिरहेको छ । उपमहानगरपालिकालाई नै बालमैत्री नगरका रूपमा लैजानका लागि विभिन्न अभियानहरू सञ्चालन हुने गरेका छन् । बालमैत्री नगर बनाउनका लागि बालविवाह रोक्नुपर्छ । बालविवाह रोक्नका लागि उपमहानगरपालिकाले हरेक वडामा पुगेर विवाह गराउने पुरोहितलाई पनि सचेतना दिने गरेको छ ।
तुलसीपुर उपमहानगरपालिकामा सञ्चालित ‘स्मार्ट छोरी’ कार्यक्रम पनि बालविवाह रोक्ने उपाय हो । स्मार्ट छोरी कार्यक्रमकै नारा ‘बिहेवारी बीस वर्ष पारी’ भन्ने राखिएको छ । यो कार्यक्रम २०७७ सालदेखि सञ्चालनमा आएको हो । कार्यक्रम शुरू भएको धेरै समय नभएकाले पनि यसको प्रभाव अझै देखिन नसकेको होला । यद्यपि समाजमा केही न केही सन्देश भने अवश्यक दिएको छ । २० वर्षभन्दा पहिला गरिने विवाहलाई अपराध मानिन्छ भन्ने कुराको सचेतना पुग्न थालेको छ । स्मार्ट छोरी कार्यक्रममै आवद्ध भएका छोरीहरूमा बढी प्रभाव देखिने छ । तर यसको प्रभाव देखिन समय अझै धेरै छ ।
प्रविधिको गलत प्रयोग, अशिक्षा, बेरोजगारीलगायतका कारण बालविवाह रोकिन सकेका छैनन् । अर्को कुरा किशोरावस्थामा केटाकेटी साथीको रूपमा हिड्ने कुरालाई सजिलै स्विकार गर्न सकेका छैनौँ । छोरी कोही केटासँग हिडेपछि त्यसलाई सकारात्मक ढंगले हेर्ने गरिएको छैन् । किशोरावस्थामा शरीरमा आउने परिवर्तनबारे हामीले बुझ्न सकिरहेका छैनौँ । किशोरावस्थामा पाउने शिक्षामा कमी हुँदा बालविवाहका घटना रोकिन नसकेको देखिन्छ ।
स्वास्थ्यमा जटिलता आउँछ
बालविवाह सामाजिक विकृति नै हो । सानै उमेरमा विवाह गर्दा स्वास्थ्यमा धेरै प्रकारका समस्या आउँछन् । बालविवाह गर्दा उमेर परिपक्व हुँदैन् । यसले गर्भावस्थामा हुँदा समस्या हुन्छ । कलिलै उमेरमा हुने बिहेले निम्त्याउने जटिलता थुप्रै छन् । बच्चालाई जन्म दिँदा बच्चा स्याहार्ने ज्ञानको पनि कमी हुन्छ । पाठेघरको मुखको क्यान्सर पछिल्लो समयमा धेरै महिलाको ज्यान लिने प्रमुख कारण बनिरहेको छ । सानै उमेरमा धेरै सन्तान जन्माउँदा र किशोरावस्थाको यौन सम्पर्कले विभिन्न रोगको जोखिम लगातार बढाइरहेको छ ।
सानै उमेरको बिहेले खासगरी गर्भावस्थामा जटिल स्वास्थ्य समस्या निम्त्याएको पाइएको छ । कलिलैमा विहे गरेपछि चाँडै यौन जीवनमा प्रवेश गर्ने, चाँडै गर्भवती हुने र आमा बन्ने दर बढेको छ । यही चलनले स्वास्थ्य जटिलता धेरै आइरहेको छ । कम उमेरमा यौन अंगहरू राम्ररी विकसित भइसकेका हुँदैनन् । यसले गर्दा गर्भावस्था र प्रश्रवमा धेरै समस्या आएको देखिएको छ ।
सरकारले ‘बिहेबारी बीस वर्षपारि’ भनेर अभियानै चलाए पनि उमेरै नपुगी विहे गर्ने सामाजिक विकृतिको रूपमा देखिएको छ । कलिलैमा विहे गर्दा सम्बन्ध टिकाउ नहुने, हुँदा पनि महिलामा स्वास्थ्य जटिलता आउने समस्या धेरै भेटिएको छ । गर्भावस्था आफैँमा एउटा जटिल अनि विशेष अवस्था हो । यस अवस्थामा एकातिर आमा बन्ने खुसी जोडिएको हुन्छ भने अर्कातिर महिलाको स्वास्थ्यमा गम्भीर र ज्यान जाने खतरासमेत रहन्छ । किशोरावस्थामा गर्भवती भएमा स्वाभाविक रूपमा गर्भका जटिलताहरू बढी आउँछन् ।
२० वर्षभन्दा कम उमेरमा बच्चा जन्माउँदा एकातिर मातृमृत्यु दर बढी हुन्छ भने अर्कातिर बच्चाको तौल कम हुने तथा मृत्युदर धेरै गुणाले बढी हुने गरेको छ । कम उमेरमा गर्भवती हुँदा रक्तअल्पता हुने, बच्चाको तौल कम हुने, गर्भको अवधि नपुग्दै (३७ हप्ताभन्दा अगाडि) बच्चा जन्मिने तथा गर्भवतीको रक्तचाप बढ्ने र त्यससम्बन्धी जटिलताहरू थपिने सम्भावना हुन्छ । गर्भको जटिलताले आमाको स्वास्थ्यमा मात्र होइन गर्भको बच्चामा पनि प्रतिकूल असर गर्छ । उमेर नपुगी हुने विवाहका अधिकांश घटनामा प्रेम सम्बन्ध मुख्य कारण देखिन्छ ।
यस्तै प्रविधिको विकास, बढ्दो शैक्षिक चेतना र बढ्दो खुलापनले कलिलै उमेरमा प्रेम सम्बन्ध स्थापित हुने र त्यही सम्बन्धले उमेरै नपुगी विवाहको रूप लिने गरेको छ । २० वर्ष मुनिको विहे गर्ने अधिकांश ग्रामीण भेगमा देखिन्छ । केहीमात्र शहरी क्षेत्रका हुन्छन् । हामीकहाँ आउने भनेको धेरै १६ वर्षदेखि माथिका हुन्छन् । त्यो भन्दा कम उमेरका आउँदैनन् । यसको अर्थ त्यसभन्दा कम उमेरमा विवाह कम देखिन्छ । कलिलैको विहेले स्वास्थ्यका अलावा सामाजिक र मानसिक समस्याहरू पनि धेरै निम्त्याइरहेको छ । यो क्रम घटाउन र समस्या बढ्न नदिन सामूहिक प्रयासको खाँचो छ ।
सबै जिम्मेवार बनौँ
१८ वर्ष नपुगेकोलाई बालबालिका भनिन्छ भने २० वर्ष नपुगी गरिने विवाहलाई अपराध हो । कानुनअनुसार २० वर्ष नपुगेर विवाह गर्ने र गराउनेलाई कारवाही हुने व्यवस्था छ । तर पनि समाजमा कानुन विपरीतका कार्यहरू अर्थात् कहिँकतै अझै पनि सानो उमेरमा हुने बालविवाह रोकिन सकेको छैन् । बालविवाह रोक्नु नै अहिलेको प्रमुख चुनौती छ । उजुरी नगर्दासम्म बालविवाह गरेको नै थाहा हुँदैन् । उजुरी गर्दा समाजमा फेरि अर्को किसिमको समस्या आउने डर हुन्छ ।
समाजकै मान्छेका विरूद्ध किन जाने भन्ने एउटा तप्का हुन्छ । जसले गर्दा बालविवाहजस्ता घटना समाजमा बाहिर आउने गरेको पाइदैन । बालविवाह रोक्नका लागि स्थानीय तहको पञ्जिकरण शाखाले विवाह दर्ता गराउँदा २० वर्ष नपुगेकाको विवाह दर्ता गर्दैन् । यसले केही भएपनि बालविवाह रोक्नका लागि भूमिका खेलिरहेको छ । तर सामाजिक घटना हेर्दा खेरी फेरि बालविवाह भएको देखिन्छ । प्रजनन् वा स्वास्थ्य सेवा लिदा स्वास्थ्यको दृष्टिकोणले जाँच गर्दा धेरै किशोरी २० वर्ष मुनिका देखिन्छन् ।
रिपोर्टहरूका अनुसार गर्भवतीको जाँच वा अन्य दृष्टिकोणले स्वास्थ्य जाँच गर्दा बालविवाह भएको कुरा पत्ता लाग्ने गरेको छ । तैपनि स्वास्थ्य सेवा रोकिने कुरा त हुँदैन । अर्को कुरा छोरी कसैसँग विवाहका लागि गइन् भने घरतिर फर्काएर ल्याउन धेरै कठिन हुने गर्दछ । त्यो भनेको हाम्रो सामाजिक परम्पराकै प्रमुख कारण हो । त्यस्तो अवस्थामा पनि बालविवाह रोक्न सकिएको छैन् ।
यावत सामाजिक समस्याको कारण बालविवाह हुने गरेको देखिएको छ । यद्यपि बालविवाह रोक्न घरपरिवारदेखि सरोकारवाला सबैको भूमिका उत्तिकै छ । बालविवाहका कारण हुने नकारात्मक असरबारे परिवारमा हामीले गरेका पनि हुँदैनौँ । अर्को कुरा प्रविधिको विकासले पनि बालविवाह रोक्न चुनौती देखिएको छ । बालविवाहको कारण मोबाइल हो भन्न सकिदैन । के मोबाइल बन्द गरेर बालविवाह हुन्छ त ? मोबाइलको सदुपयोग ग¥यौँ कि दुरूपयोग ग¥यौँ भन्ने हो । बालबालिकालाई मोबाइलको गलत प्रयोगबारे बुझाउन अभिभावक पनि जिम्मेवार बन्नुपर्छ ।
बालबालिकामा गरिने लगानी निकै कम छ । घरमा अभिभावक र विद्यालयमा शिक्षकले पनि बालबालिकालाई बालविवाहका असरहरूबारे बुझाउनुपर्छ । अनि राज्यले पनि बालविवाहको असरबारे आम बालबालिकामा पु¥याउनका लागि आवश्यक लगानी गर्नुपर्छ । बालबालिकामा आज जति लगानी हुन्छ, भोलि हामीले पाउने प्रतिफल त्यसमै निर्भर रहने हुन्छ । बालविवाहकै कारण स्वास्थ्यमा असर गर्नेदेखि सम्बन्ध विच्छेदसम्मका घटना हुने गरेको छ । यसले गर्दा बालविवाहको असर परिवार, समाज हुँदै समग्र देशमा पर्ने गरेको छ ।
नयाँ संविधान जारी भएपछि बनेका ऐन नियम, कानुन नराम्रा होइनन् । तिनलाई सक्रिय बनाउन सबै तहमा संयन्त्र बनिसकेका छैनन् । तर त्यसभित्र सहयोग गर्ने संयन्त्र नबन्दाखेरी काम गर्न समस्या छ । प्रत्येक स्थानीय तहमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा छ । तर उसलाई सहयोग गर्ने संयन्त्र कमजोर छ । ऐनले व्यवस्था गरेअनुसार सबै स्थानीय पालिकाले गराएको छैन् । प्रदेश सरकारमा पनि व्यवस्था छैनन् । बालबालिकाको क्षेत्रमा काम गर्नका लागि संयन्त्र बन्न सकेको छैन् ।
हामी एर्कामा जिम्मेवार बन्न सकेका छैनौँ । संघले स्थानीय सरकारलाई, स्थानीय सरकारले संघलाई भनेको अवस्था छ । एकले अर्कोलाई सहयोग र सहकार्य गर्न आवश्यक छ । अझ बढी स्थानीय तहलाई बालबालिकाका सवालहरू छन् । स्थानीय तहबाटै समाधान गर्न सकेपछि पनि धेरै कुरा समाधान हुन्छन् । बालविवाह गर्ने वातावरणको अन्त्य गर्नका लागि सबै जिम्मेवार बन्नुपर्छ । एकले अर्कोलाई सहयोग नगरीकन कुनै पनि सवालहरू समाधान गर्न समस्या हुन्छ ।