भालुवाङ, ९ असोज । दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले भ्रष्टाचारलाई नियन्त्रण गर्ने पहिलो जिम्मेवारी सम्बन्धित निकायको भएको बताएका छन् । सोमबार दाङको राप्ती गाउँपालिकाको सभाहल मसुरीयामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जले आयोजना गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनसम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रजिअ सुवेदीले सो कुरा बताएका हुन् ।
आयोगको सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख गणेश बहादुर अधिकारीको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख अतिथ्यतामा भएको अन्तरक्रियामा बोल्दै प्रजिअ सुवेदीले हरेक निकायले प्रभावकारी तथा पारदर्शी सेवा प्रवाह गर्र्नेे र जवाफदेही भएर शासन प्रशासन सञ्चालन गरेर समाजमा सुशासन कायम गर्ने प्रत्येक सरकारी र गैरसरकारी कार्यालयको मुख्य जिम्मेवारी रहेको बताए ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले स्थानीय सरकारको सुशासन प्रवद्र्धन गर्न यस प्रकारको अन्तरक्रिया कार्यक्रमले विशेष सहयोग पुग्ने बताउँदै सार्वजनिक पद धारण गरेका व्यक्तिहरू राष्ट्रप्रति जिम्मेवार भई नैतिक दायित्व बहन गर्दै सदैव सुशासन, पारदर्शीका साथै नियमको परिधिमा रही काम गर्नुपर्ने बताए ।
भ्रष्टाचारले मानिसको इज्जत, मान, प्रतिष्ठा गुम्नुको साथै राष्ट्रको लगानी दुरूपयोग हुने भएकोले सजग हुनुपर्ने अध्यक्ष विष्टको भनाइ छ । भ्रष्टाचार रोक्न सम्पूर्ण नागरिकहरू जिम्मेवार भएर आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने समेत उनले बताए । कार्यक्रममा सहभागिताहरूले आ–आफ्नो जिज्ञासा र गुनासो राख्दै अख्तियारलाई सुभावसमेत दिएका थिए । साथै सहभागीबाट उठेका विभिन्न प्रश्नहरूको जवाफ अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख गणेशबहादुर अधिकारीको दिएका थिए ।
त्यस्तै विषयवस्तु उपर प्रस्तुतिकरण कार्यालयका शाखा अधिकृत नारायण ढकालले गरेका थिए । कार्यक्रममा भ्रष्टाचारको अवधारणा, भ्रष्टाचारको कारण, भ्रष्टाचार कसूर ठहरिदा हुने सजाय, अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्य गर्ने शैली, भ्रष्टाचार सम्बन्धी विश्व र नेपालको अवस्था, भ्रष्टाचारको प्रवृत्ति, भ्रष्टाचार सम्बन्धी भ्रम र वास्तविकता लगायतका विषयमा छलफल चलाइएको थियो ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरी, प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर ओली लगायतले आ–आफ्नो सान्दर्भिक भनाइ राखेका थिए । यसैबीच राप्ती गाउँपालिकाले भर्खरै सरूवा भएर दाङ जिल्लामा आएका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीलाई स्वागत गर्नुका साथै परिचयात्मक कार्यक्रम समेत सम्पन्न गरेको छ ।
गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा भएको स्वागत तथा परिचयात्मक कार्यक्रमको सञ्चालन शिक्षा, युवा तथा खेलकुद शाखा विश्वास विकले गरेका थिए ।
अन्तरक्रिया कार्यक्रममा राप्ती गाउँपालिकाका जनप्रतिनिधिहरू, विषयगत शाखाका कर्मचारी, पालिकामा क्रियाशील राजनैतिक दलका प्रमुख, सामुदायिक वन, खानेपानी महासंघका प्रमुख, विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, उपभोक्ता समितिका पदाधिकारी, पत्रकारलगायत अन्य विभिन्न संघ संस्थाका प्रमुखहरूको सहभागिता रहेको थियो ।