
दाङ, ३० भदौ । दाङको राप्ती गाउँपालिकाले कर बुझाउन आउने करदाताहरूलाई रायो र मुलाको बीउ उपहार दिन सुरू गरेको छ । ‘जनताको कर जनताको घरमा’ भन्ने मूलनाराका साथ सो अभियान सञ्चालन गरिएको छ । अभियान अन्तर्गत भदौ २६ गते मंगलबारदेखि गाउँपालिका र नौवटै वडा कार्यालयबाट विभिन्न प्रकृतिका कर बुझाउन आउने करदाताहरूलाई ४० दिने मुला र रायोको बीउ उपहार दिन थालिएकोे छ ।
कर बुझाउँदा आउँदा आफूले रोजेको बीउ उपहार पाउँदा करदातासमेत खुसी देखिएका छन् । कर बुझाउन आलटाल गर्नेहरूलाई पनि यो अभियानले प्रोत्साहन गरेको छ । कर बुझाउँदा सिजन अनुसारको बीउ पाउँदा किसानहरूलाई अझ राहत मिलेको करदाताहरूको भनाइ रहेको छ । जनताको पनि कर तिर्ने दायित्व हो कर जम्मा भइसकेपछि फेरि जनताकै सेवा सुविधामा जोडिन आउने भएकोले ती कुरा जनतालाई बुझाउन पनि यो कार्यक्रम सञ्चालन गरेको शाखा प्रमुख सीमा भट्टले बताइन् ।
गाउँपालिकाको कार्यालयसँगै वडा कार्यालयमा पनि कर बुझाउने करदाताहरूलाई बीउको सही सदुपयोग हुने गरि सोधेर मात्र उपहार स्वरूप बीउ उपलब्ध गराइने गरेको र दुई दिनको अवधिमा १२/१५ जनाले कर बुझाएर बीउ उपहार लगेको शाखा प्रमुख भट्टले जानकारी दिइन् । यस आर्थिक वर्ष २०८०/८१ को कुल १ लाख ४० हजार बजेटबाट सो अभियानको सुरूवात गरिएको छ।