Tuesday, June 11, 2024
Homeविचारतीज पर्व र हाम्रो संस्कृति

तीज पर्व र हाम्रो संस्कृति

- Advertisement -spot_img

तीजको महत्व धार्मिक दृष्टिकोणले ठूलो छ । तीज भनेको नारीहरूको सौभाग्य र समृद्धिका निमित्त शिव र पार्वतीको उपासना र पूजा गर्ने ऐतिहासिक र सांस्कृतिक पर्व हो । प्रत्येक वर्षको भाद्रशुक्ल तृतीयाको दिन तीज पर्व पर्दछ । यसलाई हरितालिका तीज पनि भनिन्छ । धार्मिक परम्पराअनुसार हिमालय पर्वतकी छोरी पार्वतीको सानै उमेरदेखि महादेवसँग गहिरो प्रेम थियो । हिमालय पर्वतले विष्णुलाई छोरी कन्यादान दिन तयार भएको पार्वतीले थाहा पाएर उनी भागेर जंगल गईन् र महादेवको तपस्या गरिन् ।

यसकै परिणाम छोरीको पति रोज्ने चाहनालाई बाबु हिमालय पर्वतले स्विकार गर्नुप¥यो । यहि ऐतिहासिक कथाको आधारमा तीज मान्ने गरिन्छ । हाम्रोे परम्परामा बिहे भएर पराई घर गएपछि चेलीहरूलाई गरेका व्यवहार, भोग्नुपरेका दुःख, नन्द, आमाजू, देवर र सासूको बुहार्तन साथै जन्म दिएर आफ्नोे काखमा हुर्केकी छोरीलाई पराईको साथमा पठाउने आमासँग दिदीबहिनीहरू जम्मा भएर माइतीको आगनमा आफ्नो मनका पीडाहरू तीजको गीतमार्फत् व्यक्त गर्ने चाड हो ।

तीज पर्व कृषकहरूले बालीनाली रोपिसकेपछि फुर्सदको समयमा मनाइने पर्व हो । आपसी प्रेम बढाउने तीज पर्वले महिलाहरूको दुखेसो पोख्ने वातावरण सिर्जना गरिदिन्छ । माइतीबाट बाबु वा दाजुभाइ गएर छोरीचेलीलाई भेट्ने र सकेसम्म माइती लिएर फर्कने प्रचलन छ । जसले गर्दा माइती र चेलीको आपसी सम्बन्धलाई मजबुत बनाउँछ । विवाह भएर टाढा पुगेका दिदीबहिनीबीच भेट गराएर तीज पर्वले उनीहरूको मन हलुका पार्न र सुख, दुःखका कुराकानी गर्ने अवसरसमेत जुटाइदिन्छ ।

केही वर्षयतादेखि ब्रतको अघिल्लो दिन खाइने दरको स्वरूपमा परिवर्तन हुँदै गएको छ । कतिपय मध्यम वर्गीय घरमा सामाजिक संस्कार फेरिएका छन् । विवाह भएको पहिलो वर्ष छोरीको घरमा दर पठाउनुपर्ने चलन बढ्न थालेको छ । यसले माइती पक्षलाई छोरीका निम्ति थप आर्थिक भार बेहोर्नुपर्ने बाध्यता सिर्जना गरिदिएको छ । दर पठाउने क्रममा माइतीबाट छोरीको घरमा सम्धिनीलाई मात्र नभएर जेठानी, नन्द, आमाजूसमेतलाई गरगहना, पहिरन, जुत्ता, श्रृङ्गार सामग्री र धेरै किसिमका परिकार पठाउनुपर्ने चलनको थालनी भएको छ ।


हरेक पर्व र संस्कृतिसँग आर्थिक जोडिएको हुन्छ । तीज पनि आर्थिक कुराबाट अलग हुन सक्दैन । नेपाली सहर बजारमा फेसन, गरगहना र भोज भतेरको सन्दर्भ हेर्ने हो भने अहिले तीज सबैभन्दा महँगो पर्व भएको छ ।


मानिस जति आधुनिक भए पनि उसले पाएको संस्कार एवं संस्कृति छोड्न सक्दैन । हिन्दू समुदायले मनाउने तीज पर्वलाई अहिले अन्य जातिले पनि देखासिकी गरी मनाउन थालेको पाइन्छ । तीजलाई महिलाको रमाइलो पर्वका रूपमा समेत लिइने भएकाले युवतीहरू रमाउँछन् । परिवार, साथीभाइ जमघट, घुमघाम, नाचगान गर्ने तीज पर्वको अर्काे विशेषता पनि हो । तीजमा गीत संगीतको विशेष महत्व रहन्छ । महिलाहरू विद्युतीय उपकरण र साधन नहुँदा समूहमा भेला भई गीत गाउँथे भने अहिले रेडियो र टेलिभिजनमा आधुनिक शैलीका गीतमा नाच्ने गर्दछन् ।

पहिला तीजका गीतमा छोराछोरीबीचको विभेद, पीडा, सासूबुहारीको कचकच, दुःख, ईष्र्या आदि विषय समावेश हुन्थे तर अहिले तीज गीतका विषय पनि परिवर्तन भएका छन् । चुल्हो–चौको एवं घरधन्दाको व्यस्ततामै अल्झिएका अधिकांश महिला तीजमा मन खोलेर आफ्नो व्यथा पोख्छन् । अहिले टोल–टोलमा समूह बनाएर एक महिना अघिदेखि नाचगान र खानपिनका कार्यक्रम सञ्चालन गरिन्छन् । कतिपय संघसंस्थाले तीज प्रतियोगिता पनि आयोजना गर्छन् । यसले तीजको खास अर्थ र महत्वलाई मारेको मात्र छैन, संस्कार र संस्कृतियुक्त तीजलाई भड्किलो र उत्ताउलो बनाउँदै लगेको छ ।

हाम्रो सांस्कृतिक मान्यताहरू समाजमा संस्कृतिको रूपमा बचाउँदै लैजान सक्नुपर्दछ । तीज पर्वलाई विकृतितिर लैजानु हुँदैन । सुरूका दिनमा नारी संघर्षको प्रतिमूर्तिका रूपमा मानिदै आएको तीज पर्व अहिले आएर पार्वतीको त्याग, तपस्या र महत्वलाई बिर्सेर कथित सौभाग्यको रूपमा महँगा कपडा र गहनाहरू लगाएर प्रतिस्पर्धात्मक किसिमले भड्किलो रूपमा मनाउन थालिएको छ ।

यसले हाम्रोे समाजका मध्यमवर्गीय परिवारमा सिधै असर पर्ने गरेको छ । यसले एकातिर महिलाको आत्मधिकारको सवालसँग जोडिएको तीज पर्वलाई सामाजिक विकृतिको रूपमा विकास गर्दै लगेमा भोलिका दिनमा तीज पर्वले ठूलो समस्या नपर्ला भन्न सकिन्न । वर्षभरि भोगेका पीडा र दुःखहरूलाई गीतमार्फत् व्यक्त गर्ने पर्व हो तीज । यो पर्वमा आफ्ना दाजुभाइले दिदीबहिनीलाई तीजको उपलक्ष्यमा दर खुवाई नाचगान गर्ने गर्दछन । यसले दिदीबहिनी र दाजुभाइसँगको भावनात्मक सम्बन्धसँगै तीज पर्वको महत्व बढदै गएको अनुभव गर्न सकिन्छ ।

तीज पर्व नारीहरूको संघर्षको प्रतिक हो । यसको महत्वलाई बुझेर हाम्रो धर्म, संस्कार र संस्कृतिको मूल्य, मान्यता र तिनीहरूको मौलिकतालाई लोप हुन दिनु हुँदैन । तर तीज नजिकिदै जाँदा बजारमा मात्र होईन, गाउँघरतिर पनि रेडियो र टिभिमा तीज नामका गीत तथा भिडियो प्रशारण भैरहेका छन । टिभिमा देखिने तीजका गीतको भिडियो पनि परिवारसँगै बसेर हेर्न नसकिने खालको भएको छ । केही वर्ष पहिलेसम्म नारीका दुःख, पीडा, संघर्ष, अधिकार र स्वतन्त्रताको कथालाई भाकासहित तीजको नामका गीत सुन्न सकिन्थो । तर, अहिले भने त्यस्ता गीत सुन्नै पाइन्न । तीजको गीतका मौलिकता हराएको छ । तीज पर्व आफैमा ऐतिहासिक हो । यसको आफ्नै पहिचान छ ।

पश्चिमा संस्कृतिको प्रभाव र बढ्दो आधुनिकीकरणले महिलाले भोगेका बेदना र समस्यालाई अभिव्यक्त गर्ने माध्यम बनेको महिलाको तीज पर्व अहिले आधुनिक गीत र संगीतमा रमाउन थालेका छन् । तीज पर्व आउनुभन्दा दुई महिना अघिदेखि नै तीजका भाकाका गीत घन्कनु र दरखाने परम्परामा मांसहारी खाना खानुले तीजको मर्मको उपहास गरिएको छ । विगतका तीजमा दरको रूपमा शुद्ध शाहाकारी भोजन ग्रहण गरेर निरहार ब्रत बस्ने चलन थियो तर अहिले यो परम्परामा विकृति हुँदै गएको छ ।

महिलाले भोगेका पीडा, दुःख, बेदना पोख्ने माध्यमको रूपमा तीजको महिमा रहेको थियो । महिलाले घाँस, दाउरा गर्दाका पीडादेखि लिएर सासूले बुहारीमाथि र जेठानीले देउरानीमाथि हुने गरेको थिचोमिचोका घटनाहरू तीजका गीतहरू बन्दथे । तर आजभोलि कुनै पनि शहर बजार अनि गाउँघरतिर जानुहोस् तीज सुरू हुनुभन्दा अगाडिदेखि नै तडकभडक सुरू हुन्छ । पश्चिमेली संगीतमा छाडा संस्कृतिका तीजका गीत सुन्न पाइन्छ ।

पहिले जस्तो तीजका गीतमा आम समाजका घटेका घटना तथा महिलाका आफ्नै व्यथा अनि भगवानलाई पुकारेर उनकै बारेमा तीज गीत बनाएर गाउने प्रचलन हराउन थालेको छ । तीजलाई आजभोलि माया पिरतीका उरन्ठाउला गीत बनाएर आफ्नो संस्कृतिलाई विकृति बनाउन खोजिएको छ । चलिआएको परम्परालाई आधुनिक शैलीमा मनाउनु त कुनै नौलो होइन तर संस्कृतिमै दाग लाग्ने गरी परिवर्तन गर्नु राम्रो होइन । यसले हाम्रो समाजलाई कस्तो बनाउला ? समयमा नै सोच्न जरूरी छ ।

विगत केही वर्षयता आएर बढ्दो सहरीकरण चेतना र आम्दानीसँगै फुर्सदिला महिलाहरूको भड्किलो पहिरन, खानपान तथा नाचगानका दृश्य महिनैभरि देखिँदैछ । आर्थिक रूपले पडाडि परेका महिला वर्गलाई हीनता, खिन्नता र लोभ बढाइदिने अवसरका रूपमा तीज मनाइरहेका त छैनौं ? एक पटक सोच्ने गरौँ ! भड्किलो शैलीमा तीज मनाउनेले यतातिर सोच्ने बेला आएको छ । जसको कारण सामाजिक, सांस्कृतिक, शास्त्रीय पक्ष भने हराएर जान थालेको छ ।

अहिलेको तीज भनेको पूर्ण शरीरमा रातो वस्त्र, पहेंला (सुनका गहना, हरियो पोते, रंगीबिरंगी अन्य साधन किन्ने लगाउने र दर खाने–खुवाउने नाममा होडबाजी चल्न थालेको छ । घर–घरमा वा पार्टी प्यालेसमा वा होटलमा जमघट र खर्चिलो भोज आयोजनामा तीज पर्वको रूपमा हाम्रा महिला वर्ग रमाउन थालेका छन् । दर खान जाँदा आफूसँग नभए पनि अरूका गहना मागेर लगाउने, गहना नभएकाले तीजको भेटघाटमा जानै नचाहने स्थिति पैदा भएको छ ।

तीजकै लागि भनेर ऋण सापटी खोजेर पनि खर्चिलो र भड्किलो तरिकाले मनाउने, यसको सामाजिक सद्भाव र सांस्कृतिक रसलाई उपेक्षा गरेर उत्ताउला गीत र नाच आयोजना गर्नेक्रम बढेको छ । अर्कातिर समाजको बहुसंख्यक समूह गरिबीमा बाचिरहेका छन् र बहुसंख्यक महिलाहरू आर्थिक कारणबाट यो पर्वलाई मनाउन कठिन हुन थालेको छ ।

सांस्कृतिक दृष्टिकोण अनुसार तीज भनेको नारीहरूको सौभाग्य र समृद्धिका निम्ति शिव र पार्वतीको उपासना र पूजा गर्ने पर्व हो । सामाजिक रूपमा विवाह भएर टाढा गएकी चेलीलाई माइतमा ल्याएर दरका रूपमा मिठोमसिनो खान र राम्रो लाउन दिई पराई घरमा भएका अन्याय, अत्याचार तथा ज्यादतीलाई गीतमार्फत भण्डाफोर गर्ने संस्कृति बोकेको पर्व पनि तीज हो । महिलाहरूलाई घरको विभिन्न जिम्मेवारी र तनावबाट केही समयलाई भए पनि माइतीसँग समय बिताउने पर्वको रूप पनि हो ।

पार्वतीले शिवजी नै पतिका रूपमा पाउ भनी प्रार्थना गरेर ब्रत बसेको अनुकरण गर्नु भनेको सुन्नै नसकिने छाडा गीत गाएर तीजमा उफ्रिनु पर्छ भनेको होइन । नाच्नु, गाउनु आफैंमा संस्कृति र सभ्यताको प्रतिविम्ब हो र मनस्थिति उत्साही बनाउनु जीवनको आवश्यकता हो । हिजोआज सहरी क्षेत्रको तीज भड्किलो हुँदैछ । तीजको रमझममा पनि पश्चिमेली शैली मिसिँदै दर पाँचतारे होटलका खाना र बोत्तलमा सरेको छ । जुन कारणले तीज धेरै उत्ताउलो हुन थालेको र यसको मौलिकता हराउन थालेको छ ।

आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यताअनुसार महिलाहरू विवाहपश्चात् आफ्नो श्रीमानको साथमा उसको घरमा बसी बाँकी जीवन बिताउनु पर्ने हुन्छ । यसरी आफू जन्मेको घर, माता, पिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा तीज पर्वको गहन महत्व रहेको छ ।

महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न तीज पर्वको ठूलो भूमिका रहेको छ । तीजमा विवाहिता महिलाहरू आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै ब्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिता सुयोग्य वरको आशा राखी ब्रत बस्छन् । ब्रतको समयमा महिलाहरूले तीजको ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्रतकथा सुन्ने र बाह्मणहरूलाई दान दक्षिणा गर्ने चलन रहेको छ ।

तीजको ब्रत अन्य ब्रतभन्दा फरक ढंगले लिइन्छ । पहिलो दिन विशेष महत्वका साथ दर खाने गरिन्छ । दरमा खीर, ढकने वा सेलरोटी खाने गरिन्छ । तर आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा परिवर्तन आउँदै गएको छ । सामान्यतया दर मध्यरात १२ बजे खाने चलन थियो । भोलिपल्ट दिनभर पानीसम्म पनि नखाई बस्नुपर्ने भएकोले दर खाने दिन राती अबेरसम्म बसेर पेटभरी खाने प्रचलन बसेको हो । दोस्रो दिन तिथिअनुसार भाद्रशुक्ल तृतीयाको दिन हरितालिका तीजको ब्रत बसिन्छ ।

यस दिन पानीसम्म पनि नखाई ब्रत बस्नुपर्ने परम्परागत मान्यता रहेको छ । आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाहपश्चात् आफ्नो श्रीमानको घरमा बसी बाँकी जीवन बिताउनुपर्ने हुन्छ । महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ ।

समग्ररूपमा नेपाली समाज र अहिलेको पुस्ता देखासिकी र तडकभडकतर्फ उन्मुख हुन थालेको छ । यो कुराको प्रभाव अरू चाडपर्वभन्दा तीजमा धेरै देखिन्छ । हुने खानेले पुरानो लुगा र गहनाभन्दा तीज पर्वमा फरक लगाउनु पर्ने के बाध्यता छ ? अरूको नक्कल गर्नुपर्ने किन हुन्छ ? आवश्यकभन्दा धेरै भोज भतेर किन गर्नुपर्ने हुन्छ ? यी विषयमा हामीले ध्यान दिनु जरूरी छ । हरेक पर्व र संस्कृतिसँग आर्थिक जोडिएको हुन्छ । तीज पनि आर्थिक कुराबाट अलग हुन सक्दैन ।

नेपाली सहर बजारमा फेसन, गरगहना र भोज भतेरको सन्दर्भ हेर्ने हो भने अहिले तीज सबैभन्दा महँगो पर्व भएको छ ।
तीजमा विवाहिता महिलाहरू आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै ब्रत बसी नाचगान र मनोरञ्जन गर्दा आफ्नो स्वास्थ्यलाई समेत ख्याल राख्न जरूरी छ । तीजको ब्रत बस्दा कतिपय महिलाहरू बिरामी हुने र समयमा उपचार पाउन नसक्दा समस्या पैदा हुने पनि गर्दछ । त्यसैले भोको पेट बस्न नहुने महिलाहरूले यो ब्रत लिनुभन्दा पहिले आफ्नो स्वास्थ्यको बारेमा ख्याल राखौँ । महान तीज पर्व मनाऔं । यही मेरो शुभकामना छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here