- Advertisement -spot_img
Friday, September 29, 2023
Homeसमाजअट्वारी, अग्रासन र माइतीको सम्बन्ध

अट्वारी, अग्रासन र माइतीको सम्बन्ध

- Advertisement -spot_img
थारू समुदायको दाजुभाइ र दिदीबहिनीको माया, प्रेम, स्नेह, भातृत्व अनि सद्भावको पर्व अट्वारी हो । थारूहरूको इतिहास कोट्याउने हो भने पौराणिक मान्यतानुसार हरेक वर्ष भदौ महिनाको पहिलो जुनेली (अजर्या) रातको पहिलो आइतबार अट्वारी मनाउने गरिन्छ भन्ने मान्यता रहेको छ तर यसमा एकमत भने पाइदैन । भदौ महिनाको जुनेली रात जहिले पनि पर्न सक्छ, भदौको पहिलो, दोस्रो, तेस्रो तथा चौथो जुन आइतबार पनि पर्न सक्छ भन्छन् थारू बुद्धिजीवीहरूले ।
कसैकोे कुशे औँशीको पछि आउने पहिलो आइतबार अट्वारी मनाइन्छ भन्ने मत पाइन्छ भने कसैको तीज अगाडिको आइतबार, कसैको तीज पछाडिको आइतबार भन्ने  अट्वारीको बारेमा फरक–फरक मत पाइन्छ । यही मतका कारण भोलिका दिनमा हाम्रो मौलिक चाडपर्वहरू यस्तै–यस्तै कारण हराएर जान नसक्ला भन्न सकिदैँन, त्यसैले खोज अनुसन्धान, सबैको छलफल, सहमतिबाट यसमा एकमत ल्याउन आवश्यक देखिन्छ । परापूर्वकालदेखि नै थारूहरूले अट्वारी कहिले मनाएका हुन् यस बारेमा जानकारी नभएकाले यस्तो देखिएको हो भन्ने थारू बुद्धिजीवीहरूको मत पनि पाइन्छ ।
थारू समुदायको हरेक चाडपर्वमा सालको पात या त मालुको पात हुनै पर्ने परम्परागत मान्यता भनौँ या चालचलन रहि आएको छ । अट्वारीको लागि पहिले पहिले ढिकीमा कुटेको चोखो पीठो बनाइन्थ्यो भने अब समय परिवर्तनसँगै मिलमा पिसाएको पीठो हुन्छ । जुन चोखो रूपमा बनाइएको हुन्छ ।
यस्तै चोखो तोरीको तेल, चोखो पात, रोटी पकाउनलाई चोखो चुल्हो पनि चाहिन्छ । यी सबै चीजको तयारी अट्वारी आउँदासम्म गरिन्छ । अट्वारीको अघिल्लो रात घरका सबै दाजुभाइ बसेर दर खाने गर्दछन् । जुन दरको रूपमा खाने भात, तरकारी पनि चोखो रूपमा पकाएर खाइन्छ । विशेषगरेर अट्वारीलाई दुई दिनसम्म धुमधामका साथ मनाइन्छ ।


दाजुभाइले दिदीबहिनीलाई दिने कोसेलीले सम्बन्ध प्रगाढ बनाउने गर्छ । जुन कोसेलीलाई थारू भाषामा अग्रासन भनिन्छ । अग्रासन विवाहित वा अविवाहित दुवैले आफ्ना दिदीबहिनीका लागि छुट्याउने गरिन्छ ।


अट्वारीको पहिलो दिन 

अट्वारीको पहिलो दिनमा थारू समुदायका पुरूषहरू मात्रै ब्रत बसेका हुन्छन् । यस दिन ब्रत बसेका पुरूषहरूले दिनको २/३ बजेतिर घरमा रोटी पकाउने तयारी गर्छन् । यस दिनमा भान्साकोठामा नभए बैठक कोठामा रोटी पकाउने चलन पहिलेदेखि नै छ । अट्वारीको रोटी पकाउने आगो पनि चाखो हुनुपर्छ भन्ने थारू समुदायको परम्परागत मान्यता छ । त्यसअनुसार यस दिनमा गाउँको अगुवा तथा महटवाको घरमा गन्यारीमा आगो उठाउने चलन छ । महटवाहरूको घरमा आगो उठाइसकेपछि त्यही आगो गाउँका सबैले ल्याउने र बैठक कोठामा गोबरले लिपेर चोखो बनाई रोटी पकाउने गरिन्छ ।
जंगलमा पाइने अङ्ग्यारी नामको एउटा काठ हुन्छ त्यही काठबाट कुनै सलाई तथा लाइटर विना नै आगो बालिन्छ । त्यही काठको माध्यमबाट बालिने आगोलाई थारूहरूले गन्यारीमा आगो उठाउने भनिन्छ । यसरी उठाएको आगो चोखो हुन्छ भन्ने मान्यता थारू समुदायमा छ । रोटी पकाउने ठाउँ गोबरले लिपेर चोखो बनाइएको हुन्छ । पुरूषहरू नुहाईधुहाई गरी आगो बालीसकेपछि चामलको पीठोको गोलो आकारको रोटी ब्रत बसेका पुरूषहरूले नै पकाउँछन् जसलाई थारू भाषामा ठोप्वा रोटी भनिन्छ । जुन रोटी चामलको पीठो र गहुँको पिठोबाट बनाइएको हुन्छ ।
सुरूमा पकाएको रोटी  प्रकृतिपूजक थारू समुदाय भएकाले अग्यारी बनाउने छुट्याएर राखिन्छ । जुन रोटीलाई नफर्काई एकतर्फि मात्रै पकाइन्छ । यसरी रोटी पकाउनुको पनि थारू समुदायमा फरक खालको  विश्वास छ । अट्वारी पर्व थारू समुदायले विशेषगरी पाँच पाण्डवमध्ये भीमको सम्झनामा मनाउँछन् । भीम अट्वारीको ब्रत बसेको बेला रोटी पकाउँदै गरेको समयमा रोटी पकाउँदा पकाउँदै  नदीमा नुहाउन गएको बेला माछा देख्छन् र माछा मार्न समय लाग्ने हुनाले धेरै समयपछि घर फर्किदा रोटी एकातिरबाट पाकिसकेको हुन्छ र घरमा भएका अरू सबै सदस्यले रोटी फर्काउँदा पनि फर्काउन नसकिएको र पाकिरहेको भाँडाको तेलबाट निकाल्न पनि नसकिएको अनि अन्तिममा भीम नै आएर रोटी निकालेको हुनाले पहिलो रोटी एकातिरबाट मात्रै पकाउने र उनकै लागि छुट्याउने गरेको थारू बुद्धिजीवीहरूको भनाइ  पाइन्छ ।
रोटी पकाउँदा आगोलाई मान्छेले आगो निभे पनि मुखले फुक्नु पनि हुँदैन भन्ने विश्वास छ । पातले नै हम्केर आगो बाल्ने गर्दछन् । पूजाको लागि बनाईको रोटी सबै ब्रत बसेका पुरूषहरूले नै पकाउँछन् । रोटी पकाई सकेपछि साँझ सबै ब्रत बसेका पुरूषहरू गोबरले लिपेको ठाउँमा बस्छन् । बीचमा बल्दै गरेको दाउराको आगो (अग्यारी), दुनामा लौनी लौनी नभए तोरीको तेल, लोटामा पानी राख्छन् । हरियो पातको टपरीमा रोटी, काँक्रा, केरा, स्याउ, अम्बालगायत अन्य फलफूल र दही, राखिन्छ ।
तालु सबैले आ–आफ्नो टपरीबाट सबै खानेकुरा आफ्नो दुना टपरीबाट अर्को टपरीमा खाने कुरा अलि–अलि निकालेर राख्छन् । त्यसपछि अग्नि देवतालाई चढाउँछन् । ब्रतालुहरूले आफूले खानुभन्दा पहिला निकालेको खानेकुरालाई थारू भाषामा ‘अग्रासन’ भनिन्छ । अग्रासन छुट्याइ सकेर परिवारका सबैजना मिलेर रमाइलो गर्दै खाने गर्दछन् । खाई सकेपछि रातभरि रोटी पकाउँछन् । आफ्ना छोरी चेली सबैको घरमा अग्रासन दिन जानु पर्ने हुनाले सबैतिर दिन पुग्ने गरी परिवारका सबैजना मिलेर रोटी पकाउँछन् । रोटी पकाएको आगो रातभर निभ्न दिनुहुँदैन भन्ने मान्यता पनि थारू समुदायमा छ । आगो निभ्न नदिनका लागि रातभरी धेरै दाउरा बालिरहनुपर्छ । त्यही चुल्होमा दोस्रो दिन बिहान भात तरकारी पकाइन्छ ।

अट्वारीको दोस्रो दिन 

अट्वारीको दोस्रो दिन बिहानै नुहाईधुवाई गरेर ब्रतालु पुरूषहरू  खाना पकाउन थाल्छन् । खाने खानाका लागि तीन, पाँच अथवा सात प्रकारको तरकारी पकाइन्छ  । पवैको साग, सिल्टुङ (एक प्रकारको गेडा), पाप्रो, चिचिण्डो, माछा अनिवार्य हुनुपर्छ भन्ने थारू बुद्धिजीवीहरू बताउँछन् । खाना पकाइसकेपछि सबै ब्रतालुहरू नुहाएर लिपेको चोखो ठाउँमा बस्छन् । आ–आफ्नो टपरी र दुनाबाट केही भाग आफूले खानुभन्दा पहिले आफ्नो भागबाट केही भाग निकालेर छुट्टै दुना टपरीमा छुट्याएर राख्छन् र अलि–अलि खाना झिकेर अग्निलाई चढाउँछन् । त्यसपछि आफूले खान्छन् ।
साँझ निकालिएको खानेकुरा र बिहानको खाना ‘अग्रासन’ आफ्ना दिदीबहिनीहरूलाई दिन जान्छन् । यस दिनमा थारू समुदायमा माछा मासु (मांसहारी) भन्दा सागपातको (साकाहारीको) महत्व बढी हुन्छ । को कहाँ कसको घरमा दिन जाने भन्ने निर्णय अघिल्लो दिन नै भइसकेको हुन्छ । सोहीअनुसार सबै दाजुभाइहरू दिदीबहिनीको घरमा अग्रासन दिन निस्किन्छन् । अग्रासन दिन दाजुभाइहरू जान नसक्ने अवस्था भएपनि घरको दिदीबहिनी तथा अन्य जो व्यक्ति पनि दिन जान सकिन्छ ।

अग्रासन र माइती पक्षको सम्बन्ध

यसरी भीमको पूजा गरी सकेर अग्रासन छुट्याइ सकेपछि अविवाहित दिदीबिहिनीले घरको दाजुभाइले छुट्याएको खाने र विवाहितलाई आफ्नो दाजुभाइले घरमै दिन जाने गर्दछन् । आफ्नै दिदीबहिनी नहुनेले नजिकको नाता पर्ने दिदीबहिनीलाई दिने गरिन्छ । उता चेलीबेटीहरू अग्रासन आउने दिन खुशी हुन्छन् । माइतीबाट दिन आउने अग्रासनको प्रतीक्षामा बसेर खाना पनि नखाई बस्छन् । कतिखेर मेरो माइतीबाट खानेकुरा आउला र म खाउँला भनेर प्रतीक्षा गरिरहेका हुन्छन् ।
कुनै कारणबस अग्रासन नपाएमा दिदीबहिनीहरू मनको उदासी र दुःख मान्दै बसेका हुन्छन् ।
माइतीले आफूलाई टाढा सम्झेको महसुस पनि गर्दछन् । त्यसैले अग्रासनले माइतीको माया, प्रेम र सद्भावलाई स्पष्ट रूपमा दर्साउँछ । यति मात्र होइन यस पर्वलाई दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्धलाई प्रगाढ बनाउँछ ।  दाजुभाइले दिदीबहिनीलाई दिने कोसेलीले सम्बन्ध प्रगाढ बनाउने गर्छ । जुन कोसेलीलाई थारू भाषामा अग्रासन भनिन्छ । अग्रासन विवाहित वा अविवाहित दुवैले आफ्ना दिदीबहिनीका लागि छुट्याउने गरिन्छ ।
अग्रासनले  भावनात्मक सम्बन्धका प्रतिक मात्र नभई दाजुभाइ दिदीबहिनीलगायत पारिवारिक सम्बन्धलाई नै सुमधुर र आत्मीयता कायम गरेको हुन्छ । त्यसैले थारूहरू आफ्नो मौलिक पहिचान, संस्कृति र परम्परालाई जगेर्ना गर्न एकआपसमा सहकार्य र सहअस्तित्व हुन जरूरी मानिन्छ । विस्तारै अग्रासन दिने चलन थारू समुदायमा हराउँदै गएको छ ।
जसले गर्दा दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्धको दुरी त टाढा हुने नै भयो, यसले समग्र थारू समुदायको पहिचानमा नै ठेस पुग्ने देखिन्छ । त्यसैले जे जस्तो भए पनि हामीले अग्रासन दिने चलनलाई लोप हुन दिनुहुँदैन । युवा पुस्ताले नै यसको खोजी नीति गर्न र अग्रासनलाई निरन्तरता दिन आवश्यक छ ।
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here