Saturday, July 20, 2024
Homeसमाजबाल दिवसमा विविध कार्यक्रम

बाल दिवसमा विविध कार्यक्रम

- Advertisement -spot_img
दाङ, ३० भदौ । दाङसहित देशभर शुक्रबार ५९औँ राष्ट्रिय बाल दिवस मनाइएको छ । ‘बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । विसं २०२१ भदौ ४ गतेदेखि मनाउन सुरू गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालमा भदौ २९ गतेका दिन मनाउन थालिएको हो ।
नेपालमा बाल दिवस रत्नराज्यलक्ष्मी देवी शाहले आफ्नो जन्मदिन पारी २०२१ भदौ ४ गते नेपाल बाल सङ्गठन (बाल मन्दिर) स्थापना गरी अनाथ, टुहुरा बालबालिका संरक्षणको थालनी गरेको दिनलाई राष्ट्रिय बाल दिवस घोषणा गरी नियमित रूपमा मनाउन थालिएको हो ।
सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसंघको महासभाबाट बालअधिकारसम्बन्धी महासन्धि पारित भयो । पछि यसलाई नेपालले सन् १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरेको दिनको सन्दर्भ पारेर बाल दिवस मनाउन थालिएको हो । सोहीअनुरूप नेपालले राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गते मनाउन थालेको छ ।

संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरी बाल बचाउ, बाल संरक्षण, बालविकास र बाल सहभागिताजस्ता विषय समेटी सर्वाङ्गीण विकासको प्रत्याभूत गरेको छ । संयुक्त राष्ट्रसंघीय बालअधिकारसम्बन्धी महासन्धि, १९८९ तथा अन्य बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिमा गरेको प्रतिबद्धताअनुरूप सरकारले बालअधिकारसम्बन्धी नीति तथा कानुन तर्जुमा गरी कार्यान्वयन गर्दै आएको छ ।


बाल दिवसमा चित्रकला

तुलसीपुर, ३० भदौ । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराका साथ राष्ट्रिय बाल दिवसको अवसरमा नेसनल प्याब्सन, दाङले ‘बाल अधिकार’ विषयक जिल्ला स्तरीय चित्रकला प्रतियोगिता डिभाईन टेम्पल एकेडमीमा गरेको छ ।
नेसनल प्याब्सन केन्द्रीय सदस्य प्रकाश कुमार शर्माको प्रमुख आतिथ्यता एवं केन्द्रीय सदस्य भिम बहादुर बुढाथोकीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रम डिभाईन टेम्पल एकेडमीमा भएको हो । प्रतियोगितामा डिभाईन टेम्पल एकेडेमी कक्षा ९ मा अध्ययनरत छात्रा सची शाह प्रथम, बाल सहारा इङ्लिस बोर्डिङ स्कुल कक्षा १० मा अध्ययनरत छात्रा उषा बुढाथोकी द्वितीय, राप्ती बाल एकेडमीमा अध्ययनरत छात्रा दिपशिखा नाथ तृतीय र ज्ञानज्योती सेकेन्डरी स्कुल कक्षा ७ मा अध्ययनरत छात्र संस्कार भट्टराई सान्त्वना भएका थिए ।

प्रतियोगितामा निर्मला गौतम र सन्दिप चौधरीले निर्णायकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रमको अध्यक्षता नेसनल प्याब्सन, दाङका अध्यक्ष भोजराज न्यौपानेले गरेका थिए । जिल्ला सदस्य फत्ते बहादुर खड्काको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव सालिकराम कार्कीले गरेका थिए ।


हाम्रो पहुँचमा विविध कार्यक्रम

तुलसीपुर, ३० भदौ । दाङको तुलसीपुरमा रहेको हाम्रो पहुँच माध्यमिक विद्यालयलले शुक्रबार विभिन्न कार्यक्रम गरी ५९औँ राष्ट्रिय बाल दिवस मनाएको छ । विद्यालयले ‘बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ शुक्रबार ५९औँ राष्ट्रिय बाल दिवस मनाएको हो ।
त्यस अवसरमा हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका सल्लाहाकार तथा विद्यालय सञ्चालन उपसमितिका संयोजक भरत भण्डारीले संविधानमा उल्लेखित बालअधिकार व्यवहारमा पनि लागू हुनुपर्ने बताए । उनले संविधानले बालबालिकाको मौलिक हकका रूपमा व्यवस्था गरे पनि कयौँ बालबालिकाहरू संरक्षणबिहीन रहेको बताए । यसतर्फ तीनै तहका सरकारले चासो दिनुपर्नेमा जोड दिए ।

यस्तै विद्यालले दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता, कविता, बादविवाद, कुर्सी दौड, तातो आलु, हिसाव दौड प्रतियोगिता गरेको छ । बाल दिवसको अवसरमा नाटक, गीत र विभिन्न नृत्य पनि प्रस्तुत गरिएको विद्यालयले जनाएको छ । विद्यालयका सहायक प्रधानाध्यापक शिव पुनको अध्यक्षतामा कार्यक्रम भएको हो । कल्याणकारी अधिकृत तिलकराम कालाथोकीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण शिक्षक मनिषा विकले गरेकी थिइन् ।


राप्तीमा हाजिरीजवाफ

भालुवाङ ३० भदौ । दाङको राप्ती गाउँपालिकामा ५९औं राष्ट्रिय बाल दिवस कार्यक्रम सम्पन्न भएको छ । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूलनाराका साथ राप्ती गाउँपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको सहयोगमा पालिका स्तरीय बाल सञ्जाल तथा किशोरी सञ्जालको संयुक्त आयोजनामा बाल दिवस कार्यक्रम भएको हो । दिवसका अवसरमा हाजिरीजवाफ प्रतियोगिता भएको छ ।
सातवटा बाल क्लवले भाग लिएको प्रतियोगितामा ४ नम्बर वडा स्तरीय बाल क्लव प्रथम, ६ नम्बर वडा स्तरीय बाल क्लव द्वितीय र ५ नम्बर वडा स्तरीय बाल क्लव तृतीय भएका छन् । विजेताहरूलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ ।
किशोरी सञ्जालकी अध्यक्ष  पूजा कुवरको अध्यक्षता एवं राप्ती गाउँपालिकाका प्रवक्ता तथा २ नम्बर वडा अध्यक्ष पहलवान चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै वडा अध्यक्ष चौधरीले बालबालिकाको क्षेत्रमा लगानी गरे त्यसबाट राम्रो प्रतिफल आउने बताए ।
बालबालिका भनेका भविष्यका कर्णधार भएकाले बालबालिकालाई सिजर्जनात्मक कार्यमा लगाउन जरूरी रहेको बताए । सो अवसरमा राप्ती गाउँपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी जीवनकुमारी जिसी, देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्तालगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । बाल सञ्जालका सचिव लक्ष्मण चौधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन बाल सञ्जालका अध्यक्ष ताराप्रसाद शर्माले गरेका थिए ।
यसैबीच दिवसका अवसरमा सर्वहित बचत तथा ऋण सहकारी संस्था राप्ती गाउँपालिका ४ मौरीघाटले कुर्सी दौड प्रतियोगिताको आयोजना गरी ५९औं राष्ट्रिय बाल दिवस मनाएको छ । संस्थाद्वारा गठित बाल समूहका भाइबहिनीहरूलाई सहभागी गराएर दिवस मनाएको संस्थाका व्यवस्थापक शिशिर चौधरीले बताए ।

कुर्सी दौड प्रतियोगितामा नमुना बाल समूहबाट अनमोल गिरी प्रथम, सुन्दरपुर बाल समूहबाट यमस खत्री द्वितीय, उच्च बाल समूहबाट निरू चौधरी तृतीय र सर्वउत्तम बाल समूहबाट शिला चौधरी सान्त्वना स्थान हासिल गरेका थिए । संस्थाका अध्यक्ष जागेन्द्र चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक शिशिर चौधरीले गरेका थिए ।


राजविद्यामा बाल दिवस  

दाङ, ३० भदौ । दाङको घोराहीस्थित राजविद्या पाठशालाले एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय बाल दिवस मनाएको छ । ५९औँ राष्ट्रिय बाल दिवसको अवसरमा विद्यालयले एक कार्यक्रमको आयोजना गरी बाल दिवस मनाएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल बाल सङ्गठन दाङका सभापति विनोद केसीले बालबालिकालाई किताबी पढाइसँगै व्यवहारिक सीप पनि सिकाउनुपर्नेमा जोड दिएका थिए । राजविद्या पाठशालाले पढाइसँगै व्यवहारिक सीपलाई जोड दिएको छ । विद्यार्थीहरूले अतिरिक्त क्रियाकलापमा  देखाएको प्रस्तुति यसलाई प्रस्ट पारेको छ । उनले थपे, ‘मेरो बच्चाबच्चीले कति पढेभन्दा पनि कति सिके रु भन्ने सोच अभिभावकले राख्न आवश्यक छ ।’
‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ मनाइएको बाल दिवस कार्यक्रममा बालबालिकाले विभिन्न प्रस्तुति राखेका थिए । बालबालिकासँग सम्बन्धित ‘कालीकी छोरी’ शीर्षक को लघु नाटक विद्यार्थीहरूले प्रदर्शन गरेका थिए । साथै ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ शीर्षकमा विद्यार्थीहरूले आफ्नो विचार प्रस्तुत गरेका थिए ।
वक्तृत्वकला कार्यक्रममा अस्मिन शाह र बेन्जिला वली प्रथम, अनुष रावत द्वितीय र भविष्का केसी तृतीय भएका थिए ।
कार्यक्रममा विद्यार्थीहरूले विभिन्न नृत्यसँगै योगा र तेक्वान्दो पनि प्रस्तुत गरेका थिए । कार्यक्रममा नयाँ शैक्षिक सत्र प्रारम्भ भएपश्चात् विद्यार्थीहरूले अतिरिक्त क्रियाकलापमा प्राप्त गरेका उपलब्धिका मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
साथै विद्यालयले अभिभावक, शिक्षक तथा कर्मचारीका बीच तीज मिलन तथा दर कार्यक्रम पनि सम्पन्न गरेको छ । विद्यालयका प्रिन्सिपल टीकाजंग विकेको अध्यक्षतामा सम्पन्न कार्यक्रम विद्यालयका डाइरेक्टर गणेश केसीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण छात्राद्वय सामना बस्नेत र फियोना पुनले गरेका थिए ।
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here