दाङ, ३० भदौ । तुलसीपुर–७ मा रहेको माध्यमिक विद्यालय कालाखोलामा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूलाई स्वागत गरिएको छ । विद्यालयले शुक्रबार एक कार्यक्रमको आयोजना गरी कक्षा ११ का विद्यार्थीहरूलाई स्वागत गरेको हो ।
विद्यालयले बाल दिवसको अवसरमा कार्यक्रम पनि गरेको छ । कार्यक्रममा तुलसीपुर–७ का वडा अध्यक्ष राम बहादुर जिसीले सम्पूर्ण शिक्षकहरूको मिहिनेतले छिमेकी जिल्लाबाट पनि विद्यार्थीहरू पढ्न आउने गरेको बताए । उनले विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउनको लागि शिक्षकहरूलाई सुशासनप्रति प्रतिवद्ध रहन आग्रह गरे ।
शिक्षा क्षेत्रको सुधारका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताउदै उनले विद्यार्थीहरूलाई सामुदायिक विद्यालयमै गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयले अझ कटिबद्ध रूपमा लाग्नुपर्नेमा जोड दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत चौधरीले विद्यालयमा गुणस्तरीय शिक्षाको लागि सम्पूर्ण टिम लागि परेको बताए । उनले विद्यार्थीहरूलाई अनुशासनमा राख्नको लागि शिक्षक पनि अनुशासनमा बस्नुपर्नेमा जोड दिए ।
कक्षा १२ की विद्यार्थी पार्वती रोकायाको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राम बहादुर जिसीको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत चौधरी र विद्यालयका प्रधानाध्यापक राजीव ओझाकोे विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष एकराज ढकाल, तुलसीपुर अपाङ्गता अध्ययन केन्द्रका अध्यक्ष यश बहादुर विकलगायतले मन्तव्य व्यक्त गरेका थिए । बाल दिवसको अवसरमा विद्यालयमा विविध कार्यक्रम भएको हो । विद्यार्थी कृपा नेपालीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण विद्यार्थी नेत्रमणि न्यौपाने र विपना विकले गरेका थिए ।