इन्द्र बुढाथोकी
सल्यान, २९ भदौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले अबको चार वर्षमा दुई लेनको राप्ती राजमार्ग निर्माण सम्पन्न हुने बतएका छन् । उनले राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान–रूकुम सडकको स्तरोन्नतिको काममा ढिलासुस्ती हुँदा नागरिकले सास्ती भोग्दै आएकाले अबको चार वर्षमा राजमार्ग स्तरोन्नति, कालोपत्रेसहित दुई लेनको निर्माण सम्पन्न हुने बताए ।
नेपाल पत्रकार महासंघ सल्यानले बिहीबार खलंगामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै दोस्रो पटक गृह जिल्ला सल्यान आएका मन्त्री ज्वालाले यस्तो बताएका हुन् । ‘राप्ती राजमार्गको स्तरोन्नतिसहित दुई लेन बनाउनको लागि यस पटक धेरै बजेट विनियोजन भएको छ, बुहवर्षिय आयोजनामार्फत काम गर्नका लागि यस वर्ष ९० करोड रूपैयाँ छुट्याएका छौँ’ उनले भने– ‘अबको चार वर्षसम्म काम सम्पन्न गर्ने गरी ३ अर्व ६० करोड रूपैँया सुनिश्चित भैसकेको छ ।’
मन्त्रालयको जिम्मेवारी सम्हालेपछि दोस्रो पटक गृह जिल्ला आएका मन्त्री ज्वालाले राप्ती राजमार्गको सुधारको केही काम भएको र आफ्नै कार्यकालमा यस राजमार्गको स्तरवृद्धिको काम सम्पन्न गर्ने प्रतिवद्धता जनाए । आफूहरूले गरेको कामको नतिजा देखिन थालेको उनको भनाइ छ । मन्त्री ज्वालाले एक वर्षिय साना योजनाको टेण्डर भैसकेको र बहुवर्षिय योजनाको पनि तत्कालै टेण्डरको काम शुरू गरिने बताए ।
राप्ती राजमार्गसँगै मदन भण्डारी राजमार्गको पाथिहाल्दा–थारमारे–श्रीनगर–खलंगा–बालुसंग्रही खण्ड, लुम्बिनी रारा राजमार्गको तुलसीपुर–लुहाम–थारमारे–चौरजहारी खण्ड, अन्तरप्रदेश जाड्ने खलंगा–कालिमाटी–घुइयावारी–कोहलपुर सडकलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ । ‘राप्ती राजमार्गको स्तरोन्नतिका सन्दर्भमा हामीले तीन चरणमा काम गर्छौ, अहिले सडक मर्मतसहित सहज आवतजावतको व्यवस्था गरेका छौँ,
सडक मर्मतका पाँचवटा ठेक्का सम्पन्न भएका छन्, केहीको काम जारी छ, काम नगर्नेको ठेक्का रद्द गरेका छौँ, बहुवर्षिय आयोजनामार्फत दुई लेनको काम अघि बढेपनि निश्चित बजेट विनियोजन गरेर मर्मतसम्भार गरिरहन्छौँ’ उनले भने ‘पहिलेको सडकभन्दा ७० प्रतिशत सुधार भएको छ ।’
मन्त्री ज्वालाले तत्काल सडक ऐन ल्याउने र सडक वर्गीकरण गरिने बताए । केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले कुन स्तरको तथा कति बजेटसम्मको सडककोे काम गर्ने भन्नेबारे स्पष्ट वर्गीकरण गरिने उनको भनाइ छ ।
विगतमा अस्तव्यस्त रहेको यातायात व्यवस्थाको क्षेत्रका बेतिथि हटाउन केही काम अघि बढाइएको उनको दावी छ ।
‘अहिले पनि सवारी चालक अनुमतिपत्रका लागि परीक्षा पास गरेका ११ लाख जतिले स्मार्ट लाइसेन्स पाउन सकिरहेका छैनन्, यो समस्या समाधानको लागि डिजीको पनि व्यवस्था गरेका छौँ, आइटी निर्देशक पनि ल्याइसकेका छौँ’ उनले भने ।
ट्रायल पास गरेको तीन दिनभित्र लाइसेन्स हात पर्ने गरी काम अघि बढाइने मन्त्री ज्वालाले बताए । यातायात क्षेत्रमा विचौलियाको विगविगी अन्त्य गर्न अनलाईन प्रणाली सुरू गरिसकेको भन्दै उनले एक महिनाभित्र देशैभरी अनलाईन प्रणाली कार्यान्वयनमा आउने पनि बताए ।
सल्यानबाट यातायातसम्बन्धी राजस्व बुझाउन सुर्खेत तथा दाङ जानुपर्ने अवस्थालाई सम्बोधन गर्न तत्कालको लागि सल्यानमा राजस्व काउण्टर स्थापना गर्ने टुंगो लागिसकेको मन्त्री ज्वालाको भनाइ छ । फरक प्रसंगमा मन्त्री ज्वालाले अहिलेको सरकार फेरबदल नहुने बताए । ‘भ्रष्टाचार, सुशासन र पारदर्शिताका क्षेत्रमा सरकारले राम्रो काम गरेको छ, जनमत पार्टी सरकारमा जोडिएको छ, अन्य पार्टी पनि सरकारमा जोडिने क्रम जारी छ, यसले सरकारमा कुनै समस्या आउँदैन्, गठबन्धन थप बलियो भएको छ’ उनले भने ।
पत्रकार सम्मेलनमा राष्ट्रिय सभा सदस्य उदय बहादुर बोहरा लगायतको पनि सहभागिता थियो । नेपाल पत्रकार महासंघ सल्यानका कार्यवाहक अध्यक्ष शंकर केसीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण सचिव टिकाराम भण्डारीले गरेका थिए ।