Tuesday, May 20, 2025
Homeविचारतीज, नारीहरूको ब्रत र सामाजिक सन्देश

तीज, नारीहरूको ब्रत र सामाजिक सन्देश

- Advertisement -spot_img
अहिले हाम्रो गाउँ स्वर्गद्वारी नगरपालिका वडा नं.–३ स्थित भिंगृ सोंडमा तीज नजिकिएसँगै एउटा शिव मन्दिर निर्माण कार्य सम्पन्न भएको छ । स्थानीय गाउँकै अगुवा व्यक्तिहरूको नेतृत्वमा महिला दिदीबहिनीहरूको लागि चर्के पिङ्ग हाल्ने काम पनि सम्पन्न हुँदैछ । संस्कृति मास्नु हुँदैन्, यसको जगेर्ना गर्नुपर्छ भन्दै केही युवा समूह निकै नै खटेर लागेका छन् । यसपालिको तीजमा गाउँकै शिव मन्दिरमा पूजाआजा गरेर, व्रत बसी बर पिपलको चौतारीमा नाचगान गर्ने स्थानीय महिला दिदीबहिनीहरूको धोको छ ।
यहि असोज १ गते तीजको अवसर पारेर भव्यरूपमा मन्दिर पनि उद्घाटन गर्ने कार्यक्रम छ । गाउँमा युवाहरूको विदेश जाने लर्को भएतापनि चाडपर्वलाई लक्षित गरेर हेर्दा यस्ता चाडपर्वमा गाउँ समाज र परिवारको पुनर्मिलनको लागि भएता पनि हाम्रा पुर्खाले चलाएका सबै चाडपर्वहरूलाई  भव्यरूपमा मनाउनु पर्छ भन्ने कुरा गाउँमा बस्ने नागरिकको बुझाइ छ ।
यो मौसम तीज पर्वको हो । अहिले रेडियो, टि.भी. र मोबाइलहरूमा प्राय मानिसहरू तीजका गीतहरू बजाउने र सुन्ने गर्दछन् । स्थानीय सरकारले राती १० बजेपछि नाचगनान गर्न रोक लगाए तापनि त्यसको बेवास्ता गर्दै गाउँघरमा नाचगान गरेको पाइन्छ । चाडपर्वले प्राय गरेर हाम्रो जीवनलाई जीवन्त बनाउने गर्दछन् ।
सदाझँै यस वर्ष पनि हिन्दू नेपाली महिला दिदीबहिनीहरूको महान चाड हरितालिका तीज नेपाली पात्रोअनुसार यहि असोज महिनाको १ गते सोमबारका दिन परेको छ । नयाँ–नयाँ उमङ्ग र हर्षौल्लासका साथ हामी सबैको घर आँगनमा प्रवेश गर्दै गरेको तीज आउन अब एक हप्ता पनि छैन् ।
सामान्यता तीज हिन्दू नेपाली नारीहरूले मात्र मनाउने एउटा महत्वपूर्ण महान चाड भएकोले यसको आफ्नै किसिमको धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्व रहेको छ । तीज हरेक वर्ष भाद्रशुक्ल तृतीयाका दिन मनाइन्छ अर्थात् यो चाड भाद्र शुक्ल द्वितियादेखि पञ्चमीसम्म चार दिन मनाइन्छ । तर, तिथि घटबढ र मलमासको कारणले यो वर्ष तीज असोजमा परेको छ । तीजमा भगवान शिवको पूजा आराधना गरिनुको साथ–साथै नाचगान र मनोरञ्जनसमेत हुने गर्दछ ।
यो पर्व मुख्यरूपमा नेपालभर मनाइन्छ । आज विश्व व्यापीकरणले गर्दा छिमेकी देश भारतलगायत संसारभर छरिएर बसेका नेपाली दिदीबहिनीहरूले पनि आफू रहेको ठाउँहरूमा धुमधामसँग तीज पर्व मनाएका तस्वीर तथा भिडियोहरू  विभिन्न सञ्चार माध्यमका मिडिया तथा अन्य सामाजिक सञ्जालहरूमा आएको हुन्छन् । तीज कसरी सुरू भयो ? तीज किन मनाइन्छ ? तीजको धार्मिक तथा सांस्कृतिक महत्व के छ ? भन्ने कुरामा जिज्ञासा राख्नु यो स्वभाविक प्रक्रिया मात्र हैन् ।
कुनै पनि चाडपर्वको पृष्ठभूमि बुझ्नु र आमनागरिकलाई यो विषयमा बुझाउनु समयको माग र आवश्यकता भईसकेको छ ।
यो तीज पर्व मनाउनु पनि यसभित्र एउटा जीवन्त कथा छ । भगवान शिवकी अर्धांगिनी हिमालय पुत्री पार्वती भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै बाधा उत्पन्न नहोस् भनेर पहिलो व्रत राखेकी थिईन् त्यो दिन यहि हरितालिका तीजको दिन थियो त्यसै दिन आजसम्म हिन्दू नारीहरूले यो पर्व मनाउँदै आएका छन् ।


व्यापक आधुनिकीकरणको नाममा पुराना तीज विशेष मौलिक गीतहरू बिर्सन हँुदैन् । संस्कृतिलाई अस्वभाविक ढंगले अगाडि बढायौं, भने कालान्तरमा दुःख हुन्छ । नयाँ आउने पुस्ताले तीज संस्कृति लोप भयो भने हामीलाई धिकार्ने छन् ।


यो चाडमा माइतीले छोरी चेलीलाई घरमा बोलाएर मीठा–मीठा परिकारहरू बनाएर खुवाउने तथा मनका भावना एवम् दुःख–सुख साटासाट गरी एउटै ठाउँमा खाने बस्ने चलन छ । तीजका दिन महिलाले लगाउने रातो साडी सुख, समृद्धि एवम् साहसको प्रतिक मानिन्छ । रातो पोतेले शान्ति र आनन्द प्रदान गर्दछ, भने रातो टिका सौभाग्यको प्रतिक हो । तीजमा प्रयोग हुने विभिन्न गर–गहनाले महिलाहरूको पहिचान देखाएको छ ।
हिन्दू धार्मिक ग्रन्थअनुसार राजा हिमालयले आफ्नो छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जंगल गएर शिवजीको ठूलो तपस्या गर्न थालिन् । पार्वतीले तपस्या गरेको झण्डै १०० वर्ष पूरा भई सक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिईकन निकै कठोर एवम् निराहार व्रत बसेको देख्दा शिवजी आफै प्रकट भई चिताएको कुरो पुगोस् भनी आशिर्वाद दिए पछि शिव पार्वतीको विवाह भएको हो भन्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ ।
सामान्यता असार र श्रावण महिनामा खेतीपाती रोपिसकेपछि केही फुर्सदको समय निकालेर प्राय नेपाली चेलीबेटीहरू जमघट भई मनाउने पर्वको नाम तीज हो । हुनत तीज यही बेला र यही मिति देखिसुरू भएको भन्ने ठ्याक्कै थाहा नभए पनि यो भारत वर्ष विशेषगरी उत्तर भारत एवम् नेपालमा पौराणिक कालदेखि मान्दै आएको कुरा इतिहासमा उल्लेख गरिएको छ ।
तीजमा महिलाहरू विहानै नदी तथा खोलाहरूमा गई स्नान गरी निर्जल, निरहार उपवास बस्नुपर्ने धार्मिक मान्यता रहेको छ । विवाह गरेका महिलाहरूले आफ्ना जीवनकोे आयुभन्दा पनि श्रीमान्को लामो दीर्घायुको कामना गर्दछन् । श्रीमानको लामो दीर्घायु भएमा आफूलाई विधुवा हुन नपर्ने र श्रीमान्सँग दुःख–सुख गरेर बाँकी जीवनयापन गर्न सहज हुने धार्मिक मान्यता छ । त्यसै गरी विवाह नभएका महिला दिदीबहिनीहरूले तीजको दिन ब्रत बसेर सुयोग्य वर पाउँ भनी प्रार्थना गर्दछन् ।
हिजोआज तीज नजिकिदै गर्दा मानिसहरूको गाउँ, टोल, बजार र शहरमा तीजको रौनक र चहलपहल बढ्दै गएको छ । केटाकेटीहरू नयाँ कपडा किन्ने, महिला दिदीबहिनीहरू नयाँ साडी, बुलाउज, लेङ्गा, र गर–गहनाहरू किन्ने काम भईरहेको छ । कपडा किन्ने र सिलाउने ठाउँमा घुईचो छ । सुनचाँदी गहना पसलमा अत्यधिक भिडभाड छ । सुन तोलाको एक लाख रूपैयाँ भएपनि मानिसलाई कुनै प्रवाह छैन् । जेहोस् महिला दिदीबहिनीहरूमा सम्बन्ध सुधार गर्ने, यसलाई प्रगाढ गर्ने तथा सम्बन्धमा भएका मनमुटावहरूलाई प्रेममा बदल्ने पर्व हो तीज ।
तीजलाई हामीले परम्परागत मूल्यमान्यता र विधि नमर्ने गरी परिस्कृत गर्दै लग्नुपर्छ । शिक्षित  र सभ्य समाजमा हुर्किएका नारीहरूले तीजलाई व्यवस्थित बनाउँदै लानुपर्छ । तीजलाई आधुनिकीकरण गर्ने नाममा भड्किलो र ज्यादै असभ्य बनाउनु हुँदैन् । कमसेकम दाजुभाइ तथा दिदीबहिनीहरूसँग बसेर मनाउन सक्ने पर्वको रूपमा विकास गर्नु पर्दछ । हुनतः समय अनुसार तीज फरक हुँदै गएको छ ।
पहिले नेपाली नारीहरू आत्मनिर्भर तथा स्वावलम्वी नभएको हुँदा एकदिन भएपनि मीठो–मसिनो खान माइतीघर जानु पर्दथ्यो । माइती घरमा बा–आमाले पकाएको दर खाएर खुशी भई नाचगान गर्ने प्रचलन थियो । तर, अहिले दर खाने नाममा धेरै विकृति पनि भएको छ । प्राय गरेर शहर र गाउँमा पनि तीज आउन पन्ध्र दिन अघिदेखि नै विभिन्न होटलहरूमा कार्यक्रम गरेर दर खाएर नाचगान गरेको पाईन्छ । यो तीज पर्वको सुन्दर पक्ष होइन् । तीज पर्वको मौलिकता के हो ? हरेक चेली र आमनागरिकले बुझ्न जरूरी छ ।
अचेल साह्रै सस्ता र अपाच्य शब्द समावेश गरेर गीत लेख्ने र तीज पर्वलाई विकृतितिर उन्मुख गराउने अभ्यास बढिरहेको छ । यस्ता छाडा गीतहरूमा राज्यले नियमन गर्न जरूरी छ । कलाकार तथा रचनाकारहरूले यूटुवमा भ्यूजको लोभले सस्ता रत्यौली दर्शक–श्रोताका सामु फाल्नु अगाडि गम्भीर भएर सोच्न जरूरी छ । तीज पर्वमा बजाइने मादल, मनोरञ्जनको लागि खेलिने रोटे पिङ्ग, लठारे पिङ्ग र चर्के पिङ्ग संरक्षण कसले गर्ने हो ? सबैले बेलैमा एकपटक सोच्न जरूरी छ ।
तीज पर्वको सामाजिक सन्देशलाई अहिलेको परिवेशमा महत्वपूर्ण विषयको रूपमा हेरिएको छ । तीजको दर खाने दिन भनेर क्यालेण्डरमा उल्लेख गर्दागर्दै पनि एक महिना पहिलेदेखि दर खाने कार्यक्रम नेपाली समाजमा उर्लेर आएको छ । होटल, रेष्टुरेन्ट तथा पार्टीप्यालेसमा दर खाने र तीज पर्व मनाउने हाम्रो संस्कृति होइन् । खराब र छाडा संस्कृतिमा बाढी आउन दिनु हुँदैन् । दर भनेको के हो ? दर कहिले खानुपर्छ ? दरमा के पकाइन्छ भन्ने कुरा बिर्सनु हुँदैन् ।
तपाई हामीलाई रातो टिका र जमरा लगाउन रहर लाग्यो भन्दैमा वैशाख १ गते नयाँ वर्षका दिन लगाउन मिल्छ ? जमरा र रातो टिका लगाउन वर्षमा एक पटक आउने वडादशैं नै कुर्नुपर्छ । चैतमा देउसी भैलो खेलेर तिहारको महत्व हुँदैन् । विशेष तिथि र मितिमा चाडपर्वको आ–आफ्नै महत्व रहेको छ । वास्तवमा भन्ने हो भने तीजलाई राम्रो सांस्कृतिक पर्वको रूपमा विकास गर्नुपर्ने समय आएको छ । अरूको देखासिकी गरेर, ऋण धन गरेर चाडपर्व मनाउनु हुँदैन् ।
गहना प्रदर्शन गर्ने, महँगा कपडाहरू प्रदर्शन गर्ने, दर खाने नाममा रक्सी तथा मदिरा सेवन गर्ने हो भने चाडपर्वको अस्तित्व रहन सक्दैन् ।  हाम्रो संस्कृतिलाई बचाइ राख्नको लागि हामी सबै नरनारीहरू नै सचेत हुनुपर्दछ । गाउँघरमा तीजको दिन खेलिने चर्के पिङ्ग, रोटे पिङ्ग र लठारे पिङ्गहरू विस्तारै लोप हुँदै गएका छन् । युवापुस्ताहरू यसको संरक्षणमा लाग्नु पर्दछ ।
व्यापक आधुनिकीकरणको नाममा पुराना तीज विशेष मौलिक गीतहरू बिर्सन हँुदैन् । संस्कृतिलाई अस्वभाविक ढंगले अगाडी बढायौं, भने कालान्तरमा दुःख हुन्छ । नयाँ आउने पुस्ताले तीज संस्कृति लोप भयो भने हामीलाई धिकार्ने छन् । त्यसैले चाडपर्वलाई बिगार्ने, अपवित्र बनाउनेभन्दा पनि राम्रो बनाउँदै लानु पर्दछ । अन्त्यमा, नारीहरूको महान चाड हरितालिका तीजको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
लेखकः लोक चेतना एकेडेमी  विद्यालयको माध्यमिक तहमा सामाजिक, अंग्रेजी विषयका शिक्षक हुन् ।
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here