तुलसीपुर, २८ भदौ । हिन्दू महिलाको महान पर्व हरितालिका तीजलाई भड्किलो नबनाउन कांग्रेसका नेताहरूले आग्रह गरेका छन् । नेपाली कांग्रेस तुलसीपुर नगरले बुधबार तुलसीपुरस्थित क्षेत्रीय पार्टी कार्यालयमा आयोजना गरेको तीज मिलन कार्यक्रमलाई सम्बोधन गर्ने नेताहरूले तीज महिलाको स्वतन्त्रता र आपसी मिलनका रूपमा लिइने मौलिक पर्व भएको भन्दै सोही रूपमा मनाउन आग्रह गरेका हुन् ।
वक्ताहरूले पछिल्लो समय पर्व मनाउने नाममा देखासिकीका कारण तीज भड्किलो बन्दै जान थालेको हुँदा सामाजिक र मौलिक पर्वलाई सांस्कृतिक मर्मअनुरूप मनाउन आग्रह गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले देखासिकीका रूपमा पर्वलाई मनाउन नहुने धारणा राखेका थिए ।
फरक प्रसंगमा उनले तुलसीपुर–१२ स्थित टरिगाउँ एयरपोर्टका लागि पछिल्लो समय आफ्नो पहलमा धावन मार्ग स्तरोन्तिको लागि पाँच करोड बजेट पिनियोजित भएको बताएका थिए । त्यस्तै आफूलगायत जिल्लाबाट निर्वाचित नेताहरूको पहलमा तुलसीपुर– घोराही अलपत्र चारलेन सडकको ठेक्का सम्झौता रद्द भई हाल मर्मतका लागि दुई करोडमा काम भइरहेको बताए । वर्षाका कारण काममा केही बिलम्व भएपनि मर्मतपछि यात्रा थप सहज हुने उनले बताए ।
पहिले तुलसीपुर–घोराही चारलेन सडक कतै चारलेन र कतै दुईलेनको मात्रै रहेको हुँदा अब नयाँ टेन्डर गर्दा अनिवार्य रूपमा सबै सडक खण्ड चारलेनमा विस्तार गर्ने गरी तयारी गरिएको भन्दै उनले त्यसलाई सफलताका रूपमा लिन आग्रह गरे । त्यसका साथै नेता गिरीले बिगतमा आफू नौं महिना सिँचाइ मन्त्री हुँदा जिल्लामा भएका विकास निर्माणको चर्चा गरेका थिए ।
दाङ उपत्यका बृहत सिँचाइ परियोजनाको केन्द्रीय कार्यालय तुलसीपुरमै स्थापना भई काम भैरहेको, जिल्लाका नदी र खोला नालामा ठाउँ–ठाउँमा तटबन्ध गरी किसानको जग्गाको संरक्षण गरेको, जिल्लाका धेरै खोला नालामा पुलहरू निर्माण गर्न सफल भएको उनले बताए ।
कार्यक्रममा विशिष्ट अतिथि जिल्ला सभापति शंकर डाँगीले कांग्रेस पार्टी आफैमा महासागर भएको हुँदा यसमा धेरै सबल पक्ष र विवादहरू रहेपनि ती विवादलाई अघिपछि गरेपनि कार्यक्रमको मर्मअनुरूप तीज मिलन कार्यक्रममा कसैले पनि गर्न नहुने बताएका थिए । सभापति डाँगीले पार्टीको गरिमा र शाख टोल–टोलमा जोगाउनका लागि हरेक सदस्यहरू जिम्मेवार भई काम गर्नु जरूरी रहेको बताएका थिए ।
कांग्रेस दाङका पूर्व जिल्ला सभापति कीर्तिबहादुर खड्काले पर्वहरू सामाजिक, सांस्कृतिक र मौलिक रूपमा मनाउनुपर्ने जोड दिएका थिए । पार्टीका कार्यकर्ताले विधि, विधान र पार्टीको मर्यादा कहिलै पनि उल्लंघन गर्न नहुने उनको भनाइ थियो । ‘अनुशासन हरेक कार्यकर्ता स्वयंले पालना गरे मात्रै पार्टी र संगठन मजबुत हुने गर्छ’ उनले भने– ‘पछिल्लो समय पार्टीमा वैचारिक क्षमताभन्दा उच्छृङ्खला बढेको देख्दा मन खिन्न हुने गर्छ ।’
ब्यक्तिगत नैतिकता र अनुसाशन हरेक नेता कार्यकर्ताको सबै भन्दा ठूलो निधि हुने भन्दै त्यो जोगाइ राखे मात्रै समाजमा मर्यादा बढ्ने र त्यसबाट पार्टीको शाखपनि जोगिने उनको तर्क थियो । तुलसीपुर उपमहानगरपालिकाका सभापति सुरेश हमालको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरी प्रमुख अतिथि र दाङ जिल्ला सभापति शंकर डाँगी विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
तुलसीपुर नगर उपसभापति बिनिल केसीको स्वागत मन्तब्यबाट सुरू भएको कार्यक्रमलाई प्रमुख अतिथि गिरी, विशिष्ट अतिथि जिल्ला सभापति डाँगी, पूर्व जिल्ला सभापति कीर्तिबहादुर खड्का, पूर्व प्रदेश सांसद शंकर गिरी, प्रदेश सदस्य जानुका बस्नेत, जिल्ला सचिव बालिका लम्साल, दाङ क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्का, दलित संघ लुम्बिनी प्रदेशका अध्यक्ष जोगेन्द्र विश्वकर्माले तीजको महत्वबारे चर्चा परिचर्चा गरेका थिए ।
नेतृ सुशीला सुवेदी, निर्वाचन क्षेत्र नं. ३ (२) सभापति खिमबहादुर वली, ३ (१) का सभापति देवेन्द्र रिजाल, निर्वाचन क्षेत्र नं. २ (२) का सभापति अभियान बस्नेत, शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत, बबई गाउँपालिकाका सभापति प्रकाश बस्नेत, तुलसीपुर– १३ का सभापति चेतकान्त योगी लगायतले तीज हिन्दू महिला दिदीबहिनीको उल्लास र स्वतन्त्रताको पर्व भएपनि त्यसलाई मर्यादित रूपमा मनाउन आग्रह गरेका थिए । कार्यक्रमको सहजीकरण तुलसीपुर नगर सचिवद्वय सुशील वली र विमल पौडेलले आलोपालो रूपमा सञ्चालन गरेका थिए ।
श्रेष्ठ दम्पत्तिलाई सम्मान
नेपाली कांग्रेसले बुहारीको बिहे गरिदिने तुलसीपुरका श्रेष्ठ दम्पत्तिलाई सम्मान गरेको छ । नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका कार्यसमितिले आयोजना गरेको तीज मिलन कार्यक्रममा तुलसीपुर–६ शिखर कोलनीका शिवप्रसाद र विना श्रेष्ठ दम्पत्तिलाई सम्मान गरेको हो । कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरी, जिल्ला सभापति शंकर डाँगीलगायतले श्रेष्ठ दम्पत्तिलाई सम्मान पत्रसहित सम्मान गरेका हुन् ।
सम्मान पछि नगर सभापति सुरेश हमाल, केन्द्रीय सदस्य गिरी, जिल्ला सभापति डाँगीलगायतका वक्ताले कांग्रेसका संस्थापक नेता बिपीले समाज रूपान्तरणका साथै मुलुकको राजनीतिक परिवर्तनमा पनि उल्लेखनीय भूमिका निर्वाह गरेको हुँदा त्यस्तै सकारात्मक कार्य गरि समाजमा सकारात्मक सन्देश प्रवाह गर्न आम कार्यकर्तालाई आग्रह गरेका थिए ।
कार्यक्रममा विभिन्न रोगबाट पीडित एक महिला र पुरूषलाई नगरसमितिले आपसमा संकलन गरेको सहयोग रकम पनि हस्तान्तरण गरिएको थियो । तुलसीपुर–५ की प्यारालाइसिस रोगबाट पीडित महिला साबित्रा गुरूङलाई ११ हजार र दीर्घरोगबाट पीडित भई उपचाररत बिपन्न परिवारका तुलसीपुर–१६ का देविलाल विकलाई नगद दश हजार सहयोग हस्तान्तरण गरिएको थियो ।