दाङ, २७ भदौ । संविधान सभा अध्यक्ष, पूर्व सभामुख तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको मंगलबार बिहान निधन भएको छ । नेम्वाङको ७१ वर्षको उमेरमा हृदयघाटबाट निधन भएको छ । घरमै हृदयघाट भएका नेम्वाङलाई उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो तर उनको बाटोमै निधन भएको जनाइएको छ ।
नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ललितपुरस्थित एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ । उनीप्रति श्रद्धाञ्जली दिन विभिन्न पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरू पुगेका छन् । नेम्वाङलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वसभामुख सुवास नेम्वाङको पार्थिव शरीरमा फूलमाला चढाई श्रद्धाञ्जली अर्पण गरेका छन् । ललितपुरको च्यासलस्थित नेकपा (एमाले) को केन्द्रीय कार्यालयमा राखिएको नेम्वाङको पार्थिव शरीरमा फूलमाला चढाइ प्रधानमन्त्री प्रचण्डले श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
सरकार बदलिने बेला ‘म सभामुख भइसकेको मान्छे त्यो भन्दा माथि भए ठीकै छ, तल केही हुने होइन’ भन्थे ।
यस्तै, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि च्यासलस्थित एमाले केन्द्रीय कार्यालय गई पूर्वसभामुख नेम्वाङलाई श्रद्धाञ्जली दिएकी छन् । यसैगरी, नेकपा (एमाले) का उपाध्यक्ष एवम् संसदीय दलका उपनेता नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्न सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, उपसभामुख इन्दिरा राना मगर, उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत नेम्वाङलाई श्रद्धाञ्जली दिन च्यासल पुगे ।
श्रद्धाञ्ली दिन पुगेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेम्वाङले नेपाली राजनीतिमा अत्यन्तै सन्तुलनकारी भूमिका खेल्ने व्यक्ति भएको बताए । नेम्वाङ संयमित ढंगले प्रतिकूलताहरूलाई अनुकूलतामा बदल्ने नेताको रूपमा रहेको पोखरेलले उल्लेख गरे । ‘पार्टीभित्र नेम्वाङलाई सम्मानका साथ हेरिने गरेको छ’ उनले भने– ‘नेम्वाङ जहिल्यै पनि समस्याहरूलाई सुल्झाउने गरी प्रस्तुत हुने गरेका थिए ।’
त्यस्तै पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले आफू सभामुख रहेका बखत नेम्वाङसँग दैनिक छलफल गर्ने गरेको बताए । ‘नेम्वाङले रचनात्मक, सिर्जनात्मक र परिपक्व सल्लाह दिने गर्नुभएको थियो’ उनले भने– ‘कम्युनिष्ट पार्टीको पुनःगठनको आवश्यकता भएको बेलामा नेम्वाङजस्तो समन्वयकारी व्यक्तित्व गुमाउनुपरेको छ ।’
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले सुवास नेम्वाङ संविधानसभाको पर्यायवाचीको रूपमा बताइन् । नेम्वाङ एउटै कम्युनिष्ट आन्दोलन र एउटै कम्युनिष्ट पार्टी चाहने व्यक्ति भएको पनि उनको भनाइ छ ।
नेकपा एमालेका सांसद सूर्य थापाले सुवास चन्द्र नेम्वाङले राष्ट्रिय राजनीतिमा आफूलाई सहमतिको मियोको रूपमा प्रस्तुत गरेको बताए । ‘नेम्वाङले तमामखालका द्वन्द्व र विमतिहरूलाई सहमतिका साथ निचोड र निष्कर्षमा पु¥याउने कामको नेतृत्व गर्नुभएको थियो’ उनले भने– ‘समकालिन राजनीतिमा नेम्वाङजस्तो अर्को पात्र छैन् ।’ नेम्वाङबाट संसदीय राजनीतिको सम्बन्धमा आफूजस्ता नयाँ सांसदहरूले सिक्नुपर्ने कुराहरू धेरै रहेको उनले बताए ।
राजकीय सम्मान र अन्त्येष्टिमा सार्वजनिक बिदा
संविधानसभा अध्यक्ष नेम्वाङलाई सरकारले राजकीय सम्मान दिने भएको छ । नेम्वाङको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निणर्यसमेत सरकारले गरेको छ । नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको मंगलबार बिहान निधन भएको थियो । मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको थियो ।
बैठकले, नेम्वाङले संविधान निर्माणको क्रममा खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन देशभर सार्वजनिक बिदा दिने निणर्य गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेकी शर्माका अनुसार शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निणर्यसमेत सरकारले गरेको छ ।
नेकपा एमालेले शोकमा सबै औपचारिक कार्यक्रमहरू स्थगित गरेको छ । एमालेले पार्टीको झण्डा तीन दिन आधा झुकाउने निर्णय पनि गरेको छ । संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको मंगलबार बिहान निधन भयो । राती एक्कासी गाह्रो भएपछि परिवारका सदस्यले अस्पताल पु¥याउँदा नेम्वाङको नाडी, मुटुको धडकन र श्वासप्रश्वास चाल बन्द थिए । बालुवाटारस्थित निवासबाट सोमबार राती १ः५० बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पु¥याइएको थियो, अस्पतालले बिहान ३ बजे मृत घोषणा गरेको थियो ।
शिक्षण अस्पतालका अनुसार अस्पताल ल्याइपु¥याउँदा नेम्वाङको आँखाको नानी फुलिसकेको, रक्तचाप र पल्स रेकर्ड गर्न नमिल्ने भइसकेको थियो । नेम्वाङको मृत्युको कारणबारे त्रिवि शिक्षण अस्पतालले आधिकारिक रूपमा उल्लेख गरेको छैन । नेम्वाङको स्वास्थ्य अवस्थाबारे तीन दशकदेखि नै नजिक रहेका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अरूण सायमी मृत्युको कारण हृदयघात हुन सक्ने बताउँछन् । डा. सायमीका अनुसार नेम्वाङको २०४८ सालमा मुटुमा समस्या देखिएको थियो ।
शालीन राजनीतिज्ञ
इलामको सुन्तलाबारीमा २००९ सालमा जन्मिएका सुवासचन्द्र नेम्वाङको ७० वर्षे जीवनका पछिल्ला ५० वर्ष भने सक्रिय राजनीतिमा बिते । कानुनी पृष्ठभूमिसहित पार्टी राजनीतिमा सक्रिय रहेका नेम्वाङ संविधानसभाबाट संविधान जारी गर्ने हरेक घटनाक्रममा एक प्रत्यक्ष साक्षी र निर्णयकर्ता हुन् । संविधानसभा, सभामुख र संसद् भन्नेबित्तिकै त्यसको पर्यायवाचीका रूपमा नाम लिइने व्यक्ति थिए, नेम्वाङ । दुइटै संविधानसभाका अध्यक्ष नेम्वाङले संविधानसभाबाट संविधान जारी गर्ने क्रममा खेलेको भूमिका स्मरणीय छ ।
२०६२/०६३ सालको जनआन्दोलन सकिएपछि तत्कालीन राजनीतिक दलहरूबीच सहमति र सहकार्य गरेर अघि बढ्ने समझदारी भयो । शान्ति प्रक्रियामा आएको विद्रोही माओवादी पनि संसद्मा सहभागी हुन जान तयार भएपछि अन्तरिम संसद् बनाइयो । पुनःस्थापित संसद्को नेतृत्व गर्न सबैलाई स्वीकार्य हुने पात्रका रूपमा एमालेबाट सभामुखमा नेम्वाङलाई अघि सारियो । अन्तरिम संसद्बाटै सभामुखको भूमिकाका प्रवेश गरेका नेम्वाङ २०६४ र २०७० को संविधानसभामा पनि सबै दलका लागि स्वीकार्य व्यक्ति थिए ।
कानुनका ज्ञाता, दलहरूसँग समन्वय गर्ने सक्ने छविका कारण संविधान निर्माणको जटिलतालाई पार लगाउन सक्ने ठानेर एमालेको रोजाइमा नेम्वाङ परेका थिए । जुन भूमिकालाई उनले दुईटा संविधानसभाको कार्यकाल बिताएर भए पनि निर्वाह गरे ।
स्नातक अध्ययनका क्रममा २०२८/२०२९ सालमा अनेरास्ववियुबाट इलाम बहुमुखी क्याम्पसको स्ववियू सभापति बनेका नेम्वाङ २०३३ सालमा राजकाज मुद्दामा केन्द्रीय कारागारमा थुनामा रहँदा कम्युनिस्ट पार्टी कोअर्डिनेसन केन्द्र मालेमा संगठित भएका थिए ।
२०४८ देखि २०५२ सालसम्म राष्ट्रियसभा सदस्य बनेका उनी प्रतिनिधिसभा निर्वाचन २०५६ मा इलाम–२ बाट निर्वाचित भएपछि प्रतिनिधिसभाका शक्तिशाली लेखा समितिका सभापति बने । लेखा समिति सभापति हुँदा उनले निर्वाह गरेको भूमिकाले उनको राजनीतिक उचाइ बढेको थियो । त्यही योग्यता समेतले नै पछि उनलाई सभामुख र संविधानसभाको अध्यक्ष बन्ने ढोका खोल्यो ।
कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्रीसमेत बनेका नेम्वाङले नेपाल ल क्याम्पसमा प्राध्यापन र लामो समय वकालत गरे । ल फर्मसमेत सञ्चालन गरेर कानुनी अभ्यास गरेका नेम्वाङ संसदीय मोर्चामा एमालेले लडेका सबै कानुनी लडाइँमा सहभागी हुने मध्येका व्यक्ति हुन् । २०५१ सालको सालको संसद् विघटनदेखि २०७७ सालमा केपी ओलीले गरेका विघटनहरूमा समेत कानुनी प्रतिरक्षा गर्ने र सल्लाह परामर्श दिने व्यक्तिका रूपमा नेम्वाङ चिनिन्छन् ।
एमालेभित्रको राजनीतिक समीकरणमा उनी केपी शर्मा ओलीको निकट भएर काम गरे । पार्टीभित्रकै अन्तरसंघर्षमा उनले धेरै समय ओलीलाई साथ दिए । ओलीले उनलाई सधैं पार्टी संसदीय मोर्चाको जिम्मेवारी ढुक्कैसँग दिएका थिए । संविधानसभाको कार्यकाल सकिएलगत्तै उनलाई एमाले संसदीय दलको उपनेता बनाए । २०७९ सालको चुनावपछि पनि उनलाई ओलीले त्यही जिम्मेवारी दिएका थिए । एमालेको स्थायी कमिटी सदस्यका रूपमा लामो समय रहेका नेम्वाङलाई गत वर्षको चितवन महाधिवेशनबाट उपाध्यक्ष बनाइएको थियो ।
मन्त्री, पटक–पटक सांसद, सभामुख र संविधानसभा अध्यक्ष भएका नेम्वाङको बाँकी राजनीतिक महत्वाकांक्षा भनेको प्रधानमन्त्री र राष्ट्रपति बन्ने थियो भन्ने बेलाबेला झल्किन्थ्यो । उनी सरकार बदलिने बेला ‘म सभामुख भइसकेको मान्छे त्यो भन्दा माथि भए ठीकै छ, तल केही हुने होइन’ भन्थे । जीवनको अन्तिम घडीसम्म पनि सक्रिय राजनीतिक दौडमा रहेका नेम्वाङ सोमबार दिउँसो हल्का शारीरिक आलतस्यताका कारण बालुवाटारस्थित घरमै आराम गरिरहेका थिए । तर राति उनले सँधैका लागि बिदा लिए ।