जीतसागर जी.एम.
तुलसीपुर, २६ भदौ । सरसफाई पनि छैन् । भान्सामा काम गर्ने कुकले न्यूनतम मापदण्ड पालना गरेका छैनन् । बरण्डामै भान्सा गर्ने गरिएको छ । भान्सा नजिकै नाला पनि छ । जताततै फोहोरै फोहोर छ । बोर्डसमेत राखिएको छैन् । मूल्यसूचि पनि छैन् । अन्सारी चिकेन, बिरयानी तथा मःम सेन्टरमा देखिएको समस्या हो ।
तुलसीपुर उपमहानगर–पालिकाको कार्यालय नजिकै ‘ग’ लाइनमा रहेको अन्सारी चिकेन तथा बिरयानी सेन्टरमा समस्या देखिएपछि सुधार गर्नका लागि असोज १५ गतेसम्मको समय निर्धारण गरिएको छ । ‘धेरै समस्या देखिएपछि सुधार गर्नका लागि असोज १५ गतेसम्मको समय दिएका छौँ’ तुलसीपुर उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा शर्माले भनिन्– ‘असोज १५ गतेपछि पनि सुधार हुन नसकेपछि थप प्रक्रिया अघि बढाउँछौँ ।’
समस्या देखिए पनि सुधार गर्ने समय दिएको उनले बताइन् । यसअघि पनि विभिन्न समयमा समस्या देखिएको उनको भनाइ छ । ‘सोमबार पछिल्लो समय अन्तिम पटक चेतावनी दिएका छौँ’ उनले भनिन्– ‘आन्तिम पटक पनि सुधार हुन नसकेमा कानुन अनुसार प्रक्रिया अघि बढाउँछौँ ।’
यस्तै तुलसीपुरको ‘ग’ लाइनमै रहेको न्यू अन्नपूर्ण किराना सप्लार्यसमा पनि समस्या देखिएको छ । पसलमा म्याद नाघेको खुर्सानी प्याकेट फेला परेको छ । यस्तै चियापति, बिस्कुट म्याद नाघेको अवस्थामा फेला परेको छ भने न्यू भण्डारी सप्लायर्समा म्याद नाघेका पेयपदार्थहरू फेला परेको छ ।
यस्तै माँ भवानी फ्रुट सेन्टरमा पनि केरा, स्याउ कुहिएको अवस्थामा भेटिएको छ भने अधिकांश पसलमा मूल्यसूचि राखिएको छैन् । सोमबार अनुगमनको क्रममा भेटिएका अखाद्यवस्तु जफत गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाले गरेको नियमित अनुगमनका क्रममा केही पसलमा सुधार देखिए पनि अधिकांश पसलमा समस्या देखिएको हो । समस्या देखिएका ठाउँमा सम्बन्धित व्यवसायीलाई खबरदारी गरिएको प्रमुख शर्माले बताइन् ।
‘व्यवसायीले आगामी दिनमा फेरि पनि त्यस्तो किसिमको समस्या नदोहो¥याउने प्रतिवद्धता गर्नुभएको छ’ उनले भनिन्– ‘हाम्रो उद्देश्य कसैलाई दुःख दिने नियत होइन्, उपभोक्ता अखाद्यवस्तु बिक्री वितरण रोक्नका लागि नियमित अनुगमन गरिरहेका छौँ ।’
बजार सुधारका लागि उपमहानगरपालिकाले सातामा एकदिन नियमित अनुगमन गरिरहेको छ । तर बजारमा हरेक पटक समस्या देखिने गरेको उनले बताइन् । ‘हरेक पटक बजारमा केही न केही समस्या देखिने गरेको छ’ उनले भनिन्–‘समस्या दोहोरिएको छैन्, तर केही न केही समस्या अवश्य देखिने गरेको छ ।’
चाडपर्वको समयमा बजारमा हुने कालोबजारी रोक्न पनि अनुगमनलाई तिब्र बनाउने योजनामा रहेको प्रमुख शर्माले बताइन् । ‘चाडपर्व नजिकिदै छन्, यस्तो बेलामा बढी कालोबजारी हुन सक्छ’ उनले भनिन्– ‘यस्तो बेला नियमित अनुगमनलाई पनि बढाउँछौँ ।’ बजारमा कुनै पनि सामान खरिद गर्दा उपभोक्ता सचेत भएमा धेरै मात्रामा कालोबजारी रोकिने उनको भनाइ छ ।
चाडपर्वको समयमा अन्य समयभन्दा बढी अखाद्यवस्तु बिक्री वितरण हुने भएकोले अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्रमुख उज्जल रायमाझीले बताए । ‘खाद्यवस्तुमा हुन सक्ने अखाद्यवस्तु मिसावट रोक्नलाई नियमितरूपमा अनुगमन गरिरहेका छौँ’ उनले भने– ‘उपभोक्ता सचेत भएपछि धेरैमात्रामा कालोबजारी रोक्न सकिन्छ ।’
बजारमा म्याद नाघेका वस्तु, लेबल नभएका वस्तु नष्ट गर्ने गरिएको उनले बताए । ‘सकेसम्म होलसेल पसल, मिठाई पसल, होटेल रेष्टुरेन्टमा बढी अनुगमन गरिरहेका छौँ’ उनले भने– ‘खाद्य सामग्रीमा रङको प्रयोग नगर्ने, खाद्य उद्योगलाई अनुमति लिएरमात्रै सञ्चालन गर्ने सुझाव दिइरहेका छौँ ।
सोमबार तुलसीपुरको ‘ग’ लाइनमा होटेल, किराना पसल, फलफूल पसलमा अनुगमन गरिएको छ । उपमहानगरको उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा शर्मा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्रमुख उज्जल रायमाझी, तुलसीपुर उद्योग वाणिज्य संघका कार्यालय प्रमुख पारेश्वर भट्टराई, प्रहरी र पत्रकारको उपस्थितिमा बजार अनुगमन गरिएको हो ।