Tuesday, June 11, 2024
Homebreaking-newsतीज पर्व र महत्व

तीज पर्व र महत्व

- Advertisement -spot_img

नेपाली हिन्दू नारीहरूको महान पर्व तीज । सहरदेखि ग्रामीणस्तरमा पनि तीजको रौनकताले छोइसकेको छ । संस्कृति र परम्परा राष्ट्रको सम्पत्ति हुन् । हरितालिका तीज पर्वलाई पनि निकै महत्वका साथ लिने गरिन्छ । तीज पर्वलाई सद्भाव र आपसी सम्बन्धको पर्वका लिने गरिएको अवस्थामा पछिल्लो समय तीज पर्व मनाउने शैली र तीज पर्वको महत्वको विषयमा केन्द्रित रहेर प्रदेश टुडे राष्ट्रिय दैनिकको नियमित स्तम्भ टुडे राउण्ड टेबलको सरोकारवालाका विचारलाई समेटेका छौं । –सम्पादक


जीतसागर जी.एम.


आत्मसम्मान र स्वतन्त्रताको पर्व तीज

हरितालिका पर्व नेपालीको जनजिब्रोमा तीज पर्वका रूपमा छ । तीजको धार्मिक र सांस्कृतिक, सामाजिकसँगै महिला स्वतन्त्रताको आवाज बुलन्द गर्ने स्वतन्त्रता पर्वको रूपमा पनि महत्व रहेको छ । यसो हेर्दा तीज हिन्दू महिलासँग मात्र जोडिएको जस्तो लागे पनि वास्तवमै तीजले सिंगो नेपाली समाजलाई बाँधेर लगेको छ ।

धर्मसँग जोडिएर धार्मिक आस्था बोकेकाहरूले ब्रत बस्ने, पूजाआजा गर्ने गरेपनि नाचगान अर्थात् सांस्कृतिक माहोलमा सिङ्गो नेपाली समाजको प्रतिविम्व पाउन सकिन्छ । सांस्कृतिक कार्यमा जुनसुकै जात, धर्म, लिंग, वर्ग, वर्ण, भाषाभाषी उमेरका मानिसलाई जोड्ने यसको सबैभन्दा सुन्दर पक्ष भनेकै सांस्कृतिक पक्षलाई मान्न सकिन्छ ।

यसले सिङ्गो समाजलाई जोड्न भूमिका खेलेको पाइन्छ । यसले सिङ्गो नेपाली समाजलाई जुरूक्क उठाउन र राष्ट्रिय एकताको सन्देश दिन सक्ने सामथ्र्य राख्छ भने त्यो तीज पर्वले मात्रै राख्छ भन्न सकिन्छ । वास्तवमा तीज नेपालीहरूको स्वतन्त्रताको पर्व हो भन्ने कुरा हामीले हिमालयकी छोरी पार्वतीको कथाबाट पनि बुझिसकेका छौँ । जतिबेलाको समाज जहाँ महिलाहरू घरभित्रै भातभान्सामा सीमित थिए, शिक्षाबाट समेत बञ्चित थिए ।

खुला समाजमा खुलेर हिड्नलाई पनि त्यति बेलाको समाजले बन्देज गरेको थियो । बाटो, यातायात, सञ्चारका कुनै पनि आजको जस्तो विकसित साधन र माध्यम पनि थिएन । महिला घर–घरभित्र बस्दथे । आफ्नो श्रीमान्लाई शिर ठाडो पारेर घरपरिवारका माझ ऊसँग खुलम खुल्ला रूपमा बोल्नलाई पनि छुट थिएन । जस्तोसुकै थिचोमिचो, अन्याय, अत्याचार पनि महिलाले सहनुको विकल्प थिएन त्यसबारे मुख खोले बोल्ने ठाउँ थिएन, उजुरी गर्ने ठाउँ थिएन, न्याय माग्ने ठाउँ थिएन ।

त्यस्तो अवस्थामा रहेका महिलाहरूलाई वर्षमा एकदिन छुट थियो । जहाँ घरमा वर्षभरिका पीडा, वेदना, व्यथा, अन्याय, अत्याचारलाई गीतका भाकाहरूमा मिसाएर दिदीबहिनीसँगै बसेर पोख्ने र मनलाई हलुङ्गो बनाउने हुन्थ्यो । अहिलेको जस्तो स्रोत साधन केही नभएको उतिबेलाको समाज जहाँ आफ्ना बाबाआमा, दाजुभाइ, दिदीबहिनी साथीसंगी र सिंगो जन्म घरसँगको पुनर्मिलन गराउने भनेकै तीज पर्व थियो । तीजमा माइत जानलाई छुट थियो । बिरह र वेदनाका भाकाहरूलाई गाउनलाई छुट थियो, जहाँ महिलाहरूले सासूका व्यवहार, श्रीमान्को व्यवहार, परिवारको व्यवहार मात्र होइन वर्ष दिनसम्म उनले भोगेका आइपरेका सबै समस्या गीतमै गाउँथे । गीतमै बिसाउँथे र गीतमै मन बुझाउँथे । यसबाट के भन्न सकिन्छ भने तीज त महिलाहरूको स्वतन्त्रताको पर्व हो ।

त्यतिमात्र होइन कर्मघरमा पुगेका छोरीचेलीलाई मिठो मसिनो खान र एकसरो लाउनलाई पनि त्यतिबेला तीज नै पर्खनुपर्ने अवस्था थियो । तर अहिले समय फेरिएको छ । अवस्था फेरिएको छ महिलाको अवस्थामा परिवर्तन आएको छ । समाज बदलिएको छ । स्रोत साधन यन्त्र उपकरणले असम्भव भन्ने कुरा केही छैन् । त्यसको प्रभाव हाम्रा चाडपर्वहरूमा पनि देखिन थालेको छ । हिजो घरमा सीमित रहेका महिलाको आजको संसार खुला छ, समाज खुला छ महिलाका भूमिका फेरिएका छन् ।

तीजको दर खाने चलन फेरिएको छ । हिजो घर र माइतीसँग मात्र जोडिएका महिला आज सिङ्गो समाज राष्ट्र राज्यका सबै निकाय, संघसंस्था, कार्यालय सबैमा जोडिएका छन् । त्यसमै राष्ट्रसेवक कर्मचारीले दर खाएर नाचेको केही कुरा सञ्जालमा आलोचना पनि भए । स्वतन्त्रता सबैमा छ । महिलाले केही गर्नै हुन्न भन्ने सोचलाई फराकिलो बनाउनुपर्ने देखिन्छ । हिजोको जस्तो माइतीमा गएर दर खाने कुरा असम्भव छैन्  । भूमिका पेशा, व्यवसाय र सम्बन्धका आधारमा महिलाको समाज पनि हिजोको जस्तो साँघुरो छैन् । अब महिलाको समाज पनि फराकिलो छ ।


हरितालिका तीज र महिला सशक्तिकरण

तीज हिन्दू महिलाहरूको महान चाड हो । तीजको धार्मिक पृष्ठभूमि हेर्दा राजा हिमालयले आफ्नो छोरी पार्वतीको विवाह कन्यादान भगवान विष्णुसँग गरिदिने बचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउनको लागि पार्वतीले शिवालयको स्थापना गरी पानी पनि नखाई निरहार ब्रत बसिन् । यसरी पार्वतीको कठोर ब्रत यसैको कारण शिवजी प्रकट भई चिताएको कुरा पूरा होस् भनि आशीर्वाद दिए र पछि शिव र पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्रशुक्ल तृतीयाको दिन थियो । सोही दिनदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्साहको रूपमा महिला दिदीबहिनीहरूले मनाउँदै आएको कुरा पौराणिक कालदेखि चल्दै आएको मानिन्छ ।

यो दिन विषेश गरी महिलाहरू रातो पहिरनमा सुन्दर, टिका, चुरा र रातो सारीमा सजिएर ब्रत बसी श्रीमान् र परिवारको दीर्घायु, सुख, शान्ति, समृद्धिको कामना गर्दछिन् । रातो रङ शक्तिको प्रतिकको रूपमा लिने गरिन्छ । त्यसकारण महिला धैर्यवान, शक्तिवान हुन्छन् र रातो रङमा सजिन्छन् । यसमा महिलाको अधिकारका कुरा गर्दा पनि माता पार्वतीले पानि महिला अधिकारको प्रयोग गरेको पाइन्छ ।

महिलाले आफ्नो योग्य वर छान्नु, स्वतन्त्र रूपमा आफ्नोअनुकूल अनुसारको वरसँग जीवन बिताउन पाउनु जन्मसिद्ध नैसर्गिक अधिकारलाई व्यवहारिक रूपले स्थापित गराउन शान्तिपूर्ण रूपले आन्दोलन तपस्यामार्फत गरिन् र आफ्नोअनुकूलले वर छानिन् । समाजमा स्थापित गर्न निकै कठिन परिस्थितिको सामना गरिन् । त्यतिबेलादेखि नै महिलाअधिकार र मानवअधिकरको विगुल फुक्ने पहिलो महिला अभियान्ताको रूपमा पनि लिन सक्छौँ । जे होस् तीज महिलाको स्वतन्त्रता दिवस पनि हो । यो दिन महिलालाई विषेश छुट दिएको हुन्छ । चाहे त्यो जागीर होस् । चाहे घरमा यो एक प्रकारको महिलामाथि गरिएको सम्मान हो ।

तर एउटा प्रश्न धर्मसँग जोडिएका पूजाआजा, ब्रत, परिवारको सुख, शान्तिको लागि महिलाले मात्र यी सब गर्नुपर्ने, पुरूषहरू महिलाको लागि ब्रत नबस्नु पर्ने, परिवारको सुख शान्तिमा धर्म, कर्मकाण्ड केबल महिलाले मात्रै गर्नुपर्ने, जस्तै सोमबारको एक महिने ब्रतदेखि तीजको ब्रत र हरेक धार्मिक कर्मकाण्ड महिलाले गर्ने तर पुरूषले सोही दिनमा भोजन गरेपनि माफी हुने यो परम्पराले अझै पनि यति धेरै लैंगिक विभेद हाम्रो समाजमा जडा गाडेर बसेको देखिन्छ ।

अझै पनि तीजको ब्रत निरहार बसी बेलुका श्रीमान्को खुट्टाको जल खाएर कमाउने महिलाहरू पनि हाम्रो समाजमा अझै हुन्नुहुन्छ जसले महिला र पुरूषबीचको असमानतालाई कायम राख्न मद्दत गर्दछ । यस्तो अन्धविश्वासलाई त्यागी तीज पर्वलाई महिला र पुरूषको समान अधिकार प्राप्त गर्ने प्रयासमा अगाडि बढौँ ।

श्रीमान्ले श्रीमतीको र परिवारजनको दीर्घायु र सम्मानका लागि दुवैजनाले तीज पर्वदेखि सबैलाई कर्मकाण्ड या बराबर हिस्सा लिई सहभागी भएमा महिलाको न्याय र समानताको अधिकार समाजमा स्थापित हुने देखिन्छ । महिलाहरू अहिले अरूमाथि आश्रित छैनन् आफै कमाउन सक्ने देश चलाउन सक्ने आवश्यकता र औचितयका आधारमा पैसा खर्च गर्ने सामथ्र्य राख्दछन् ।

त्यसैले घरमा दर खाने हिजोकोे चलन केही विकसित भएको छ । टोल, छिमेक कार्यालय सबैसँग जोडिदै महिलाले एकै दिन अर्थात् तीजको अघिल्लो दिनमा दरखाने कुरा अहिलेको समाजमा सम्भव छैन । यसलाई समयको माग बदलिदो समयले संस्कृतिमा ल्याएको नयाँपनको रूपमा समाजले स्वीकार्न जरूरी छ । अर्कोकुरा चाडपर्वलाई थोरै खर्च एकसरो लाएर पनि रमाइलो गरी मनाउन सकिन्छ । नपुगी नसकी ऋणको भारी बोक्ने गरी मनाउनेतर्फ हामी नलागाँै र हुनेहरू पुग्नेहरूले लगाएको विरोध पनि नगरौँ ।


अधिकार प्राप्तिको पर्व तीज

आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा र पर्व हो । सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यतानुसार महिलाहरू विवाहपश्चात् आफ्नो श्रीमान्को साथमा उसको घरमा बसी बाँकी जीवन बिताउनुपर्ने हुन्छ । यसरी आफू जन्मेको घर, माता, पिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराईघरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा तीज पर्वको गहन महत्व रहेको छ । तीजमा महिलाहरूलाई मिठा–मिठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ ।

महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ । तीजमा विवाहिता महिलाहरू आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै ब्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिता सुयोग्य वरको आशा राखी व्रत बस्छन् ।

ब्रतको समयमा महिलाहरूले तीजको ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई दान दक्षिणा गर्ने चलन रहेको छ । तीजको ब्रत अन्य ब्रतभन्दा फरक ढंगले लिइन्छ । छोरी चेली र माइतीबीचको सम्बन्धलाई पुनर्मिलन गराउने, संगी साथीबीचको सम्बन्ध पुनर्मिलन गराउने पर्वका रूपमा तीजलाई लिन सकिन्छ । हामीहरूले तीज पर्वलाई आत्मसम्मान र अधिकार प्राप्तिको रूपमा लिन्छौँ ।

समाजमा रहेका मूल्य मान्यतालाई बचाउँदै संस्कार र परम्परा जोगाउने पर्व तीजलाई आफ्नो गक्षभन्दा माथि उठेर मनाउनु हुँदैन् । कहिँकतै महँगा होटेलमा पनि तीज पर्व मनाउने, दर खाने गरेको देखिन्छ । यसलाई विकृतिको रूपमा भन्दा पनि परिवर्तनका रूपमा लिनुपर्छ । फेरिदो जीवनशैलीमा अघिल्लो पुस्ताले गरेकै कुरालाई निरन्तरता दिन नसकिएको अवस्था पनि छ । पछिल्लो समय तीजपर्व केहि भड्किलो बन्दै गएको पनि छ भन्ने यदाकदा गुनासाहरू पनि आउँछन् । यसको लागि हामी आफैपनि सचेत हुनुपर्छ । आफ्नो क्षमताअनुसार नै तीजपर्वलाई भव्य र सभ्यरूपमा मनाउने संस्कृतिको विकास गर्न आवश्यक छ ।


माइती र चेलीको प्रगाढ सम्बन्ध तीज

हिन्दू नारीहरूको महत्वपूर्ण पर्व हरितालिका तीजको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण दिदीबहिनीहरूमा हार्दिक शुभकामना दिन चाहन्छु । आफ्नो धर्म, संस्कार र संस्कृतिप्रति मलाई अत्यन्त आस्था र विश्वास लाग्छ । म पनि आफू बुझ्ने भएदेखि नै हरितालिका तीजको ब्रत बस्दै आएकी छु । यसको धार्मिक महत्व एकातिर छ भने अर्कातर्फ हाम्रो परम्परा र संस्कृति भएकोले पनि यसको संरक्षण र प्रबद्र्धन गर्दै जानुपर्छ जस्तो लाग्छ मलाई ।

तीजमा दिदीबहिनीबीच भेटघाट हुने, सुख दुःखका कुरा आदानप्रदान हुने, मिठो मसिनो खाने प्रचलन भएकोले पनि मलाई यो पर्वको महत्व बढी लाग्ने गर्छ । गीत संगीतको माध्यमबाट मनका बेदना पोख्ने नाचगान गर्ने, माइती र चेलीको सम्बन्ध प्रगाढ बनाउने यो पर्व विशेष रहने गर्छ ।

तर पछिल्लो समय तीज भड्किलो बन्दै गएको मलाई महसुस भएको छ । तीज आफ्नै मौलिकताभन्दा पनि आधुनिकता बढी देखिन थालेको छ । खासमा कुनैपनि पर्वको आफ्नो मौलिक पहिचान हुन्छ तर त्यसलाई बिर्सेर पश्चिमा संस्कृति तीजमा समेत देखिन थालेको छ । एकअर्काको धर्मको सम्मान गर्दै धार्मिक सहिष्णुता बढाउनुपर्ने आजको आवश्यकता देखिन्छ । देखावटीभन्दा आफ्नै दक्षता र क्षमता अनुसार चाडपर्व मनाउन सबै दिदीबहिनीहरूमा अनुरोध गर्दछु ।

एक महिना अघिदेखि दर खाने, महँगा गरगहना प्रदर्शन गर्ने होडबाजीले आपसी सद्भाव र एकता कायम हुन सक्तैन । अहिले झनै हाम्रो नेपालमा अर्थतन्त्र खस्किएको छ अर्थिक मन्दीले देश ढुबेको बेला हामीले विदेशी मुलुकबाट भित्रिएका सौन्दर्यका सामानहरूले सजिएर झन् देशलाई आर्थिक भारमा पार्नुहुँदैन जस्तो लाग्छ ।

म एउटा संघर्षशील महिला उद्यमी पनि भएकोले हरेक महिला आत्मनिर्भर भएको देख्न चाहन्छु । मेरो दृष्टिकोणमा हरेकले आफूले गर्ने खर्च आफूले आर्जन गर्न सक्नुपर्छ, आफ्नो कमाइ र हैसियतमा रमाउन सक्नुपर्छ । हरेक महिला उद्यमी भय समाजमा महिलामाथि हुने हिंसा पनि कम हुन्छ । तब मात्र सुन्दर समाज निर्माण गर्न सकिन्छ ।


विकृत हुँदै तीज पर्व

हरेक घटनाको पृष्ठभाग (ईतिहास)मा त्यसको कारण लुकेको हुन्छ । सानै उमेरमा बिहे हुनु, चिन्दै नचिनेको जान्दै नजानेको परिवार र परिवेशलाई आत्मसात् गर्नुपर्ने, बुबाआमा, भाइबहिनी, बालापनका संगीसाथीहरूको सम्झना आउनु अत्यास लाग्नु, माइतमा रहदा बच्चा बनेर बसेको मान्छे सानै उमेरमा घरको व्यवहारमा सम्हाल्नु पर्ने अवस्था आउनु, सासू, ससुरा, नन्द, देवरको भनाइ, सबै परिवारको सेवा गर्नपर्ने, दिनभरी खेतबारी मेलापातमा सबैसँग नारिएर बराबर काम गर्नुपर्ने, बेलुका भएपछि सबैले आराम गर्दा आफूले खानपान दैलोकुचो गर्नुपर्ने, सबैको सेवा गरेर राती अबेरसम्म काममा दलिएको मान्छे भोलि परिवारका अन्य कोही ब्यक्ति नउठ्दै बिहानै उठेर ढिकी जाँतो, पानी पधेँरो गर्नपर्ने, यति गर्दा पनि अपशब्द र अपमान सहनु पर्ने, मिठो मसिनो खान नपाउनु, पाकेको खाना परिवारका सबै सदस्यलाई खुवाउने बचेँको भए खाने नत्र भोकै सुत्नु पर्र्ने बाध्यता जस्ता परिस्थिति व्यहोर्नु परेकाले र त्यसको बारेमा बोल्नसमेत नपाइने भएकाले माइतीको आँगनीमा मनका पीर ब्यथा पोख्नको लागि तीज पर्वको औचित्य देखिएर यो पर्व सुरू भएको हो ।

गाडी घोडाको सुविधा नहुने, घरबाट बिदा नमिल्ने, चाहेको बेला माइत जान पनि नसकिने/नपाउने, सञ्चारका साधनहरू पनि नभएको सानै उमेरमा बाआमाको काखबाट छुट्टिएर अर्काको घरमा जानु पर्दा माइतीको सम्झनाले अत्यास लाग्दा न फोन, न मोबाइल, न कुनै सञ्चारका माध्यम । विकल्पविहीन रूपमा एकान्तमा रूदैँ माइत जाने दिन गनेर बस्ने परिस्थिति हुँदा तीजको आवश्यकता थियो ।

छुट्टिएका साथीसंगीहरूसँग भेट हुने, वर्ष दिन भरीका पीर व्यथा बाँड्न पाउने, आफू हुर्केको आँगनीमा नाच्न पाउने, आमाले पकाएको मिठो मसिनो खान पाउने, एकै दिन भए पनि बालापनको आनन्द लिन पाउने भएकाले तीजको अर्थ र महत्व थियो । श्रीमान्को लामो आयुको लागि तीजको दिनमाब्रत बस्नु पर्ने भएकाले तीजको अघिल्लो दिनमा घरमा भएको मिठो मसिनो पकाएर राती अबेर खाने खाना नै दर हो ।

माथि उल्लेखित कारणहरू नै तीज पर्वको जग हो । जग नै भत्किए पछि घर के होला ? समाज परिवर्तन भयो, परिवेश परिवर्तन भयो । उत्पादन प्रणाली परिवर्तन भयो । सामाजिक व्यवस्थामा परिवर्तन भयो । त्यसकारण तीजको औचित्य हराउँदै गएकाले विकृति सिर्जना हुँदै गयो । हिजोका हरिदेवी कोइरालाका दुःख, पीडा र विरहका लोक भाखाहरू र आज कोमल वलीहरूका पोइल जान पाम शिव भन्ने गीतहरूबाट नै तीज विकृत हुँदै गएको प्रष्ट हुन्छ ।

उत्पादन प्रणालीमा आएको परिवर्तनले परिवेश फरक बन्न पुग्यो । श्रीमान् खाडीमा ५० डिग्रीको गर्मीमा बासी रोटी खाएर परिवारको खुसीका लागि रातदिन मेहनत गरेको देखिनु र श्रीमतीले दरको नाममा रिसोर्टहरूमा हुस्की लडाएको घटनाहरू देखिँदै जानुले पनि तीजको औचित्य हराउँदै गएको भन्न सकिन्छ । तिज र दरको नाममा विभिन्न विकृतिहरू मौलाउँदै गएको देखिन्छ । यसको मतलव आधुनिकता र परिवर्तनलाई स्वीकार नगरेको होइन ।

खर्च गर्ने सवालमा विकसित मुलुकभन्दा अगाडि र कमाई गर्ने सवालमा एउटा खुर्सानी पनि उत्पादन गर्न नसक्ने परिपाटी विकसित हुँदै जानुले हामीलाई, परिवारलाई र सिङ्गो देशको भविष्य के हुने ? विस्तारै हामी परनिर्भर हुँदै गयौँ । तसर्थ वित्तीय रूपमा साक्षर बनौं । हैसियतभन्दा कम खर्च गरौं । आर्थिक समृद्धिको बाटोमा लागौं । समृद्ध बनौँ र रमाइलो गरौं भन्ने हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here