Tuesday, July 16, 2024
Homeमुख्य खबर१६औं एसिया कप आजदेखि पाकिस्तानसँग नेपाल खेल्दै

१६औं एसिया कप आजदेखि पाकिस्तानसँग नेपाल खेल्दै

- Advertisement -spot_img

काठमाडौँ, १३ भदौ । एसिया कपको १६औं संस्करणमा नेपालले पहिलो पटक आफ्नो सहभागिता जनाउँदै छ । आज बुधबारदेखि सुरू हुने एसिया कप प्रतियोगितामा नेपालले पाकिस्तान र भारतसँग खेल्दै छ । पाकिस्तान वर्तमान समयमा आइसीसी ओडिआई वरियतामा शीर्ष स्थानमा छ । नेपालले आज बुधबार मुल्तान रंगशालामा पाकिस्तानसँग खेल्नेछ ।

एसिया कप भदौ १३ देखि ३१ गते (३० अगष्ट देखि १७ सेप्टेम्बर) सम्म पाकिस्तान र श्रीलंकामा हुनेछ । नेपालले बुधबार घरेलु टोली पाकिस्तानसँग खेल्दै एसिया कप डेब्यु गर्नेछ । नेपाली क्रिकेट इतिहासमा कुनैपनि वरियता शीर्ष टोलीसँग खेल्न लागेको यो पहिलो पटक हो । नेपाल आइसीसीको ओडिआई विश्व वरियतामा १५औं स्थानमा छ ।

यसअघि नेपालले वरियताको आधारमा सबैभन्दा माथि रहेको टोली वेस्टइन्डिज थियो । वेस्ट इन्डिजसँग दुई महिना अघि भएको विश्वकप ग्लोबल छनोटमा जिम्बावेमा खेलेको थियो । आइसीसी विश्व ओडिआई वरियतामा त्यस समय वेस्टइन्डिज १०औं स्थानमा रहेको थियो । सोहि प्रतियोगितामा नेपालले ११औं स्थानमा रहेको जिम्बावेसँग पनि खेलेको थियो ।

गत बैशाखमा सम्पन्न एसीसी प्रिमियर कपमा अपराजित रूपमा च्याम्पियन बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो । फाइनलमा युएईलाई ७ विकेटले हराउँदै नेपालले एसिया कपमा स्थान बनाएको थियो । एसिया कपको पाकिस्तानले आयोजना अधिकार पाएको थियो । तर, भारतले आन्तरिक राजनीति र सुरक्षाको कारण पाकिस्तान जान अस्विकार गरेपछि पाकिस्तानले प्रस्ताव गरेको हाब्रिड मोडलमा एसिया कप हुँदैछ ।

एसिया कपका १३ मध्ये ४ खेल पाकिस्तान र ९ खेल श्रीलंकामा हुनेछन् । १६औं संस्करणको एसिया कपमा ६ राष्ट्रको सहभागिता छ । ६ देशलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।

मुल्तान क्रिकेट स्टेडियम

एसिया कपको उद्घाटन खेलमा नेपालले आज बुधबार घरेलु टोली खेल्दै छ । नेपाल र पाकिस्तानबीचको खेल मुल्तान क्रिकेट स्टेडियममा नेपाली समयअनुसार दिउँसो ३ः१५ मा सुरू हुनेछ । नेपालले पहिलो पटक एसिया कप खेल्न लागेको हो । भारत र पाकिस्तानसँग नेपालले खेल्ने हुँदा विश्वको नजर नेपाली टोली र खेलाडीमा हुनेछ ।

कुनै पनि टोलीको प्रदर्शन मैदान र त्यसको अवस्थाले धेरै फरक पार्नेछ । नेपालले खेल्ने मुल्तान मैदानको कुल दर्शक क्षमता ३५ हजार छ । मुल्तानमा २००१ मा पहिलो अन्तर्राष्ट्रिय खेल भएको थियो । मुल्तान रंगशालामा पहिलो ओडिआई खेल २००३ मा पाकिस्तान र बंगलादेशबीच भएको थियो । यस रंगशालामा अन्तिम ओडिआई खेल २०२२ जुन १२ मा वेस्टइन्डिजविरूद्ध पाकिस्तानले खेलेको थियो ।

मुल्तानमा हालसम्म १० ओडिआई खेल भएका छन् । पाकिस्तानले १० मध्ये ७ खेलमा विजयी हात पारेको छ । मुल्तान रंगशालामा २००७ मा दक्षिण अफ्रिकासँग हारपछि पाकिस्तानले कुनैपनि ओडिआई खेल गुमाएको छैन । यस मैदानमा ओडिआईको उच्च स्कोर ३ सय २३ रन छ । २००३ मा पाकिस्तानले बंगलादेशविरूद्ध ५० ओभरमा ३ विकेट गुमाउँदै ३ सय २३ रन बनाएको थियो । मुल्तानमा ओडिआईमा २० इनिङमध्ये तीन इनिङमा मात्रै ३ सय माथि योगफल बनेको छ ।

पाकिस्तानले २०२२ मा वेस्टइन्डिजविरूद्ध ३ सय माथिको लक्ष्य पूरा गरेको थियो । अन्य खेलमा ३ सय रनको लक्ष्य पूरा हुन सकेको छैन । यस मैदानमा बनेको कम स्कोर जिम्बावेले पाकिस्तानविरूद्ध बनाएको रन हो । पाकिस्तानविरूद्ध जिम्बावे १ सय ४८ रनमा अलआउट भएको थियो । मुल्तानमा ओडिआईमा सर्वाधिक धेरै व्यक्तिगत रन पाकिस्तानका इमाम उल हकले बनाएका छन् । उनले गतवर्ष वेस्टइन्डिजविरूद्ध ३ खेलमा १ सय ९९ रन बनाएका थिए । यस मैदानमा हालसम्म ओडिआईमा ६ शतक प्रहार भएका छन् ।

सन् २००४ मा भारतका विरेन्द्र शेहवागले टेस्ट क्रिकेटमा खेलेको ३ सय ९ रनको इनिङ यसै मैदानमा थियो । मुल्तान रंगशालामा स्पिन बलिङको आँकडा राम्रो छ । सादब खान र मोहम्मद नवाजले सर्वाधिक ७ विकेट लिएका छन् । शोएब मलिक र शाहिद अफ्रिदीले ६–६ विकेट लिएका छन् । गतवर्ष वेस्टइन्डिजका निकोलस पुरनले स्पिन गर्दै एकै खेलमा चार विकेट लिएका थिए ।

नेपालका खेलहरू

नेपालको पहिलो खेल भदौ १३ (अगष्ट ३०) मा पाकिस्तानको मुल्तानमा खेल्नेछ । मुल्तानमा घरेलु टोलीविरूद्धको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ मा हुनेछ । उक्त खेलपछि नेपाली टोली श्रीलंका जानेछ । नेपालको दोस्रो खेल भारतविरूद्ध रहेको छ । नेपाल र भारतबीचको खेल भदौ १८ (सेप्टेम्बर ४) मा श्रीलंकाको क्यान्डिमा हुनेछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ मा सुरू हुनेछ । नेपालको दुबै खेल डे नाइट हुनेछ ।

नेपाली टोली

रोहित कुमार पौडेल ( कप्तान), आशिफ शेख, कुशल भुर्तेल, ललित नारायण राजवंशी, भिम सार्की, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जि।सि, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद, श्याम ढकाल । – खेलपाटीबाट

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here