देशमा कानुनले बर्जित गरेका कुरा गर्ने छुट कसैलाई छैन् । तर सभ्य र सुन्दर सहर पूर्वको धरानमा एक/दुईजनाले हिन्दूवादीलाई चुनौती दिएर गोरू काटेर खाँदा धरानबासीले दुःख पाएका छन् । सामाजिक सञ्जालमा गोरू काटेर खाएको भिडियो सार्वजनिक हुँदा हिन्दू अभियान्ता अहिले विरोधमा छन् । धरानमा त प्रशासनले निषेधाज्ञासमेत लगाउनुप¥यो । विरोध प्रदर्शन शान्ति पूर्णरूपमा भयो । तर सामाजिक सद्भाव खल्बलिने खतरा अझै कम भएको छैन् । सामाजिक सञ्जालमा एकअर्कामाथि खनिदै भिडियो सार्वजनिक भइरहेका छन् । यसले समाजलाई बिखण्डनतिर लैजाने त होइन् भन्ने चिन्ता थपिएको छ । सामाजिक सद्भाव खल्बलिन नदिन कसको भूमिका के हुन सक्छ ? प्रदेश टुडे राष्ट्रिय दैनिकको नियमित स्तम्भ टुडे राउण्ड टेबलमा विभिन्न सरोकारवालाको विचारलाई समेटेका छौँ । – सम्पादक
जीतसागर जी.एम.
राजनैतिक व्यवस्थाको प्रतिफल
धर्मका नाममा पछिल्लो समय सामाजिक सद्भाव खलबलिनु भनेको अहिले व्यवस्था नै हो । जातीय राज्य बाँड्ने, गाई काटेर खाने, यो जातलाई यो राज्य भन्ने यस्तै प्रलोभन देखाएर अहिलेको व्यवस्था ल्याएको हो । तर व्यवस्थाले जे जस्तो भएपनि हामी नेपालीहरू एक हुनुपर्छ । जात, धर्म, लिंगका आधारमा हामीले सद्भाव खलबलिने काम गर्न हुँदैन् । जातको आधारमा कोही सानो ठूलो छैन् । जात आफैमा ठूलो हो । नेपाली संस्कृतिले हामीलाई मिलाएर राखेको छ । संस्कृतिको पहिचान गर्न सक्नुपर्छ । राज्यको व्यवस्था जस्तोसुकै आएपनि, नेताहरूले जस्तोसुकै प्रलोभन देखाएपनि हामी समुदाय समुदायबीचका नागरिक एक भएर बस्न सक्नुपर्छ । अहिले देखिएको बिखण्डन वर्तमान व्यवस्थाकै उपज हो ।
अहिले देखिएको कुरालाई विदेशी चलखेल पनि भन्न सकिन्छ । अहिले धरानबाट विष्फोट भएको छ । हिजोको अवस्थालाई हेर्दा जनयुद्ध एक ठाउँमा त भएन, जनयुद्ध त नेपालभरी भएको छ । त्यो बेलामा सबैले गाई काटेर खाएका थिए । अनि जातको आधारमा राज्यको नामाकरण गरिएको पनि यथार्थ हो । मगरात, खम्बुवान, लिम्बुवानजस्ता नाम हामीले सुनैकै हो । यसबाटै हामीलाई बिखण्डनतिर धकेलिरहेको स्पष्ट हुन्छ । अवैध सम्पर्कबाट जन्मेको बालक कस्तो हुन्छ ? गाई काटेर खाएर ल्याएको व्यवस्था हो । त्यसकारण अहिले विस्तारै बाछिटाहरू देखिन थालेका छन् । धरानमा अहिले बिष्फोटमात्रै भएको छ । नत्र भने हिजोको अवस्थाबाटै गाई काटेर खान शुरू गरिएको यथार्थ त हामीलाई सर्ववितितै छ त ।
वर्तमान नेपालको राजनैतिक व्यवस्थाको प्रतिफल हो । अहिले धरानेलाई मात्रै दोष दिएर हँुदैन् । क्रिश्चियनले यस्तो गरे भन्छन् । क्रिश्चियनकै सहयोगले नेपाल चलेको हामीले प्रष्टरूपमै देखेका छैनौँ र ? भारतले चलखेल गर्दा अहिलेको स्थिति आएको हो भनिन्छ । यतिमात्रै भारतसँगै चीन, अमेरिकाको चलखेल नेपालमा छ । यसैबाट नेपाल चलेको छ । राजनीतिमा नमुछिएका प्राज्ञिक व्यक्तिहरूले अघिदेखि हेरिराखेका छौँ । हामीमा सामाजिक सद्भाव छ । सांस्कृतिक सद्भाव छ । जातभात ठुलो हुँदैन् । जात भएको हाम्रो पहिचान हो । आफ्नो जात आफैमा ठूलो हुन्छ । त्यसैले समय र परिस्थितिअनुसार हामीहरू एक भएर अघि बढ्नुको विकल्प छैन् ।
म एउटा कुरा भन्छु । म कतारमा हुँदा होम गरेको थिएँ । त्यतिबेला केही ब्राह्मणले गुरूङले होम गर्ने अधिकार कहाँबाट पायो भनेर प्रश्न पनि गरेका थिए । ब्राह्मणको अधिकार कहाँबाट गुरूङलाई गयो भन्ने प्रश्न गरिरहे । यस्तै विचारले गर्दा विखण्डको स्थिति ल्याउँछ । त्यसैले पनि हामी एकअर्काको सम्मानमा जुटौँ । फुटेर होइन्, जुटेर परिवार, समाज हुँदै देश बन्छ । धर्म, जात, लिंगका आधारमा एकअर्कामा लड्ने काम गर्नुहुँदैन् । एकले अर्काको विचारलाई सम्मान गरौँ । कसैको पनि आत्मसम्मानमा ठेस पुग्ने काम नगरौँ । पछिल्लो समय देखिएको समस्यालाई बल्झाउनेभन्दा पनि सुल्झाउनेतिर लागौँ ।
मासु खाएको कुरा ठूलो बनाउनु राम्रो होइन
भोजन व्यक्तिको नितान्त व्यक्तिगत विषय हो । कसले कहाँ के खान्छ ? के को मासु खान हुन्छ ? के को खान हुँदैन ? यस्तो विषयमा चियोचर्चो गर्नु गलत कुरा हो । हामी खस आर्य हौँ । ईतिहास खोतल्दै जाने हो भने खस आर्यहरू खासमा हिन्दू थिएनन् । उनीहरूलाई पछि गंगासागरतिरबाट आएका हिन्दू धर्मका प्रचारकहरूले जनैधारी र हिन्दू बनाएका थिए त्यो राज्यको उत्पत्ति भएको पनि धेरै वर्षपछि खसआर्यहरू प्रकृति पूजक र मांसहारी थिए ।
उनीहरूले राँगा, गोरू, बोका, सुँगुर सबैको मासु खान्थे । वर्ण व्यवस्थापछि नै कसले के को मासु खाने ? भन्ने विभाजन गरिएको थियो । हिन्दू खसआर्य भित्रकै एउटा जाति सार्कीलाई गोरूको मासु खाने गराइयो । क्षेत्री बाहुनलाई बोका, मत्वाला क्षेत्रीलाई कुखुरा, कामी, दमाईलाई राँगा गरी विभाजन गरियो भने राई, लिम्बु, मगर, गुरूङ, लामालगायतका जनजातिहरूलाई सबै प्रकारका ।
गोरूको मासु खाने चलन आजको होइन, परापूर्वकालदेखिको हो । पहिलेको उत्पादन प्रणाली अनुसार गाईको दूध र गोरू जोत्नका लागि अत्यावश्यक भएकाले पछि आएर त्यसलाई जोगाउने भनिएको थियोे । तर पनि मान्छेहरूले खान नछाडे पछि दण्डनीय बनाइयो । तर पनि ठूलो संख्यामा जनजातिहरूले लुकिछिपी भएपनि खान छोडेका थिएनन् । अहिलेको उत्पादन तरिकामा धेरै परिवर्तन भैसकेको छ ।
गोरू जोतेर खेतिपाती गर्ने चलन प्रायः अन्त्य जस्तै भएको छ । उन्नत जातका गाईपालनको सुरू भएसँगै गोरू झन अर्घेलो जनावर बनेको छ । त्यसैले गोरू उपयोगिताहीन र बजारमा छाडा चोैपाया जनावर बनेको छ । समयको विकास र उत्पादन प्रणालीमा आएको फेरबदल अनुसार गोरूलाई उपयोगी जनावर बनाई आर्थिक उपार्जनसँग जोड्न राज्य र नीति निर्माण तहमा यसतर्फ ध्यान जान आवश्यक छ ।
धरानको विषय किन यति धेरै उछालियो ? विचारणीय विषय बनेको छ । क्रिसानीटिको हावा फैलाएर त्यसलाई धार्मिक द्वन्द्व र राजनीतिकरण गरिदैछ । के गोरूको मासु खाने सबै क्रिश्चियन हुन् ? परापूर्वकालदेखि गोरूको मासु खाने हाम्रा सार्की दाजुभाइ कहिलेदेखि क्रिश्चियन भएका थिए ? अनि दक्षिण भारतमा बहुसंख्यक हिन्दूहरूले खुलेआम गोरूको मासु खान्छन् के तिनीहरू सबै क्रिश्चियन हुन् ? यस्तो गलत प्रचार र हावा खडा गरेर पर्दाभित्रबाट कुटिल खेल हुँदैछ ।
मासु खाएको विषयलाई उछालेर नागरिकको संविधान प्रदत्त मौलिक अधिकार हनन नगरौं । जहाँसम्म गाईलाई वैदिक हिन्दूहरूले माता भनेर पूजा गर्छन त्यो उनीहरूको धार्मिक स्वतन्त्रताको कुरा हो । उनीहरूलाई पनि सम्मान गर्नु पर्दछ । विश्व विशाल छ तर गोलो छ । सबैका आआफ्नो मौलिक परम्परा, धर्म, संस्कार, संस्कृति हुन्छ । सबैलाई सम्मान गरौं । गोरूको मासु खाने र गाई पुज्ने हामी सबै नेपाली हौं । सबैलाई सम्मान गरौं । सबैको हक सुनिश्चित गरौं ।
जहाँ सम्म कानूनको कुरा छ त्यो त हामीले बनाएको हो । त्यो कुनै जड मूर्ति होइन, त्यो त बदलिन सक्छ र बदल्नुपर्छ । गाईलाई राष्ट्रिय जनावरको सूचीबाट हटाएर एकसिंगे गैडा बनाउनुपर्छ । अर्को कुरा धरानमा गाई काटेर खाएका होइनन्, उनीहरू भनिरहेका छन् हामीले गोरूको मासु खाएका हौँ । वैदिक हिन्दूले भन्ने गरेको माता र नेपालको संविधानले भनेको राष्ट्रिय जनावर गोरू होइन गाई हो । गाई मात्रै होइन अन्य जननी जात बध गर्न कानुनले बन्देज नै गरेको छ । गोरू बध गरेर खान नेपालको कानुनले पनि रोकेको छैन् ।
जहाँसम्म कानुनको कुरा छ त्यो त हामीले बनाएको हो । त्यो कुनै जड मूर्ति होइन, त्यो त बदलिन सक्छ र बदल्नुपर्छ । गाईलाई राष्ट्रिय जनावरको सूचीबाट हटाएर एकसिंगे गैडा बनाउनुपर्छ । अर्को कुरा धरानमा गाई काटेर खाएका होइनन् , उनीहरू भनिरहेका छन हामीले गोरूको मासु खाएका हौँ । वैदिक हिन्दूले भन्ने गरेको माता र नेपालको संविधानले भनेको राष्ट्रिय जनावर गोरू होइन गाई हो । गाई मात्रै होइन अन्य जननी जात बध गर्न कानुनले बन्दज नै गरेको छ । गोरू बध गरेर खान नेपालको कानुनले पनि रोकेको छैन् ।
संविधानको परिधिभन्दा बाहिर जानु गलत हो
सामाजिक सद्भाव बिग्रने गरी पछिल्लो समय भएको घटनाप्रति हामी पनि निकै दुःखी छौँ । धरानमा भएको घटना जुन नहुनुपर्ने थियो । कुन नियमतका साथ भयो, जानाजान या अञ्जानमा हो भन्ने नै मूख्य प्रश्न हो । धरानमा भएको घटनासँग धेरैले हामीलाई जोडेका छन् । यो ठिक होइन् । कोही पनि धर्मले अरूको आत्मसम्मान ठेस पु¥याउने भन्ने हुँदैन । धरानको घटना कसरी भयो ? त्यो कुरा हामीले पनि खोज्ने प्रयास गर्नेछौँ । हामी सबै नेपाली नेपालको संविधानको परिधिभित्र रहनुपर्छ । पछिल्लो समय जुन गतिविधि भएका छन् । त्यो निकै दुःखलाग्दो छ । संविधानको मर्मभन्दा बाहिर रहेर ति कुरा भएका छन् । यस्ता घटना फेरि पनि दोहोरिन हुँदैन् ।
पछिल्लो समय भएको घटनाले शान्ति र समृद्धिको नारालाई असफल बनाउने कोसिस भएको छ । फुटेर होइन्, जुटेर समाज र देश बन्छ । यसकारण कुनै पनि समुदायले अर्को समुदायको सम्मानमा ठेस पुग्ने काम गर्नुहुँदैन् । धर्मका नाममा कसैलाई होच्याउने कुरा गलत छ । पछिल्लो घटनामा कतिपयले क्रिश्चियन समुदायलाई जोड्ने काम गरेका छन् । यसमा म स्पष्ट पार्न चाहन्छु । धर्मका नाममा नेपालमा सद्भाव खलल पुग्ने काम गर्न हुँदैन भन्नेमा हामी सचेत छौँ ।
पछिल्ला गतिविधिले नेपाललाई नै असन्तुलन बनाउने बाह्य शक्ति लागेको छ भन्ने पनि गरिन्छ । यसमा हामी सचेत रहनुपर्छ । विभिन्न धार्मिक, सांस्कृतिक, जातीय कुरा लगाएर हामीलाई कसैले असफल बनाउने कुरामा हामीले निकै गम्ीभरताका साथ हेर्नुपर्छ । राजनीति गर्ने नेतृत्वले पनि धेरै कुराको ख्याल गर्नुपर्छ । सद्भाव कायम राख्न सबैजनाको भूमिका महत्वपूर्ण छ । सामाजिक सञ्जालमा जे पायो, त्यहि पोष्ट गर्ने गर्नुहुँदैन् । नेपालमा हामीलाई अलि बढी स्वतन्त्रता छ । हामीले कुरा राख्न हुन्छ, के राख्न हुँदैन भन्ने कुराको ख्याल गर्दैनौँ । हामी सबै जिम्मेवार बनौँ । सञ्जालमा के राख्ने, के नराख्ने कुरामा ख्याल गरौँ ।
यसमा सचेतनाका लागि जातीय, धार्मिक, राजनैतिक अगुवाहरूको भूमिका पनि रहन्छ । सामाजिक सद्भाव राख्ने कुरामा हामी सबै जिम्मेवार छौँ । तर कतिपय जानकारहरू पनि एकलौटी कुरा गरिदिनुहुन्छ । विश्लेषक, जानकार, बुद्धिजीवीलगायतले पनि एकलौटी कुरा गर्दा सामाजमा नकारात्मक असर परिरहेको हुन्छ । तर पनि पछिल्लो समय नेपाली नागरिक धेरै बुझ्ने भइसकेका छन् ।
समाजमा मेरो भूमिका के भन्ने, मेरो समुदायलाई कसरी राम्रो बनाउने, मेरो धार्मिक आस्थामा रहेकालाई के कुरा सिकाउने भन्ने कुरा बुझ्न जरूरी छ । सामाजिक सद्भाव कायम राख्नका लागि सबैजनाको भूमिका उत्तिकै छ । सरकार, धार्मिक संघसंस्था, राजनैतिक दलहरूले समाजलाई मिलाउने कुरामा गम्भीर हुनुपर्छ । हामीले पनि के सूचना जारी गरेका छौँ, भने कुनै पनि सामाजिक सदभावमा ठेस पुग्ने कुरा अर्थात् समाजलाई भड्काउने प्रकारका कुरा नराखौँ भनेर अपिल गरिरहेका छौँ । यसप्रति हाम्रो समुदाय जिम्मेवार छ ।
सबैले सबैको सम्मान गरौँ
कुनै पनि धर्ममा अन्य धर्मलाई सम्मान गर्नुपर्छ भन्ने सिकाएको हुन्छ । राजनैतिक परिवेशमा विभिन्न स्वार्थहरूले गर्दा अहिले सामाजिक सद्भाव खलबलिन पुगेको छ । विचारलाई शासनमा परिणत गर्न खोजेर विभिन्न घटनाक्रमहरू हुने गरेका छन् । यदि सबै धर्मलाई सम्मान गर्ने हो भने सद्भाव आफै आउँछ । एकले अर्कोलाई सम्मान गर्न सकेपछि आफै सम्मान आउँछ । आफै सम्मान आउँछ । अनि मिलिजुली बस्ने वातावरण बन्छ । यसका लागि सबै धर्मलाई सम्मान गर्नुपर्छ । मलाई लाग्छ संविधानमा आएको धर्मनिरपेक्षको व्यवस्था छ । अहिले यसको बहानामा हामी सबैले नेपालमा बहुसंख्यक नेपालीको धर्म संस्कृतिमाथि अल्पसंख्यकले धावा बोल्नु राम्रो होइन् ।
विश्वमा पनि धर्मका नाममा शासन सत्ता उल्टाउने गरेको पनि देखिन्छ । यस हिसावले नेपालमा पनि अहिले कतै यही त होइन् भन्ने आशंका उब्जिएको छ । यद्यपि यही नै हो भन्ने अवस्था होइन् । मलाई के लाग्छ भने एकले अर्कोलाई सम्मान गर्न सक्नुपर्छ । धर्मका नाममा बिखण्डन ल्याउन पाईदैन् । हामी सबै जातजाति भाषाभाषी यसमा संयम भईदिनुपर्छ । नेपालमा अहिले हिन्दू धर्म बहुसंख्यक छ । तर पनि विभिन्न बहानामा हिन्दू धर्ममाथि प्रहार भएको भनेर अहिले आइरहेको छ । यसमा हामी सबै संयमित हुनुपर्छ । मानवीय धर्म नै सबैभन्दा महत्वपूर्ण कुरा हो । यही कुरा सबैले बुझिदिनुपर्छ । यही कुरा सबैले बुझ्न सकेपछि अहिलेको स्थिति आउने थिएन ।
पछिल्लो समय देखिएका गतिविधिले नेपाल र नेपालीलाई बिखण्डको स्थितिमा लैजाने संकेत गर्छ । यसकारण पनि हामी सचेत हुनुपर्छ । सबै धर्मको साझा फूलबारी नेपाल हो । यसकारण फूलबारीलाई बिखण्डनमा लैजाने स्थिति हामी नेपालीले ल्याउनु हुँदैन् । पछिल्लो समय भएकागतिविधिले राजनैतिक रूपमा कस्तो प्रभाव पर्ने समयले नै बताउँला तर जेहोस् गलत भइरहेको छ ।
सद्भाव खल्बलिने गरी धारणाहरू आइरहेका छन् । यस कुरालाई प्रश्रय दिन हुँदैन् । पछिल्लो पटक धरानमा गाई काटेर खाएको घटना सामाजिक सञ्जालमा आउँदाखेरी नै समस्या उत्पादन भएको छ । म एउटा मुस्लिम समुदायको व्यक्ति हुँ । हाम्रो मुस्लिम समुदायमा गौ हत्या भएको सम्भवत अहिलेसम्म छैन् । मुस्लिम समुदाय बहुसंख्यक भएका ठाउँमा पनि यस्ता किसिमका घटना भएका छैनन् ।
यसबाट उहाँहरूले पनि सिक्नुपर्छ । कसैको धर्मलाई ठेस पु¥याउने काम सामान्यरूपमा पनि गर्न पाइदैन । बोली बचनमा त ठेस पु¥याउन हुँदैन् । तर अहिलेको अवस्थामा झन् बढी देखिएको छ । कुनै पनि चिजले अर्को व्यक्तिको भावनामाथि ठेस पुग्छ भने त्यस्तो काम गर्न हुँदैन । समाजमा सद्भाव बिथोल्ने किसिमका घटना घटाउनेलाई नियम कानुन अनुसार कारबाही गर्नुपर्छ । सद्भाव खलबल गराउन पाईदैन । कसैको आत्मसम्मान ठेस पुग्ने काम गर्नु भनेको अपराध गर्नु हो । त्यसैले पनि सबै धर्मलाई सम्मान गर्नुपर्छ ।