सरीता चौधरी
दाङ, १० भदौ । रूकुम पश्चिमबाट दाङमा पढ्न आएका बालकको गत साउन ६ गते पानीमा डुबेर मृत्यु भयो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ को ग्वारखोलाको बाँधमा पौडी खेल्ने क्रममा डुबेर रूकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर ५ का ६ वर्षिय बालक निर्माण बुढाको मृत्यु भयो ।
साथीसँगै शनिबार दिउँसो पौडी खेल्न गएका बालकको पानीमा डुबेर मृत्यु भएको थियो । उनी तुलसीपुर–७ ज्ञानज्योति टोलमा डेरामा बस्दै आएका थिए । यस्तै गत असार २३ गते तुलसीपुर–७ गैरापातुका तुलसी दमाईका ११ वर्षिय छोरा रविन परियारको पातुखोलामा डुबेर मृत्यु भयो । पातुखोलामा डुबेर गम्भीर घाइते बालकको राप्ती प्रादेशिक अस्पतालमा उपचारमा क्रममा मृत्यु भयो ।
साथीसँगै खोलामा नुहाउन गएका बालक डुबेको अवस्थामा स्थानीयले फेला पारेका थिए ।
साथीहरूको सँग खोलामा नुहाउन जाँदा निर्माण र नवीनजस्तै धेरै बालबालिकाहरूले अकालमै मृत्यु हुने गरेको छ । हापुर खोलामा बृहत् सिँचाइ योजनाको लागि डोजरले खनेको करिब ६ फिट गहिरो खाडलमा डुबेर गत जेठ ४ गते बालक गम्ीभर घाइते भएका थिए ।
गम्भीर घाइते भएका रोल्पाको रून्टीगढी गाउँपालिका–६ घर भई हाल तुलसीपुर उपमहानगरपालिका–१७ बघौसी बस्दै आएका तिलसरी बोहोराका १० वर्षिय छोरा बसन्त बोहराको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको थियो ।
बैशाख ७ गते तुलसीपुर–१७ बनकट्टाका तिलबहादुर रावतकी छोरी १४ वर्षिया चेतना रावतको पानीमा डुबेर मृत्यु भयो । संग्राम र हापुर खोलाको दोभानको बीच भागमा नुहाउने क्रममा डुबेर गम्भीर घाइते भएका रावतको उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको थियो ।
लमहीमा गत जेठ २७ गते १३ वर्षिय राहुल चौधरीको राप्ती नदीमा डुबेर मृत्यु भयो । लमही नगरपालिका–४ बड्का घुम्नाका चौधरीको नुहाउँदै गर्दा राप्ती नदीमा डुबेर मृत्यु भएको थियो । यी घटना त प्रतिनिधिमूलक पात्र मात्रै हुन् । दाङमा पानीमा डुबेर मृत्यु हुनेको संख्या बर्सेनि बढ्दै गएको प्रहरीको तथ्याङ्कले देखाएको छ । जिल्लामा पानीमा डुबेर दुई सय बढीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङको तथ्यांक अनुसार ४९ महिनाको अवधिमा पानीमा डुबेर २ सय ३३ जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले आर्थिक वर्ष ०७५/०७६ देखि चालुवर्षको साउन महिनासम्म ४९ महिनाको अवधिमा जिल्ला दुई सय ३३ जनाको मृत्यु भएको बताए ।
तथ्यांकअनुसार आर्थिक वर्ष ०७५/०७६ मा ३२ जना, आर्थिक वर्ष ०७६/७७ मा ४७, आर्थिक वर्ष ०७७/७८ मा ५० जनाको मृत्यु भएको छ । यस्तै आर्थिक वर्ष ०७८/७९ मा ५१ जना, आर्थिक वर्ष ०७९/८० मा ४८ जना र चालु आर्थिक वर्षको साउन महिनामा मात्रै पाँचजनाको मृत्यु भएको छ ।
पछिल्लो वर्षहरूमा पानीमा डुबेर मृत्यु हुनेको संख्या बढ्दो रहेको तथ्यांकले देखाएको छ । मानवीय लापरबाहीले गर्दा नै घटनाहरू बढ्दो रहेको प्रमुख गौतमले बताए । अभिभावकहरूले छोराछोरीको निगरानी नगर्दा पनि कतिपय बालबालिकाको पानीमा डुबेर मृत्यु भएको उनले बताए ।