तुलसीपुर, १० भदौ । तुलसीपुरको हाम्रो पहुँच माविमा तेक्वान्दो खेलाडीको ग्रेडिङ गरिएको छ । तेक्वान्दो खेल खेलिरहेका १ सय २० जना तेक्वान्दो खेलाडीको ग्रेडिङ गरिएको हो । हाम्रो पहुँच तेक्वान्दो डोजाङसहित बेलझुण्डी तेक्वान्दो डोजाङ र अमृत तेक्वान्दो डोजाङ बिजौरीमा तेक्वान्दो प्रशिक्षण लिइरहेका खेलाडीको शनिबार गे्रडिङ गरिएको हो ।
हाम्रो पहुँच माविका विद्यालय व्यवस्थापन समितिका संयोजक भरत भण्डारीको अध्यक्षता तथा दाङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष विष्णु अधिकारीको प्रमुख आतिथ्यतामा ग्रेडिङ कार्यक्रम गरिएको हो । त्यस अवसरमा संघका अध्यक्ष अधिकारीले खेल क्षेत्रलाई हेर्ने दृष्टिकोण फराकिलो बन्दै गएको बताए । उनँले खेलले स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउने भन्दै अनुशासनमा लैजाने काम पनि गर्ने बताए ।
विद्यालयका संयोजक भरत भण्डारीले हाम्रो पहुँच माविले पढाइसँगै विभिन्न विधालाई प्राथमिकताका साथ सञ्चालन गरेको बताए । तेकवान्दोको प्रशिक्षण हाम्रो पहुँच माविले दुई ठाउँमा सञ्चालन गरेको भन्दै प्रशिक्षक पनि आफै उत्पादन गरिरहेको बताए । कार्यक्रममा अभिभावक रूकमणि खनाल र त्रिपुरा कुमारी वलीले तेक्वान्दो खेल खेल्न थालेपछि बालबालिकामा बिहानै छिटो उठ्ने बानीको विकास भएको बताए । कार्यक्रमको सहजीकरण प्रशिक्षक राकेश परियारले गरेका थिए ।