जीतसागर जी.एम.
तुलसीपुरलाई व्यवस्थित बनाउन अटोभिलेज छुट्टै ठाउँमा स्थापना गरिएको छ । करिब पाँच वर्षअघि स्थापना गरिएको अटोभिलेजले अझै पनि पूर्वाधारको अभाव झेलिरहेको छ । अटोभिलेजसम्म पुग्ने सडकदेखि पुलसम्म पूर्वाधारको अभाव छ । पूर्वाधार व्यवस्थापनमा राज्यले आवश्यक लगानी गर्न सकेको छैन् । तुलसीपुरकै गौरबको योजनाको रूपमा रहेको अटोभिलेजमा पूर्वाधार विकासका लागि राज्यले लगानी गर्नुपर्ने प्रमुख आवश्यकता देखिएको छ ।
तर राज्यको प्राथमिकतामा पर्न सकेको छैन् । अटोभिलेजमा पूर्वाधार अभाव हुँदा विभिन्न किसिमका समस्या छन् । प्रदेश टुडे राष्ट्रिय दैनिकको नियमित स्तम्भ टुडे राउण्ड टेबलमा तुलसीपुरको अटोभिलेजको सम्भावना र चुनौतीका विषयमा सरोकारवाको विचारलाई समेटेका छौँ ।– सम्पादक
पूर्वाधार अभावमा अटोभिलेज
तुलसीपुर अटोभिलेज व्यवस्थापनको काम विसं. २०७४ सालदेखि शुभारम्भ गरिएको हो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ र वडा नम्बर ९ पातुखोला किनारामा अतिक्रमण भएको क्षेत्रलाई अटोभिलेज बनाउने काम भएको हो । तुलसीपुरको नयाँ बसपार्कमा भएको अटोभिलेज अहिलेको ठाउँमा स्थानान्तरण गर्दा बजारलाई सुन्दर बनाउन निकै ठूलो टेवा पुगेको छ । तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख घनश्याम पाण्डेको कार्यकालमा यो महत्वपूर्ण काम भएको हो ।
शुरूवातको चरणमा जसोतसो व्यवसायीले काम चलाएका छन् । अहिले तुलसीपुर अटोभिलेजमा करिब १५० अटो व्यवसायी छन् भने कम्तिमा पनि पाँच सयले रोजगारी पाएका छन् । तर तुलसीपुर अटोभिलेजमा पूर्वाधारको काम व्यवस्थित भएको छैन् । म नेतृत्वमा आएपछि पनि थुप्रै काम गर्न बाँकी छ । यसको पूर्वाधार व्यवस्थापनका लागि राज्यको लगानी पछिल्लो समय निकै कम छ ।
यो पनि एउटा गौरबको योजना हो भन्ने आम नेतृत्वलाई पर्न सकेको छैन् । पूर्वाधार विकासका लागि थुप्रै लगानीको आवश्यक छ । तर राज्यले आवश्यक बजेटको व्यवस्थापन गर्न सकेको छैन् । अटोभिलेजको बिचैमा पर्ने पातुखोलामा पुल निर्माणका लागि डिपिआर (विस्तृत परियोजना) को काम अघि बढेपनि पुल निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गरिएको छैन् । पुल नहुँदा अटोभिलेजमा निकै समस्या भएको छ । वडा नम्बर ६ मा त सडक पनि राम्रो छैन् । वडा नम्बर ९ मा पुग्नलाई पुल नहुँदा वडा नम्बर ५ को पुल घुमेर आउनुपर्ने अवस्था छ । पुल मात्रै होइन्, गतिलो नाला पनि छैन् । नालाको काम नहुँदा अहिले वर्षायाममा निकै समस्या छ ।
अटोभिलेज क्षेत्रमा आरसिसीको आवश्यकता छ । तर बजेट अभावमा त्यो काम हुन सकेको छैन् । जसले गर्दा वर्षायाममा हिलो र हिउँदमा धुलोले सताउने गरेको छ । तीन वर्षअघि प्रदेशको लगानीमा केही भाग आरसीसी गरिएको छ तर अझै धेरै भाग आरसीसी गर्न बाँकी छ । यसले गर्दा हामी व्यवसायीलाई पनि समस्या भएको छ । नयाँ व्यवसायीलाई आउने वातावरण बन्न सकिरहेको छैन् । ठाउँको पर्याप्तता बनाउन नसक्दा समस्या देखिएको छ ।
अहिले करिब ५० नयाँ व्यवसायी आउन तयारी अवस्थामा हुनुहुन्छ । तर आरसीसी नभएका कारण हामीले ठाउँ उपलब्ध गराउन सकेका छैनौँ । म यहाँहरू मार्फत नै अनुरोध गर्न चाहन्छु । तीनै तहका सरकारले अटोभिलेजको खोला किनारामा आरसीसी गर्नका लागि आवश्यक बजेट व्यवस्थापन गर्नुपर्छ । बाँकी भएको आरसीसीको काम तत्काल गर्नुपर्ने काम हो । गतवर्ष पनि प्रदेशको क्रमागत बजेट अन्त गएको हो । तर यो वर्ष क्रमागत बजेटको काम लगाउने योजनामा छौँ ।
तुलसीपुर उपमहानगरपालिकाकै गौरबको योजना भएपनि राज्यको लगानी पुग्न सकेको छैन् । समग्रमा तीनै तहको सरकारले आवश्यक लगानी गरेका छैनन् । स्थानीय सरकारले केही नगन्ने मात्रामा लगानी गरेको छ । तर त्यसलाई लगानी गरेको छ भन्ने अवस्था छैन् । यसकारण पनि तीनै तहका सरकारको अटोभिलेजप्रतिको दृष्टिकोण पुग्न नसकेको भन्न सकिन्छ । प्रदेश र केन्द्र सरकारको बजेट केही छैन् । उपमहानगरपालिकाको आम्दानीको मुख्य स्रोत अटोभिलेजलाई लिन सकिन्छ ।
हामी करिब १५० अटो व्यवसायी छौँ । यसलाई हामीले औद्योगिक हबको रूपमा पनि लिन चाहन्छौँ । धेरै मानिसले सीप सिकेर जीविकोपार्जन गर्ने ठाउँ अटोभिलेज बनेको छ । हामीले परिकल्पना गरेको अटोभिलेज अझै पाउन सकेको छैनौँ । औद्योगिक हबमात्रै नभएर पूर्वाधारसहितको सफासुन्दर अटोभिलेजको परिकल्पना गरिएको छ । यसका लागि सरकारको ध्यान जानुपर्छ । अटोभिलेजलाई आर्थिक अभावकै कारण सोचेको जस्तो बनाउन सकेका छैनौँ ।
राज्यले प्राथमिकतामा राखेन
तुलसीपुर सहरलाई व्यवस्थित गर्नका लागि अटो भिलेजको परिकल्पना गरिएको छ । अहिले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ र ९ मा सञ्चालित तुलसीपुर अटोभिलेज तुलसीपुर उपमहानगरकै गौरबको योजना हो । नेपाल अटो व्यवसायी महासंघले देशका मुख्य सहरमा अटोभिलेज स्थापना गर्ने परिकल्पना गरेको हो । सोहिअनुरूप तुलसीपुर सहरमा पनि अटोभिलेज स्थापना गरिएको हो । अटोभिलेज स्थापना भएसँगै बजारमा हुने ध्वनि प्रदूषण कम भएको छ । गाडी मर्मत गर्दा निस्कने फोहोरको व्यवस्थित भएको छ । यसै कुराको व्यवस्थापनका लागि अटोभिलेजको अवधारणा अघि सारिएको हो । यसअघि नयाँ बसपार्क नजिकै थियो । तर अहिले बजारभन्दा छुट्टै ठाउँमा छ । यसले गर्दा अटोभिलेज केही भएपनि व्यवस्थित गर्न सफल भएका छौँ ।
तर अझै पनि धेरै कुरा व्यवस्थापन गर्न बाँकी छ । अटोभिलेज गौरबकै योजना भएपनि राज्यको प्राथमिकतामा नपरेको अनुभूति भएको छ । पातुखोला किनारामा अटो भिलेज छ । खोला किनारामा हुँदा वर्षामा बाढीको चिन्ता छ । अटोभिलेजलाई सुरक्षित बनाउन खोला किनारामा तटबन्ध निर्माण गरिएको छैन् । यसले गर्दा हामी असुरक्षित भएको महसुस गरेका छौँ । अटोभिलेजका लागि आवश्यक पूर्वाधार पनि छैन् । खोलाको दुई किनारामा भएकाले पनि दुवैतिर आवतजावत गर्न पुलको व्यवस्था छैन् । अहिले अटोभिलेजमा आउन टाढैबाट घुमेर आउनुपर्ने अवस्था छ । यसकारण पनि अटोभिलेजसम्म मर्मतका लागि आउने गाडी सहजरूपमा आउन सकिरहेका छैनन् । राज्यले यसलाई प्राथमिकतामा पार्न नसकेकोले पनि धेरै पूर्वाधार बन्न सकिरहेको छैन् ।
अटोभिलेजको आवश्यकता अटो व्यवसायीलाई मात्रै आवश्यक छ भन्ने बुझाइ हुनुहुँदैन् । यो पेशा र व्यवसायका लागि हामीले आवाज उठाए पनि राज्यले पनि यो सार्वजनिक महत्वको विषय हो भन्ने बुझ्न जरूरी छ । किनभने सवारी साधनबिना हरेक मानिसको दैनिकी पूरा हुनसक्ने अवस्था छैन् । ति सवारीसाधन मर्मत सम्हारबिना सम्भव छैन् । सवारी साधनको मर्मत सम्हारदेखि आवश्यक पाटपूर्जा बिक्री गर्नेसम्मका काम अटोभिलेजबाट हुन्छन् ।
यि सबै काम बजारमा यत्रतत्र रूपमा छरिएर गर्न सकिदैन् । यदि त्यसो भएमा बजारलाई सुन्दरता हुनबाट रोक्छ । अटोभिलेज हुँदा कालोमैलोदेखि ध्वनी प्रदूषणसम्म नियन्त्रण हुने गरेको छ । एउटा सहर सुन्दर र हराभरा राख्नलाई पनि गाडी मर्मत गर्ने काम अटो औद्योगिक क्षेत्रको रूपमा विकास गरेर सहर बजारकै छेऊमा तर छुट्टै राख्नुपर्छ भन्ने योजनाबमोजिम अहिले तुलसीपुरको अटोभिलेज पनि छुट्टै बनाउन सफल भएका हौँ ।
राज्यको कर्तव्य के हो भने हरेक नागरिकलाई कुनै पनि पेशा व्यवसाय गर्ने ठाउँ बनाउनुपर्छ । तर सबै ठाउँमा भौतिक पूर्वाधार छैनन् । सम्भावना भएको ठाउँमा पनि राज्यको नजर पुग्न सकेको छैन् । राज्य फाइदामा भन्दा पनि सेवाभावका साथ जाँदा फाइदा अवश्य हुन्छ । राज्यले कर संकलन गर्ने सन्दर्भमा पनि चारैतिर दौडेर सम्भव छैन् ।
अटोभिलेज स्थापना हुँदा राज्यलाई एकै ठाउँबाट कर संकलन गर्न सम्भव भएको छ । अर्को कुरा समाजलाई पनि सजिलो भएको छ । सबै व्यवसायी एकै ठाउँमा हुँदा चोरीडकैतीका घटना पनि हुन पाएको छैन् । अनि प्राविधिक क्षमता बढाउन पनि सहज छ । एकै ठाउँमा हुँदा एउटाले नजानेको कुरा अर्कोले सिकाउँछ ।
तुलसीपुर उपहानगरपालिकाले अरू गौरवका आयोजनालाई करौडौँ लगानी गर्दा अटोभिलेजमा त्यो किसिमको लगानी छैन् । अटोभिलेजमा आउने बाटोसमेत सहजता छैन् । नालामा कल्भर्टसमेत छैन् । ठूलो पानी पर्दा अटोभिलेजमा आउने समस्या धेरै छ । यस्तै फिल्डमा हिलो र धुलोले बस्ने नसक्ने अवस्था छ । यसलाई व्यवस्थापन नगर्ने हो भने हामी विस्थापित हुने अवस्थामा छौँ । हामी चाहन्छौँ, यसलाई नमुनाको रूपमा विकास गर्नुपर्छ ।
कर अनुसारको सेवा सुविधा छैन्
तुलसीपुर अटोभिलेजले पूर्वाधारको अभाव झेलिरहेको छ । तुलसीपुरका दुईवटा वडाको सिमानामा अटोभिलेज छ । खोला किनारामा अटोभिलेज सञ्चालन भइरहँदा धेरै किसिमका समस्या छन् । तुलसीपुरमा यसअघि पुरानो बसपार्कमा अटोभिलेज थियो । त्यसपछि नयाँ बसपार्कमा अटोभिलेज सञ्चालन गरियो । अनि अहिले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ र वडा नम्बर ९ मा स्थापना गरिएको छ । एउटा नमुना अटोभिलेज सञ्चालनका लागि परिकल्पना गरिए पनि त्यस अनुसार अटोभिलेज सञ्चालनमा आउन सकेको छैन् ।
म अटो व्यवसायी हुँ । मेरो व्यवसाय वडा नम्बर ६ मा छ । यो ठाउँ भनेको यसअघि तुलसीपुर उपमहानगरपालिकाले फोहोर फाल्ने ठाउँ हो । यसमा अहिले अटोभिलेज सञ्चालन गरिरहँदा बनेका संरचना पनि भत्किने अवस्थामा पुगेका छन् । किनभने फोहोर गल्दै जाँदा जग्गा दबेपछि संचरना पनि कमजोर हुँदै गएका छन् । यसबाट धेरै नोक्सान भएको छ ।
उपमहानगरपालिकाले व्यवसायीबाट भाडा र कर असुल्ने काम गरेको छ । तर सोहि अनुसारको सेवा सुविधा दिन सकेको छैन् । अटोभिलेजको पूर्वाधार विकासमा तीनैतहका सरकारको नजर पुग्न सकेको छैन् । स्थापनाको करिब पाँच वर्ष बढी हुँदा पनि पूर्वाधार निर्माण हुन नसक्नु दुखद् हो ।
हामीले अहिले उपमहानगर–पालिकालाई मासिक भाडा १ हजार २ सय बुझाउने गरेका छौँ । यस्तै जग्गाको नवीकरण गर्न वर्षमा ५ सय बुझाउने गरेका छौँ । यस्तै १ हजार ५ सय कर बुझाउने गरेका छौँ । हामीले कर कार्यालय र नगरपालिकालाई कर बुझाउने गरेका छौँ । दोहोरो कर बुझाउँछौँ । तर राज्यले अटोभिलेजको व्यवस्थापनमा चासो नदिँदा हामी व्यवसायी दुखित छौँ । अटोभिलेजसम्म आउने सडकसमेत छैन् । गाडी आउने सडक नै नहुँदा हामी व्यवसायी अत्यन्त मारमा छौँ । कुलाका कारण सडक भत्किएको करिब एउटा सिजन भएको छ । वर्षायाममा धेरै काम हुने गर्छ ।
तर सडकको अवस्था सही नहुँदा हाम्रो व्यापार, व्यवसायमा पनि ठूलो असर परेको छ । यस्तै वडा नम्बर ६ र ९ जोड्ने पुल पनि छैन् । पुल बनाउने कुरा पनि थियो, तर अहिले एकाएक हराएको छ । यस्तो किन भएको होला । यस्तै खानेपानीको समेत उचित व्यवस्थापन हुन सकेको छैन् । नजिकै डिपबोरिङ स्थापना गरिएको छ । तर पानीको व्यवस्थापन गरिएको छैन् । सार्वजनिक शौचालय छैनन् । अहिले हामीले आफ्नै शौचालय प्रयोग गर्न दिएका छौँ । यस्तो अवस्थामा राज्यको ध्यान कता छ कुन्नी ? मैले करिब २०५६ सालबाट यो व्यवसाय शुरुवात गरेको हुँ । अहिलेसम्म यस ठाउँसहित तीनवटा ठाउँ भयो ।
यसलाई व्यवस्थित गराउने परिकल्पना थियो । तर त्यस अनुसारको व्यवस्थित हुन सकेको छैन् । राज्यले हामीबाट कर असुल्ने मात्र होइन्, कम्तिमा पनि हामीलाई पेशा व्यवसाय गर्ने वातावरण निर्माणका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्छ । तुलसीपुरको अटोभिलेजमा आवश्यक पूर्वाधार निर्माणका लागि तीनै तहका सरकारले आवश्यक लगानी गर्न कन्जुस गर्नुहुँदैन् । नेतृत्वमा पुगेका सांसददेखि मुख्यमन्त्रीको यसमा ध्यान पुग्न सकेपछि हामी व्यवसायीमात्र होइन्, तुलसीपुरको आर्थिक विकासमा महत्वपूर्ण भूमिका हुनेछ ।
नेतृत्वको ध्यान पुगेन
तुलसीपुरलाई सुन्दर बनाउन पातुखोला किनारामा अटोभिलेज स्थापना गरिएको हो । अटोभिलेज स्थापना भएको पाँच वर्ष बढी भएको छ । तर पाँच वर्षसम्म अटोभिलेजका लागि आवश्यक पूर्वाधार बन्न सकेको छैन् । यसले गर्दा व्यवसायीलाई भन्दा सेवा लिने ग्राहकलाई बढी समस्या बनाएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ र ९ मा अटोभिलेज छ । वडा नम्बर ६ मा पर्ने अटोभिलेजसम्म पुग्ने बाटो छैन् । नालामा कल्भर्टसम्म नहुँदा सवारी साधन वारपार हुन निकै समस्या छ भने वडा नम्बर ९ मा आउन पुलसम्म छैन् । पुल नहुँदा वडा नम्बर ५ बाट घुमेर आउनुपर्ने अवस्था छ ।
खोला किनारामा भएको अटोभिलेजलाई सुरक्षित बनाउन गतिलो तटबन्धको निर्माण हुन सकेको छैन् । तुलसीपुरकै गौरबको आयोजनाको रूपमा रहेको अटोभिलेजमा राज्यको लगानी नहुँदा हामी निरास छौँ । राज्यले हामीबाट लिने करमात्रै लिएको छ । कर तिरेवापत राज्यले दिनुपर्ने सेवा सुविधा दिन सकेको छैन् । तुलसीपुर उपमहानगरपालिकाको सम्पतिको रूपमा रहेको अटोभिलेजमा उपमहानगरपालिकाले लगानी गरेको छैन् ।
दाङबाट निर्वाचित सांसदको नजर पुगेको छैन् । वडा अध्यक्षले पनि हामीले भनेका छौँ भन्ने मात्रै जवाफ दिनुहुन्छ । अहिले प्रदेशकै मुख्यमन्त्री यहि क्षेत्रको हुनुहुन्छ । तर उहाँले पनि अटोभिलेजको व्यवस्थापनका लागि कुनै रकम विनियोजन गर्नुभएको छैन् । एउटा व्यक्तिको फाइदाका लागि होइन, राज्यकै फाइदा हुने ठाउँमा पनि राज्यको उपस्थिति शून्य हुँदा व्यवसायी निरास छन् । राज्यको लगानी अटोभिलेज व्यवस्थापनमा किन हुन सकेको छैन् ? मेरो प्रश्न आम नेतृत्वलाई छ ।
तुलसीपुरलाई सुन्दर , सफा र ध्वनि प्रदुषणरहित बनाउनका लागि अटोभिलेज छुट्टै ठाउँमा स्थापना गरेका हौँ । तर लामो समय हुँदा पनि राज्यले यसको व्यवस्थापनमा ध्यान दिन सकेको छैन् । यसको सुन्दर व्यवस्थापनमा अझै कति कुर्न पर्ने हो ? थाहा छैन् । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको मेट्रो कलेजमा जनशक्ति उत्पादन भएका छन् । ति जनशक्तिलाई हामीले रोजगारीको अवसर दिँदा अहिले मासिक दुई लाख बढी कमाउने हुनुभएको छ । यसमा हामीलाई राज्यले खै देखेको ? अटोभिलेजलाई व्यवस्थित बनाउँदा तुलसीपुरकै प्रतिष्ठाको विषय हो ।
किनभने अटोभिलेजमा गाडी मर्मतका लागि आउने भनेको एउटा कुनै निश्चित ठाउँको व्यक्ति मात्रै होइन्, यसमा त पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सवारी आउने गरेका छन् । तर यसलाई सुन्दर बनाउन राज्यले लगानी गर्न सकेको छैन् । राज्यले हामीबाट लिने कर अनुसारको सेवा सुविधा दिन सकेको छैन् । हामी निकै समस्यामा छौँ । संघ, प्रदेश र स्थानीय तह तीनैतहका सरकार, यस क्षेत्रबाट निर्वाचित सांसद, वडा अध्यक्षको ध्यान तुलसीपुरको अटोभिलेजमा पूर्वाधार विकासमा पुग्नुपर्छ ।
म घोराहीमा दुई कार्यकाल अटोभिलेजको उपाध्यक्ष भएर काम गरेँ । घोराहीको अटोभिलेजको त्रिपक्षीय सम्झौता छ । नगरपालिका, गुठी र भिलेजको सम्झौता छ । घोराहीमा प्रतिशतको आधारमा दुई प्रतिशतका हिसावले भाडा बढ्छ, तर तुलसीपुरमा पाँच प्रतिशतका हिसावले भाडा बढ्ने गरेको छ । अनि घोराहीमा हामीले तिरेको करबाट अटोभिलेजलाई ३३ प्रतिशत फिर्ता आउँछ र त्यो रकम अटोभिलेज मर्मतमा लगाउन सकिन्छ ।
तर तुलसीपुरमा त्यस्तो छैन् । हामीले तिरेको पैसा फिर्ता हुँदैन् । म तुलसीपुरमा अहिले कार्यसमितिमा नभए पनि यसको विकास लागि निकै चिन्तित छु । कार्यसमितिका साथीहरूले नेतृत्वलाई भेट्दा पनि सकारात्मक परिवर्तन हुन सकेको छैन् । अटोभिलेजमा मजदुरले काम गर्ने वातावरण बनोस् । पुल बनोस् ।